बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुर नगर प्रहरीले खटायो ‘हातेमालो टोली’ : समस्या सुन्न हरेक टोलमा पुग्ने

सोमबार, २६ असोज २०७७, १० : २६
सोमबार, २६ असोज २०७७

ललितपुर । ललितपुर महानगरपालिका अन्तर्गतको नगर प्रहरीले नगरवासीको सेवामा ‘हातेमालो टोली’ परिचालन गरेको छ । नगर प्रहरी प्रमुख सीताराम हाछेथुले आइतबार उक्त कार्यक्रम औपचारिक रुपमा सुरु गरेका हुन् ।

महानगर क्षेत्रभित्र दैनिक रुपमा हातेमालो टोली परिचालन हुने र नगरवासीका समस्या समाधानका लागि पहल गर्ने हाछेथुले बताए ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले नगरवासीको सेवा–सुविधालाई ध्यान दिन निर्देशन दिएअनुसार नगर प्रहरीले नयाँ अवधारणाअनुसार ‘हातेमालो टोली’ गठन गरेको उनको भनाइ छ ।

यो टोलीले महानगरका हरेक वडा, हरेक टोलमा पुगेर दैनिक रुपमा समस्याको टिपोट तयार पार्ने हाछेथु बताउँछन् । ‘कतै ढल फुटेको हुन सक्छ, कतै रुख ढलेको हुन सक्छ, कतै फोहोर नउठेको हुन सक्छ,’ नगर प्रहरी प्रमुख हाछेथुले भने, ‘कतै सडकमा खाडल भएर दुर्घटनाको जोखिम बढेको हुन सक्छ, यस्ता समस्याको टिपोट तयार पार्ने र नगर प्रहरीकै तहबाट तत्काल सम्बोधन गर्न सक्ने समस्या भए तत्काल सम्बोधन गर्ने, अन्य निकायको कार्यक्षेत्र भित्रका समस्या भए सम्बन्धित निकायलाई जानकारी गराइ चाँडोभन्दा चाँडो समाधानका लागि पहल गर्ने उद्देश्यका साथ हाम्रो हातेमालो टोली दैनिक परिचालन हुन्छ ।’

नगर प्रहरीका इन्सपेक्टरको कमाण्डमा तत्काल उक्त टोली मोटरसाइकलमार्फत टोल टोलमा पुग्ने भएको छ । टोली समक्ष नगरवासीले महानगरपालिकाको कार्यक्षेत्र अन्तर्गतका विषयमा केन्द्रित रहेर सार्वजनिक समस्या अवगत गराउन सक्ने जनाइएको छ ।

‘तीन तहका सरकारमध्ये स्थानीय तहको सरकारसँग जनताको सरोकार बढी हुन्छ, नगर प्रहरी भनेको स्थानीय सरकारको एउटा अंग हो,’ नगर प्रहरी प्रमुख हाछेथु भन्छन्, ‘त्यसैले पनि नगरवासीको सेवामा सदैव समर्पित रहनुलाई हामीले आफ्नो प्राथमिक कर्तव्य ठानेका छौँ ।’ उनी ललितपुर नगर प्रहरीलाई देशकै नमुना नगर प्रहरी बनाउने दावी गर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप