मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

ऊ एक अङ्क बनेर अस्ताई

शनिबार, ०१ कात्तिक २०७७, १६ : ५३
शनिबार, ०१ कात्तिक २०७७

तोते बोली बोल्न सिक्नै बाँकी रहेकी  
आमाको दूध चुस्दै गरेकी 
छुनुमुनु खेल्न थालेकी 
आमा बाबाकी राजकुमारी 
आफन्त पनि राम्ररी छुट्टाउन नसक्ने 
संसार के हो बुझ्न नपाउँदै 
शरीरभरि निलडाम र घाउहरु
ऊ आत्तिँदा पनि, ऊ रुँदा पनि,
थुनिएको मुखले इसारा गर्दा पनि
सहानुभूतिसम्म नभएको महिषासुरबाट 
छेदविच्छेद अवस्थामा 
झाडीमा फालिएर अस्ताई ।

जसले उसलाई निमोठ्न चाहन्थ्यो 
जसले निर्दोषपन माथि  अत्याचार गर्न चाहन्थ्यो 
जसले उसको सुनौलो संसार छिन्दै थियो 
भर्खर फुरुफुरु गरेर उफ्रने हातहरु भाँच्न चाहन्थ्यो
खित्का छोडेर हाँस्ने हाँसो देख्न नसक्ने  
उसैसँग ऊ थोते गिजा देखाएर मुस्काउँथी  
उसले उसलाई काखमा राखेर घुमाउँछ सोचेर 
उसलाई देख्ने बित्तिकै चार हात खुट्टा लम्काउँथी 
हो उही दानवको आहारा बनेर 
घिक्ली घिक्ली सास फेर्न कोसिस गर्दागर्दै 
उसलाई टुलुटुलु एकोहोरो हेरेर 
आमाको काख रित्तो पारेर अस्ताई ।


ऊ अखबारमा आई 
ऊ टेलिभिजनमा देखिई 
हेर्ने नास्किने गरी
सुन्न नसकिने गरी 
केवल बलात्कृत महिलाको एक अङ्क बनेर 
सरकारको नजरमा न्यून अङ्कको अङ्क बनेर 
सानोभन्दा सानो सहानुभूति पनि नबनी
कैयौँ कलिला नानीको  नजरमा एक त्रास उत्पन्न गरेर 
कैयौँ बाबाआमालाई सन्त्रास उत्पन्न गराएर 
आफ्नो पापको सजायं उल्टै भोगे  जसरी     एक चिम्टी माया पनि  नपलाउने दरिद्रको हातबाट कोपिला झरेर अस्ताई ।

बलत्कारी पनि यो पार्टी उ पार्टी 
गरिब धनी, पहुँचवाला कि नाइँ 
यस्तै यस्तै विभेदले, 
ऊ फुत्किन्छ केही समयमा 
राक्षसको जङ्गलको  शेर जसरी, 
मायाको एक बूँद पनि नभएको 
मानवताको एक अंश  पनि  नभएको
फितलो कानुनको अवसर भएको  
न्यायको भिक माग्दा माग्दै भिक नै चोरेको 
ठाउँमा जन्म लिएर 
आमाको फेरोमा लत्पटिएर मायाँ खोज्ने 
बाबाको अँगालोमा सहारा भेट्ने कलिली मुना 
पिपाषुको हातबाट कमिला  सरी अस्ताई 
ऊ अस्ताई त अस्ताई यसरी अस्ताई 
कहिल्यै नउदाउने गरी 
नौ महिना गर्भमा राखेर 
आफू मृत्युसँग लडेर 
उसको संसार देखाउने आमा
उसकी आमाको आँखामा उसको हास्दै गरेको 
बिछ्यौनामा खेलेको तस्बिरहरु 
आमा शब्द सुन्न आतुर उसकी आमाको पर्खाइको 
पर्खाइ नै बनेर 
कहिल्यै नफर्किने गरी 
बिना दोष निस्सासिएर 
पानी पनि पिउन नापाई अस्ताई ।

चितवन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप