शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निजगढ–काठमाडौँ द्रुतमार्गसँग मदन भण्डारी मार्ग जोडिने

आइतबार, ०२ कात्तिक २०७७, ०८ : ५७
आइतबार, ०२ कात्तिक २०७७

निजगढ–काठमाडौँ द्रुतमार्गसँग हेटौँडा–काठमाडौँ मदन भण्डारी मार्गलाई जोड्नका लागि अध्ययन थालिएको छ । वाग्मती प्रदेश सरकारले काठमाडौँ–निजगढ द्रुतमार्गसँग मदन भण्डारी मार्गलाई जोड्न प्रस्ताव गरेपछि सङ्घीय सरकारले त्यसको अध्ययन थालेको हो ।

सरकारले प्रदेशले सुरुङसहित विस्तार गरिरहेको मार्गलाई द्रुतमार्गसँग जोड्नका लागि सम्भावित बिन्दुको खोजी शुरु गरेको छ । सङ्घीय सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गरिरहेको काठमाडौँ–निजगढ द्रतमार्गसँग मकवानपुरको भीमफेदी गाउँपालिका–८ र इन्द्रसरोवार गाउँपालिका–३ को कोगटेदोभानमा जोड्न सके हेटौँडा–काठमाडौँको सडक दूरी ५४ किलोमिटरमा छोटिने भन्दै प्रदेश सरकारले प्रस्ताव गरेको थियो ।

प्रदेशको प्रस्तावपछि नेपाल सरकारले कार्यदल नै बनाएर अध्ययन थालेको छ । सरकारका तर्फबाट एक दिनअघि मात्रै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल र प्रधानमन्त्रीका विकासविज्ञ गजेन्द्र थपलियाले दुई मार्गलाई जोड्न सकिने सम्भावित विन्दुको अवलोकन गरेका थिए । अवलोकनपछि रासससँग कुरा गर्दै उपाध्यक्ष डा कँडेलले  द्रुतमार्गको प्रारम्भमा यसमार्गसँग जोडिने अन्य कुनै मार्गको परिकल्पना नगरिएकाले नयाँ परिस्थिति सिर्जना भएको बताए ।  उनले द्रुतमार्ग अनुगमन समितिले द्रुतमार्ग निर्माणको क्रममा प्रदेश सरकारसँग समन्वय गर्ने निर्णय गरेको बताए । समितिले प्रदेशसँग समन्वय गर्नुपर्ने भनेकाले नै आफूहरु अवलोकन र अध्ययनका लागि आएको उनको भनाइ थियो ।

पहिलो चरणमा व्यवहारिक र सामान्य अवलोकन गरिएको उल्लेख गर्दै उपाध्यक्ष डा कँडेलले अब प्राविधिक अध्ययन गरेर मात्रै द्रुतमार्गसँग मदन भण्डारी मार्गलाई कहाँ र कसरी जोड्न सकिन्छ टुङ्गो लाग्ने बताए । उनले दुई द्रुतमार्गलाई जोड्नु उपयुक्त हुने र त्यसका लागि प्राविधिकहरुको अध्ययनले अन्तिम निष्कर्ष निकाल्ने उल्लेख गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीका विकासविज्ञ गजेन्द्र थपलियाले प्रदेश सरकारले मदन भण्डारी मार्गअन्तर्गत विभिन्न सडकखण्डलाई फाराकिलो बनाउने, मोड घटाउन सुरुङ खन्ने र दूरी कम गर्न द्रुतमार्गसँग पहुँच स्थापना गर्ने कामका लागि थालेको पहल विकास निर्माणको आवश्यक प्रक्रिया भएकाले नेपाल सरकारले यसमा सहयोग र सहकार्य गर्ने बताए । “प्रदेशले हेटौँडा–काठमाडौँको दूरी ५४ किलोमिटरमा छोट्याउने जुन लक्ष्य लिएको छ, त्यो सरहानीय छ, नेपाल सरकारले यसलाई सहयोग गर्छ”, विज्ञ थपलियाले भने ।

मदन भण्डारी मार्गमा सुरुङ निर्माणसहित स्तरीकरण गर्ने र द्रुतमार्गसँग जोड्ने प्रदेश सरकारको योजना रहर नभएर टट्कारो आवश्यकता रहेको मुख्यमन्त्री डोरमणि पौडेल बताउँछन् । हाल पूर्वी नेपाल र तराईका साना सवारीबाहेकका सवारी साधन हेटौँडाबाट ७६ किलोमिटर नारायणघाट र त्यहाँबाट १५२ किलोमिटर काठमाडौँ गरी २२८ किलोमिटर लामो यात्रा गर्न बाध्य रहेको उनको भनाइ छ । ५४ किलोमिटरको बाटो स्तरीकरण गरी सबै प्रकारका सवारी साधनको आवागमन गराउन सकिने र दीर्घकालीनरूपमा राज्यलाई लाभ हुने उनी बताउँछन् ।

प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयाल सुरुङबाहेक मदन भण्डारी मार्गको स्तरीकरणको सम्पूर्ण काम धमाधम भइरहेको बताए । सडक फराकिलो बनाउने, पर्खाल लगाउने र सम्याउने काम भइरहेको र चाँडै नै कालोपत्रको काम शुरु हुने उनको भनाइ छ । उनले प्रदेश सरकारले गौरवको योजनाको रूपमा सुरुङसहित स्तरीकरणको काम गर्न लागेको र भैँसे–भीमफेदी सडक विस्तारको योजनासमेत कार्यान्वयनको चरणमा रहेको उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप