बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सावधान ! कोरोना उपचारको नाममा जथाभावी जडीबुटी सेवन नगरौं

बुधबार, २८ असोज २०७७, १३ : २८
बुधबार, २८ असोज २०७७

काठमाडौं । कोरोनाभाइरस अर्थात् कोभिड–१९ महामारी विश्वभर फैलिएको छ । नेपालमा पनि कोरोना संक्रमित र यसबाट मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । यो भाइरसको संक्रमण निको पार्ने खोप तथा औषधिहरु परीक्षणकै चरणमा छन्, तिनको पूर्ण विकास भइसकेको छैन । विभिन्न खोपको क्लिनिकल ट्रायल भइरहेको छ । यद्यपि संक्रमितहरुका लागि रेमडिसिभिर औषधि र प्लाज्मा थेरापीमार्फत उपचार हुँदै आएको छ ।

कोरोना संक्रमण हुन नदिन तथा संक्रमणमुक्त हुन भन्दै पछिल्लो समय आयुर्वेदिक औषधि सेवन गर्नेहरुको संख्या पनि बढ्दो छ । काठमाडौंका चोकचोकमा, किराना पसल, तरकारी बजारमा समेत कोरोना निको हुने र कोरोना लाग्न नदिने भन्दै थरिथरिका जडीबुटी बिक्री भइरहेको पाइन्छ ।

यसरी आयुर्वेदिक औषधिका नाममा बिक्री हुँदै आएका जडीबुटी कति प्रभावकारी हुन्छन् भन्नेबारे प्रष्ट जानकारी नभए पनि सर्वसाधारणले कोरोना कहरका बीच विश्वासका साथ जडीबुटी किन्ने र प्रयोग गर्ने गरेको पनि पाइन्छ ।

कोरोना संक्रमितको उपचारका लागि नेपालमै पाइने आयुर्वेदिक औषधिको क्लिनिकल ट्रायल कहाँ पुग्यो ? कोभिड १९ संक्रमितको उपचारका लागि आयुर्वेदिक औषधि कति प्रभावकारी हुन्छ ? प्रस्तुत छ– यी र यस्ता जनसरोकारका विभिन्न विषयमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. बासुदेव उपाध्यायसँग गरिएको कुराकानी ।

नेपालमा कोभिड १९ का केही बिरामीले आयुर्वेदिक औषधिमात्रै सेवन गरेका छन्, त्यसको प्रभावकारिता कस्तो पाइएको छ ? 

– कोरोनाभाइरस वा कोभिड १९ का बिरामीलाई आयुर्वेदिक औषधि हामीले तोकेका छैनौँ । कोरोनाको औषधि भनेर यदाकदा भ्रामक प्रचार गरेको पनि पाइन्छ । कोरोनाभाइरसले हाम्रो शरीरलाई पार्न सक्ने दुष्प्रभाव तथा निम्त्याउन सक्ने रोगमा पहिलादेखि चलिआएका जडिबुटीहरू प्रभावकारी हुन सक्छन् । साथै रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ । जस्तै, कोभिड–१९ लाग्दा श्वासप्रश्वास प्रणालीमा समस्या आउँछ भने विभिन्न किसिमका परम्परागत जडीबुटीले श्वास प्रणालीलाई बलियो बनाएर त्योसँग लड्नसक्ने क्षमता बढाउन सक्छ ।

आयुर्वेद चिकित्सा प्रणालीमा प्रयोग भएका जडीबुटीले कोभिड–१९ भइसकेपछि   देखिएका लक्षणहरूसँग लड्नसक्ने क्षमता बढाउन सक्छ । कोभिड–१९ भएर सामान्य खालको रुघाखोकी, ज्वरो, श्वासप्रश्वासमा समस्या, गन्ध थाहा नपाउने जस्ता समस्या भएको अवस्थामा जडीबुटीको प्रयोग गरेमा कोभिड–१९कै कारण गम्भीर बिरामी हुनुपर्दैन भनेर हामीले नेपालमा कोरोना देखिनेबित्तिकै भनेको हो ।

कोभिड–१९ हुँदा देखापर्ने लक्षणको उपचार नेपालमै पाइने परम्परागत विभिन्न जडीबुटीले हुन्छ भन्ने कुरा हाम्रो आयुर्वेदले पहिलादेखि नै भनेको छ । तर यसलाई अनुसन्धानको पाटोबाट अगाडि बढाउनुपर्छ भनेर आयुर्वेद विभागले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरेर नेपाल राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् मार्फत केही जडीबुटीको हाल ट्रायल भइरहेको छ । नेपालमा कोरोना संक्रमित देखिने क्रम बढेपछि संक्रमितको रोग प्रतिरोधात्मक क्षमता बढाउन केही जडीबुटी यसरी खान सकिन्छ भनेर विभिन्न आयुर्वेदिक संस्थामार्फत क्वारेन्टिनमा पुगेर जानकारी गरायौँ ।

सुरुवाती अवस्थामा कोभिड–१९ का बिरामीलाई खुवाउने कुनै पनि औषधि थिएन । त्यस्तो बेलामा आयुर्वेदका विभिन्न औषधिहरू खुवाएर, योग–प्रणायाम गराउनुका साथै मानसिक रुपमा सकारात्मक सोचको विकास गराएर कोभिड–१९ मुक्त भएर घर फर्किएका धेरै उदाहरण पनि हामीसँग छन् । क्रमशः लक्षणसहितका बिरामी बढ्न थालेपछि कीर्तिपुर आयुर्वेदिक अनुसन्धान तथा अस्पताल, गण्डकी प्रदेशको नवलपरासी प्राकृतिक चिकित्सालय, लुम्बिनी प्रदेशका विभिन्न आइसोलेशन सेन्टरमा लक्षण नभएका संक्रमित र कोभिड–१९ को सुरुवाती अवस्थाका सामान्य बिरामीलाई जडीबुटी खुवाउँदा एक हप्ताको अवधिमा करिब ८०÷८५ प्रतिशतलाई निको भयो । कोभिड–१९ भएर लक्षण देखिएकालाई आयुर्वेदिक जडीबुटी खुवाएपछि स्वास्थ्य समस्या नबढेका कारण ती बिरामीलाई आइसियुसमेत आवश्यक परेन ।

तपाईकै भनाइअनुसार कोभिड–१९ भएका बिरामीले समयमै आयुर्वेदिक औषधि सेवन गरेमा निको हुन्छ ?

– कोभिड–१९ हुँदा देखापर्ने लक्षणको उपचार नेपालमै पाइने परम्परागत विभिन्न जडीबुटीले हुन्छ भन्ने कुरा हाम्रो आयुर्वेदले पहिलादेखि नै भनेको छ । तर यसलाई अनुसन्धानको पाटोबाट अगाडि बढाउनुपर्छ भनेर आयुर्वेद विभागले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरेर नेपाल राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् मार्फत केही जडीबुटीको हाल ट्रायल भइरहेको छ । नेपालमा कोरोना संक्रमित देखिने क्रम बढेपछि संक्रमितको रोग प्रतिरोधात्मक क्षमता बढाउन केही जडीबुटी यसरी खान सकिन्छ भनेर विभिन्न आयुर्वेदिक संस्थामार्फत क्वारेन्टिनमा पुगेर जानकारी गरायौँ । सामान्य लक्षण देखिएका बिरामीलाई सेवा दिइसकेपछि हामीले दुईवटा कुरा पायौं । पहिलो– कोरोना पोजेटिभ र कोभिड–१९ का सामान्य लक्षण देखिएर आइसोलेशनमा बसेकालाई लक्षण बढेर कहीँ रिफर गर्न परेन । कोभिड–१९ हुँदा देखिएका लक्षण ७ दिनदेखि १४ दिनसम्म जडीबुटी खाइसकेपछि निको भए भने मानसिक रुपमा दिक्दार भएर आइसोलेशनमा बसेको मानिसको मनमा मैले कोरोनासँग लड्ने औषधि खाइरहेको छु भनेर ऊर्जा थपिएको पायौँ ।

सँगसँगै आइसोलेशनमा बसेर आयुर्वेदिक जडीबुटी खाइरहेकालार्ई नियमित रुपमा योग गराउँदा राम्रो प्रभाव परेको पायौँ । हाम्रो भान्सामा हुने दालचिनी बेसार, टिमुर, अश्वगन्धा, गुर्जोले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ भन्ने धेरैले थाहा पाए । स्थानीय तहमा होम आइसोलेशन बसेकालाई जनप्रतिनिधिहरूले प्रतिरोधात्मक क्षमता बढाउन च्यवनप्राश, अश्वगन्धा लगायतका औषधि लगेर जाने गरेको पाइन्छ । किनकि जनतामा परम्परागत जडीबुटीप्रति विश्वास बढेको देखिन्छ ।

नीति निर्माता र जनप्रतिनिधिहरूले यसलाई अवसरको रुपमा लिएर राष्ट्रिय चिकित्सा, मौलिक चिकित्सा एवं जडीबुटीको धनी देश भएको नाताले अन्य रोगका सम्बन्धमा समेत प्रयोग हुँदै आएका जडीबुटीको अध्ययन, अनुसन्धानमा राज्यले ध्यान दिनुपर्छ । कोरोना नआउँदै पनि आयुर्वेद चिकित्सामार्फत देशका विभिन्न भागमा अन्य रोगका बिरामीलाई सेवा दिँदै आएका थियौँ । त्यसैले हाम्रो सिस्टमलाई विश्वास गरेर नै संक्रमितले जडीबुटी प्रयोग गरिरहेका छन् ।

नेपालमा आयुर्वेदिक औषधिको क्लिनिकल ट्रायल कहाँकहाँ हुँदैछ ?

– नेपालमै पाइने परम्परागत जडीबुटीको क्लिनिकल ट्रायल लुम्बिनी प्रदेशको भिम अस्पताल र प्रदेश २ को गौर अस्पतालमा भइरहेको छ । आइसोलेशनमा बसेका लक्षणसहितका बिरामीहरूलाई विभिन्नथरिका जडीबुटी खुवाउँदा कस्तो–कस्तो प्रभाव पर्छ भन्नेबारे अनुसन्धान भइरहेको छ । जस्तै, आयुर्वेदिक औषधि तथा जडीबुटी खाएपछि रिपोर्ट छिटै नेगेटिभ आउँछ कि आउँदैन ? सामान्य लक्षण देखापरेका व्यक्तिलाई गम्भीर अवस्थामा पुग्नबाट यस्ता औषधिले रोक्छ कि रोक्दैन ? यो औषधि २८ दिनसम्म खुवाएपछि रगतको नमुना लिएर शरीरमा के–के परिवर्तन आयो भन्ने कुराको वैज्ञानिक प्रमाण थाहा पाउन अनुसन्धान गरिएको हो । देशभर ३ सय ७५ वटा आयुर्वेदिक स्वास्थ्य केन्द्र छ भने ५ वटा स्वास्थ्य केन्द्रबाट कोभिड–१९ भएकाहरूलाई विभिन्न जडीबुटी खुवाउन सुरु गरेका थियौँ ।

सरकारले परम्परागत आयुर्वेद तथा जडीबुटीलाई अन्य रोगको औषधिका रुपमा समेत प्रयोग गर्न अध्ययन–अनुसन्धानलाई कसरी अगाडि बढाउनु पर्छ जस्तो लाग्छ ?

– नीति निर्माता र जनप्रतिनिधिहरूले यसलाई अवसरको रुपमा लिएर राष्ट्रिय चिकित्सा, मौलिक चिकित्सा एवं जडीबुटीको धनी देश भएको नाताले अन्य रोगका सम्बन्धमा समेत प्रयोग हुँदै आएका जडीबुटीको अध्ययन, अनुसन्धानमा राज्यले ध्यान दिनुपर्छ । कोरोना नआउँदै पनि आयुर्वेद चिकित्सामार्फत देशका विभिन्न भागमा अन्य रोगका बिरामीलाई सेवा दिँदै आएका थियौँ । त्यसैले हाम्रो सिस्टमलाई विश्वास गरेर नै संक्रमितले जडीबुटी प्रयोग गरिरहेका छन् ।

नेपालमा पाइने विभिन्न किसिमका जडीबुटीलाई वैज्ञानिक प्रमाणीकरण गर्न बृहत् योजना बनाएर अध्ययन, अनुसन्धान गर्ने वातावरण सिर्जना गर्नुपर्छ । कोरोनाभाइरस संक्रमितको औषधि–उपचार पत्ता नलागेको अवस्थामा नेपाली जुडीबुटीलाई लक्षणमा आधारित भएर सेवन गर्दा प्रभावकारी नतिजा पाइएको छ भने अन्य रोगको उपचारमा प्रयोग हुने धेरै जडीबुटी हामीकहाँ पाइन्छ । वैज्ञानिक युग भएकाले ती आयुर्वेदिक औषधिलाई थप प्रमाणीकरण गर्न आवश्यक छ ।

कोरोनाको औषधिभन्दै तरकारी बजार, किराना पसल, सडक पेटीमा जडीबुटी बेचेको पाइन्छ । यसरी जथाभावी रुपमा जडीबुटी सेवन गर्दा स्वास्थ्यलाई असर गर्छ कि गर्दैन ?

– जहिले पनि आयुर्वेदिक औषधि, जडीबुटीको हकमा भ्रामक कुरा सिर्जना भइरहन्छन् । विशेषज्ञको सल्लाहविना जथाभावी जडीबुटी खाँदा स्वास्थ्यमा उल्टो असर पर्छ । कोरोनाविरुद्ध अहिले बढी चर्चामा आएको जडीबुटी गुर्जो हो । गुर्जाे जथाभावी खाँदा कहिलेकाहीँ हाइपोटेन्सन गराउने, रिँगटा लाग्ने लगायतका समस्या हुन सक्छ । यदि कुनै व्यक्तिले आफुखुसी घरमै बसेर जडीबुटी खान चाहनुहुन्छ भने भान्सामा उपलब्ध हुने दालचिनी, सुठ्ठो, मरिच, पिप्ला, बेसार आदि जडीबुटीलाई आवश्यकता अनुसार मात्रा मिलाएर खान सकिन्छ । मानौं कुनै ठाउँमा स्यानिटाइजर पुगेको छैन भने तितेपाती, निमको पात लगायत पिसेर स्यानिटाइजरका रुपमा हातखुट्टा सरसफाई गर्न सकिन्छ ।

अहिले काठमाडौंको हरेक ठाउँमा गुर्जो राखेको देखिन्छ । यसलाई दुई तरिकाबाट हेर्नुपर्छ । पहिलो, गुर्जोलाई गाउँघरतिर सोत्तर बनाएर फाल्थे । अहिले त्यो संकलन गरेर किसानले हजार÷दुई हजार कमाउँछन् भने राम्रो पक्ष हो । त्यसलाई वैज्ञानिक तरिकाबाट संकलन गरेर औषधि उत्पादनतिर लाग्नुपर्छ । जथाभावी गुर्जो किनेर राख्नभन्दा आयुर्वेद चिकित्सकहरूसँग सल्लाह गरेर खानुपर्छ । कोरोना निको पार्ने वा लाग्न नदिने भन्दै विभिन्न जडीबुटी सेवन गर्नुभन्दा पहिला आयुर्वेद चिकित्सकसँग कति खाने, कतिबेला खाने, कस्तो अवस्थामा खाने भनेर सल्लाह गर्नु राम्रो हुन्छ ।

यदि कसैलाई रुघाखोकी लागेमा ती भान्सामा पाइने जडीबुटी कति मात्रामा खाने, कति डोज खाने भन्नेबारे स्वास्थ्यकर्मीको सल्लाह लिनु राम्रो हुन्छ । जडीबुटी भन्दैमा जथाभावी सेवन गर्न हुँदैन । यदि तपाईले स्वस्थ रहनका लागि चियाको रुपमा भान्सामै पाइने मरिच, पिप्ला, बेसार अथवा तुल्सीका पाँचवटा जति पात मिसाएर दैनिक बिहान एक गिलास पानी पिएमा श्वासप्रश्वाससँग सम्वन्धित समस्या, आज्मा, रुघाखोकी आदि निको हुन्छ । यसलाई हामी कोरोनाको औषधि भन्दैनौं ।

कोरोना संक्रमण भएका र नभएका दुवैथरीले भान्साभित्रका जडीबुटीलाई बढी प्राथमिकता दिएको पाइन्छ । यसरी जथाभावी सेवन गर्दा समस्या उत्पन्न हुँदैन ?

– जडीबुटी दुईथरि हुन्छ, एउटा आहार र अर्काे बिरामी हुँदा खाने । कुनै रोग लागेर बेसार, मेथी, ज्वानो, दालचिनी, मरिच, अदुवा, लसुन, टिमुर, गुर्जोजस्ता जडिबुटी खाँदा मात्रा फरक गरेर खानुपर्ने हुनसक्छ । कहिलेकाहीँ यी जडीबुटी खाँदा चिकित्सकको सल्लाह लिनुपर्ने स्थिति सिर्जना हुन सक्छ । तर प्रतिरोधात्मक क्षमता बढाउनका लागि सेवन गर्छु भन्नेले घरमा पाइने सुठ्ठो, मरिच, पिप्ला एक ग्राम, बेसार एक ग्राम, दालचिनी एक ग्रामसँगै धुलो बनाएर एक लिटर पानीमा मिश्रण गरेर उमाल्ने र दिनमा एकदेखि दुई गिलास नियमित पिउँदा राम्रो हुन्छ ।

यदि कसैलाई रुघाखोकी लागेमा ती भान्सामा पाइने जडीबुटी कति मात्रामा खाने, कति डोज खाने भन्नेबारे स्वास्थ्यकर्मीको सल्लाह लिनु राम्रो हुन्छ । जडीबुटी भन्दैमा जथाभावी सेवन गर्न हुँदैन । यदि तपाईले स्वस्थ रहनका लागि चियाको रुपमा भान्सामै पाइने मरिच, पिप्ला, बेसार अथवा तुल्सीका पाँचवटा जति पात मिसाएर दैनिक बिहान एक गिलास पानी पिएमा श्वासप्रश्वाससँग सम्वन्धित समस्या, आज्मा, रुघाखोकी आदि निको हुन्छ । यसलाई हामी कोरोनाको औषधि भन्दैनौं । जडीबुटी औषधिको रुपमा प्रयोग गर्दा चिकित्सकको सल्लाहअनुसार सेवन गर्नुपर्छ ।

अस्पतालको आइसोलेशनमा बसेका कोभिड–१९ का बिरामीले आयुर्वेदिक औषधि खान खोज्दा पनि अस्पतालले नदिएको भनेर आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीले विरोध गरेका थिए । यसलाई कसरी लिनु हुन्छ ?

– अस्पतालको आइसोलेशनमा बसेको बिरामीलाई कस्तो खालको लक्षण देखिँदा कुन खालको औषधि प्रयोग गर्ने र कस्तो उपचार गर्ने भन्ने कुरा चिकित्सकलाई थाहा हुन्छ । उपचार गर्ने डाक्टरलाई प्लाज्मा थेरापी, रेमडिसिभिरमा विश्वास छ भने त्यही औषधिमार्फत उपचार गर्छ । संक्रमित बिरामीको अवस्था सामान्य छ भने यी दुई औषधि पनि ट्रायल कै क्रममा हुन् र आयुर्वेदिक औषधि पनि ट्रायलमै रहेकाले पहिला आयुर्वेद जडीबुटी खाएर विचार गरेरमात्रै अरु औषधि खान्छु भन्न बिरामीले पाउनुपर्छ । त्यो बिरामीको अधिकार पनि हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप