रुसले बनायो दोस्रो कोरोना भ्याक्सिन, तेस्रो भ्याक्सिन डिसेम्बरमा स्वीकृत हुनसक्ने
एजेन्सी । रुसले नयाँ कोभिड १९ भ्याक्सिनलाई प्रयोगको अनुमति दिएको छ । पूर्व सोभियत बायोकेमिकल रिसर्च ल्याब भिक्टोर स्टेट भिरोलोजी एन्ड बायोटेक्नोलोजी सेन्टरमा विकसित ‘इपि भ्याक कोरोना’ नामक भ्याक्सिनलाई स्वीकृति दिइएको घोषणा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गरेका हुन् ।
दुई महिनाअघिमात्रै स्पुतनिक पाँचौ नामक भ्याक्सिनले रुस सरकारबाट स्वीकृति पाएको थियो, परीक्षणकै क्रममा रहेको स्पुतनिक सार्वजनिक प्रयोगका लागि स्वीकृति पाउने विश्वको पहिलो कोरोना भ्याक्सिन हो । रुसी अधिकारीहरुले डिसेम्बरसम्म तेस्रो भ्याक्सिनले पनि स्वीकृति पाउनसक्ने बताएका छन् ।
पहिलो ब्याचअन्तर्गत, नयाँ भ्याक्सिनको झन्डै ६० हजार डोज चाडैं उत्पादन गरिने रुसी अधिकारीहरुले जनाएका छन् । रुसी अधिकारीहरुकाअनुसार यस भ्याक्सिनले साइन्थेटिक पेप्टाइड एन्टिजेन्स नामक भाइरसका अवशेषहरु प्रयोग गर्छ, जसले प्रतिरोधी प्रणालीलाई कोरोनाविरुद्ध आफ्नो रक्षा गर्न अभ्यस्त गराउनेछ ।
यस भ्याक्सिनको सुरुवाती चरणको परीक्षणको डाटा अझै सार्वजनिक गरिएको छैन, तर अधिकारीहरुले परीक्षणका भ्याक्सिन सुरक्षित र प्रभावकारी देखिएको अधिकारीहरुको दाबी छ । स्पुतनिक पाँचैजस्तै यो नयाँ भ्याक्सिन पनि सरकारबाट स्वीकृति लिएपछि मात्रै तेस्रो चरणको परीक्षणमा जान लागेको हो । यसक्रममा भ्याक्सिन निर्माता भिक्टोर सेन्टरले ४० हजार व्यक्तिमा यो भ्याक्सिन परीक्षण गरिने जनाएको छ । त्यस्तै, अर्को एक अलग अध्ययनका दौरान ६० वर्षमाथिका १ सय ५० व्यक्तिमा परीक्षण हुनेछ ।
रुसले कोरोना भाइरस महामारी अन्त्य गर्ने विश्वव्यापी दौडमा आफुलाई प्रमुख खेलाडीका रुपमा स्थापित गर्न चाहेको छ । यद्यपि, अगस्टमा उसले स्वीकृति दिएको स्पुतनिक भ्याक्सिनको प्रभावकारितालाई लिएर वैज्ञानिक तथा पश्चिमा राजनीतिज्ञहरुले आशंका व्यक्त गरिरहेका छन् ।
केवल ७६ जनामा परीक्षण गरिएकै भरमा स्पुतनिकले प्रयोगको स्वीकृति पाएको थियो । त्यसयता, रुसी वैज्ञानिकहरुले यस भ्याक्सिनको सुरुवाती अध्ययनको सकारात्मक डाटा सार्वजनिक गरेका छन् र अहिले ठूलो जनसंख्यामा यस भ्याक्सिनको तेस्रो चरणको परीक्षण चलिरहेको छ । पुटिनले मन्त्रिपरिषद् बैठकमा पहिलो र दोस्रो भ्याक्सिनको उत्पादन बढाउनैपर्ने बताएका छन् ।
रुसले भारत, ब्राजिल र मेक्सिकोजस्ता ठूलो जनसंख्या बसोबास गर्ने देशहरुसहित अन्य धेरै देशमा स्पुतनिक पाँचौ बिक्री गर्ने सम्झौता गरिसकेको छ, पश्चिमा विश्लेषकहरु आफ्नो सफ्ट पावर उपयोग गर्न लागि रुसले भ्याक्सिन प्रयोगको प्रयास गरिरहेको बताउँछन् ।
‘हामी आफ्ना विदेशी साझेदारहरुसँग सहकार्य निरन्तर गर्नेछौं र हाम्रो भ्याक्सिनलाई विदेशमा प्रबद्र्धन गर्नेछौं,’ पुटिनले भनेका छन् । उनले विदेशमा प्रयोग हुने भ्याक्सिन विदेशमै उत्पादन गरिनुपर्ने बताएका छन् । यसअघि रुसी अधिकारीहरुले स्वदेशको उत्पादन क्षमता आफ्नो स्थानीय जनसंख्याकै लागि प्रयोगमा ल्याउनुपर्ने बताएका थिए ।
विश्वमा कोरोनाबाट अति प्रभावित देशहरुमध्ये रुस चौथो स्थानमा पर्छ, यहाँ १३ लाखभन्दा धेरैमा संक्रमण देखिइसकेको छ । बुधबार यहाँ १४ हजार २ सय ३१ जनामा कोरोना संक्रमण देखियो, जो महामारी सुरु भएयताकै उच्च हो । यहाँ कोरोनाका कारण २३ हजारले ज्यान गुमाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरियामा पक्राउ पर्ने पहिलो राष्ट्रपति बने येओल
-
गाम्नागेको कृति ‘दलालशाला’ को झापा र दुबईबाट एकसाथ विमोचन
-
कंगनाको ‘इमर्जेन्सी’ माथि बङ्गलादेशमा प्रतिबन्ध
-
जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
-
बक्स अफिसमा फेल भयो राम चरणको गेम चेञ्जर
-
प्रचण्डका दुई ‘मुभ’ : रणनीतिमा वामपन्थी एकता, कार्यनीति ओली सरकार ढाल्ने