शासक वर्गका लागि मधेशको अन्न, जमिन, भोटलगायत सबै प्यारो भयो, तर जनता प्यारा भएनन्
लामो समय वामपन्थी राजनीतिमा जीवन बिताएकी सुशीला श्रेष्ठ यतिखेर भिन्न राजनीतिक धार बोकेको जनता समाजवादी पार्टीमा आबद्ध भएकी छन् । जीवनको उर्जामय समय वामपन्थी आन्दोलन, अझ विशेषतः माले–एमाले पार्टीमा खर्च गरेकी श्रेष्ठसँग समसामयिक सवालहरुमा केन्द्रीत रहेर रातोपाटीले गरेको संवाद सम्पादनसहित प्रस्तुत छ :
तपाईं लामो समयसम्म कम्युनिस्ट राजनीतिमा रहनुभयो । अहिले फरक विचार, फरक दृष्टिकोण भएको पार्टीमा आबद्ध हुनुभएको छ । यो संयोग कसरी जुट्यो ?
–सानैदेखि म गाउँघरमा हुने अन्याय, अत्याचार तथा महिलामाथि हुने विभेदको बारेमा बोल्ने गर्थें । कसैको विरोध गर्न जोखिमपूर्ण हुने पञ्चायती शासनकालको त्यो बेलामा पनि मैले दमन शोषणको बारेमा बोल्न छोडेको थिइनँ ।
पार्टीहरु प्रतिबन्धित रहेको र दलहरु, मूलतः काँग्रेस र कम्युनिस्टहरु भूमिगत रुपमा राजनीति अगाडि बढाइरहेको थियो । २०२८ सालमा म स्ववियुमा निर्वाचित भएँ । हामीले पंचायती व्यवस्थाका साथै नयाँ शिक्षाको विरोधमा आन्दोलित भयौं । काँग्रेसले २०१८ सालमा ताप्लेजुङ बजारको अदालतमा आगो लगाउने र अन्य आक्रामक गतिविधि गरेको कारण उनीहरुप्रतिको मेरो बुझाइ कांग्रेस पार्टीपक्षीय हुन सकेको थिएन । त्यसो त मेरो बुबाले काँग्रेसमा नै मत हाल्नु भएको थियो । तर काँग्रेसको गतिविधि मलाई मन नपरेको कारण म साम्यवादी विचारतिर आकर्षित भएकी थिएँ र त्यस कार्यमा मलाई मेरा शिक्षक नन्दकुमार प्रसाईँ र काजी श्रेष्ठले पनि उत्प्रेरित गर्नुभएको थियो ।
कम्युनिस्ट पार्टीले वर्गीय मुक्तिका कुरा गरे पनि व्यवहार त त्यसतर्फ उदासीन भएको, नेताहरु व्यक्तिगत स्वार्थमा चुर्लुम्म डुबेको र त्यसैमा मात्रै तल्लीन हुने गरेको विभिन्न घटनाक्रमले पुष्टि गरेको छ । हाम्रो जस्तो बहुजातीय, बहुसाँस्कृतिक, बहुधार्मिक समाज भएको देशमा नेपालका कम्युनिस्ट पार्टीले समाजलाई अग्रगामी दिशा दिन सक्दैन भने अन्तरआत्मादेखि लागेर म कम्युनिष्ट पार्टी छाडेर हिँडेकी हुँ ।
बुर्जुवा शिक्षा बहिष्कार गर्दै, सर्टिफिकेट च्यातेर पञ्चायत व्यवस्था ढाल्न भनी जीवनको उर्बरा समय कम्युनिष्ट आन्दोलनमा होमिदै कम्युनिस्ट पार्टीबाट प्रशिक्षित भएर समाजमा चिनिएको तथा स्थापित भएको मान्छे हुँ म । तर प्रजातन्त्र र बहुदल आएपछि कम्युनिस्टको व्यवहार र क्रियाकलाप हेर्दा यसले पनि जनताको निम्ति काम गर्छ जस्तो लागेन । मुख्यतः कम्युनिस्ट पार्टीले वर्ग संघर्षमा जोड दिन्छ । तर नेपाली समाजमा वर्गीय समस्या मात्रै छैनन्, उत्पीडित महिला, दलित, जनजाति, मधेसी, थारु, मुसलिम तथा पछौटे क्षेत्रका समस्याहरु पनि छन् । ती समस्यालाई हल गर्न तथा तिनका मागहरुलाई सम्बोधन गर्नका लागि लामो लडाइँ लड्नुपर्ने देखियो । कम्युनिस्ट पार्टीले वर्गीय मुक्तिका कुरा गरे पनि व्यवहार त त्यसतर्फ उदासीन भएको, नेताहरु व्यक्तिगत स्वार्थमा चुर्लुम्म डुबेको र त्यसैमा मात्रै तल्लीन हुने गरेको विभिन्न घटनाक्रमले पुष्टि गरेको छ । हाम्रो जस्तो बहुजातीय, बहुसाँस्कृतिक, बहुधार्मिक समाज भएको देशमा नेपालका कम्युनिस्ट पार्टीले समाजलाई अग्रगामी दिशा दिन सक्दैन भने अन्तरआत्मादेखि लागेर म कम्युनिष्ट पार्टी छाडेर हिँडेकी हुँ ।
त्यस्तो अनुभूति कहिलेदेखि भयो ?
–२०५१ सालदेखि नै हो । त्यसपछि मुलुकी ऐन, २०२० लाई संशोधन गर्न विधेयक ल्याइएको बेला त्यसलाई कुन रुपमा संशोधन गर्ने भन्नेबारे पार्टीभित्र र बाहिर व्यापक बहस भयो । त्यो बेला पार्टीले निशर्त रुपले महिलाको उन्नति, प्रगतिका लागि बोल्छ र नीति नियम बनाउछ भन्ने मलाई लागेको थियो तर त्यो रुपबाट काम गरेन ।
यस्तो समस्या सिद्धान्तका कारण आएको हो चिन्तनका कारण आएको हो ? के लाग्छ तपाईंलाई ?
–सिद्धान्तले चिन्तन बनाउँछ, चिन्तनले सिद्धान्तलाई उन्नत पार्छ । त्यसो भएका हुनाले सिद्धान्त त कम्युनिस्टको बोक्यो, तर त्यसले नेपाली समाजको समग्र चरित्रलाई बोक्न सकेन । हामी कहाँ जस्तो जाति विभेद, अछुत प्रथा, महिलाप्रतिको विभेद नभएको युरोपेली समाजको तत्कालीन पूँजीपति र मजदुर वर्गबीचको द्वन्द्वलाई विश्लेषण र संश्लेषण गरी निर्माण गरिएको चिन्तनमा आधारित छ मार्क्सवाद । मार्क्सवादले गरेको व्याख्यालाई बोक्ने र पछ्याउने काम भयो तर नेपाल सुहाउँदो बनाउने काम भएन । मार्क्सवादी सिद्धान्तलाई स्वीकार त गरियो । तर कुर्सीमा पुगेपछि कार्यान्वयन गर्ने कुरा विर्सियो ।
हामी कहाँ जस्तो जाति विभेद, अछुत प्रथा, महिलाप्रतिको विभेद नभएको युरोपेली समाजको तत्कालीन पूँजीपति र मजदुर वर्गबीचको द्वन्द्वलाई विश्लेषण र संश्लेषण गरी निर्माण गरिएको चिन्तनमा आधारित छ मार्क्सवाद । मार्क्सवादले गरेको व्याख्यालाई बोक्ने र पछ्याउने काम भयो तर नेपाल सुहाउँदो बनाउने काम भएन । मार्क्सवादी सिद्धान्तलाई स्वीकार त गरियो । तर कुर्सीमा पुगेपछि कार्यान्वयन गर्ने कुरा विर्सियो ।
त्यो भन्दा मुख्य कुरा, नेपाली समाजको समग्र समस्यालाई कम्युनिष्ट सिद्धान्तले व्याख्या विश्लेषण गरेकै छैन ।
तर तपाईंले भन्नुभएका नेपाली समाजका विशिष्ट समस्याहरु पनि कम्युनिष्ट सिद्धान्तको वर्गीय मुक्तिको सवालले हल गर्दैन र ?
–वर्गीय समस्या सबै जातमा छन् । तर आर्थिक हैसियत उन्नत भएका ‘दलित’ र ‘गरिब’ गैरदलितको सामाजिक हैसियत एउटै छैन । अहिले पनि “दलितहरुले छोए पछि खान हुँदैन”, “पानी चल्दैन”, “घरभित्रै पस्न हुँदैन” भने जस्ता अमानवीय सामाजिक मनोविज्ञान, मान्यता र व्यवहारहरु जिउँदै छन् । अहिले पनि अछुत भएवापत मर्नुपर्ने बाध्यकारी अवस्था कायमै छ । त्यसैले हाम्रो समाजको वस्तुगत धरातलको आधारमा राजनीति गर्नुपर्छ । यो लगायतका अनेक विभेदयुक्त व्यवस्था संविधानले समेत बोकेकोले कम्युनिष्ट पार्टीले भनेको न त वर्गीय मुक्ति हुन्छ न त उत्पीडित समुदायको मुक्ति ।
तपाईं अहिले जुन पार्टीमा हुनुहुन्छ, त्यो पार्टीको सिद्धान्तले तपाईंले उल्लेख गर्नुभएका समस्यालाई सम्बोधन गर्न सक्छ त ?
–हामीले गर्छौं भनेका छौं । सिद्धान्त बनाउनेबित्तिकै सबै लागु हुन्छ र रातारात सबै समाधान हुन्छ भने होइन । फेरि बुझाइ र गराइ आ–आफ्नो हो । हाम्रो समाजिक धरातल जे छ, त्यस आधारमा विद्यमान समस्यालाई अगाडि ल्याउनुपर्छ र समाधानका उपायहरु खोजिनुपर्छ । मुखले भनेर मात्रै हुँदैन, व्यवहारमै त्यसको प्रयत्न हुनुपर्छ । यहाँ त कम्युनिस्ट सिद्धान्त अपनाएकाहरुले ‘मान्छे अछुत हुन्छ भनी मान्दै मन्दिनँ’ त भने । तर व्यवहारमा यसको अन्त्य कसरी हुन्छ भनेर उनीहरुले कुनै पहल गरेनन् ।
तपाईं सहभागी हुनु भएको दलको सबभन्दा राम्रो पकड भएको तराई मधेशमै सबभन्दा बढी जातीय उत्पीडन, विभेद र असमानता रहेको आरोप लाग्ने गर्छ । यसको बारेमा तपाईं के भन्नुहुन्छ ?
–हिजो लामो कालखण्डदेखि नै पछाडि पारिएको मधेश अहिले पनि पछाडि नै छ । विकास एकैचोटी हुँदैन । विकास पनि क्रमिक हिसाबले हुने हो । मधेशका समस्याहरु अहिलेको अहिले छुमन्तरले हुँदैन । मधेश मात्रै होइन, हामी सम्पूर्ण देशका लागि सोचिरहेका छौं । त्यसको लागि समय लाग्छ, नेतृत्वले पनि गम्भीर र इमान्दार पहल गर्नुपर्छ । आखिर यी समस्या पनि पुरानै उत्तरदान हुन् । यसलाई हटाउन हामी पहल गर्छौं । यतिका वर्ष मौका पाएकाहरुले पहल नगरेकैले हामी अग्रसर हुनु परेको हो ।
तपाईंको बुझाइमा तराई मधेशमा विकास नहुनुको कारण के हो ?
–राष्ट्रिय नीतिमा पनि मधेशलाई हेर्ने दृष्टिकोण फरक भयो । रुप रंगको हिसाबले मधेशलाई विभेद गरियो । यहाँका शासक वर्गका लागि मधेशको अन्न, जमिन, भोट लगायत सबै कुरो प्यारो भयो, तर मधेशका जनता प्यारा भएनन् । ‘मधेशका जनतालाई अन्धकारमा राखिराख्न पाइयो, उनीहरुलाई चेतना दिइएन भने जहिले पनि उनीहरुमाथि राज गर्न सकिन्छ’ भन्ने सोच जब्बर बन्यो । राणा शासन र पञ्चायतमा गहिरो रुपमा विकसित त्यो स्थिति बहुदल अनि अहिले काँग्रेस र कम्युनिस्टको शासनकालहरुमा पनि यथावत रह्यो । त्यही भएर अहिले हामीले समानुपातिक समावेशीताको कुरा उठाएका हौं ।
मधेशका जनतालाई अन्धकारमा राखिराख्न पाइयो, उनीहरुलाई चेतना दिइएन भने जहिले पनि उनीहरुमाथि राज गर्न सकिन्छ’ भन्ने सोच जब्बर बन्यो । राणा शासन र पञ्चायतमा गहिरो रुपमा विकसित त्यो स्थिति बहुदल अनि अहिले काँग्रेस र कम्युनिस्टको शासनकालहरुमा पनि यथावत रह्यो ।
समयक्रममा ठूलो विकासका आयोजनाहरु संरचनागत अनुभूति हुने गरी हुँदै गर्छन् तर तराई मधेशका जनताहरुले साना साना कुरामा पनि विकास, परिवर्तन र अपनत्वको अनुभूति गर्न सकिरहेका छैनन् । किन होला ?
–त्यसको लागि पनि चाहिने संरचना नै हो । गाउँपालिका, नगरपालिका, प्रदेश २ मा अहिले हाम्रो सरकार छ तर त्यसलाई परिचालन गर्ने राज्यसंरचना र कर्मचारीतन्त्रले सहयोग र काम गरिरहेको छैन, केन्द्रीय हस्तक्षेप चर्को छ । प्रदेश सरकारमा सचिव, कर्मचारी परिवर्तन गरिदिएको गरिदिएकै छ । मुल साँचो एउटासँग छ, बजेट खर्च गर्ने स्थिति अर्कोसँग छ । निर्वाचित प्रतिनिधिले त नीतिगत रुपमा काम गर्ने हो, कार्यान्वयन गर्ने पाटो कर्मचारीतन्त्रकै हो । त्यो अझै प्रकृयामुखी मात्र छ, जनतामुखी हुनसकेको छैन । त्यसले गर्दा काम हुन नसक्ने स्थिति बनेको छ ।
प्रदेश २ लाई पछाडि पारिएको थियो र त्यो एकैपटक उठ्न नसकिएको हो । तर अरु प्रदेशको अवस्था पनि लगभग त्यस्तै त्यस्तै छ । सिन्धुपाल्चोकमा भुकम्पबाट थिलथिल भएका जनताले कतिपटक आफूहरुलाई सुरक्षित क्षेत्रमा सारियोस् भन्दा पनि त सारिएन् । त्यो समस्या समाधान गरिदिएका भए जनता एकै ठाउँ पहिरोले पुरिने समस्या आउने थिएन । मधेशमा जस्तो समस्या छ, त्यो देशैभरि छ ।
प्रणाली फेरियो तर व्यक्ति उही, सोच उही, संरचना त्यही भएर काम भएन, विकास भएन भन्नुभयो । त्यसो भए के अब पुनः प्रणाली नै परिवर्तन गर्नुपर्छ भन्न खोज्नु भएको हो ?
–त्यही भएर नै हामीले विभेदयुक्त व्यवस्थाहरु भएको संविधान संशोधन गर्न माग गर्दै आएका छौं । अहिलेको संविधानमा महिला, मधेशी, जनजाति समुदाय र उत्पीडनमा परेकालाई समान अधिकारको प्रत्याभूति गरिएका छैन । हिजो राजनीतिकर्मीहरुमा देश र जनताका लागि त्याग र समर्पणको भावना थियो । तर अहिले त पैसा कहाँबाट आउँछ र त्यो कसरी खाऔं भन्ने सोंच मात्र बनाएको देखिन्छ । देशमा सबै क्षेत्र भागबण्डामा गइसकेको छ । प्रणालीमा केही सुधार, केही कार्यन्वयनमा इमान्दार प्रयत्न र केही संरचना र सोचमा सुधार नगरी देश विकास संभव छैन ।
हिजो राजनीतिकर्मीहरुमा देश र जनताका लागि त्याग र समर्पणको भावना थियो । तर अहिले त पैसा कहाँबाट आउँछ र त्यो कसरी खाऔं भन्ने सोंच मात्र बनाएको देखिन्छ ।
तपाईंले काँग्रेस, कम्युनिस्ट पार्टीका नेताहरुमाथि आक्षेप लगाउनुभयो, तर तपाई संलग्न दलकै नेताहरु पनि विभिन्न समयमा प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री भएर ‘टेस्टेड’ भइसकेका छन् । ती नेताहरुले तपाईंले सोचेअनुसार परिवर्तन गर्नुहुन्छ जस्तो लाग्छ ?
–हाम्रो पार्टी भर्खर बन्दैछ । एकैपटकमा सबै ‘टेस्टेड’ हुन्छन् भन्ने हुँदैन । ‘पुरानो संरचनाले काम नगरेकैले नयाँ संरचना अनुसार साँच्चै नै जनताको निम्ति काम गर्छौं’ भन्ने प्रतिबद्धताका साथ उहाँहरु नयाँ ढंगबाट एक ठाउँमा आउनुभयो र हामीले साथ दिएका छौं । समय, काल, परस्थिति अनुसार ‘टेस्टेड’ हुँदै जाने हो ।
एकचोटीलाई नेता बनेको व्यक्ति सधैँभरिका लागि नेता बन्न सक्दैनन् भन्ने कुरा देखिइसकिएको छ । त्यसैले नेतृत्व बेलाबेलामा परिवर्तन हुनुपर्छ । युवा हुँदाखेरी एउटा आन्दोलनमा लागेका हामी, उमेर कालले, परस्थितिले हिजैको अवस्थामा पुग्न सकिँदैन । अब युवाहरु आउनुपर्छ र मुलुकमा देखिएको अहिलेको बेथितिलाई तोड्नुपर्छ ।
कम्युनिष्ट पृष्ठभूमिमा लामो राजनीतिक जीवन व्यतित गर्नुभएको तपाईं अहिले त्यसबाट बेथितिको अन्त्य हुन नसक्ने ठानेर अर्को पृष्ठभूमिको पार्टीमा जानु भएको छ । भोलि गएर पुनः त्यही परस्थिति नजन्मेला भन्ने के ग्यारेन्टी छ ?
–हो, भोलि गएर के हुन्छ भने कुनै ग्यारेन्टी छैन । एउटा कुरा सत्य के हो भने भोलि हामी मर्छौं । तर मरिन्छ भनेर खुट्टा तानेर, निराश भएर बस्न सकिन्नँ नि । त्यस्तो प्रवृत्ति भनेको एकैचोटी आउने होइन । त्यो प्रवृत्ति विस्तारै आउने कुरा हो । मेरो आफ्नो भूमिका कहाँ रहन्छ, त्यो आउने दिनले तय गर्छ । त्यो बेला गलत भयो भने ‘गलत भयो है’ भन्ने हिम्मत राख्छु । त्यस्तै अवस्था आयो भने पार्टी छाडेर बस्न पनि सकिन्छ । मैले जे कुरा जानेर, बुझेर राजनीतिमा लागें, त्यो राजनीतिक परिवर्तनको आन्दोलनमा मेरो सहभागितामा निरन्तता छ । हामीले गठन गरेको जनता समाजवादी पार्टी निर्माणको क्रममा छ । विकास भन्ने कुरा र राजनीतिक परिवर्तनका कुरा विस्तारै हुँदै जान्छ । २०४६ सालको परिवर्तन त्यत्तिकै भएको होइन, राजतन्त्र त्यत्तिकै गएको छैन, गणतन्त्र त्यत्तिकै आएको होइन । त्यसको लागि जनताले लामो, संघर्ष र बलिदान दिनुपर्यो ।
अहिलेसम्मको अनुभवले देखाएको कुरा शासन व्यवस्थामा मात्रै परिवर्तन गरेर हुँदो रहेनछ, सामाजिक संरचना मै मूलभूत रुपमा रुपान्तरण हुनुपर्दछ । तर त्यो रुपान्तरण सानोतिनो परिवर्तनले सम्भव हुँदैन, त्यसका लागि एउटा ठूलै प्रयत्न चाहिन्छ भन्ने कुराको अनुभूति तपाईंलाई भयो कि भएन ?
–त्यो पनि एकैचोटी हुन्न, स–सानो परिवर्तनहरुको जम्मा जोडबाटै ठूलो परिवर्तन आउने हो । विरुवा पनि एकैपटक ठूलो भएर फल्ने फुल्ने हुँदैन नि ! अहिले उत्पीडित र उपेक्षितहरुलाई गोलबद्ध गर्दै हामीले जनता समाजवादी पार्टी रुपी विरुवा रोप्ने काम गरेका छौं । यो पार्टी अहिले बनिसकेको छैन, बनाउने प्रकृयामा छौं । परिवर्तन भनेको बहुआयामिक कुरा हो र ठूलै प्रयत्न र लामो संघर्षबाट मात्र संभव हुन्छ । त्यसका लागि हामी तयार छौं ।
अहिले उत्पीडित र उपेक्षितहरुलाई गोलबद्ध गर्दै हामीले जनता समाजवादी पार्टी रुपी विरुवा रोप्ने काम गरेका छौं । यो पार्टी अहिले बनिसकेको छैन, बनाउने प्रकृयामा छौं ।
पंचायतकालमा तपाईं ठूलो परिवर्तनका लागि आन्दोलनमा होमिनुभयो । तपाईंको विचारमा अब राजनीतिक परिवर्तनको चरण पूरा भइसकेको छ कि छैन त ?
चरण पूरा भयो भएन भन्दा पनि त्यो समय गइसक्यो । अहिले हामी गणतन्त्रको चरणमा छौं । तर हामीले गणतान्त्रिक अभ्यास गर्न पाएका छैनौं । पार्टीले शासन गर्नुपर्ने गणतन्त्रमा विभिन्न गुटमा विभाजित पार्टीभित्रको एउटा गुटले शासन गरिरहेको छ, जसले जनताको हितमा नभई व्यक्ति वा गुटको स्वार्थमा मात्रै केन्द्रीत भएर काम गरिरहेको छ । जनताको हितलाई ध्यानमा राखेर काम नगरेको कारण उपलब्धि प्राप्त हुन सकेको छैन । सर्वत्र निराशा, असन्तुष्टि, बेथिति र अराजकता फैलिएको स्थिति छ ।
यसको समाधान के हो त ?
यसको समाधान भनेको सबै सचेत र संगठित भई एउटै आवाज जनताको पक्षमा उठाउन सक्नु पर्यो । पहिले त संविधानलाई विभेद रहित र सन्तुलित हुने गरी सच्याउनु पर्यो । सबैले अपनत्व स्वीकार गर्ने अवस्था बन्नु पर्यो । त्यसपछि ऐनकानुन समानतालाई स्थापित गर्ने गरी बनाउनु पर्यो । यसको कार्यन्वयन सही ढंगले गर्नु प¥यो । इमान्दार र सदाचारी व्यक्तिहरुले सरकार हाँक्नु पर्यो । अनि वल्ल ठिक थालनी हुन सक्ला । त्यसपछि मात्र समाधान हुन्छ । त्यो प्रक्रिया तलबाट नै शुरु गर्नुपर्छ । गाउँ तहदेखि नै जरा गाडेर रहेको बेथितिहरुलाई सच्याउन युवाहरु संगठित हुनुपर्छ ।
पंचायतकालमा राजनीतिक आन्दोलनमा होमिएका युवाहरुमा एउटा त्याग समर्पण र परिवर्तनको क्रान्तिकारी चेतसहितको हुटहुटी पाइन्थ्यो । के अहिलेको युवामा त्यो पाउनु हुन्छ ?
–छन् अहिले पनि छन् । युवाहरु विरोधका स्वरहरु लिएर सडकमा आएकै छन् । पंचायतकालमा जस्तै अहिले पनि सत्ताका गलत काम कारवाहीको विरोध गर्दा आतंकवादी, अराजक, देशद्रोही तथा राष्ट्रघातीको आरोप लगाउने प्रचलन यथावत छ । युवाहरुको आवाज दवाउन प्रयास भइरहेकै छ । तर युवाहरुको सचेत प्रयत्न र संघर्षले परिवर्तन र रुपान्तरण हुन्छ भन्ने विश्वास लाग्छ मलाई ।
अहिलेकै शासन सत्ता र सत्ता संरचनाबाट ढिलो चाँडो परितर्वन हुन्छ भने कुरामा तपाईं विश्वस्त हुनुहुन्छ ?
–यही शासन सत्ताले केही परिवर्तन गर्ला भने कुरामा म विश्वस्त छैन । २०७२ को संविधानलाई “विश्वको उत्कृष्ट संविधान भन्यौं” तर उत्कृष्ट रहेनछ भनेर अहिले उहाँ (काँग्रेस, कम्युनिस्टका नेता)हरुले नै बोल्नु थाल्नु भएको छ । संविधानमा हामीले शिक्षा, स्वास्थ्यलाई मौलिक हकको रुपमा राख्यौं । तर व्यवहारमा त्यो लागु भएको छैन । अहिले बनेको संविधान कार्यान्वयन भएको छैन । संविधानमा धेरै कमजोरीहरु छन् । त्यसलाई पुनर्लेखन गर्नपर्छ भनी हामीले भन्दै आएको छौं ।
समाज परिवर्तनको मेरुदण्ड राजनीति भएकोले राजनीति गर्नेहरुले कसरी साेंच्दछन्, राजनीतिलाई कसरी अगाडि बढाउँछन् भन्ने कुरामा त्यो कुरा भर पर्छ । राजनीति जनताको हितको निम्ति कि आफ्नो नीम्ति गर्ने त्यो कुरा स्पष्ट हुनु आवश्यक छ ।
तपाईंको राजनीतिक जीवन झापा आन्दोलनसँग घनिष्ठ रुपमा जोडिएको छ । यतिखेर झापा आन्दोलनको राजनीतिक पृष्ठभूमि बोक्नु हुने केपी ओली शासनसत्ताको शिखरमा हुनुहुन्छ । पूर्व सहयोद्धाका हिसाबले तपाईं उहाँको सत्तारोहण र शासनसत्ता सञ्चालनलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
–झापा आन्दोलनको पृष्ठभूमिबाट राजनीतिमा उदाउनु भएका केपी ओली अहिले प्रधानमन्त्री हुनुभएको छ । तर हिजो जे कारणले झापा आन्दोलन, किसान आन्दोलन भएको थियो, त्यो अवस्थामा परिवर्तन आएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले केही राम्रा काम पनि गर्नुभएको छ तर सबै काम राम्रो गर्नुभएको छैन । जनतामा भ्रष्टचारले निराशा व्याप्त छ ।
झापा आन्दोलनको पृष्ठभूमिबाट राजनीतिमा उदाउनु भएका केपी ओली अहिले प्रधानमन्त्री हुनुभएको छ । तर हिजो जे कारणले झापा आन्दोलन, किसान आन्दोलन भएको थियो, त्यो अवस्थामा परिवर्तन आएको छैन ।
तपाईले हिजो देख्नु भएको केपी शर्मा ओली र आज देख्नु भएको केपी शर्मा ओलीमा के फरक देख्नु भएको छ ?
–पहिला उहाँ जेलमा हुनुहुन्थ्यो अहिले शासन सत्ताको कुर्सीमा हुनुहुन्छ । उहाँ परिवर्तनका लागि १४ वर्ष जेल बस्नुभयो । परिवर्तनपछि कुर्सीमा बस्ने अवसर पाउनु भयो । तर जनताका निम्ति केही गर्न सक्नुभएन ।
राजनीतिमा महिलाहरुको उपस्थिति र उनीहरुको जिम्मेवारी तथा पहुँचलाई कसरी बुझ्नु भएको छ ?
–नेपाली महिलाहरुको स्थिति समाजको अवस्थामा भर पर्छ । हाम्रो समाज एकल ब्राम्हणवादी सोचसहितको पितृसत्तात्मक समाज हो । उहाँहरुले महिलाहरुका लागि गर्नुपर्ने केही पनि देख्नुहुन्न । बरु पुरुषलाई अगाडि बढाउन महिलाले सहयोग गरिदिनुपर्ने, उहाँहरुको स्याहारसुसार गरिदिनुपर्ने, उहाँलाई सहयोग गर्नुपर्ने, त्यो भूमिकाका लागि मात्र महिला हो भन्ने बुझाइ रहेको छ ।
सोझो भाषामा भन्दा राजनीतिक दलमा रहेका महिलाको योगदानलाई उचित मूल्यांकन र कदर गरिएको छैन ?
–नेकपामा थुप्रै सक्षम महिलाहरु छन् । तर उहाँहरुले ठाउँ वा अवसर पाउनु भएको छैन । महिला मन्त्रालयमा पुरुष जानुपर्छ, गृहमन्त्री पनि महिला बन्नुपर्छ अनि मात्र समानताको अनुभूति हुन्छ । महिला राष्ट्रपति बन्नसक्छ भने गृहमन्त्री किन बन्न सक्दैन ? प्रधानमन्त्री किन बन्न सक्दैन ? सहाना प्रधानलाई वाममोर्चाको संयोजक बनाएर आन्दोलनमा लग्न सक्यो तर प्रधानमन्त्री किन बनाइएन ? काम गर्ने कुनै जिम्मेवारी दिएन । बरु आन्दोलन सकिएपछि उहाँलाई तल झारियो । त्यही भएर जसले काम गर्छ त्यसलाई अवसर दिनुपर्छ भने हाम्रो मान्यता हो । महिलाले काम गरेको छ तर उसको काम र क्षमताको मूल्यांकन भएको छैन ।
महिला मन्त्रालयमा पुरुष जानुपर्छ, गृहमन्त्री पनि महिला बन्नुपर्छ अनि मात्र समानताको अनुभूति हुन्छ । महिला राष्ट्रपति बन्नसक्छ भने गृहमन्त्री किन बन्न सक्दैन ? प्रधानमन्त्री किन बन्न सक्दैन ? सहाना प्रधानलाई वाममोर्चाको संयोजक बनाएर आन्दोलनमा लग्न सक्यो तर प्रधानमन्त्री किन बनाइएन ?
तपाई एकपटक के भन्नुभएको थियो भने राजनीतिमा म अशोक राई भन्दा सिनियर हुँ तर पनि मेरो पहिचान अशोक राईको श्रीमतीको रुपमा मात्र छ, वास्तविकता के हो ?
–अशोक राई पनि मेरो नामबाट चिनिनु भएको छ, म पनि उहाँको नामबाट चिनिएको छु । तर अहिले पनि म बढीजसो सुशीला श्रेष्ठ भनेर नै चिनिएको छु । मैले आफ्नो पहिचान आफै बनाएको छु जस्तो लाग्छ । हामी श्रीमान श्रीमती हौं भने कुरा धेरैलाई थाहा थिएन र छैन पनि । म आफ्नै परिचयबाट परिचित छु । म अशोक राईको श्रीमतीभन्दा पनि सुशीला श्रेष्ठबाट नै बढी चिनिएको छु । तर कतिपय ठाउँमा मलाई उहाँ अशोक राईको श्रीमती भनेर भनेका हुन्छन् तर म त्यहाँ भन्छु अशोक राईलाई पनि सुशीला श्रेष्ठको श्रीमान हो भनेर पनि चिनाउनुस् न ।
महिला जति अगाडि बढेका छन् ती सबै पुरुषको साथ सहयोगले नै अगाडि बढेका छन् । यसमा के भनाइ छ तपाईको ?
–आडभरोसा सबैलाई सबैको चाहिन्छ । अहिले प्रधानमन्त्रीलाई आडभरोसा कसले दिएको छ ? उहाँको श्रीमतीले दिनुभएको छ । उहाँको श्रीमती पहिला पार्टीका कार्यकर्ता नै हो नि । उहाँले आफूलाई समर्पित गरेर उहाँ (प्रधानमन्त्री) कै लागि काम गरिरहनु भएको छ । आडभरोसा भनेको एक अर्कालाई सहयोग गर्नु हो । जस्तोसुकै सक्षम व्यक्ति पनि निर्णायक ठाउँमा पुग्नका लागि कसै नकसैको आडभरोसा र सहयोग चाहिन्छ नै । तर समस्या के हो भने केही पनि काम नगरेका, केही योगदान नरहेकालाई पनि तानेर ल्याइन्छ । त्यस्तालाई एकपटक तानेर ल्याउन त सकिन्छ तर त्यस्ता व्यक्ति नेता बन्न चाहिं सक्दैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ करोड बराबरको अल्कोहलयुक्त पेय पदार्थ निर्यात
-
निजी मेडिकल कलेजमा स्नातकोत्तर भर्ना हुने आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिन कार्यदलको सुझाव
-
पार्टी एकताबद्ध भएर जानुको विकल्प छैन : सिटौला
-
क्रियाशील सदस्यहरूले नै क्रियाशील सदस्यताको महत्त्व नै बुझाउन सकेनन् : उपप्रधानमन्त्री सिंह
-
एकताबद्ध भएर जानुको विकल्प छैन : सिटौला
-
पाँच महिनामा एक अर्बभन्दा बढीको सिमेन्ट भारततर्फ निर्यात