बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

कोभिडविरुद्ध ‘हर्ड इम्युनिटी’ को दृष्टिकोण ‘अनैतिक’ !

प्रायः देशहरुमा १० प्रतिशत जनता मात्र भाइरससँग एक्सपोज भएका छन् : डब्लूएचओ
मङ्गलबार, २७ असोज २०७७, १३ : ३०
मङ्गलबार, २७ असोज २०७७

विश्व स्वास्थ्य संगठनका प्रमुखले कोभिड–१९ को महामारीविरुद्ध ‘हर्ड इम्युनिटी’ को प्रतिक्रियालाई खारेज गरेका छन् । ‘हर्ड इम्युनिटी’ भनेको समुदायको ठूलो हिस्सालाई खोप या संक्रमित गराएर रोगविरुद्ध प्रतिरोधी बनाउनु हो ।

खोप बनिनसकेको अवस्थामा अहिले केहीले कोरोनाभाइरसलाई प्राकृतिक रुपमा फैलिन दिएर हर्ड इम्युनिटी हासिल गर्नुपर्ने तर्क प्रस्तुत गरिरहेका छन् ।

तर, डब्लूएचओका प्रमुख टेड्रोस अधानोम घेब्रेसियसले भने त्यो दृष्टिकोण वैज्ञानिक र नैतिकरुपमा समस्याग्रस्त भएको बताएका छन् । महामारी शुरु भएयता विश्वभर ३.७ करोडभन्दा बढी संक्रमित भइसकेका छन् भने १० लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् । हाल सयौँको संख्यामा खोपहरु परीक्षणको चरणमा रहे पनि कसैले अन्तर्राष्ट्रियरुपमा मान्यता पाएका छैनन् ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. घेब्रेसियसले कोरोनाभाइरसको दीर्घकालिन प्रभाव तथा यसको शक्ति र प्रतिरोधी क्षमताको समय अज्ञात रहेको बताए ।

उनले भने, ‘हर्ड इम्युनिटी मानिसहरुलाई भाइरसबाट रक्षा गरेर हासिल हुन्छ न कि उनीहरुलाई त्यसमा ‘एक्सपोज’ गरेर । इतिहासमा कहिले पनि रोगविरुद्ध हर्ड इम्युनिटीको दृष्टिकोण लागू गरिएको छैन, महामारी त परै जाओस् ।’

सेरो प्रिभेलेन्स जाँचबाट प्रायः देशहरुमा १० प्रतिशत जनता मात्र भाइरससँग एक्सपोज भएको पनि डब्लूएचओले जनाएको छ ।

‘भाइरसलाई फैलिन दिइयो भने यसले अनावश्यक संक्रमण, दुःख र मृत्यु मात्र निम्ताउँछ,’ उनले भने ।

स्रोत : बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप