बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अग्रिम टिकट बुकिङको समय घर्किँदै, यो वर्ष खुल्छ कि खुल्दैन ?

एयरलाइन्ससँग प्रतिस्पर्धा गर्न सकस
आइतबार, २५ असोज २०७७, १२ : ५३
आइतबार, २५ असोज २०७७

काठमाडौं । गत वर्ष असोजको १८ गतेदेखि दसैँ सुरु भएको थियो । दसैँका लागि उपत्यका छाड्नेहरुका लागि यातायात व्यवसायीहरुले असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खोल्ने प्रबन्ध मिलाएका थिए ।

अधिकमास (मलमास) परेकाले यो वर्ष कात्तिक ७ गतेदेखि मात्रै दसैँ सुरु हुनेछ । सामान्य हिसाबले यो वर्षको दसैँमा गाउँ जान हिजोआजमा बुकिङ खुला हुनुपथ्र्यो । तर समय घर्किँदै जाँदा बुकिङ खुला हुनु त परै जाओस्, खुल्छ कि खुल्दैन भन्ने समेत टुङ्गो छैन ।

शुक्रबार यातायात व्यवस्था विभागमा विभागका महानिर्देशक, यातायात व्यवसायी, यातायात मजदुर, ट्राफिक प्रहरी र स्थानीय तहका प्रतिनिधिहरु समेत बसेर छलफल गरे । सो छलफलमा कुनै पनि पक्ष अग्रिम टिकट बुकिङ खुलाउनुपर्छ भन्ने पक्षमा खुलेर लागेनन् । बरु यो महिनाको अन्तिमतिर अर्को बैठक बसेर अग्रिम टिकट बिक्री खुला गर्ने कि नगर्ने छलफल गर्ने निर्णय गरेर बैठक सकियो ।

विभागका प्रवक्ता लोकनाथ भुसाल भन्छन्, ‘यात्रुको चाप नरहेको र सरकारले पनि जहाँ हुनुहुन्छ त्यहीँ दसैँ मान्नुहोस् भनेर आग्रह गरेकोले अहिलेलाई यो टिकट बुकिङ नखोल्ने र आवश्यकता पर्यो भने फेरि बैठक बसेर निर्णय गर्ने सहमति भएको हो, अब बुधबार छलफल हुन्छ ।’

व्यवसायी नै चाहँदैनन् अग्रिम टिकट बिक्री

दसैँको टिकट बुकिङ खोल्ने÷नखोल्ने विषयको बहस यो वर्ष मात्रै होइन बिगतदेखि नै चल्दै आएको हो । दसैँको समयमा यातायात व्यवस्थापन सरकारको सबैभन्दा धेरै टाउको दुखाईको विषय बन्ने गरेकोले यो समयमा सरकार बढी रक्षात्मक र व्यवसायी बढी आक्रामक हुने अवस्था पनि पुरानै हो । अघिल्ला वर्षहरुमा टिकट बुकिङकै आडमा भाडा बढाउनेदेखि रोक्का गरिएका खाता खुला गर्नेसम्मका मागहरु यातायात व्यवसायीले पूरा गर्दै आएका छन् ।

यो वर्ष पनि व्यवसायीहरुले टिकट बिक्री खुला गर्न चाहिरहेका छैनन् । उनीहरुले सरकारसँग विभिन्न माग पनि राखिरहेका छन् । तर, यो वर्ष भने व्यवसायीहरुले यसलाई माग पूरा गराउने बटमलाइनको रुपमा कम प्रयोग गरेका छन् । वास्तवमा यो वर्ष उनीहरु अग्रिम टिकट बिक्री खुला गर्न नै चाहँदैनन् । यसको मुख्य कारण हो, यात्रुको कम चाप ।

६ महिना पूर्ण रुपमा बन्द भएर असोज १ गतेदेखि खुलेको सवारीसाधनमा अहिले निकै कम चाप छ । छोटो दूरी अन्तर्गत केही रुटका सवारीसाधनलाई छाड्ने हो भने अरु छोटो, मध्यम र लामो दूरीमा समेत आधा यात्रु भरिन समेत अहिले मुस्किल छ । यस्तो अवस्थामा अग्रिम टिकट बिक्री खुला गर्न व्यवसायीले नचाहेका हुन् ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका उपाध्यक्ष विजय स्वाँर भन्छन्, ‘सरकार, यातायात व्यवस्था विभाग वा मिडियालाई अग्रिम टिकट बिक्री खुला हुनैपर्ने हो भने घटस्थापना लागेपछि खोलौंला । तर टिकट बिक्री खुला गरेर मात्रै हुँदैन मान्छे पनि आउनुपर्यो, टिकट काटेर प्यासेञ्जरलाई गन्तव्यमा पुर्याउँछु भन्ने ग्यारेन्टी पनि हुनुपर्यो ।’

अहिले यातायात व्यवसायीहरु यात्रु नभएर पीडित मात्रै भएका छैनन्, फेरि लकडाउन हुने त्रासमा समेत छन् । सोही कारणले समेत उनीहरुले टिकट बिक्री खुला गर्न चाहिरहेका छैनन् । ‘अहिले टिकट काट्ने भोलि यात्रा गर्न नपाउने भयो भने त्यो पनि राम्रो भएन, त्यसका लागि सरकारले लकडाउन हुँदैन भन्ने ग्यारेन्टी समेत गर्नुपर्छ ।’

हवाइजहाजसँग प्रतिस्पर्धा गर्न सकिँदैन

सरकारले आधा सिट यात्रु राखेर डेढ गुणा भाडा लिने छुट यातायात व्यवसायीहरुलाई दिएको छ । तर, यो भाडादरका कारण लामो दूरीका यातायात व्यवसायी झनै पीडित भएका छन् ।

एयरलाइन्ससँग प्रतिस्पर्धा गर्न नसक्नुको मुख्यतया २ वटा कारण रहेको बताउँछन् उनी एउटा गाडी भन्दा जहाज सुरक्षित छ भन्ने भ्रम र अर्को भाडादर र यात्रा । अहिले प्लेनले एउटा भाइजर दिएर आफू बढी सुरक्षित रहेको चर्चा गरिरहेको आरोप उनले लगाए ।

‘म पनि प्लेन चढेरै धनगढी गएर आएँ, ५० रुपैंयाको भाइजरबाहेक अरु केही सुविधा भएको देखिनँ । झ्यालढोका बन्द भएको र एसी चलाएको ठाउँमा कोरोना सर्दैन भन्ने अनि बसमा चाहिँ जोखिमपूर्ण हुन्छ भन्ने भ्रमका कारण अहिले लामो दूरीका अधिकांश यात्रुले हवाईजहाजबाटै यात्रा गर्न थालेका छन्, तर त्यो सही होइन’ स्वाँर भन्छन् ।

लागतको विषयले झनै धेरै प्रभाव पारिरहेको उनको भनाइ छ । ‘बसमा चढेर काठमाडौंबाट धनगढी जानुपर्यो भने २१÷२२ सय रुपैंया लाग्छ । २८ सयमा प्लेनले मान्छे बोक्न थालिसके । बिग्रेको बाटोमा घण्टौँ लगाएर को जान्छ ? बरु अलिकति महँगो तिर्छ नि !’ उनी भन्छन्, ‘तपाइँहरु यात्रु छैन पनि भन्नुहुन्छ, पूर्ण क्षमतामा चलाउन दिनुपर्यो पनि भन्नुहुन्छ भनेर मलाई धेरैले सोध्नुहुन्छ । तर, भाडा बढेकै कारणले यात्रु नपाएको अवस्था चाहिँ कसैले बुझ्नुहुन्न । सरकारले पूर्ण सिटमा यात्रु राखेर चलाउन देओस् बाँकी रिस्क त हाम्रो हो नि ?’

शुक्रबार विभागको छलफलमा समेत उनीहरुले जहाजसँग प्रतिस्पर्धा गर्न नसक्ने गुनासो गरेको विभागका प्रवक्ता भुसालको भनाई छ ।

अहिलै घर जान आह्वान

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौंला उपत्यकामा भएका र काम नभएकालाई अहिलै गाउँ जान आग्रह गर्छन् । ‘सरकारले आफ्नै ठाउँमा बसेर दसैँ मनाउन भनेको छ । तर कोही गाउँ फर्किने सोचमा हुनुहुन्छ र अहिले कुनै काम पनि छैन भने अहिलै घर गइहाल्नुस्, अन्तिम दिन कुरेर नबस्नुस् भनेर हामीले भनेका छौं । यसले गर्दा यात्रा थप सुरक्षित हुन्छ ।’

सिटौला पनि यो वर्ष अग्रिम टिकट बुकिङ हुने सम्भावना निकै कम मात्रै रहेको बताउँछन् । अहिलेसम्म टिकट बिक्री खुला नहुने निर्णय भइनसकेको भए पनि अहिलेको अवस्थाका कारण यो सम्भव नभएको उनको भनाई छ । ‘यात्रु छैनन् । सरकारले यात्रा नगर्नु भन्छ । संक्रमण पनि बढिरहेको छ । २÷४ दिनमा अवस्था सुधार भए अर्कै कुरा, नत्र अग्रिम टिकट बुकिङ खुला हुन्न । तर यात्रा गर्नेलाई सहज र सुरक्षित यात्रा हुने वातावरण बनाउन चाहिँ हामी प्रतिबद्ध छौँ ।’

यसो त केही समय अघिदेखि बिभाग टिकट बुकिङ खुलाउन निकै सक्रिय थियो । तर सरकारले नै घर नजान आग्रह गरेपछि विभागको सक्रियतामा ब्रेक लागेको छ । यसले गर्दा पनि यो सम्भाजना टरेर गएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप