शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जुम्लाबाट जोडियो डोल्पा

सोमबार, २६ असोज २०७७, १५ : ३२
सोमबार, २६ असोज २०७७

खलङ्गा । जुम्ला सदरमुकाम खलङ्गाबाट डोल्पा जोड्न दानसाँघुमा पक्की पुल निर्माण भएपछि औपचारिक रुपमा जुम्लासँग डोल्पा जोडिएको छ । पुल नहुँदा सवारीसाधन बर्खायाममा चल्न सक्दैनथे । हिउँदमा हिउँ र बरफ जम्ने भएकाले यातायातका साधन सञ्चालनमा कठिनाइ थियो । 

दानसाँघुमा पक्की पुल निर्माण भएपछि अहिले सहजै डोल्पाको काइगाउँसम्म सवारी साधन निर्बाध रुपमा चलेका ट्र्याक्टर चालक जयकृष्ण थापाले बताए । पक्की पुलको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले उद्घाटन गरेपछि डोल्पासँग जुम्ला प्रत्यक्ष रुपमा जोडिएको हो ।

यसअघि डोल्पा–जुम्ला दैनिक उपभोग्य सामान खच्चरबाट ढुवानी हुने गरेको थियो । अब ट्र्याक्टर र ट्रकबाट पनि उपभोग्य सामग्री डोल्पा पुर्याउन सहज हुने भएको स्थानीय व्यापारी पदम कार्कीले बताए । २०६८ साल असार १५ गते ठेक्का सम्झौता भएर पक्की पुल निर्माणको काम अघि बढेको थियो । देश सङ्घीयतामा गएपछि सो पुल निर्माण कार्य अन्योलमा थियो । पछिल्लो समयमा पूर्वाधार विकास कार्यालय कर्णाली प्रदेशले जिम्मेवारी लिएपछि पक्की पुल निर्माणको काम सकिएको हो ।

अहिले सहजै सवारी साधन सञ्चालन हुने गरेको पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रुपबहादुर रावलले बताए । तत्कालीन जिल्ला विकास समितिले निर्माण कार्य प्रारम्भ गरेको पुलको फेरि डिजाइन गर्नुपर्ने भएकाले ढिलो निर्माण भएको हो । 

इन्जिनीयर दीपसागर ढुङ्गानाकाअनुसार  पुल निर्माण भएपछि जुम्लाको गुठिचौर गाउँपालिकासहित डोल्पा र जाजरकोट जान सजिलो भइरहेको बताए । डोल्पा जुम्लासँग जोडिएपछि स्वास्थ्य, शिक्षा र पर्यटनका हिसाबले जुम्लालाई टेवा पुग्ने उद्योग वाणिज्य सङ्घ जुम्लाका अध्यक्ष रविअली मनिहारले बताए । जिल्लाको पर्यटकीय क्षेत्र गुठिचौर, चोत्रा घरबास हुँदै डोल्पाको दुनैदेखि से–फोक्सुण्डो यात्राका लागि पनि सहज हुने भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप