केन्द्रीय संस्करण

खुलेन सुपथ मूल्यका पसल, तत्काल खोल्न प्रजिअको निर्देशन

person explore access_timeकात्तिक १, २०७७ chat_bubble_outline0

नेपालीहरुको महान चाड दशैँ र तिहारमा उपभोक्तालाई सहज रुपमा नुन र चिनी किन्नका लागि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड शाखा कार्यालय दिपायलले बर्सेनी खोल्दै आएको सुपथ मूल्यका पसल यो वर्ष अहिलेसम्म सञ्चालनमा ल्याएको छैन । 

जिल्लामा सुपथ मूल्यका पसलहरु सञ्चालनमा नआउँदा उपभोक्तालाई समस्या हुँदै आएको छ । सुपथ मूल्यको सामान किन्न भन्दै यहाँका नागरिक दिपायल पिपल्लास्थित साल्ट ट्रेडिङ कर्पोरेसनको शाखा कार्यालयमा आउने गरेका छन् । सुपथ मूल्यका पसल सञ्चालनमा नआएका कारण गाउँबाट दशैँ, तिहारका लागि सहुलियत दरको नुन र चिनी किन्न आउने ग्राहकहरु रित्तो हात फर्किन थालेका छन् ।

डोटीका प्रजिअ भीमप्रसाद भट्टराईले सुपथ मूल्यका पसल तत्काल चलाउन गर्न साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड दिपायल शाखालाई निर्देशन दिएको बताए । उनले भने, “गोदाममा नुन र चिनी जे जति छ, सोही अवस्था हेरेर पसल चलाउन भनेको छु, कर्मचारी पठाएर भए पनि चाडबाडमा पसल चलाउनुपर्छ ।” उपभोक्ताको अधिकार तथा हकहितका विषयमा कसैले पनि बाहनाबाजी गरेर खेलबाड गर्न नमिल्ने भएकाले उपभोक्ताको हक अधिकारका लागि आफू कटिबद्ध रहेको समेत प्रजिअ भट्टराईले बताए ।

यहाँको बजारमा चिनी रु ९० र नुन रु ५० मा बिक्री हुने गरेको छ । विगतमा सुपथ मूल्यका पसलमा नुन रु १८ तथा चिनी रु ६५ मा बिक्री वितरण हुँदै आएको थियो । दशैँ, तिहारजस्तो महत्वपूर्ण चाडबाड मुखैमा आइपुग्दासमेत यहाँ सुपथ मूल्यका पसल खुल्न नसकेको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् । क्षेत्रीय कार्यालय धनगढीबाट चिनी अभावले नआएको हुँदा पसल सञ्चालन गर्न नसकिएको साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय दिपायलले जनाएको छ । 

चिनी नआए पनि नुन आएको र आवश्यक कर्मचारी तथा जनशक्ति अभावका कारण वितरण गर्न नसकिएको सो शाखाका कर्मचारी प्रकाश विकले बताए । 

विगतमा सुपथ मूल्यका पसल सञ्चालनमा आउँदा दैनिक सयौँ उपभोक्ताको भीड लाग्ने गर्दथ्यो । साल्ट ट्रेडिङ कर्पोरेसन क्षेत्रीय कार्यालय धनगढीका प्रमुख केशव पाण्डेले आवश्यक कर्मचारी तथा चिनी अभावका कारण दिपायल साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालयबाट सुपथ मूल्यका पसल सञ्चालन गर्न नसकिएको बताए । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.