मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

असीम सागरको नयाँ कविता कृति ‘क’ सार्वजनिक

आइतबार, ०२ कात्तिक २०७७, १४ : ३२
आइतबार, ०२ कात्तिक २०७७

काठमाडौं । कवि असीम सागरको कविताकृति ‘क’ सार्वजनिक भएको छ । विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को बढ्दो संक्रमणका कारण औपचारिक कार्यक्रमबिनै पुस्तक आइतबार बजारमा ल्याइएको हो ।
असीम सागर साधारण नेपाली जनताका कवि रहेको पत्रकार एवम् कवि रूपेश श्रेष्ठले बताए । उनका कविताले सडकका नागरिकको कथा भन्ने उनको भनाइ छ । ‘देखेर र भोगेर कविता लेख्नुमा ठूलो अन्तर हुन्छ । असीम सागरको कवितासंग्रह ‘क’ मा भोगेर लेखेका कविता छन्,’ उनले भने, ‘सरल भाषामा यति ओजपूर्ण कविता लेख्न सकिन्छ, त्यो पनि सुन्दर कविता लेख्न सकिन्छ भन्ने उनले प्रमाणित गरेका छन् ।’ 

पछिल्लो समय आइरहेका कवितासङ्ग्रहमा ‘क’ फरक किसिमको लागेको फाइनप्रिन्टका सहसंस्थापक नीरज भारीले बताए । सरल एवम् सरस किसिमका कविता लेख्ने सागरको यो कृतिमा सामान्यभन्दा सामान्य जनका दुःख, पीडा अनि समाजमा व्याप्त बेथिति एवं विसंगतिलाई घतलाग्दो किसिमले प्रस्तुत गरिएको उनको भनाइ छ । यति ओजपूर्ण कृति प्रकाशन गर्न पाउनु आफूहरुका लागि खुसीको विषय रहेको उनले बताए ।  

जीवनमा आइपरेका घटना र विभिन्न अनुभवबाट निःसृत भावलाई नै कविताका रुपमा प्रस्तुत गरेको र यो पुस्तक जन्मिएको लेखक असीम सागरले बताए । उनले भने, ‘जीवन बाँच्दै जाँदा कैयौं पटक चोइटिएको छु । भाँच्चिएको छु । दुखेको छु,’ उनले भने, ‘तिनै दुखाइ र असन्तुष्टि नै मेरा कविताका अंश हुन् । जसलाई मैले आफ्नै आँसुको मसीले लेखेको छु ।’ यसरी आफू जस्तै दुखेका हजारौं मानिसका साझा सन्तुष्टि र दुखाइ नै यो कविताकृति ‘क’ रहेको उनले बताए । ‘यही ‘क’माथि सत्ताको आँखा र ध्यान जाओस्, बस्, मलाई यत्ति भए पुग्छ,’ उनले भने ।  

कविहरु प्रायः कविता मसीले लेख्ने गर्छन् । तर असीम सागर आफ्ना कविता पसिनाले लेख्छन् । तपतप खसेका आँसुका डोब र कसैले बोलिदिए हुन्थ्यो भनेर बोल्न नसकिएका आवाज उनी कवितामा उतार्ने कोसिस गर्छन् । उनका कविता आग्रह गर्छन्— मजदुरहरुले मुठ्ठी उठाऊन् । अँध्यारोमा बसेकाहरुले उज्यालो खोजून् । सपना नदेखेकाहरुले सपना देखून् । र लागून्, सपना र उज्यालो प्राप्तिको यात्रामा । झेन कविता झैं लाग्ने उनका रचनामा आम मान्छेका भोगाइ, जीवन, मृत्यु र प्रेमका चित्र भेटिन्छन् । 

आम मानिसका भोगाइ एवम् जीवनबारे कविता लेख्न रूचाउने कवि असीम सागर नेपाली कविताको क्षेत्रमा परिचित नाउँ हो । जून पोखिएको रात र अस्तित्वका आवाजहरु (गजलसङ्ग्रह) प्रकाशन गरिसकेका उनले खडानन्द मनमाया स्मृति पुरस्कार, जोगमाया चापागाईं गजल पुरस्कार, भावतरङ्ग साहित्य सम्मान (सिक्किम), बसिबियाँलो साहित्य सम्मान (कालेबुङ) जस्ता पुरस्कार एवम् सम्मान पाएका छन् । उनी राष्ट्रिय कविता प्रतियोगिताका विजेतासमेत हुन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप