बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

झापामा सशस्त्रका एघार बिओपी, अरु सात थपिँदै

शुक्रबार, ३० असोज २०७७, ०९ : १५
शुक्रबार, ३० असोज २०७७

भारतको पश्चिम बङ्गाल र बिहारसँग जोडिएको झापाको सीमामा सशस्त्र प्रहरी बलले सुरक्षा तैनाथीलाई विस्तार गर्दै ११ वटा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरेको जनाएको छ । 

मेचीनगर–१५ स्थित ज्यामिरगढीमा ११औँ बिओपीको बुधबार उद्घाटन कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बलका प्रदेश नं १ प्रमुख वंशीधर दाहालले सीमाको सुरक्षालाई कसिलो र अपराध नियन्त्रण गर्न हरेक पाँच किलोमिटरको दूरीमा बिओपी स्थापनाको लक्ष्य रहेको बताए ।

उनले झापामा अरु सातवटा बिओपी छिट्टै स्थापना गरिने जानकारी दिँदै मानव बेचबिखन, लागुऔषधको कारोवार, तस्करीलगायत अपराध रोक्न सीमाका बिओपीमा तैनाथ सुरक्षाकर्मीलाई निर्देशन दिए । 

झापामा १४४।२ किलोमिटर लामो अन्तर्राष्ट्रिय सीमा क्षेत्र रहेको छ । सरकारले छोटी भन्सार तोकेका स्थानमा अनिवार्यरूपमा बिओपी स्थापना भइरहेका छन् । बिओपीका लागि स्थानीय तहले दाताबाट प्राप्त वा खाली रहेको सरकारी जग्गा उपलब्ध गराउँदै आएका छन् ।

मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले सशस्त्र प्रहरीको बिओपीलाई स्थानीय सरकारको तर्फबाट आवश्यकता हेरी सहयोग गरिने बताए । 

भारतको पश्चिम बङ्गालसँग सीमा जोडिएको मेचीनगरमा काँकडभिट्टा, बाहुनडाँगी र ज्यामिरगढी गरी तीनवटा बिओपी स्थापना भइसकेका छन् भने अझै एउटा नकलबन्दा छोटी भन्सार क्षेत्रमा स्थापनाको तयारी भइरहेको छ । 

सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले सीमाको अभिलेख दुरुस्त राख्ने र सीमापार अपराध नियन्त्रण गर्ने बिओपीको लक्ष्य भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप