शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एक रात पनि टिकेन अजरबैजान अर्मानिया युद्ध विराम सम्झौता

मङ्गलबार, २७ असोज २०७७, ०८ : ३०
मङ्गलबार, २७ असोज २०७७

अजरबैजानको अन्तरराष्ट्रिय सीमासँग जोडिएको स्टपनेकर्ट शहरमा मानिसहरुले १० र ११ अक्टोबरको रात आफ्नो घरको बेसमेन्टमा गुजारे ।

नार्गोन–काराबाखमा भइरहेको लडाईंको विषयमा शनिबार अजरबैजान र अर्मानियाबीच रुसका मध्यस्थतामा युद्ध विरामको जुन सम्झौताको घोषणा भएको थियो त्यो एक दिनपनि राम्रोसँग टिक्न सकेन ।

अजरबैजानले अर्मानियामाथि सम्झौता तोडेको आरोप लगायो । उसल अर्मानियाको तर्फबाट गांजा शहरमा गोलीबारी गरिएको र शहरको आवासीय भवनलाई ध्वस्त पारिदिएको आरोप लगायो । यो घटनामा कम्तीमा ९ जना मारिए ।

अर्मानियाको सैनिकले गांजा शहरमा कुनै पनि हमला नगरिएको भन्दै आरोपको खण्डन गरे ।

 थुप्रै दिनपछि शनिबार दिउँसो स्टपनेकर्ट शहरमा हवाई हमलाको चेतावनीयुक्त साइरन सुनिएको थिएन ।

पछिल्लो दुई हप्तादेखि बेसमेन्टमा बसिरहेका शहरका थुप्रै मानिसहरु बाहिर निस्किए र आफ्नो अपार्टमेन्टमा जान सके ।

हवाई हमलामा ध्वस्त भएका पावर प्लान्ट नजिकैको सडकमा हाम्रो भेट तीन वृद्धसँग भयो जो ताजा खबरमाथि कुराकानी गरिरहेका थिए र बीचबीचमा बेचैन भएर उनीहरुको नजर आकाशतर्फ केन्द्रीत हुन्थ्यो ।

 सरगिस नामका एक वृद्धले एकदिन अघि मात्रै आफ्नो जन्मदिन बेसमेन्टमा छिमेकीसँग मनाएका थिए ।

उनले भने, ‘म हिजो मात्रै सत्तरी वर्ष पुगेँ । हामीले एउटा खरायो मार्यौं, आलू उसिन्यौं र भोड्का त हामीसँगै सधैं हुन्छ । हामीले आफ्नो जन्मदिन हरेक पल्ट जसरी मनाउँथ्यौं, यसवर्ष पनि त्यसरी नै मनायौं ।’

सरगिसले एक पाँच तले भवनतर्फ इशारा गर्दै भने, ‘हामी यो भवनमा बस्छौं । तर हाल अपार्टमेन्टमा बस्नु जोखिमयुक्त छ त्यसैले हामी बेसमेन्टमा नै बसिरहेका छौं । पछिल्लो दुई हप्तादेखि हामी यहाँ नै बस्दै आएका छौं । पहिलो युद्धका बेला हामी यो बेसमेन्टमा आठ महिना बसेका थियौं ।’

बेसमेन्टमा वृद्ध–वृद्धा:

सरगिससँग हाम्रो कुराकानीमा दोभाषेको भूमिका निभाइरहेका जेवोर्ज यी सैनिक क्वार्टर्सको जीवनबारे जानकारी दिँदै भन्छन्, ‘यहाँ हरेक दिन बम खस्छन् । कुनै दिन यहाँ खस्छ, कुनै दिन त्यहाँ । उनीहरुले केही बेर अघि मात्रै शहरलाई निशाना बनाए । मेरा चार साना बच्चाहरु छन् र मेरी श्रीमती गर्भवती छिन् । उनीहरुले बिहान सात बजे नै शहरमा बमबारी सुरु गरिदिए । मेरो घरमा अहिलेसम्म केही क्षती पुगेको छैन तर मेरो छिमेकीको घर क्षतीग्रस्त भयो । उनीहरुले कहाँ बम खसाल्ने भनेर एकपटक पनि सोच्दैनन्, जहाँ पायो त्यहि बम खसालिदिन्छन् ।’

जेवार्ज र सरगिसलाई सुरुमा नै विश्वास थिएन कि अजरबैजान र अर्मानियाबीच रुसको मध्यस्थतामा भएको युद्ध विरामको सम्झौता टिक्न सक्छ ।

यद्यपि, शनिबार स्टेपनेकर्ट शहरमा सन्नाटा छायो तर दक्षिणी मोर्चामा अजरबैजानको हादरुत र अर्मानियाको कपान शहरको गाउँमा बिहानैदेखि गोलीबारीको आवाज सुनियो ।

सरगिसले हामीलाई त्यो बेसमेन्टमा लगे जहाँ उनी उनका छिमेकीसहित पछिल्लो दुई हप्तादेखि बसिरहेका थिए । घेरेर बनाइएको एउटा कुनातर्फ इशासा गर्दै उनले भने, ‘यो हाम्रो ट्वाइलेट हो ।’

एउटा पुरानो क्यासेट रेकर्डर देखाउँदै आफूहरुले यसैमार्फत् सबै खबर सुन्ने गरेको जानकारी दिए । उनले भने, ‘पानीको पाइप फुटेको छ ।’

संघर्ष विरामको घोषणा पश्चात पनि वृद्धाहरु बेसमेन्टमा थिए । उनीहरु आफ्नो अपाटेमेन्टमा जान अझै पनि डराइरहेका थिए । उनीहरुले आफ्नो नाम नछाप्न अनुरोध गरेका थिए ।

तीमध्ये एक वृद्धाले सोधिन्, ‘के साँच्चै नै युद्धविरामजस्तो स्थिती छ ? एक घण्टा अघि मात्रै साइरनको आवाज सुनिएको थियो । यही युद्ध विराम हो ?’

त्यति नै बेला अर्की एक वृद्धाले भन्छिन्, ‘पहिरो र दोस्रो युद्धको समयमा पनि हामी यहाँ बसेका थियौं । आजकाल हामी तेस्रो लडाईंबीच बाँचिरहेका छौं ।’

‘मलाई आशा छ, यो अन्तिम लडाईं हुनेछ । मेरा सन्तान यो युद्धमा समावेश छन् र मैले उनीहरुको केही पनि खबर पाउन सकेकी छैन । मैले उनीहरुलाई सम्पर्क गर्न सक्दिनँ ।’

यी महिला एक टेबल वरिपरि बसिरहेका थिए । उनीहरुको हातमा केही कप र मिठाई थिए । भित्तामा भएका पाइपमा मैनबत्ती राखिएको थियो । बिजुलीको आपूर्ती बन्द भएका कारण यी मैनबत्तीको सहारा थियो । जब हामी कुरा गरिरहेका थियौं मेरो हेलमेट थुप्रै पटक सिलिङसँग ठोक्किरहेको थियो । ती महिलाको सामू यस्तो हुँदा म असहज महसुस गरिरहेको थिएँ ।

त्यसपछि लाग्यो कि युद्धको रिपोर्टिङ परिरहेको पत्रकार सर्वसाधारणभन्दा सुरक्षित हुन्छन् ।

बेसमेन्टमा बसिरहेका मानिसहरुले केही दिन अघिको हवाई हमलामा पावर प्लान्ट नष्ट भएको बताएका थिए । त्यसको भोलिपल्ट एउटा पेन्ट सपमा बम खस्यो र त्यो भवन खरानी भयो ।

एक महिलाले भनिन्, ‘हामी लडाईंको मोर्चामा छैनौं तर पनि हामी नागरिक भएको शहरको आकाशमा ड्रोन, हेलिकोप्टर, लडाकू विमान घुमिरहन्छन् ।’

हाम्रो भाग्य राम्रो छैनः

बिस्फोटमा एउटा आवसीय भवन पूर्ण रुपमा ध्वस्त भइसकेको छ  र सडकमा एउटा ठूलो खाल्डो बनिसकेको छ ।

हामी यसको नजिकैबाट हिँड्ने बेला सोच्छौं कि यहाँ के खसेको होला । एक वृद्धाले झ्यालबाट हात हल्लाउँदै हामीलाई उनी भएठाउँ बोलाइरहेकी छिन् ।

अर्लेता मिर्जोयान काराबाखमा नै बसिरेकी छिन् र लडाईं सुरु हुँदा पनि उनले अन्त कतै जाने सोच बनाइनन् । यद्यपि, सबै बच्चालाई अर्मानिया पुर्याइदिइन् तर उनी अन्य उमेरदार मानिहरुसँग हमलाका बेला त्यहि बेसमेन्टमा पनि लुकिरहिन् ।

उनी भन्छिन्, ‘म यो स्थानलाई छोडेर कतै जान सक्दिनँ किनभने मेरा दई छोरा र नाती फ्रन्टमा लडाईं लडिरहेका छन् । उनीहरु सीमामा विभिन्न स्थानमा मोर्चा सम्हालिरहेका छन् । म उनीहरुलाई छोडेर कसरी जान सक्छु ? यो कुनै पनि हालतमा सम्भव छैन ।’

अर्लेताले हाम्रो लागि चिया बनाइन् र ब्ल्याकबेरीको ज्याम खुवाइन् ।

उनी भन्छिन्, ‘मेरा सन्तानका लागि यो दोस्रो लडाईं हो । यसअघि सन् २०१६ मा पनि लडाईं भएको थियो, त्यसमा उनीहरुको सहभागिता थियो । त्यतिबेला उनका एक छोरा १८ वर्षका थिए भने अर्को २० वर्षका । यसपटक उनीहरु अर्मानियाबाट फिर्ता भएर आफ्नो मातृभूमिलाई बचाउन स्वेच्छाले आएका हुन् ।’

उनी आफ्नो बारे जानकारी दिँदै भन्छिन्, ‘म पेशागत रुपमा मिडवाइफ हुँ । तर अब मैले अवकाश लिइसकेकी छु । मेरो जेठो छोरा सर्जन हो र कान्छो छोरा वकिल । मेरो नाति युनिभर्सिटी अफ येरेवनमा पढाउँछ । एउटाले कानून विषय अध्ययन गरिरहेको छ भने अर्कोले फाइनान्सको । मेरी नातिनी सेन्ट्स पिट्सबर्गमा छिन् । मेरो एउटा पूरा परिवार छ । म चाहन्छु कि उनीहरु शान्ति पूर्वक त्यहिँ नै बसून् । यहाँ आएर नमरुन् । यो निकै भयानक अनुभूति हो ।’

अर्लेताले आफ्नो छिमेकीबाट थाहा पाइन् कि शान्ति सम्झौता दुई दिनसम्म मात्रै कायम रह्यो । स्टपनेकर्टका अन्य मानिसहरुको मुखबाट बीबीसी संवाददाताले शान्ति ७२ घण्टासम्म टिकेको खबर सुने ।

तर राती नार्गोनो–काराबाखमा पुनः गोलीबारी भयो र त्यहाँ बस्नेहरु बेसमेन्टमा गएर शरण लिनुपर्यो ।

 अर्मानियाले अजरबैजानमाथि युद्ध विरामको उल्लंघन गरेको आरोप लगाएको छ तर अजरबैजानले अर्मानियाली फौजले गांजामाथि हमला गरेकोले उसले शान्ति सम्झौताको उल्लंघन गरेको बताएको छ ।

 नार्गोनो–काराबाख क्षेत्रको विदेश मन्त्रालयलाई बीबीसीले सोधे, ‘के नयाँ तरिकाले गोलीबारी हुनुको अर्थ शान्ति सम्झौता पूर्ण रुपमा समाप्त भइसकेको र दुबै देशबीच युद्ध सुरु भइसकेको भन्ने हो ?’

यसमा जवाफ दिँदै विदेश मन्त्रालयले भन्यो, ‘यो भन्न मुश्किल छ तर हेर्दा यस्तो लाग्छ कि युद्धविरामको विषयमा भएको सन्धिको पालना त कुनै पनि रुपमा लागू नभएको पक्कै हो । यसपटक के गर्छन्, त्यो हामी हेर्छौं । हाम्रो भाग्य राम्रो छैन । यो त पक्का हो ।’

स्रोतः बीबीसीइलया बैराबानोव

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप