बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

स्वीकृति पाए पोखराको बन्जि मंसिरदेखि सञ्चालनमा आउने

आइतबार, २५ असोज २०७७, १९ : ०७
आइतबार, २५ असोज २०७७

पोखरा । पोखरा १७ रातोपैरोको बन्जि सरकारी स्वीकृति पाए आउँदो मंसिरको पहिलो साताबाटै सञ्चालनमा आउने भएको छ । बन्जि नेपाल एड्भेन्चर्स प्रालिले निर्माण गरेको बन्जिले निर्माणका सम्पूर्ण काम सकेर सञ्चालन तयारी थालेको हो । 

दुई वर्ष अघि निर्माण थालेको बन्जिको निर्माण कार्य एक वर्षभित्र सकिएको थियो । गएको बैशाखमा सञ्चालनमा ल्याउने भनिए पनि बन्जि सञ्चालनमा आउन सकेको छैन । महामारिको रुपमा फैलिई रहेको कोभिडले गर्दा सञ्चालन मिति ६÷७ महिना पछि धकेलिएको कम्पनीले जनाएको छ । 

‘कोभिडले गर्दा धेरै पछि धकेलियौं । यहीं दिन भन्ने त भएन । तर, पेन्डामिक घट्दै जान थाल्यो र गोभर्मेन्टबाट स्वीकृति आयो भने हामी मंसिरको पहिलो सञ्चालन गर्ने तयारीमा छौं,’ बन्जिका चेयर मेन सन्तोष भट्टराइले भने, ‘अहिले प्रचार प्रसार गरि हाल्ने अवस्था पनि छैन । हामी चाहीं टुरिजम बोर्डसँग सहकार्य हुँदै छ, अब टुरिजम बोर्डले अथोरेटी दियो भने मंसिर पहिलो साताबाट सुरु गछौं ।’ 

आन्तरिक पर्यटक लक्षित गरेर सञ्चालनमा ल्याउन लागेको बन्जि बजारक्षेत्रदेखि नजिकै पर्ने हुनाले पनि पर्यटकको रोजाईमा पर्ने उनले विश्वास लिए । करिब एक दशक अघिदेखि बन्जि क्षेत्रमा आबद्ध भट्टराईको नेतृत्वमा निर्माण भएको यो बन्जि पोखरा १७ रातोपैरोमा अबस्थित छ । चेयरमेन भट्टराईले अन्य बन्जिको तुलनामा धेरै अन्तर नभए पनि आफू पनि एड्भेन्चरियस हुने र बन्जि गनै चाहने सबैलाई एड्भेन्चरियर्स बनाउने बताए ।

‘अरु बन्जिको तुलनामा जम्प डेकमा पिक अप गछौं एउटा । अर्को विभिन्न कपल जम्पहरु अन्य किसिमका जम्प पनि लिन चाहनेहरुका लागि त्यो गर्ने सोच हो । नयाँ कुरा सिक्ने अथवा अनुभव लिने कुराहरु चाहीं छ,’ उनले भने, ‘अब, अन्य यो क्यान्डिलिभर ब्रिज भन्छ यो । यो एशियाकै लङ्गेस्ट क्यान्डिलिभर ब्रिजमा पर्छ होला । अर्को यो टावरको माथि टुप्पोमा पुगिन्छ । माथि पुगेपछि १५, २० जनाको टिम नै बस्ने स्पेस छ । कोही साथीहरुले बर्थडे मनाउन चाहनुहुन्छ भने पनि छ । अरु एक्टिभिटी पनि हुन्छ त्यहाँ । हाम्रो गाइड हुन्छ । माथि जाने र तल आउने सेफ्टी बेल्ट युज गरेर हुन्छ ।’

माछापुछ«े र अन्नपूर्ण रेञ्ज अवलोकन गर्दै बन्जि गर्न पाइने हुनाले पनि बन्जि सबैको रोजाईमा पर्न सक्ने उनको जिकिर छ । २ वटा जम्प डेक भएको बन्जिमा माथि र तल, सेती गण्डकीबाट माथि १२१ मिटर छ तल्लो जम्प डेक । माथिल्लो जम्प डेक चाहीं १२५ मिटर हाइटमा राखिएको उनले सुनाए ।

कपल जम्पका लागि १२० केजी वेट भन्दा माथि हुनु हुँदैन । कपल जम्प  मिनिममा वेट ४० बाट १२० को अन्तरमा भयो भने डबल जम्प गर्न सकिन्छ । सुरक्षाका मापदण्ड पनि हुने हुँदा कपल जम्प दैनिक नगराएर अकेजनल्ली गर्ने उनले सुनाए । 

‘त्यसको लागि २, ३ वटा जम्प मास्टरै तयार हुनुपर्छ । एउटा जम्प मास्टरले हुँदैन । त्यो रिजनले गर्दा पनि हामी रेगुलार नगरि कुनै अकेजनलमा फेस्टिभल हुँदा गर्न सकिन्छ त्यो,’ उनले भने । 

भट्टराई स्वयम आफैं पनि बन्जिमा जम्प मास्टरको रुपमा रहने छन् । आइएसओ प्राप्त सामग्रीको प्रयोग गरि तयार पारिएको बन्जि भएकाले पनि आफूहरुको बन्जि अरुको भन्दा सुरक्षित रहेको उनको जिकिर छ  ।

‘आइएसओ चेक हुँदै छ । त्यसमा सम्पूर्ण एक्युपमेन्ट गो बन्जि भन्ने जापानको बन्जि कम्पनीसँग हामी टाई अप भएका छौं । त्यो कम्पनीबाट आएको सामान मात्रै हामीले युज गछौं,’ उनले भने, ‘नेपालमा हामी कुनै पनि सामग्री खरिद गर्दैनौं । बन्जिको लागि आवश्यक इक्युपमेन्ट भनौं न अरुको लागि गरिएला तर, बन्जिको लागि र टावर क्लाइम्बको लागि भनेको हामी इम्पेसल्लि आइएसओ प्राप्त गरेको कम्पनीले मात्रै र त्यो सम्बन्धिको इक्युपमेन्ट मात्रै हामीले युज गछौं ।’ 
 
बन्जिको लागि आवश्यक इक्युपमेन्ट इन्टरनेशनल आइएसओ मान्यता प्राप्त मात्र प्रयोग गरेको उनले सुनाए । लामो समय विदेशमा रहेर बन्जि गराएका भट्टराईले नेपालमै केही गर्ने सोचले बन्जिमा लगानी गरेको बताए । बन्जिमा उनीसहित ९ जनाको लगानी छ । बन्जि निर्माणको लागि धेरै ठाउँ हेरेर अन्तिममा रातोपैरो तय गरिएको उनले बताए । गण्डकी प्रदेशभित्रै बन्जि निर्माण गर्ने निर्णय भए पनि लामो एक्ससाइजपछि मात्रै स्थान तय भएको उनले सुनाए । 

‘अब गण्डकी प्रदेशमा गर्ने कहाँ गर्ने त भनेर यस्तै चिजहरु हेर्दे जाँदा कुश्मामा बनि रहेको । कुश्मा भन्दा पनि यतै पट्टीको क्षेत्रमा हेर्दा २, ३ चोटी एकचोटी फुस्रो खोलामा प्रयास गरेका थियौं । त्यहाँ पनि मिलेन,’ उनले भने, ‘गोभमेन्ट प्रोसेस पनि अलि छुट्टै किसिमको रहेछ । ब्रिजमा गर्न गोभमेन्ट अथोरेटी नदिने । आफैं बनाउनुपर्ने स्पेशल भएको भएर पनि एक्ससाइज त भयो तर, हामी पोखरामै गर्ने भनेर स्वीट लोकेसन लागेको हुनाले गरेको हो ।’

गो बन्जि अन्र्तगत जापानमा ९ वटा साइट छ । चाइनामा अहिले हाइयेस्ट २६० मिटरको बन्जि सञ्चालन तयारीमा छ । चाइनाको बन्जि सञ्चालमा आई सकेपछि त्यही टिम यहाँ आएर ओपनिङ गर्ने तयारी रहेको उनले सुनाए । 

८ करोड रुपैयाँको लागत अनुमान रहेको बन्जि बैशाख १ गते देखि सञ्चालनमा ल्याउने भनिए पनि कोभिडको कारण लगानी समेत बढेको उनको भनाई छ । कर्मचारी खर्च र सञ्चालन मिति टर्दैै जाँदा लागत रकम पनि बढेको उनले सुनाए । क्यान्डिलिभर ब्रिज डिजाइनमा तयार भएको बन्जिको प्ल्याटफर्म ५५ मिटर लामो छ । यस्तै टावरको उचाईं ३५ मिटर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप