बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

स्वयम्सेवक बिरामी भएपछि कोरोनाविरुद्धको खोपको परीक्षण रोकियो

मङ्गलबार, २७ असोज २०७७, ०९ : ५१
मङ्गलबार, २७ असोज २०७७

औषधी निर्माता कम्पनी जोनसन एन्ड जोनसनले कोभिड–१९ विरुद्धको सम्भावित खोपको क्लिनिकल परीक्षणलाई रोकेको सोमबार जानकारी दिएको छ । खोप दिएका एक स्वयम्सेवक बिरामी परेपछि कम्पनीले परीक्षणलाई रोकेको कम्पनीले जानकारी दिएको हो ।

‘हाम्रो निर्देशिकाअनुसार ती स्वयम्सेवकको रोगलाई इन्डिपेन्डेन्ट डाटा सेफ्टी मोनिटरिङ बोर्ड (डीएसएमबी) ले समीक्षा र मूल्याङ्कन गरिरहेको छ । त्यस्तै, हाम्रा आन्तरिक डाक्टरहरुले पनि यसबारे जाँच गरिरहेका छन्,’ कम्पनीले वक्तव्य जारी गर्दै भनेको छ ।

जोनसन एन्ड जोनसनको जानसेन भ्याक्सिनले उक्त खोपको विकास गरिरहेको छ । कम्पनीले ती स्वयम्सेवकमा देखिएको बिरामी के हो भनेर खुलाएको छैन । तर, क्लिनिकल परीक्षणको उद्देश्य भनेकै खोपको खतरनाक साइड इफेक्ट छ कि छैन भनेर जाँच गर्नु हो । त्यस्तो देखिए परीक्षणलाई रोकेर डाक्टरहरुले उक्त अवस्था खोपका कारण या अन्य कारणले आएको भनेर सुनिश्चित गर्छन् ।

हाल ६० हजार जनामा कम्पनीले खोपको परीक्षण गरिरहेको छ । खोपको परीक्षणलाई रोक्नु अहिले नै चिन्ताजनक नभएको ब्राउन युनिभर्सिटी स्कुल अफ पब्लिक हेल्थका डिन डा. आशिष झा बताउँछन् । कम्पनीले पनि अध्ययनलाई रोक्नु र नियामकले स्थगित गर्न लगाउनुमा ठूलो भिन्नता भएको बताएको छ ।

अमेरिकामा दोस्रो पटक खोपको परीक्षण रोकिएको हो । यसअघि, अस्ट्राजेनेकाको खोपको अध्ययनलाई पनि गत महिना रोकिएको थियो । अन्य देशमा खोपको पुनः परीक्षण सुरु गरिए पनि अमेरिकी फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले यसबारे अनुसन्धान गरिरहेकाले अमेरिकामा भने अझै सुरु भएको छैन ।

जोनसोनको तेस्रो चरणको परीक्षण गत सेप्टेम्बरमा शुरु भएको हो । अमेरिकामा परीक्षण भइरहेका ६ मध्ये एक खोप हो भने उन्नत चरणमा रहेको यो चारमध्ये एक खोप हो । यस खोपको एक मात्र डोज संक्रमितलाई दिइने हुँदा अन्य खोपको तुलनामा यसको परीक्षण चाँडै सकिने आशा गरेका छन् । मोडर्ना र पीफाइजरको संक्रमितलाई दुई डोज दिनुपर्छ ।

सीएनएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप