शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

छांगरु र स्याउखानीमा टेलिकमको टावर जडान हुँदै

शनिबार, २४ असोज २०७७, १८ : ११
शनिबार, २४ असोज २०७७

दार्चुला जिल्लाकै सबैभन्दा दुर्गम क्षेत्र मानिएका अपिहिमाल गाउँपालिकाको स्याउखानी र व्यास गाउँपालिकाको छांगरुमा नेपाल टेलिकमको टावर जडान गरिँदैछ । 
अपिहिमाल–४ मा टावर भए पनि वडा नम्बर ३ का क्षत्ति, घाजिरलगायतका बस्तीसम्म सञ्चारको पहुँच पुगेको थिएन । सोही क्षेत्रमा हरेक वर्ष प्रसिद्ध क्षत्ति जात्रा लाग्ने ठाउँमा सञ्चारविहिन हुँदा समस्या भएको भन्दै गाउँपालिकाको पहलमा नमस्ते टावर जडान गरिन लागेको हो ।

सञ्चारबाट टाढा रहेका बस्तीलाई सञ्चारसँग जोड्ने गरी अहिले तिव्रताका साथ टावर जडानको कार्य भइरहेको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताए । यो क्षेत्र सञ्चारबाट निकै विकट थियो । गाउँपालिकाका अन्य क्षेत्रमा सञ्चार भए पनि यहाँका नागरिकले फोन गर्न वडा नम्बर ४ को गाउँपालिका केन्द्रसम्म पुग्नुपर्ने बाध्यता थियो । सो क्षेत्रमा छिट्टै टावर सञ्चालनमा ल्याउने गरी काम भइरहेको अध्यक्ष मन्यालको भनाइ छ । 

अपिहिमाल–६ सितोला क्षेत्रका लागि पनि टेलिफोन टावर जडान हुदैछ । टावर जडान भएपछि पूरै गाउँपालिका सञ्चारमा जोडिने छ । छ वडा रहेको अपिहिमाल गाउँपालिका पर्यटकीय क्षेत्र पनि हो । पर्यटक घुम्न आउने क्षेत्रमा सञ्चार हुन सकेन भने समस्या हुने भन्दै गाउँपालिकाले शुरुदेखि नै टेलिफोन टावर स्थापनाका लागि पहल गर्दै आइरहेको थियो । अहिले सांसद गणेशसिंह ठगुन्ना र गाउँपालिका अध्यक्ष मन्यालको पहलमा चाँडो टावर जडानको कार्य भइरहेको गाउँपालिकाले जनाएको छ ।

यस्तै व्यासको छांगरुमा सशस्त्र प्रहरीको गुल्म स्थापना भइसकेपछि नमस्तेको टावर आवश्यक रहेको छ । यसअघि छांगरुमा स्काई फोनको टावर भए पनि राम्रोसँग काम गर्न नसक्दा समस्या थियो । छांगरुमा नमस्ते टावर जडानका लागि भवन बनिसकेको छ । 

गाउँपालिकाका अध्यक्ष दिलिपसिंह बुढाथोकीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँग भेटवार्ता गरी तिहारअघि नै छांगरुमा टावर जडान गर्न आग्रह गरेका छन् । छांगरुमा निर्माण भइरहेको नमस्ते टेलिफोनको टावरलाई तिहार अगावै फोर जी सेवासहित सञ्चालन गर्न आग्रह गरेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप