मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

कविता : म न्याय खोज्दै छु

शनिबार, ०१ कात्तिक २०७७, १७ : ०९
शनिबार, ०१ कात्तिक २०७७

हो म न्याय खोज्दै छु,
त्यही बलात्कृत शरीरबाट निक्लेँ कि  
म निर्मलाको आत्मा बोल्दैछु 
हो म न्याय खोज्दैछु ।
       
बलात्कृत मेरो लासको लाज छोप्न
एक थान कात्रो खोज्दै छु  
हो हजुर म तपाईंकै प्यारी निर्मला बोल्दै छु ।
     
प्रहरीले केरकार गर्दा ती सुन्न नसक्ने शब्दको 
कान छोप्ने प्रयास गर्दैछु । 
हो हजुर म निर्मला बोल्दै छु ।  
        
ती हरेक रात बग्ने मेरा बाआमाको 
आँसुमा लुकेको अधिकार खोजदै छु   
हो म न्याय खोज्दैछु ।
        
साँझ पर्दा डराउँदै हिँड्ने मेरी बैनीको मनको डर हटाउन   
एक अँजुली शान्ति खोज्दैछु 
हो हजुर म निर्मलको मात्र हैन 
सम्पूर्ण नारीको स्वतन्त्रता खोज्दै छु । 
ती मेरा फाइल न्यायालयमै रूमल्लिरहँदा 
बाको मनमा पखालिएका संविधानप्रतिको आस्था खोज्दैछु । 
हो हजुर म निर्मला न्याय खोज्दै छु 
न्यायालय निकै महँगो पो रहेछ
म न्याय किन्न अलिअलि पैसा खोज्दै छु 
हो हजुर म निर्मला न्याय खोजदैछु ।
म ती न्यायकी मूर्तिका आँखाको पट्टीले 
छोपेको आँशु देख्दैछु,
म ती न्यायाधीशले  पाकेटमा लुकाएका 
घुसको बिटो देख्दैछु 
ती मजस्ता कैयौँको थुप्रिएका फाइलका चाङ देख्दैछु 
मानौँ दृश्य यस्तो लाग्छ यो त धृतराष्ट्रको सभा हो,
जाहाँ न्यायकी मूर्ति गान्धारीझैं 
आँखामा पट्टी बाँधेर मौन बस्छे  
म त्यही गान्धारीको आँखाको पट्टी 
खोल्न खोज्दै छु ।
हो हजुर म ऐले पनि न्याय नै खोजदै छु ।                                     
       

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप