बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अप्रेसन ‘रक्स’ : हेलमेटले पत्ता लाग्यो ‘सुडाल हत्याकाण्ड’

मङ्गलबार, २७ असोज २०७७, १४ : ४८
मङ्गलबार, २७ असोज २०७७

काठमाडौं । जग्गा खोज्न आउनेले एकान्तमा लगेर कुट्दा भक्तपुर चाँगुनारायण–८ सुडाल बस्ने चन्द्र बहादुर योञ्जन गम्भीर घाइते भए । असोज २१ को साँझ घाइते चन्द्रबहादुरलाई पहिले मध्यपुर अस्पताल र त्यहाँबाट बसुन्धरास्थित ग्रिनसिटी अस्पतालमा लगियो । असोज २२ मा बिहानै उनको मृत्यु भयो ।  

रामेछापको सुनापती गाउँपालिका–१ का चन्द्र बहादुरले सुडालमा घर बनाएका थिए । घरमा किराना र मदिरा पसल थियो । जग्गा खोज्न आउनेले उनकै पसलमा बियर पिए । अनि, भने, ‘मामा जग्गा चाहिएको छ, भोलि नै बैना गर्ने हो, हेरिहालौं ।’ 

चन्द्र बहादुर नक्सा निकालेर जग्गा देखाउन राजी भए । पत्नी कान्छी योन्जन भन्दै थिइन्, ‘साँझ भैसक्यो, आज नजानुस भोलि देखाए हुँदैन ?’ जग्गा खोज्नेले पनि जबर्जस्ती गर्न थालेपछि चन्द्रबहादुर रोकिएनन् । 
जग्गा देखाउन भनेर घरबाट निस्केको केही मिनेटमा छिमेकी हिरा ओली आत्तिदै आइन् । र, भनिन्–‘आमा, बुवा त रक्तमुछेल हुनुहुन्छ मैले हेर्नै सकिनँ । छिटो आउँनुस् बाँच्ने हुन कि हैनन् !’  

निर्घात कुटिएका चन्द्रबहादुर बल्ल बल्ल सडक छेउको हिराको घरमा आइपुगेका थिए । कान्छी योञ्जन पुगेपछि उनले भने, ‘जग्गा हेर्न आउनेले मलाई कुटेर ब्रासलेट र मोवाइल लगे, छिटो अस्पताल लैजाउ ।’ 
एम्बुलेन्स बोलाएर पहिले मध्यपुर, अनि ग्रिनसिटी लगियो ।  उपचारको क्रममा चन्द्रबहादुरको ज्यान गयो । कुटपिटबाट आन्द्रा फुटेको र सोही कारण उच्च रक्तश्रावले मृत्यु भएको पोष्टमार्टम रिपोर्ट आएको छ । 
घटना थाहा भएपछि महानगरीय अपराध महाशाखाको टोलीका अभियुक्त खोज्न थाल्यो । तर, अभियुक्त प्राविधिक रुपमा चलाख थिए । घटनास्थलमा मोबाइल लगेका थिएनन् । नाम, ठेगाना कसैलाई थाहा थिएन । 

हेलमेटको त्यो तीन अक्षर


अभियुक्त पल्सर एनएस–२०० सीसीको मोटरसाइकलमा आएका थिए । मृतकका परिवारले सो मोटरासाइकलको बारेमा वास्ता गरेनन् । मोटरसाइकलको नम्बर सजिलै खुलेन । तर, प्रहरीले एउटा क्लू पायो । 
चन्द्रबहादुरले पसलमा सिसिटिभी राखेका रहेछन् । सिसिटिभीमा अभियुक्तको हेलमेट देखियो । सो हेलमेटमा अंग्रेजी अक्षर लेखिएको थियो–‘आर.ओ.एक्स ।’ हत्यामा संलग्नले बियर पिउँदा टेबलमा हेलमेट राखेर बसेका थिए । 
अनि, प्रहरीले ‘रक्स’ हेलमेटको क्लूमा टेकेर अनुसन्धान अगाडि बढायो ।  ‘अप्रेसन रक्स नाम राखेर हामीले अनुसन्धान द्रुत गतिमा अगाडि बढायौं’ महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले भने–‘हत्या भएको छैटौं दिनमा हामी आरोपीलाई पक्रन सफल भयौं ।’
‘रक्स हेलमेट’ लगाउने मोटरसाइकल चालकमथि प्रहरी अनुसन्धान केन्द्रित थियो । बौद्ध नयाँ बस्तीमा जिम गर्ने युवाहरुले सो हेलमेट लगाउँथे । मृतकको घरको सिसिटिभी र भक्तपुरस्थित नगदेशको सिसिटिभीमा देखिएको फुटेजबाट प्रहरीले हुलिया पत्ता लगाइसकेको थियो । 

सोमबार साँझ बौद्ध नयाँ बस्तीबाट महाशाखाको टोलीले सिन्धुपाल्चोक चौताराका रमेश तामाङ उर्फ ज्वाला र रामेछापको लिखु तामाकोशी–५ घोवीका प्रेम तामाङलाई नियन्त्रणमा लियो । हेलमेट त्यही थियो, हुलिया पनि मिल्यो । जिम गरेर निस्किएका उनीहरुले प्रहरीलाई भने, ‘चन्द्र बहादुरको मृत्यु भएको त थाहा पाएका थियौं, हामीलाई तपाईँहरुले समात्नुहोला भन्ने चाहिँ सोचेकै थिएनौं ।’ 

योजनाकार : कामी लामा उर्फ शेर्पा 
चन्द्र बहादुरको हत्या सामान्य लुटपाट गर्ने नियतले गरिएको थिएन । सिन्धुपाल्चोक घर भएका कामी लामा उर्फ शेर्पा र चन्द्र बहादुरको पहिलेदेखि चिनजान थियो । दुवै जग्गाको काम गर्थे । सुडालस्थित रानीबारी धानखेतमा रहेको जग्गा शेर्पाले बैना गरेका थिए । तर, चन्द्रबहादुरले सो जग्गा पास नगराएर अरुलाई देखाउन थालेपछि शेर्पा रिसाए । 

१६ लाख बैना दिएको तर, जग्गा पास नगरेपछि उनले तर्साउने नियतले रमेश र प्रेमलाई प्रयोग गरे । गुण्डागर्दी गरेर हिँड्ने उनीहरु सजिलै परिचालित भएको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले रातोपाटीलाई बताए । उनले भने, ‘कुटपिट गर्ने दिन शेर्पा घटनास्थल भन्दा केही तल लुकेर बसेका थिए ।’ 

तर्साउने नियतले कुटेपछि लोभ लागेर चन्द्रबहादुरको ब्रासलेट र मोबाइल लुटेर भागेको रमेश र प्रेमले प्रहरीलाई बताएका छन् । थप अनुसन्धान र कानुनी कारवाहीका लागि आरोपीलाई महानगरीय प्रहरी वृत्त जगातीमा पठाइएको महाशाखाले जनाएको छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप