बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य प्रमुख सम्मानित, पाटन नगरपालिका बन्यो उत्कृष्ट

शनिबार, २४ असोज २०७७, २२ : ०६
शनिबार, २४ असोज २०७७

बैतडीको पाटन नगरपालिकाको स्वास्थ्य सेवा जिल्लाका १० वटै स्थानीय तहमध्येकै उत्कृष्ट ठहरिएको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश स्वास्थ्य निर्देशनालयले वार्षिक समीक्षामा आज नगरपालिकालाई उत्कृष्ट स्थानीय तहको रुपमा पुरस्कृत एवम् सम्मानित गरेको हो ।

मुख्यमन्त्री त्रिलोचन भट्टले पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दलाई नगरपालिकाले प्राप्त गरेको ४० हजार पुरस्कार र सम्मानपत्र एक कार्यक्रमकाबीच हस्तान्तरण गरे । प्रदेशको स्वास्थ्य निर्देशनालयले ९ वटै जिल्लाका स्थानीय तहमध्ये प्रत्येक जिल्लाका एक एकवटा स्थानीय तहहरुलाई स्वास्थ्य क्षेत्रका उत्कृष्ट स्थानीय तहको रुपमा पुरस्कृत गरेको हो । स्थानीय सरकारले स्वास्थ्य क्षेत्रमा गरेको योगदान, कार्यक्रम कार्यान्वयनलगायत विषय हेरर स्थानीय तहहरुलाई अङ्क दिएर उत्कृष्ट छनोट गरिएको जनाएको छ ।

यस्तै प्रदेश स्वास्थ्य निर्देशनालयले छनोटका आधार तय गरेको र ती आधारमा उच्च अङ्क प्राप्त गर्ने पालिकालाई स्वास्थ्य क्षेत्रका उत्कृष्ट पालिकाको रुपमा पुरस्कृत एवम् सम्मान गरिएको हो । जिल्लाका १० ओटै स्थानीय तहमध्ये स्वास्थ्य क्षेत्रमा पाटन नगरपालिका उत्कृष्ट भएकाले सबैको सहयोगले यो उपलब्धि हाँसिल भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए ।

स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्ट र स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीलाई उत्कृष्ट कार्यालय प्रमुखको रुपमा पुरस्कृत एवम् सम्मानित गरिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको सम्मानले आफूमा अझै थप जिम्मेवारी थपिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

यस्तै कोभिड–१९ को महामारी नियन्त्रणमा भूमिका खेलेको भन्दै स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति एवम् जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशी पनि पुरस्कृत एवम् सम्मानित भएका छन् । यस्तै हाट जिल्लाको स्वास्थ्यचौकीका ल्याब असिष्टेन्ट डम्बर कुँवर पनि सम्मानित एवम् पुरस्कृत हुनुभएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले ९ ओटै जिल्लाका विभिन्न पदमा काम गरिरहेका स्वास्थ्यकर्मीलाई पुरस्कृत एवम् सम्मानित गरेको हो ।  

यसैबीच कञ्चनपुरको बेदकोट नगरपालिका, कैलालीको टिकापुर नगरपालिका, डडेल्धुराको नवदुर्गा गाउँपालिका, डोटीको आदर्श गाउँपालिका, अछामको रामारोशन गाउँपालिका, बाजुराको गौमुल गाउँपालिका, बझाङ्गको जयपृथ्वी नगरपालिका र दार्चुलाको नौगाड गाउँपालिका पनि उत्कृष्ट पालिकाको रुपमा पुरस्कृत भएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप