शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा ‘कर्णाली’ विवादः काठमाडौँमा रणनीति बनाउन नेताहरूको दौडधुप !

बिहीबार, २९ असोज २०७७, १९ : ०२
बिहीबार, २९ असोज २०७७

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कर्णाली प्रदेशमा देखिएको विवादबारे छलफल गर्न दुवै पक्षका नेताहरू काठमाडौँ आइपुगेर नेताहरूसँगको भेटवार्तामा लागेका छन् ।  मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, केन्द्रीय सदस्य तथा सांसद चन्द्रबहादुर शाही, सांसद अम्मरबहादुर थापा र समस्या समाधानका लागि सुर्खेत गएका केन्द्रीय सदस्य नीरज आचार्य बुधबारै काठमाडौँ फर्केका हुन् ।

अविश्वासको प्रस्ताव ल्याउन नेतृत्व गर्ने यमलाल कँडेल र सांसद गुलावजङ्ग शाह तथा दाहाल समूहका पार्टी प्रदेश कमिटी सचिव माया शर्मा भने बिहीबार मात्रै आइपुगेका हुन् ।  कँडेलले काठमाडौँ झरेलगत्तै खुमलटार पुगेर अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् । खुमलटारबाट उनी बालुवाटार पुगेर अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दैछन् । स्रोतका अनुसार दुवै पक्षका नेताहरूले एकअर्को पक्ष र आआफ्नै पक्षसँग भेटवार्ता गरेपछि मात्रै संयुक्त रूपमा दुवै अध्यक्षसहित बसेर विवाद निरूपणबारे छलफल गर्ने तयारी छ । 

दुवै पक्षले एकअर्कासँग र आफ्नै पक्षसँग छलफल गर्ने भएकाले बिहीबारका लागि तय भएको संयुक्त छलफल शुक्रबार मात्रै हुने भएको छ ।  ‘आज बिहीबारसम्ममा आइपुग्नु भनिएको हो । हामी आइपुगेका छौँ’, नेकपा कर्णाली प्रदेश सहइन्चार्ज समेत रहेका कँडेलले रातोपाटीसँग भने, ‘सायद अब भोलि मात्रै संयुक्त छलफल होला ।’ 

यसअघि बुधबार काठमाडौँ आएका मुख्यमन्त्री शाहीले पनि बिहीबार बिहान खुमलटार पुगेर अध्यक्ष प्रचण्डलाई भेटेका छन् भने प्रकाश ज्वाला, नीरज शाही लगायतले बुधबारै कोटेश्वर पुगेर नेता माधवकुमार नेपाललाई भेटेका छन् ।  त्यसक्रममा उनीहरूले विवादको कारण र समाधानको उपायका बारेमा समेत जानाकारी गराएको बुझिएको छ ।

बुधबार बेलुका नेता नेपालले सुर्खेतबाट आएको आफ्नो पक्षको टोलीले भेट गरेको भोलिपल्ट अर्थात आज बिहान नेता नेपालले अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । प्रचण्ड र नेपाल समूह साझा रणनीतिका साथ संयुक्त छलफलमा प्रस्तुत हुने तयारीमा छ । त्यस्तै कँडेलको समूह पनि प्रचण्डलाई भेटेपछि ओली लगायतका नेताहरूसँग भेटेर एकसरो रणनीति बनाउने तायरीमा जुटेको छ । 

‘दुवै पक्ष काठमाडौँ आएर एकअर्का र आफ्नो समूहका नेताहरूसँगको भेटघाट चलिरहेको छ’, एक केन्द्रीय सदस्यले भने, ‘ती भेटवार्तामा एकले अर्काको कुरा बुझ्ने र आआफ्नो तर्फबाट रणनीति बनाउने काम भएको हुनहुन्छ ।’ 
उनले पहिला आफ्नो समूहको साझा रणनीति बनाएर मात्रै संयुक्त छलफलमा बस्ने तयारी भइरहेको बताए । 

संयुक्त छलफलमा विवादबारे सहमति जुटाउने प्रयास गरिने अर्का एक नेताले रातोपाटीलाई जानकारी दिए । ‘शीर्ष नेताहरू पनि सुरुमा दुवै पक्षका कुरा सुन्ने र त्यहीअनुसार आफ्नो पक्षलाई बटमलाइन बनाउन निर्देशन दिने तयारीमा लागेको बुझिन्छ’, ती नेताको भनाइ छ ।

सहइन्चार्ज कँडेल लगायत १८ सदस्यले गत आइतबार संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि विवाद सतहमा छरिएको थियो । जसमा ओली समूहका ८, नेता नेपाल समूहका ७ पूर्व माओवादी केन्द्रका ३ सांसदले हस्ताक्षर गरेका थिए । यसरी नेकपा कर्णालीमा सल्किएको आगो अन्य प्रदेश पनि पुग्ने भएपछि अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका केही सदस्यले प्रस्ताव फिर्ता लिँदै प्रमुख सचेतक गुलावजङ्ग शाहलाई मुख्यन्त्रीले कारबाही गरेपछि प्रस्ताव अघि बढ्नबाट रोकिएको थियो । 

त्यसका लागि प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालपक्षबीच सहकार्य भएको थियो । त्यसक्रममा सुर्खेतमा मुख्यमन्त्री शाही पक्षले नेपाल पक्षलाई थप ३ मन्त्री दिनेबारे लगभग सहमति भएको थियो । तर सुर्खेतमा प्रचण्ड र नेपाल पक्षबीच भएको यो सहमतिलगत्तै ओली र प्रचण्डले नेताहरूलाई काठमाडौँ बोलाएका थिए ।

यसअघि अविश्वास प्रस्ताव दर्ता भएलगत्तै कँडेल पक्षले मङ्गलबारका लागि बोलाएको बैठक पनि भाडिएको थियो । त्यसक्रममा मुख्य सचेतक गुलावजङ्ग शाहलाई मुख्यमन्त्री शाहीले सोमबारै हटाएर उनको ठाउँमा प्रमुख सचेतकमा सीता नेपालीलाई नियुक्ति गरेका थिए । त्यसको भोलिपल्ट अर्थात मङ्गलबार सचेतकमा अर्का सदस्य कुर्मराज शाहीलाई मुख्यमन्त्री शाहीले नियुक्त गरेका थिए । 

कर्णाली प्रदेशको विवाद निरूपण गर्न नेकपा केन्द्रीय सदस्यसमेत रहेका माधव नेपाल निकटक नीरज आचार्य लगायतको टोली सुर्खेत पुगेर मध्यमार्गी भूमिका निर्वाह गरेको थियो । त्यसपछि अविश्वासको पक्षमा रहेका माधव समूहका नेताहरू मङ्गलबार कँडेल पक्षले बोलाएको बैठकमै उपस्थित भएका थिएनन् । हस्ताक्षरकर्ता नै सहभागी नभएपछि अविश्वासको प्रस्ताव पास गर्ने योजनमा रहेको कँडेल समूह अलपत्र परेको थियो । 

कर्णालीमा विवाद बढ्दै गएपछि मङ्गलबार कर्णाली पार्टी पदाधिकारीहरूलाई विवाद जाहाँको त्यहीँ राखेर काठमाडौँ आउन अध्यक्षद्वय ओली र प्रचण्डले निर्देशन दिएका थिए ।  नेकपा कर्णाली प्रदेश इन्चार्जमा जनार्दन शर्मा, सहइन्चार्ज यमलाल कँडेल, संसदीय दलका नेता महेन्द्रबहादुर शाही तथा कर्णाली प्रदेशका पार्टी अध्यक्ष गोरखबहादुर बोगटी र सचिव मायाप्रसाद शर्मा छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप