शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

श्री ३ र अहिलेका शासकमा भिन्नता कति ?

सोमबार, २६ असोज २०७७, ०९ : ११
सोमबार, २६ असोज २०७७

सामान्यतया कुनै पनि देशमा शासन प्रणालीको परिवर्तन भइराख्दा त्यहाँ चलेका राजनीतिक प्रणालीहरू बीच तुलना गर्ने गरिन्छ । प्रणालीको स्थिरता भएका देशहरूमा पनि शासकहरूका बीचमा तुलना हुने गर्छ । अहिलेसम्म नेपालमा धेरै किसिमका राजनीतिक प्रणालीको अभ्यास भइसकेका छन् । तीमध्ये एकीकरणको नेतृत्व गर्ने अर्थात राष्ट्र निर्माता पृथ्वीनारायण शाहका उत्तराधिकारीहरू पटक्कै गतिला र योग्य थिएनन् र उनीहरू जनताप्रति उत्तरदायी र  जवाफदेही पटक्कै हुन सकेनन् । यसैको फाइदा उठाएर दरबारका सामान्य भारदार जङ्गबहादुर राणाले शक्ति आर्जन गर्दै गए र अन्ततः दरबारभित्रको अन्तरकलहकै फाइदा उठाएर त्यसैको जगमा राणा शासनको स्थापना गरे । दमनकारी, निरङ्कुश र जहानियाँ यो शासन एक सय चार वर्ष अकङ्टक चल्यो ।

राणा शासनकालमा उच्च दर्जाका राणाहरूको तराईमा धेरै जग्गा जमिन हुन्थ्यो । यसलाई बिर्ता भनिन्थ्यो । यस जमिनमा भएका काठपात मनमौजी काटिन्थ्यो र बेचिन्थ्यो । अन्नको उत्पादन छुट्टै हुन्थ्यो । यो आम्दानी बिर्तावाल राणाले निजी रुपमा  उपयोग गर्थे । अधिकांश राणाहरूको भारतमा बैङ्क खाता थियो । ठूलो रकम त्यहाँ जम्मा गरिन्थ्यो । कर उठाउने विषय कडाइका साथ लागू गरिएको थियो । राजस्व बढाउन र बढेको सम्पत्ति आफ्नो निजी हित तथा सुखसयलमा प्रयोग गर्न राणा प्रधानमन्त्रीलाई पूर्ण छुट थियो । औपचारिक रूपमा कुनै पारिश्रमिक नलिए पनि एक प्रकारले राज्यको सम्पूर्ण ढुकुटी राणा प्रधानमन्त्रीले मनलाग्दी उपयोग गर्दथे । विकास शून्यप्रायः थियो । नेपालको सबै भूगोल राणाहरूको निजी सम्पत्ति सरह थियो । समाजका धनीमानीहरू राणाहरूको औधी चाकरी गर्दथे र सट्टामा फाइदा उठाउँथे । अर्थतन्त्र आयातमुखी थियो । भन्सारबाट उठेको रकम राणाहरूले भोगचलन गर्थे । यसमा प्रश्न उठाउने कोही थिएन । कसैले उठाउन खोजे ज्यान जान्थ्यो । कृष्णलाल अधिकारी हुन् वा कृष्णप्रसाद कोइराला, मकैको खेती लेखेवापत र गरिब नेपालीको झुत्रो लुगा दरवार पठाएवापत दण्डित भएर जेलमै मृत्युवरण गर्नुपरेको थियो ।

नेपाली महिलाहरूमाथि चरम शोषण व्याप्त थियो । महिला अस्मिताको कुनै मूल्य थिएन । गाउँघरका नवयुवतीहरू नाममात्रको ज्यालामा दरबारमा सुसारे बनाइन्थे । राणाहरू अत्यन्त भोगविलासमा डुबेका थिए । नेपाली समाजमा जातीय तथा आर्थिक विभेद चरम थियो । महिला र दलितमाथिको विभेद अकल्पनीय थियो । जतिसुकै मिहिनेत र कर्म गरे पनि यस दुर्भाग्यबाट उन्मुक्तिको कुनै बाटो देखिएको थिएन । सम्पूर्ण समाजमा घोर निराशा व्याप्त थियो । यसको कारण राज्यको शासन प्रणाली थियो र यो पूर्ण रूपमा जहाँनिया र अधिनायकवादी थियो । राणाहरू आफूलाई दैवी अवतार ठान्थे र लोकको दुःखलाई भाग्यको खेल भन्थे । नेपालीको भाग्यलाई राणाहरूले आफ्नो मुट्ठीमा कैद गरेका थिए । मानव समाज अर्थात् नेपाली समाज दुई भागमा विभक्त थियो, उदण्ड एवं प्रफुल्ल शासक र दमित तथा उत्पीडित शासित । गरिब नेपालीहरूको थाप्लोमा राणाशाहीको धारिलो तरबार झुण्डिएको थियो ।

राणा शासनको प्रकोपबाट छटपटाइरहेका नेपाली जनताले यसबाट मुक्तिको उपाय खोजिरहेका थिए । यही दौरानमा नै नेपाल प्रजा परिषद्को स्थापना भयो र राणाहरूको स्वेच्छाचारिता विरुद्ध नागरिक अधिकारका लागि गतिविधि सुरु भए । टङ्कप्रसाद आचार्य, रामहरि शर्मा, गंगालाल, धर्मभक्त, दशरथ चन्द र शुक्रराज शास्त्री, गणेशमान सिंह लगायतका व्यक्तित्त्वको अग्रणी भूमिकाका कारण गतिविधिहरूले गति लिँदै गए । यसै दौरानमा चार जना योद्धाहरु ( गंगालाल, धर्मभक्त, दशरथ चन्द र शुक्रराज शास्त्री) लाई मृत्युदण्ड दिइयो । यस दुःखद् घटनाले नेपालको राजनीतिक इतिहासमा सर्वाधिक महत्त्व र उच्च स्थान राखेको छ । यसले राणा शासन अन्त्यको विगुल फुक्यो । नेपाली जनताको जहानियाँ शासन विरोधी मनोविज्ञानलाई अझ दर्बिलो बनायो र क्रान्तिको वस्तुगत वातावरण तयार हुँदै गयो ।

यिनै पृष्ठभूमिमा नेपाली काँग्रेस र बीपी कोइरालाको नेतृत्वमा राणा शासनको अन्त्य भएर नागरिक अधिकारको स्थापना भई नेपाल नयाँ युगमा प्रवेश गरेको हो । युग परिवर्तनसँगै रैतीबाट नागरिक भएका जनताको अपेक्षा बढ्नु स्वाभाविक थियो । जनता राज्यबाट र आफूले स्थापना गरेको राजनीतिक प्रणालीबाट सकारात्मक व्यवहारको अपेक्षा गर्दथे । क्रान्तिपछि तत्काल संविधान सभाको निर्वाचन हुन सकेन या हुन दिइएन । लामो समयपछि राणाहरूको बन्धनबाट छुटकारा पाएका राजाले प्रजातन्त्रको संस्थागत विकास हुन दिएनन् । पन्ध्र सालको संसदीय निर्वाचनमा दुई तिहाइ मत प्राप्त गरेको बीपी कोइराला नेतृत्वको सरकार अपदस्थ गरी तत्कालीन राजाले निरङ्कुशताको विधिवत अभ्यास सुरु गरे । यसले नेपालको विकास र प्रगतिलाई अवरुद्ध ग¥यो ।

यी विषय इतिहास प्रमाणित सत्य हुन् । अहिले उठाउन खोजेको कुरा के हो भने त्यस यता प्रजातन्त्रको पुनस्र्थापना र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको समेत स्थापना भइसकेको छ । कम्तीमा पनि चार पटक त राजनीतिक प्रणालीको फेरबदल भइसकेको छ । यतिबेला  माथि नै चर्चा गरेजस्तो नेपाली जनताले विगत र वर्तमानको शासन प्रणाली र राजनीतिक नेतृत्व समेतको तुलनात्मक विवेचना गरिराखेका छन् । लोकतन्त्र जनताको चाहनाअनुसार चल्ने र चलाइने राजनीतिक प्रणाली हो । यसलाई सरकारले जनतालाई प्रदान गर्ने गुणस्तरीय सेवाले अझ बलियो बनाउँछ ।  विश्वसनीयता पैदा गर्छ ।

यो जनउत्तरदायी र जवाफदेहितासहितको राजनीतिक प्रणाली हो । यो प्रणालीलाई व्यवहारले सिद्ध गर्नु पर्दछ । नेतृत्वको बचन र व्यवहारको तालमेल हुनुपर्छ । तानाशाही व्यवस्थाका कुनै पनि लक्षण र चरित्र लोकतन्त्रले अँगाल्न मिल्दैन । नेतृत्वको चरित्र उदार र जनमुखी हुनुपर्छ । यो विश्वव्यापी मूल्य मान्यतामा अडिग, जनआधारित  एवं निष्ठापूर्ण हुनैपर्छ । 

अब अलिकति वर्तमान राजनीतिक प्रणालीको बागडोर सम्हालेका मुख्य राजनीतिक व्यक्तिको शासकीय चरित्र हेरौँ । तीन दशक लामो पञ्चायत विरोधी सङ्घर्षमा उल्लेखनीय योगदान पु¥याएका सरल र सादगीपूर्ण जीवन बिताएका त्यागी नेताहरू प्रजातन्त्रको पुनस्र्थापनापश्चात सर्लक्कै बदलिए । जीवनशैली र जनतालाई गर्ने व्यवहार बदलियो । अभिजात्य शैली र राजसी ठाँटबाँट अँगालेका नेताहरूप्रति विस्तारै जनधारणा फेरिन थाल्यो । प्रजातन्त्रका लागि ठूलो योगदान पु¥याएका काँग्रेसका नेताहरूको चालढाल  प्रजातन्त्रको मर्म विपरीत र अनपेक्षित देखिन थाल्यो । यसले जनताको मनमा ठेस पुग्न गयो र यत्रो लामो सङ्घर्ष आखिर केका लागि रहेछ भन्ने यक्ष प्रश्न खडा भयो । राणा, राजा र पञ्चभन्दा फरक देखिन र देखाउन नसक्दा बहुदलीय राजनीति नै बद्नाम हुन पुग्यो । यही क्रियाकलापलाई देखाएर प्रजातन्त्र विरोधीहरूले संसदीय व्यवस्था मास्ने षड्यन्त्र तयार गरे । हिंस्रक माओवादी आन्दोलनले मलजल प्राप्त गर्याे ।  अन्ततः राजा र कम्युनिस्टहरूको दोहोरो प्रहारमा परेर प्रजातन्त्रको अवसान भयो ।

वर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओली तेह्रथुम जिल्लाको दुर्गम पहाडी क्षेत्रका निम्न वर्गीय किसान परिवारबाट राजनीतिमा उदाएका व्यक्ति हुन् । भारतको नक्सलाइट गतिविधिबाट प्रभावित भई पुँजीपतिहरू र समाजका धनीमानी व्यक्तिहरू  विरुद्ध हतियार उठाएर वर्गसङ्घर्ष थालनीको घोषणा गरेका ओलीको समूहले झापा जिल्लामा दसजना निहत्था नागरिकहरूको नृशंस हत्या गरेर जनवादी क्रान्तिको पूर्वाभ्यास गर्यो । झापाको त्यो घटना बिलकुलै अराजनीतिक र आतङ्कवादी घटना थियो । यसलाई कुनै पनि तर्कद्वारा राजनीतिक घटना मान्न र पुष्टि गर्न सकिँदैन । मदन, केपी, सीपी, आरके, माधव, झलनाथ समेत भएर बनाएको एमाले पार्टीमा प्रचण्डसमेत मिसिएर वर्तमान नेकपा बनेको छ । अहिले यसैको सरकार छ । यसको कार्यशैली कस्तो छ त ? सरकार कसरी चलिरहेको छ ? प्रधानमन्त्री र मन्त्रीहरूको रवैया कस्तो छ ? सबै कुरा छर्लङ्ग छन् । राणा र राजाभन्दा ठूला सामन्त देखिएका छन् नेकपाका नेताहरू । राज्यको ढुकुटीमा ब्रह्मलुट छ । के यस्तै हुन्छ त गणतान्त्रिक व्यवस्था ? सरकारमा गएका नेकपाका नेताहरूको अभिव्यक्ति र व्यवहार छोटे राजा वा श्री ३ का जर्नेलको झैँ देखिन्छ ।

साँच्चै भन्ने हो भने वर्तमान शासन प्रणाली विश्वको निर्विकल्प र उत्कृष्ट शासन प्रणाली हो । यो शासन प्रणालीमा विश्वभरिका प्रजातन्त्रवादीहरूको अटुट विश्वास छ । तर यसलाई हाम्रो कार्य सम्पादनले लोकप्रिय र भरपर्दाे बनाउन सक्नु पर्दछ । वर्तमान सत्ताधारीहरूको यस प्रणालीप्रति कुनै निष्ठा छैन । उनीहरू यसको रणनीतिक उपयोग गरिरहेका छन् । त्यसैले प्राप्त सत्तालाई मनमौजी दुरुपयोग गर्दैछन् । यसको अर्थ वर्तमान व्यवस्था बद्नाम हुँदा उनीहरूलाई कुनै टाउको दुखाइ छैन । राणाहरूलाई सुनाम र बद्नामको कुनै परवाह थिएन । राज्यको अधिकतम दोहन गर्नु र आफ्नो सुख सुविधा बढाउनु एक सूत्रीय उद्देश्य थियो । अहिलेको सरकार राणा प्रवृत्तिको पुनरावृत्ति हो अर्थात् आधुनिक संस्करण ।

अमेरिकी राजनीतिशास्त्री र हावर्ड विश्वविद्यालयका प्राध्यापक डेनियल जिब्ल्याट र स्टेभेन लेवेट्स्कीले भनेझैँ आधुनिक तानाशाहहरू विधिबाटै चुनिन्छन् तर विस्तारै विधिमाथि हावी हुँदै प्रजातन्त्रको हत्या गर्दछन् । नेपाल अहिले त्यही बाटोतर्फ अग्रसर छ । समुन्नत लोकतान्त्रिक व्यवस्थामा त सरकारले जनताको गुनासो सुन्छ र सरकारमाथि उठाइएका प्रश्नहरूको समुचित जवाफ दिन्छ । सरकारको सम्पूर्ण ध्यान नागरिकको हित र कल्याणमा केन्द्रित हुन्छ । तर आज सरकार के गर्दैछ ? चिकित्सा शिक्षामा देखिएका विकृतिको अन्त्यका लागि पटक पटक सत्याग्रह गर्दै आएका गोविन्द केसीमाथि निरन्तरको दुव्र्यवहार किन ? यसको कारण प्रष्टै छ, सरकारको ध्यान देशको विकास र सुधारमा पटक्कै छैन । वर्तमान सरकार वर्तमान राजनीतिक प्रणालीलाई उपयोग गरी अधिनायकवाद स्थापनातर्फ उद्यत देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गुरुराज घिमिरे
गुरुराज घिमिरे
लेखकबाट थप