शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुर इन्काउन्टर प्रकरणः डीएसपी रुगम कुँवरसहित ५ जनालाई कारबाही सिफारिस

शुक्रबार, ३० असोज २०७७, १४ : ०४
शुक्रबार, ३० असोज २०७७

राष्ट्रिय मानवअधिकार आयोगले भक्तपुरमा दुई वर्षअघि भएको इन्काउन्टर प्रकरणमा डीएसपीसहित ५ जनालाई कारबाही सिफारिस गरेको छ । पीडित परिवारले दिएको उजुरीमाथि छानबिन पछि आयोगले बिहीबार तत्कालीन प्रहरी नायव उपरीक्षक (डीएसपी) रुगमबहादुर कुँवर, प्रहरी नायव निरीक्षकहरु दिपेन्द्र चन्द, प्रशन्न मल्ल, रञ्जित लामा र प्रहरी सहायक निरीक्षक राजन खड्कालाई कार्वाहीको लागि सिफारिस गरेको हो । 

काठमाडौ काँडाघारी बस्ने ११ बर्षीय बालक निशान खड्काको अपहरण पश्चात हत्या गरेको आरोप लागेका सिन्धुपाल्चोकका गोपाल तामाङ र नुवाकोटका अजय तामाङलाई प्रहरीले गत २०७५ साउन २१ मा भक्तपुरको सूर्य विनायक जंगलमा इन्काउन्टर गरेको थियो । 

प्रहरीले दोहोरो झडप भएको बताएको सो उजूरीमा छानबिन हुँदा हत्या भएको देखिएको आयोगको ठहर छ ।  ‘प्रहरीले दोहोरो झडप भएको बताएको उजूरीमा आयोगबाट गठित विशेषज्ञहरु सम्मिलित छानविन समिति समेतले पेश गरेको प्रतिवेदनउपर सुनुवाई हुँदा उक्त घटना दोहोरो झडप नभई आरोपित दुवैजनालाई नियन्त्रणमा लिए पश्चात गोली हानी मारिएको आयोगले ठहर गरेको छ । उक्त घटनाबाट पीडित बालक निशान खड्काको परिवारलाई रु. ३ लाख क्षतिपूर्ति, गोपाल र अजय तामाङको परिवारलाई रु. १ लाख क्षतिपूर्ति र दोषी देखिएका तत्कालीन प्रहरी नायव उपरीक्षक श्री रुगमबहादुर कुँवर, प्रनानिहरु दिपेन्द्र चन्द, प्रशन्न मल्ल, रञ्जित लामा र प्रसनि राजन खड्कालाई कानूनमोजिम कार्वाहीको लागि सिफारिस गरेको छ’, आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।  

यस्तै आयोगले नेकपा विप्लव समूहको सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु सम्बन्धमा पनि निर्णय गरेको छ । आयोगले गत २०७६ कात्तिक ४ मा भएको निर्णयमा पुनरावलोकन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतबाट आएको निवेदनमा सुनुवाई हुँदा सो निर्णयमा पुनरावलोकन गर्नुपर्ने कुनै तथ्य, आधार, कारण नभएको स्पष्ट पारेको छ । 

यस्तै रुकुमको चौरजहारी सोतीमा ६ जना युवाहरुको मृत्यु भएको घटना सम्बन्धमा आयोगले पीडितका परिवारलाई अन्तरिम राहत स्वरुप रु. १ लाख उपलव्ध गराउन र जातीय विभेद तथा बालविवाह रोकथाम र नियन्त्रणका लागि तीनै तहका सरकारलाई स्थानीय तहसम्म प्रवद्र्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने गरी यस्ता विषयमा शून्य सहनशीलता अपनाउन समेतसरकारलाई नीतिगत सिफारिस गर्ने निर्णय भएको छ । आयोगले उक्त घटनालाई जातीय विभेदको जगमा भएको अमानवीय घटना ठहर गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप