शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाको चपेटामा १० सेलिब्रेटी : कोहीले जिते, कोही भने जुध्दै

बुधबार, २८ असोज २०७७, ०९ : ३९
बुधबार, २८ असोज २०७७

विश्वमै कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण फैलिँदै गइरहेको छ । नेपालमा पछिल्लो समय दैनिक २ हजारमाथि संक्रमित फेला पर्न थालेका छन् । काठमाडौं उपत्यका कोरोना संक्रमणको नजरले ‘डेन्जर जोन’ बनेको छ । सरकारले कोरोनाभाइरसको नियन्त्रण तथा रोकथामका चालेको कदम प्रभावकारी हुन नसकेको गुनासो व्याप्त छ । लकडाउन, निषेधाज्ञा, सवारी साधनमा जोरबिजोर प्रणाली लगाउँदासमेत कोरोना संक्रमितको संख्या घट्न सकेन । 
मन्त्री, राज्यको उच्च तहमा रहेका कर्मचारी, ब्यवसायीलगायत कुनै पनि क्षेत्रका मानिस कोरोनाबाट प्रभावित नभएको भन्ने छैन । चलचित्र क्षेत्रका सेलिब्रेटीमा पनि यसबाट अछुतो रहन सकेका छैनन् । अहिलेसम्म १० सेलिब्रेटीमा कोरोना पुष्टि भएको प्रकाशमा आएको छ । तीमध्ये कतिपय ठिक भइसके भने कतिपय अझै कोरोनासँग लड्दैछन् । 

सुवास कार्की ‘बेलासे’(कलाकार) :


नेपाली कलाकारमध्ये सबैभन्दा पहिले कोरोना संक्रमित हुनेमा पर्छन् सुवास कार्की ‘बेलासे’ । हास्य शृङ्खला ‘भद्रगोल’मा ‘बेलासे’को भूमिका निर्वाह गरेर चर्चा कमाएका सुवासमा गत वैशाखमै कोरोना पोजेटिभ पुष्टि भएको थियो ।
करिब २ वर्षदेखि लण्डनमा बस्दै आएका उनी उतै कोरोना संक्रमित भएका हुन् । कोरोना पुष्टि भएपछि लण्डनस्थित निवासमै सेल्फ आइसोलेसनमा बसेका उनले केही हप्तामा कोरोनालाई जितेका थिए । श्रीमती, एक छोरा र एक छोरीका साथ लण्डनमा बस्दै आएका उनी त्यहाँको एक कम्पनीमा सुरक्षासम्बन्धी काम गर्दछन् ।

देवीराम पराजुली ‘भोकलाग्यो’(कलाकार) :


हास्य कलाकार देवीराम पराजुली ‘भोकलाग्या’लाई गत भदौमा कोरोना संक्रमण भएको थियो । पछिल्लो समय नेपाली कलाकारिता छोडेर अमेरिका हानिएका उनी उतै कोरोना संक्रमित भएका हुन् ।
आफु कोरोना संक्रमित भएको जानकारी उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका थिए । उनले एकसाथ दुई फरक तस्बिर सार्वजनिक गर्दै लेखेका थिए ‘कोरोनाले माया गर्दा र छोड्दै गर्दा फरक अनुभव हुँदो रहेछ ।’
उनी अहिले संक्रमणमुक्त भएका छन् । थुप्रै टेलिसिरियल तथा फिल्ममा अभिनय गरेका पराजुली हास्य शृङ्खला ‘जिरे खुर्सानी’बाट चर्चामा आएका थिए ।

टंक बुढाथोकी (गायक, संगीतकार) :


गायक तथा संगीतकार टंक बुढाथोकीले कोरोनामाथि विजय प्राप्त गरिसकेका छन् । गत भदौमा संक्रमित भएका उनी झण्डै एक महिनापछि संक्रमणमुक्त भएका हुन् ।
आफूलाई कोरोना संक्रमण भएपछि चिकित्सकको सल्लाहमा चुपचाप होम आइसोलेसनमै बसेर घरेलु उपचार पद्धति अपनाएका बुढाथोकीले निको भएपछि मात्र आफूले कोरोनालाई जितेको जानकारी सार्वजनिक गरेका थिए ।
बुढाथोकीले कोरोना संक्रमण हुँदैमा आत्तिनु नपर्ने बताउँदै आएका छन् । 

सञ्जय श्रेष्ठ (गायक) :


गायक सञ्जय श्रेष्ठ पनि कोरोना संक्रमणमुक्त भइसकेका छन् । सञ्जयको स्वाब परीक्षण रिपोर्ट असोज ६ गते आएको थियो । १६ दिनसम्म घरमै आइसोलेशन बसेका उनले ठिक भएपछि मात्र आफू कोरोना संक्रमणमुक्त भएको समाचार बाहिर ल्याएका थिए ।
तातो–तातो सुप, अन्य स्वस्थकर खानपिनका साथ कसरत र योगले कोरोना ठिक भएको उनको अनुभव छ ।

विजय लामा (कलाकार तथा पाइलट) :


कलाकार तथा नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामा अहिले कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किसकेका छन् । गत भदौ २९ मा उनका कोरोना संक्रमण पुष्टि भएको थियो । लामाले १८ दिनमा कोरोनालाई जितेका हुन् ।
कयौँ पीडाबीच आफूले कोरोनासँग हरेक दिन संघर्ष गरेर जितेको उनको भनाइ छ । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मैले हरेक दिन कोरोनासँग लडिरहेँ । अनेक दुःख र कष्टबीच कोरोनासँगको संघर्षमा हार मानिनँ । यसबीचमा मैले भोगेका कष्टप्रद क्षणहरू अनगिन्ती छन्, कोरोनाले गलाउन खोजिरहँदा पनि मैले निरन्तर संघर्ष गरेर जितेँ ।’

हरिवंश आचार्य (वरिष्ठ कलाकार) :


वरिष्ठ कलाकार हरिवंश आचार्यमा करिव एकसाता अगाडि कोरोना संक्रमण पुष्टि भएको हो । आचार्यले आफू र पत्नी रमिलालाई कोरोना संक्रमण भएको तथ्य सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।
आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र आफ्नो सम्पर्कमा रहेकाहरुलाई होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउन आग्रह गरेका आचार्य सबैलाई जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अवलम्बन गर्न अनुरोध गर्दछन् । आचार्य अहिले आइसोलेसनमा छन् । 

लोचन रिजाल (गायक) :


गायक लोचन रिजाललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि धुलिखेल अस्पतालमा स्वाब परीक्षण गराएका रिजालमा गत शनिबार कोरोना संक्रमण पुष्टि भएको हो ।
रिजालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केही समयदेखि आफ्नो शरीरको तापक्रम बढेको र शरीरमा काप्ने, शरीर दुख्ने जस्ता समस्या देखिएको थियो । आफूलाई लक्षण देखिने बित्तिकै क्वारेन्टिनमा बसेको र अहिले आइसोलेसनमा रहेको छु ।’
उनले छिटै कोरोनामुक्त भएर फर्किने विश्वासमेत व्यक्त गरेका छन् ।
    
दीपक ढकाल (अभिनेता) :


अभिनेता दीपक ढकाललाई गत भदौमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । भेरी अस्पताल नेपालगञ्जमा ल्याब टेक्निसियनको रुपमा कार्यरतसमेत रहेका ढकालले आफुमा कोरोना देखिएको सामाजिक संजालमार्फत सार्वजनिक गरेका थिए ।
होम आईसोलेसनमा बसेका दीपकले अहिले कोरोना जितिसकेका छन् । ‘सुब्बा साब’, ‘लेक साइड’, ‘रेनी’ लगायतका फिल्ममा अभिनय गरेका दीपक पछिल्लो समय ‘बग्ने खोला’ बोलको गीतमा देखिएका थिए । 

प्रेमराजा महत (लोक गायक) :


लोकगायक प्रेमराज महतमा पनि केही अगाडि कोरोना देखिएको थियो । महत र उनकी पत्नी कविता केसी महत दुवैमा संक्रमण पाइएको थियो । 
पछिल्लो समय अमेरिकामा बस्दै आएका उनी उतै संक्रमित भएका थिए । अगस्त ७ मा सामाजिक सन्जाल फेसबुकमा उनले आफू र पत्नी दुवैमा कोरोना संक्रमण भएको जानकारी दिएका थिए ।
घरमै आइसोलेसनमा बसेर कोरोना जितेका गायक महतले कोरोना संक्रमणबाट जोगिन समयमै सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन् । 

प्रकाश शाह (कलाकार) :


कलाकार प्रकाश शाहलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनलाई केही दिन अगाडि कोरोना संक्रमण भएको हो ।
शाहले आफ्नो सम्पर्कमा रहेका सबैलाई आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउन फेसबुकमार्फत आग्रह गरेका छन् । शाह पछिल्लो समय चलचित्र ‘साङ्लो’मा देखिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप