शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अस्करले भर्चुअल फिल्म फेस्टिभल गर्ने

मङ्गलबार, २७ असोज २०७७, १३ : ५७
मङ्गलबार, २७ असोज २०७७

काठमाडौं । फिल्म कलेज ‘अस्कर इन्टरनेसनल (कलेज अफ फिल्म स्टडिज)’ले भर्चुअल फिल्म फेस्टिभल गर्ने भएको छ । तीन दिनसम्म भर्चुअल प्लेटफर्ममा हुने फेस्टिभलमा फिल्म स्क्रिनिङदेखि देशी विदेशी फिल्मकर्मीसँग अन्तक्र्रिया हुने कलेजले जनाएको छ ।

महामारीका कारण सुस्त रहेको उद्योगलाई गतिशील बनाउने अभिप्रायले फिल्म फेस्टिभल गर्न लागेको जानकारी कलेजको प्रिन्सिपल विनोद पौडेलले दिए  ।
‘यो आत्म मूल्यांकनको समय हो । महामारीले हामीलाई हाम्रो विगत, वर्तमान र भविष्य सबै कुरालाई चिन्तन गर्ने समय दिएको छ र प्राज्ञिक बहसमार्फत् हामी हाम्रा शक्ति र कमजोरीका बारेमा कुरा गर्न सक्छौं भन्ने लागेर भर्चुअल फिल्म फेस्टिभलको अवधारणा ल्याएका हौं’ पौडेलले भने । 

यही हप्ताको शुक्रबारदेखि आइतबारसम्म चल्ने फेस्टिभलमा अस्कर कलेजकै विद्यार्थीले बनाएका ९ फिल्म प्रदर्शन हुनेछन् भने तीन दिनकै दौरानमा केही महत्वपूर्ण विषयमा अन्तक्र्रिया पनि हुनेछन् ।
कलेजले दिएको जानकारी अनुसार पहिलो दिन शेखर खरेलले विनोद पौडेल र मनोजबाबु पन्तसँग फिल्म स्टडिजका आरोह अवरोहका बारेमा कुरा गर्नेछन् भने सोही दिनको दोस्रो सेसनमा आश्मा पोखरेलले महिला फिल्ममेकर दीपा बस्नेत, रजिता श्रेष्ठ, महिमा नवबाघ, शबनम मुखिया र इतुशा पोखरेलसँग अन्तक्र्रिया गर्नेछिन् । सो दिनको अन्तिम सेसनमा अंकित कोइराला, रिजन गजुरेल र राकेश भाजु  फिल्म देखाएपछि हुने छलफलमा सहभागी हुनेछन् । अन्तक्र्रियालाई केदार श्रेष्ठले सहजीकरण गर्नेछन् ।

दोस्रो दिनको पहिलो सेसनमा अरुण देव जोशीले , मीन भाम, सुजित बिडारी, निरञ्जनराज भेटवाल र अंकित पौडेलसँग अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलले दिलाउने अवसरका बारेमा कुरा गर्नेछन् भने यसपछिको सेसनमा शेखर खरेल फेरि एक पटक नेपाली फिल्म उद्योगमा काम गर्दाका चुनौती र अवसरको विषयमा स्वस्तिमा खड्का, रबिन्द्रसिंह बानियाँ, दीपेन्द्र के खनाल, प्रदीप भट्टराई र अनुप बरालसँग गफिनेछन् ।  

डेढ घन्टा चल्ने अर्को सेसनमा नबिन न्यौपानेले फिल्म ग्रयाजुएटको रुपमा फिल्म उद्योगमा काम गर्दा अनुभव खोतल्नेछन् । यो सेसनमा कबिर खड्का, मनिष राउत, महेश त्रिपाठी, मुकुन भुषाल र  अभय बरालले आफ्नो अनुभव सुनाउनेछन् । दोस्रो दिनको अन्तिम सेसन पहिलो दिनझै फिल्म देखाएर सकिनेछ । यो दिन अशुका अर्याल, मार्टिन भण्डारी र गणेशजंग रावल निर्देशित फिल्म देखाइनेछ भने प्रशन्न मालीले उनीहरुसँग अन्तक्र्रिया गर्नेछन् । आइतबारको दिन सुरुको समयमा विद्यार्थी लक्षित कार्यशाला पनि हुनेछ जसलाई निश्चल बस्नेतदयाहाङ राई, ऋचा शर्मा  र दीपकराज गिरीले सम्बोधन गर्नेछन् । अन्तिम दिनको पहिलो सेसनमा सेसनमा राजन कठेतले फिल्म अध्यय्नपछिका अवसरको बारेमा कुरा गर्नेछन् । यो सेसनमा शिशिर बिशंखे, दिकेश खड्गी, अंकित पौडेल र निगम भण्डारीले आफ्ना अनुभव साटासाट गर्नेछन् । 

दिनको दोस्रो सेसनमा चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल, निर्माता संघका अध्यक्ष आकाश अधिकारी र निर्देशक तथा वितरक प्रचण्डमान श्रेष्ठले फिल्म सम्बन्धी नीति नियमको अवस्थाको बारेमा कुरा गर्नेछन् भने यसपछिको सेसनमा निर्देशक छिरिङ रितार शेर्पा विदेशी फिल्ममेकर गुयम मेगुट, मिचेल हेनरिक र इनग्रिड लिल हगटनसँग फिल्म को–प्रडक्सनको सम्भावनाको बारेमा छलफल गर्नेछन् । दिनको अन्तिम सेसन फिल्म देखाएर सकिनेछ ।

अन्तिम दिन राजकुमार राई, बिजेश महर्जन र निपिल शर्मा निर्देशित फिल्म देखाइनेछ भने फिल्म प्रदर्शनपछि उत्पल झाले उनीहरुसँग अन्तक्र्रिया गर्नेछन् । सबै छलफल तथा फिल्म कलेजको फेसबुक पेज तथा युट्युबमा लाइभ हेर्न सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप