शनिबार, ३० चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

६० दिनको म्याद दिएर निक्षेप लिन बोलाएको ओरेयण्टलले झुक्यायो

निक्षेप फिर्ता नपाएपछि पीडित पुगे मन्त्रालय, व्यवस्थापन समितिले हात झिक्यो
आइतबार, २५ असोज २०७७, १५ : ३४
आइतबार, २५ असोज २०७७

गत साउन १६ गते निक्षेप डुबेकालाई रकम फिर्ता लिनका लागि दाबी गर्न ओरेयण्टल सहकारीका सञ्चालक सुधीर बस्नेतको नाममा एक सूचना जारी भयो । सूचनामा रकम फिर्ता लिनका लागि दावी पेश गर्न साउन २९ देखि लागू हुनेगरी ६० दिनको समय दिइएको थियो । तर, निक्षेप फिर्ता दिनका लागि न उसले कुनै सम्पर्क कार्यालयको ठेगाना दियो न त नम्बर नै । बरु एउटा वेभसाइट खडा गरेर अनलाइन मार्फत दाबी गर्न भन्यो । कतिपय निक्षेपकर्ता अनलाइनमार्फत निक्षेप दाबी गर्न नसक्ने अवस्थाका थिए । केहीले दाबी गरेपनि त्यहाँबाट फिर्ता लिन बोलावट आएन ।

२०७४ सालमा ‘समस्याग्रस्त’ सहकारी भन्दै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सो सहकारीलाई आफ्नो निगरानीमा राखेको थियो । तर, आजैको मिति (असोज २५) देखि ओरेयण्टल सहकारीलाई समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले निगरानी स्थगित गरेको छ । 

समितिले एक सूचना जारी गर्दै ओयिरयन्टल सहकारीको कामकारबाही अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ । समितिका अध्यक्ष कुमार पोखरेलका अनुसार ओरेयण्टलको सम्पति भन्दा दायित्व बढी छ । उसको दायित्व १६ अर्ब १ करोड ४५ लाख छ तर समितिले रोक्का राखेको उसको सम्पत्ति करिब ५ करोड रहेको  मूल्याङ्कन छ ।

समितिलाई नै ओरेयण्टल छोडिदिएको भए उसले ८१ करोड ७५ लाख रुपैयाँ उठाउने लक्ष्य राखेको थियो । अदालतको आदेशकै कारण आफूहरुले प्रभावकारी काम गर्न नपाएको समितिको अध्यक्ष पोखरेलको भनाइ छ । यद्यपि समिति आफैले पनि समस्याग्रस्त सहकारीको समाधान गर्न सकिरहेको थिएन । समस्याग्रस्त सहकारीको व्यवस्थापनकै लागि खुलेको यस समितिमा वार्षिक २ करोड ८० लाख रुपैयाँ तलब तथा भत्ताका लागि सरकारको रकम जान्छ । तलब भत्ता र खाजा खर्च सक्नेबाहेक अरु केही काम गर्न नसकेको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय निकट स्रोतको आरोप छ । 
आफू काम गर्न नसक्ने अनि अदालतको काम गर्न रोक्यो भन्ने ?, ती अधिकारी आक्रोश छ । 

२०७५ असार २५ गते समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको रोहबरमा ओरेयण्टल पीडितको प्रतिनिधिका रूपमा कुन्तीदेवी पोखरेल, कोहीनूर हिल हाउजिङ प्रालिका सञ्चालक सुधिर बस्नेत र भेगासिटी उपभोक्ता व्यवस्थापन समितिका प्रतिनिधि तेजबहादुर गुरुङबीच भएको त्रिपक्षीय सम्झौताअनुसार काम अगाडि बढ्ने भनिएको थियो । उनीहरुबीच हाउजिङ परियोजनाका अधुरा निर्माण काम पूरा गर्ने र ओरेयण्टल पीडितको निक्षेप फिर्ता गर्ने सम्झौता भएको थियो । यस्तै २०७६ वैशाख ३१ गते भएको दुई पक्षीय सम्झौतासमेत गरेर जग्गा परिचालन र वितरण गरेर निक्षेप फरफारक गर्ने लक्ष्य बस्नेतले राखेका थिए । 

मन्त्रालय पुगे पीडित
ओरेयण्टल पीडितहरुको तर्फबाट प्रतिनिधित्व गर्ने (पीडित संघका अध्यक्ष) खगेन्द्र काफ्ले ओरेयण्टल सञ्चालक बस्नेतले आफूहरुसँग बसेर कुराकानी गर्न नचाहेको बताए ।  ओरेयण्टलको सूचना नै अवैधानिक भएको उनले बताएका छन् । काफ्ले आइतबार नै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा गुहार माग्न एक सूमह नै लिएर पुगेका छन् । उनले  मन्त्रीसँग भेटेर आफ्नो निक्षेप फिर्ता लिने वातावरण बनाइदिन भन्दै गुहार माग्न आएको बताए । काफ्लेले भने, ‘ओरेयन्ण्टलले भन्न खोजेको केहो ? उसलाई राखेर मन्त्रालयका अधिकारीसहित हामीसँग कुराकानी गर्ने वातावरण मिलाइदिन माग गर्न हामी मन्त्रालय आएका छाैँ । समस्याग्रस्त सहकारी व्यवस्थापनले कारबाही स्थगित गरिदिएको छ । अब मन्त्रालयले के गर्छ भनेर बुझ्न आएका हौँ ।’

ओरेयण्टल सञ्चालक बस्नेतले निक्षेप फिर्ता दिन ढिला हुनुको कारण यसअघिको सूचनामा खुलाएका छन् ।  उनले आफूविरुद्ध नारा, जुलुस, मुद्दा मामिलाकै कारण निक्षेप फिर्ता ढिला भएको बताएका थिए । उनीद्वारा जारी सूचनामा भनिएको थियो, ‘विगतमा आफूविरुद्ध नारा/ जुलुस भएपछि मुद्दा मामिलामा अड्कनु परेकाले निक्षेप फिर्ता गर्न ढिला भएको हो । यदि यस्तो अवस्था नभएको भए यसअघि नै निक्षेप फिर्ता गरिसकेको हुने थियो ।’
तर उनीविरुद्ध नाराजुलुस गर्ने अवस्था उनले निक्षेप हिनामिना गरेपछि मात्र आएको पीडितहरु बताउँछन् । ओरेयण्टल सहकारीलाई प्रतिनिधित्व गर्ने कोही पनि सम्पर्कमा आउन चाहँदैनन । 
सहकारी क्षेत्रको सबैभन्दा ठूलो रकम हिनामिना गर्नेे ओरेयण्टल को–अपरेटिभको विषय अझै सुल्झन सकेको छैन । 

०७० सालमा गठित गौरीबहादुर कार्की संयोजकत्वको आयोगका अनुसार एक सय ३२ सहकारी समस्यामा छन् । आयोगले ३२ सहकारीको ११ अर्ब रकम जोखिममा रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो । समस्याग्रस्त सहकारीको समस्या समाधान गर्न गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समेत प्रभावकारी काम गर्न नसकेपछि पीडितले न्याय पाउन सकेनन् । 

निक्षेप फिर्ता गर्ने सहमति भएको छ, नगरे कारबाही हुन्छः रजिष्ट्रार पाण्डे
यता सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डे ओरेयण्टलले निक्षेपकर्ताको पैसा फिर्ता दिएको/नदिएको अनुगमन गरेर कारबाही गरिने बताएका छन् । आफूहरु सुधीर बस्नेतसँग प्रत्यक्ष सम्पर्क गरेर व्यवस्थापनको विषयमा अघि बढ्ने उनले बताए । 

डा. पाण्डेका अनुसार ओरेयण्टलले सूचना जारी गरिसकेपनि गत भदौमा बस्नेतसहित कानुनविद् र सहकारी विभागका केही पदाधिकारीसँगको छलफलमा  निक्षेप फरफारक गर्ने सहमति भएको छ । सोही बमोजिम पनि माइन्युन पनि गरिएको थियो । ओरेयण्टलले दिएको ६० दिनको म्याद गुज्रिसकेको छ । विभाग उसले दिएको म्यादमा के कतिले निक्षेप फिर्ता पाए, के कतिले पाएनन् भन्ने विषय चाँडैनै अनुगमन गर्ने योजनामा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप