बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

जोन्सन एन्ड जोन्सन कम्पनीको कोभिड–१९ खोपको परीक्षण पनि स्थगित

मङ्गलबार, २७ असोज २०७७, २२ : २१
मङ्गलबार, २७ असोज २०७७

न्यू ब्रन्सवीक । कोरोनाभाइरस विरुद्धको खोपको अन्तिम चरणको परीक्षण गरिरहेको जोन्सन एन्ड जोन्सन कम्पनीले खोप दिइएका एक व्यक्तिमा स्वास्थ्य समस्या देखिएको भन्दै परीक्षण स्थगित गरेको घोषणा गरेको छ । कम्पनीले एक विज्ञप्ति जारी गरी क्लिनिकल परीक्षणका क्रममा सहभागीमा कुनै किसिमको स्वास्थ्य समस्या आउनु स्वाभाविक रहेको जनाएको छ ।

खासगरी खोपमा सहभागीहरुको ठूलो संख्या भएपछि एकाध व्यक्तिमा स्वास्थ्य समस्या देखिन्छ, कम्पनीले भनेको छ ।कम्पनीका फिजिसियन र सुरक्षा अनुगमन समूहले ती व्यक्तिमा देखिएका स्वास्थ्य समस्याका बारेमा अध्ययन गर्ने बताएको छ । खोप लगाएका व्यक्तिको निजी गोपनीयताको संरक्षण गर्ने भन्दै कम्पनीले ती व्यक्तिका बारेमा केही बताएको छैन । 

अमेरिकामा ठूलो संख्याका व्यक्तिमा यो खोप लगाइएको छ । ठूलो मेडिकल अध्ययनमा अस्थायी रोकावटलाई सामान्य रुपमा लिइने गरिन्छ । कम्पनीहरुले औषधिको परीक्षणका क्रममा व्यक्तिमा देखिने गम्भीर वा अनपेक्षित प्रतिक्रियालाई अनुसन्धान गर्नुपर्ने हुन्छ । जोन्सन एन्ड जोन्सनको खोप परीक्षण रोकिएको सम्बन्धी पहिलो समाचार स्ट्याटले दिएको थियो ।

अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले संयुक्त रुपमा तयार पारेको खोपको अन्तिम चरणको परीक्षण अहिले अमेरिकामा रोकिएको छ । अमेरिकी अनुसन्धाताहरुले खोपले मानिसमा कुनै स्वास्थ्य जोखिम निम्त्याउने हो वा होइन भन्ने अध्ययन गरिरहेका छन् ।  अस्ट्राजेनिका–अक्सफोर्डको खोप लगाएकी एक महिलामा स्नायुप्रणालीमा समस्या आएपछि खोप परीक्षण स्थगित गरिएको थियो । तर यस खोपको परीक्षण अन्य मुलुकमा जारी रहेको छ ।

जोन्सन एन्ड जोन्सनले खोपको एक डोजले नै कोरोनाभाइरसबाट सुरक्षा दिने गरी तयार पारेको आफ्नो खोपमा ६० हजार व्यक्तिलाई सहभागी गराउने लक्ष राखेको छ । अमेरिकाका अन्य कम्पनीले भने कोरोनाभाइरसबाट सुरक्षित राख्न व्यक्तिलाई खोपको दुई डोज लगाउने गरी खोप निर्माण गरिरहेका छन् । –एपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप