शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘टन्सिलले निम्त्याउन सक्छ मुटुरोग’

शनिबार, २४ असोज २०७७, २२ : ०१
शनिबार, २४ असोज २०७७

घाँटीमा व्याक्टेरियाको सङ्क्रमणबाट टन्सिल हुने गर्छ । टन्सिललाई हामीले सामान्य रुपमा लिएर खासै उपचार गर्दैनौँ । त्यही हेल्चेक्र्याई नै पछि मुटु जस्तो संवेदनशील अङ्गमा जटिल प्रकारको रोग लाग्न सक्छ । यस्तो समस्यले धेरै मानिसको अकालमा ज्यान गुमाउनुपरिरहेको चिकित्सकले बताएका छन्  ।

मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मी झण्डै ९९ प्रतिशत मानिसलाई उक्त कुराबारे थाहा नभएको दावी गर्छन् । डा रेग्मी एक सय रुपैयाँमा उपचार हुने टन्सिलको सही उपचार नगर्दा तीन/लाखसम्म खर्च लाग्ने मुटुरोगको जटिल समस्याबाट प्रभावित हुने गरेको बताउँछन् । उनका अनुसार प्रायः यस्तो समस्या पाँचदेखि १५ वर्षसम्मका बालबालिकामा हुने गर्दछ ।

सोही समस्या मुलुकका विपन्न परिवारमा रहेकाले सोही विषयलाई चित्रण गर्दै उनले ‘टन्सिलले विगारेको मुटु’ नामक पुस्तक बजारमा ल्याएका छन् । नेपाल हृदयरोग निवारण प्रतिष्ठानले आज काठमाडौँमा उक्त पुस्तकबारे गरेको अन्तरक्रियामा डा रेग्मीले आमनेपाली सचेत हुन सकुन् भन्ने उद्देश्यले पुस्तक प्रकाशित गरेको बताए। 

उक्त समारोहमा शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रका बाल–मुटु रोग विशेषज्ञ डा उर्मिला शाक्यले टन्सिल सामान्य रोग जस्तो लागे पनि यसको कारणले मुटुमा जटिल प्रकारको रोग लाग्न सक्ने तर्फ ध्यानाकर्षण गराइन् । उनका अनुसार बालबालिकामा शुरुमा जिवाणुका कारण टन्सिल हुने र त्यो बिग्रिएपछि बाथ ज्वरो आउँछ । बाथले मुटुका माङ्सपेशी र भल्बलाई असर गर्छ । त्यो नै बाथ–मुटुरोग हो ।

जनस्वास्थ्य विज्ञ डा अरुणा उप्रेतिले उक्त डा रेग्मीको पुस्तक सर्वसाधारण नागरिकले मात्रै नभई हरेक स्वास्थ्यकर्मीले पढ्नै पर्ने धारणा राखिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप