बन्दाबन्दीमा फरार सूचीका ४८ अभियुक्त पक्राउ
कञ्चनपुर । कञ्चनपुर प्रहरीले कोरोना भाइरस महामारीका बीच यहाँको जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेका ४८ जना फरार अभियुक्तलाई लकडाउन अवधिमा पक्राउ गरेको छ । समाजको शान्ति सुरक्षा कायम गर्न यहाँका ग्रामीण स्तरसम्म खटिएको प्रहरीले गत साउनयता ४८ जना फरार अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालत कञ्चनपुरमार्फत कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जबर्जस्तीकरणी उद्योग, चोरी, सवारी ज्यान, तस्करी, लागुऔषध कारोवार, आत्महत्या दुरुत्साहन र बहुविवाहलगायत मुद्दामा फरार अभियुक्त पक्राउ गर्ने क्रम जारी रहेको बताए । पक्राउ पर्नेमा चार महिला अभियुक्तसमेत रहेका प्रहरीले जनाएको छ ।
“जिल्ला अदालतबाट कैद सजाय तोकिए अभियुक्तलाई कारागार पठाउने र फैसला नभएको हकमा पुनः अनुसन्धान गर्ने काम हुँदैछ”, प्रवक्ता थापाले भने, “फरारमध्ये धेरै त घरमै अब प्रहरी खोज्दैन होला भनेर बसिरहेको अवस्थामा पनि भेटिए ।” उनले अभियुक्त प्रक्राउ गर्न जिल्ला प्रहरी कार्यालय र मातहतको युनिट सक्रिय रहेको जानकारी दिए ।
“फरार पक्राउ गर्नमा हामीलाई मुद्दाका पीडितको पनि सहयोग छ”, उनले भने, “अपराध गरेर दुई चार वर्ष फरार भए पनि एकदिन कानूनी सजायको भागीदार हुनैपर्छ ।” कोरोना महामारीका बीच पनि प्रहरीले स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै खटिएको उनको भनाइ छ ।
प्रदेशमा पाँच हजार प्रहरी परिचालन
नजिकिँदै गरेका बडादशैँ, तिहारलगायत चाडपर्वलाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेश प्रहरीले आइतबारबाट विशेष सुरक्षा योजना लागू गरेको छ । अपराधरहित र मर्यादित चाडपर्व मनाउनुका साथै प्रदेशको समग्र सुरक्षा व्यवस्था भरपर्दा मनाउन विभिन्न विशेष प्रहरी टोली परिचालन गरिएका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले विज्ञप्ति जारी गरी दशैँ तिहार र छठ पर्व लक्षित सुरक्षा योजना बनाएर प्रदेशका नौवटै जिल्लामा प्रहरी परिचालन गरिएको बताए । “यहाँका विभिन्न स्थानमा गरेर ४० वटा स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ”, प्रवक्ता सिंहले भने, “सादा पोशाकलगायत विभिन्न टोली गरेर प्रदेशभरि पाँच हजार ५० जना प्रहरी खटिएका छन् ।” चाडपर्व मर्यादित बनाई समग्र प्रदेशको शान्ति सुरक्षाका लागि प्रदेशभरि ७८ जना सादा पोशाकमा प्रहरी खटिने छ ।
त्यसैगरी बैंक तथा वित्तीय संस्था र सुनचाँदीको कारोवार हुने स्थानलाई मध्यनजर गर्दै यहाँ १३३ जना प्रहरी परिचालन हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । दुर्घटना न्यूनीकरणका लागि प्रदेशका विभिन्न स्थानमा गरेर २०८ जना प्रहरी परिचालन हुनुका साथै उपभोक्ताको हकहिक संरक्षणका लागि चाडपर्वमा स्थानीय प्रशासनसित समन्वय गरेर बजार अनुगमनसमेत गर्ने प्रहरी योजना छ ।
त्यसैगरी प्रदेशमा कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि छुट्टै विशेष योजना बनाएर कार्यान्वयन गर्ने प्रवक्ता सिंहको भनाइ छ । “चाडपर्वमा अपनाउनुपर्ने सावधानीमूलक सचेतना कार्यक्रम गर्ने योजना छ”, उनले भने, “नागरिकले पनि महामारीका बेला भीडभाड गरेर चाडपर्व मनाउने कुरालाई समाजमा निरुत्साहित गर्नुपर्छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूरा भयो ट्रम्पको मन्त्रीमण्डल
-
गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित
-
नवलपरासी पूर्वमा ‘विद्यार्थीसँग प्रशासन’ अभियान सुरु
-
कुनै समयमा कट्टर प्रतिद्वन्द्वी एन्डी मुरेलाई आफ्नो प्रशिक्षक बनाए नोभाक योकोभिचले
-
सभामुख घिमिरे र कम्बोडियन समकक्षीबिच भेटघाट
-
दुर्गा प्रसाईँको मुद्दा न्यायाधीश शर्माको इजलासमा पेसी