केन्द्रीय संस्करण
अन्तरवार्ता

शासक वर्गका लागि मधेशको अन्न, जमिन, भोटलगायत सबै प्यारो भयो, तर जनता प्यारा भएनन्

त्यस्तै अवस्था आयो भने पार्टी छाडेर बस्न पनि सकिन्छ : सुशीला श्रेष्ठ, नेता, जनता समाजवादी पार्टी

person explore access_timeअसोज २४, २०७७ chat_bubble_outline0

 

 

 

लामो समय वामपन्थी राजनीतिमा जीवन बिताएकी सुशीला श्रेष्ठ यतिखेर भिन्न राजनीतिक धार बोकेको जनता समाजवादी पार्टीमा आबद्ध भएकी छन् । जीवनको उर्जामय समय वामपन्थी आन्दोलन, अझ विशेषतः माले–एमाले पार्टीमा खर्च गरेकी श्रेष्ठसँग समसामयिक सवालहरुमा केन्द्रीत रहेर रातोपाटीले गरेको संवाद सम्पादनसहित प्रस्तुत छ :

तपाईं लामो समयसम्म कम्युनिस्ट राजनीतिमा रहनुभयो । अहिले फरक विचार, फरक दृष्टिकोण भएको पार्टीमा आबद्ध हुनुभएको छ । यो संयोग कसरी जुट्यो ?

–सानैदेखि म गाउँघरमा हुने अन्याय, अत्याचार तथा महिलामाथि हुने विभेदको बारेमा बोल्ने गर्थें । कसैको विरोध गर्न जोखिमपूर्ण हुने पञ्चायती शासनकालको त्यो बेलामा पनि मैले दमन शोषणको बारेमा बोल्न छोडेको थिइनँ ।

पार्टीहरु प्रतिबन्धित रहेको र दलहरु, मूलतः काँग्रेस र कम्युनिस्टहरु भूमिगत रुपमा राजनीति अगाडि बढाइरहेको थियो । २०२८ सालमा म स्ववियुमा निर्वाचित भएँ । हामीले पंचायती व्यवस्थाका साथै नयाँ शिक्षाको विरोधमा आन्दोलित भयौं । काँग्रेसले २०१८ सालमा ताप्लेजुङ बजारको अदालतमा आगो लगाउने र अन्य आक्रामक गतिविधि गरेको कारण उनीहरुप्रतिको मेरो बुझाइ कांग्रेस पार्टीपक्षीय हुन सकेको थिएन । त्यसो त मेरो बुबाले काँग्रेसमा नै मत हाल्नु भएको थियो । तर काँग्रेसको गतिविधि मलाई मन नपरेको कारण म साम्यवादी विचारतिर आकर्षित भएकी थिएँ र त्यस कार्यमा मलाई मेरा शिक्षक नन्दकुमार प्रसाईँ र काजी श्रेष्ठले पनि उत्प्रेरित गर्नुभएको थियो ।

कम्युनिस्ट पार्टीले वर्गीय मुक्तिका कुरा गरे पनि व्यवहार त त्यसतर्फ उदासीन भएको, नेताहरु व्यक्तिगत स्वार्थमा चुर्लुम्म डुबेको र त्यसैमा मात्रै तल्लीन हुने गरेको विभिन्न घटनाक्रमले पुष्टि गरेको छ । हाम्रो जस्तो बहुजातीय, बहुसाँस्कृतिक, बहुधार्मिक समाज भएको देशमा नेपालका कम्युनिस्ट पार्टीले समाजलाई अग्रगामी दिशा दिन सक्दैन भने अन्तरआत्मादेखि लागेर म कम्युनिष्ट पार्टी छाडेर हिँडेकी हुँ ।

बुर्जुवा शिक्षा बहिष्कार गर्दै, सर्टिफिकेट च्यातेर पञ्चायत व्यवस्था ढाल्न भनी जीवनको उर्बरा समय कम्युनिष्ट आन्दोलनमा होमिदै कम्युनिस्ट पार्टीबाट प्रशिक्षित भएर समाजमा चिनिएको तथा स्थापित भएको मान्छे हुँ म । तर प्रजातन्त्र र बहुदल आएपछि कम्युनिस्टको व्यवहार र क्रियाकलाप हेर्दा यसले पनि जनताको निम्ति काम गर्छ जस्तो लागेन । मुख्यतः कम्युनिस्ट पार्टीले वर्ग संघर्षमा जोड दिन्छ । तर नेपाली समाजमा वर्गीय समस्या मात्रै छैनन्, उत्पीडित महिला, दलित, जनजाति, मधेसी, थारु, मुसलिम तथा पछौटे क्षेत्रका समस्याहरु पनि छन् । ती समस्यालाई हल गर्न तथा तिनका मागहरुलाई सम्बोधन गर्नका लागि लामो लडाइँ लड्नुपर्ने देखियो । कम्युनिस्ट पार्टीले वर्गीय मुक्तिका कुरा गरे पनि व्यवहार त त्यसतर्फ उदासीन भएको, नेताहरु व्यक्तिगत स्वार्थमा चुर्लुम्म डुबेको र त्यसैमा मात्रै तल्लीन हुने गरेको विभिन्न घटनाक्रमले पुष्टि गरेको छ । हाम्रो जस्तो बहुजातीय, बहुसाँस्कृतिक, बहुधार्मिक समाज भएको देशमा नेपालका कम्युनिस्ट पार्टीले समाजलाई अग्रगामी दिशा दिन सक्दैन भने अन्तरआत्मादेखि लागेर म कम्युनिष्ट पार्टी छाडेर हिँडेकी हुँ ।

त्यस्तो अनुभूति कहिलेदेखि भयो?

–२०५१ सालदेखि नै हो । त्यसपछि मुलुकी ऐन, २०२० लाई संशोधन गर्न विधेयक ल्याइएको बेला त्यसलाई कुन रुपमा संशोधन गर्ने भन्नेबारे पार्टीभित्र र बाहिर व्यापक बहस भयो । त्यो बेला पार्टीले निशर्त रुपले महिलाको उन्नति, प्रगतिका लागि बोल्छ र नीति नियम बनाउछ भन्ने मलाई लागेको थियो तर त्यो रुपबाट काम गरेन ।

यस्तो समस्या सिद्धान्तका कारण आएको हो चिन्तनका कारण आएको हो? के लाग्छ तपाईंलाई ?

–सिद्धान्तले चिन्तन बनाउँछ, चिन्तनले सिद्धान्तलाई उन्नत पार्छ । त्यसो भएका हुनाले सिद्धान्त त कम्युनिस्टको बोक्यो, तर त्यसले नेपाली समाजको समग्र चरित्रलाई बोक्न सकेन । हामी कहाँ जस्तो जाति विभेद, अछुत प्रथा, महिलाप्रतिको विभेद नभएको युरोपेली समाजको तत्कालीन पूँजीपति र मजदुर वर्गबीचको द्वन्द्वलाई विश्लेषण र संश्लेषण गरी निर्माण गरिएको चिन्तनमा आधारित छ मार्क्सवाद । मार्क्सवादले गरेको व्याख्यालाई बोक्ने र पछ्याउने काम भयो तर नेपाल सुहाउँदो बनाउने काम भएन । मार्क्सवादी सिद्धान्तलाई स्वीकार त गरियो । तर कुर्सीमा पुगेपछि कार्यान्वयन गर्ने कुरा विर्सियो ।

हामी कहाँ जस्तो जाति विभेद, अछुत प्रथा, महिलाप्रतिको विभेद नभएको युरोपेली समाजको तत्कालीन पूँजीपति र मजदुर वर्गबीचको द्वन्द्वलाई विश्लेषण र संश्लेषण गरी निर्माण गरिएको चिन्तनमा आधारित छ मार्क्सवाद । मार्क्सवादले गरेको व्याख्यालाई बोक्ने र पछ्याउने काम भयो तर नेपाल सुहाउँदो बनाउने काम भएन । मार्क्सवादी सिद्धान्तलाई स्वीकार त गरियो । तर कुर्सीमा पुगेपछि कार्यान्वयन गर्ने कुरा विर्सियो ।

त्यो भन्दा मुख्य कुरा, नेपाली समाजको समग्र समस्यालाई कम्युनिष्ट सिद्धान्तले व्याख्या विश्लेषण गरेकै छैन ।

तर तपाईंले भन्नुभएका नेपाली समाजका विशिष्ट समस्याहरु पनि कम्युनिष्ट सिद्धान्तको वर्गीय मुक्तिको सवालले हल गर्दैन र?

–वर्गीय समस्या सबै जातमा छन् । तर आर्थिक हैसियत उन्नत भएका ‘दलित’ र ‘गरिब’ गैरदलितको सामाजिक हैसियत एउटै छैन । अहिले पनि “दलितहरुले छोए पछि खान हुँदैन”, “पानी चल्दैन”, “घरभित्रै पस्न हुँदैन” भने जस्ता अमानवीय सामाजिक मनोविज्ञान, मान्यता र व्यवहारहरु जिउँदै छन् । अहिले पनि अछुत भएवापत मर्नुपर्ने बाध्यकारी अवस्था कायमै छ । त्यसैले हाम्रो समाजको वस्तुगत धरातलको आधारमा राजनीति गर्नुपर्छ । यो लगायतका अनेक विभेदयुक्त व्यवस्था संविधानले समेत बोकेकोले कम्युनिष्ट पार्टीले भनेको न त वर्गीय मुक्ति हुन्छ न त उत्पीडित समुदायको मुक्ति ।

तपाईं अहिले जुन पार्टीमा हुनुहुन्छ, त्यो पार्टीको सिद्धान्तले तपाईंले उल्लेख गर्नुभएका समस्यालाई सम्बोधन गर्न सक्छ त ?

–हामीले गर्छौं भनेका छौं । सिद्धान्त बनाउनेबित्तिकै सबै लागु हुन्छ र रातारात सबै समाधान हुन्छ भने होइन । फेरि बुझाइ र गराइ आ–आफ्नो हो । हाम्रो समाजिक धरातल जे छ, त्यस आधारमा विद्यमान समस्यालाई अगाडि ल्याउनुपर्छ र समाधानका उपायहरु खोजिनुपर्छ । मुखले भनेर मात्रै हुँदैन, व्यवहारमै त्यसको प्रयत्न हुनुपर्छ । यहाँ त  कम्युनिस्ट सिद्धान्त अपनाएकाहरुले ‘मान्छे अछुत हुन्छ भनी मान्दै मन्दिनँ’ त भने । तर व्यवहारमा यसको अन्त्य कसरी हुन्छ भनेर उनीहरुले कुनै पहल गरेनन् ।

तपाईं सहभागी हुनु भएको दलको  सबभन्दा राम्रो पकड भएको तराई मधेशमै सबभन्दा बढी जातीय उत्पीडन, विभेद र असमानता रहेको आरोप लाग्ने गर्छ । यसको बारेमा तपाईं के भन्नुहुन्छ ?

–हिजो लामो कालखण्डदेखि नै पछाडि पारिएको मधेश अहिले पनि पछाडि नै छ । विकास एकैचोटी हुँदैन । विकास पनि क्रमिक हिसाबले हुने हो । मधेशका समस्याहरु अहिलेको अहिले छुमन्तरले हुँदैन । मधेश मात्रै होइन, हामी सम्पूर्ण देशका लागि सोचिरहेका छौं । त्यसको लागि समय लाग्छ, नेतृत्वले पनि गम्भीर र इमान्दार पहल गर्नुपर्छ । आखिर यी समस्या पनि पुरानै उत्तरदान हुन् । यसलाई हटाउन हामी पहल गर्छौं । यतिका वर्ष मौका पाएकाहरुले पहल नगरेकैले हामी अग्रसर हुनु परेको हो ।

तपाईंको बुझाइमा तराई मधेशमा विकास नहुनुको कारण के हो?

–राष्ट्रिय नीतिमा पनि मधेशलाई हेर्ने दृष्टिकोण फरक भयो । रुप रंगको हिसाबले मधेशलाई विभेद गरियो । यहाँका शासक वर्गका लागि मधेशको अन्न, जमिन, भोट लगायत सबै कुरो प्यारो भयो, तर मधेशका जनता प्यारा भएनन् । ‘मधेशका जनतालाई अन्धकारमा राखिराख्न पाइयो, उनीहरुलाई चेतना दिइएन भने जहिले पनि उनीहरुमाथि राज गर्न सकिन्छ’ भन्ने सोच जब्बर बन्यो । राणा शासन र पञ्चायतमा गहिरो रुपमा विकसित त्यो स्थिति बहुदल अनि अहिले काँग्रेस र कम्युनिस्टको शासनकालहरुमा पनि यथावत रह्यो । त्यही भएर अहिले हामीले समानुपातिक समावेशीताको कुरा उठाएका हौं ।

मधेशका जनतालाई अन्धकारमा राखिराख्न पाइयो, उनीहरुलाई चेतना दिइएन भने जहिले पनि उनीहरुमाथि राज गर्न सकिन्छ’ भन्ने सोच जब्बर बन्यो । राणा शासन र पञ्चायतमा गहिरो रुपमा विकसित त्यो स्थिति बहुदल अनि अहिले काँग्रेस र कम्युनिस्टको शासनकालहरुमा पनि यथावत रह्यो ।

समयक्रममा ठूलो विकासका आयोजनाहरु संरचनागत अनुभूति हुने गरी हुँदै गर्छन् तर तराई मधेशका जनताहरुले साना साना कुरामा पनि विकास, परिवर्तन र अपनत्वको अनुभूति गर्न सकिरहेका छैनन् । किन होला ?

–त्यसको लागि पनि चाहिने संरचना नै हो । गाउँपालिका, नगरपालिका, प्रदेश २ मा अहिले हाम्रो सरकार छ तर त्यसलाई परिचालन गर्ने राज्यसंरचना र कर्मचारीतन्त्रले सहयोग र काम गरिरहेको छैन, केन्द्रीय हस्तक्षेप चर्को छ । प्रदेश सरकारमा सचिव, कर्मचारी परिवर्तन गरिदिएको गरिदिएकै छ । मुल साँचो एउटासँग छ, बजेट खर्च गर्ने स्थिति अर्कोसँग छ । निर्वाचित प्रतिनिधिले त नीतिगत रुपमा काम गर्ने हो, कार्यान्वयन गर्ने पाटो कर्मचारीतन्त्रकै हो ।  त्यो अझै प्रकृयामुखी मात्र छ, जनतामुखी हुनसकेको छैन । त्यसले गर्दा काम हुन नसक्ने स्थिति बनेको छ ।

प्रदेश २ लाई पछाडि पारिएको थियो र त्यो एकैपटक उठ्न नसकिएको हो । तर अरु प्रदेशको अवस्था पनि लगभग त्यस्तै त्यस्तै छ । सिन्धुपाल्चोकमा भुकम्पबाट थिलथिल भएका जनताले कतिपटक आफूहरुलाई सुरक्षित क्षेत्रमा सारियोस् भन्दा पनि त सारिएन् । त्यो समस्या समाधान गरिदिएका भए जनता एकै ठाउँ पहिरोले पुरिने समस्या आउने थिएन । मधेशमा जस्तो समस्या छ, त्यो देशैभरि छ ।

प्रणाली फेरियो तर व्यक्ति उही, सोच उही, संरचना त्यही भएर काम भएन, विकास भएन भन्नुभयो । त्यसो भए के अब पुनः प्रणाली नै परिवर्तन गर्नुपर्छ भन्न खोज्नु भएको हो ?

–त्यही भएर नै हामीले विभेदयुक्त व्यवस्थाहरु भएको संविधान संशोधन गर्न माग गर्दै आएका छौं । अहिलेको संविधानमा महिला, मधेशी, जनजाति समुदाय र उत्पीडनमा परेकालाई समान अधिकारको प्रत्याभूति गरिएका छैन । हिजो राजनीतिकर्मीहरुमा देश र जनताका लागि त्याग र समर्पणको भावना थियो । तर अहिले त पैसा कहाँबाट आउँछ र त्यो कसरी खाऔं भन्ने सोंच मात्र बनाएको देखिन्छ । देशमा सबै क्षेत्र भागबण्डामा गइसकेको छ । प्रणालीमा केही सुधार, केही कार्यन्वयनमा इमान्दार प्रयत्न र केही संरचना र सोचमा सुधार नगरी देश विकास संभव छैन ।

हिजो राजनीतिकर्मीहरुमा देश र जनताका लागि त्याग र समर्पणको भावना थियो । तर अहिले त पैसा कहाँबाट आउँछ र त्यो कसरी खाऔं भन्ने सोंच मात्र बनाएको देखिन्छ ।

तपाईंले काँग्रेस, कम्युनिस्ट पार्टीका नेताहरुमाथि आक्षेप लगाउनुभयो, तर तपाई संलग्न दलकै नेताहरु पनि  विभिन्न समयमा प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री भएर ‘टेस्टेड’ भइसकेका छन् । ती नेताहरुले तपाईंले सोचेअनुसार परिवर्तन गर्नुहुन्छ जस्तो लाग्छ ?

–हाम्रो पार्टी भर्खर बन्दैछ । एकैपटकमा सबै ‘टेस्टेड’ हुन्छन् भन्ने हुँदैन । ‘पुरानो संरचनाले काम नगरेकैले नयाँ संरचना अनुसार साँच्चै नै जनताको निम्ति काम गर्छौं’ भन्ने प्रतिबद्धताका साथ उहाँहरु नयाँ ढंगबाट एक ठाउँमा आउनुभयो र हामीले साथ दिएका छौं । समय, काल, परस्थिति अनुसार ‘टेस्टेड’ हुँदै जाने हो ।

एकचोटीलाई नेता बनेको व्यक्ति सधैँभरिका लागि नेता बन्न सक्दैनन् भन्ने कुरा देखिइसकिएको छ । त्यसैले नेतृत्व बेलाबेलामा परिवर्तन हुनुपर्छ । युवा हुँदाखेरी एउटा आन्दोलनमा लागेका हामी, उमेर कालले, परस्थितिले हिजैको अवस्थामा पुग्न सकिँदैन । अब युवाहरु आउनुपर्छ र मुलुकमा देखिएको अहिलेको बेथितिलाई तोड्नुपर्छ ।

कम्युनिष्ट पृष्ठभूमिमा लामो राजनीतिक जीवन व्यतित गर्नुभएको तपाईं अहिले त्यसबाट बेथितिको अन्त्य हुन नसक्ने ठानेर अर्को पृष्ठभूमिको पार्टीमा जानु भएको छ । भोलि गएर पुनः त्यही परस्थिति नजन्मेला भन्ने के ग्यारेन्टी छ?

–हो, भोलि गएर के हुन्छ भने कुनै ग्यारेन्टी छैन । एउटा कुरा सत्य के हो भने भोलि हामी मर्छौं । तर मरिन्छ भनेर खुट्टा तानेर, निराश भएर बस्न सकिन्नँ नि । त्यस्तो प्रवृत्ति भनेको एकैचोटी आउने होइन । त्यो प्रवृत्ति विस्तारै आउने कुरा हो । मेरो आफ्नो भूमिका कहाँ रहन्छ, त्यो आउने दिनले तय गर्छ । त्यो बेला गलत भयो भने ‘गलत भयो है’ भन्ने हिम्मत राख्छु । त्यस्तै अवस्था आयो भने पार्टी छाडेर बस्न पनि सकिन्छ । मैले जे कुरा जानेर, बुझेर राजनीतिमा लागें, त्यो राजनीतिक परिवर्तनको आन्दोलनमा मेरो सहभागितामा निरन्तता छ । हामीले गठन गरेको  जनता समाजवादी पार्टी निर्माणको क्रममा छ । विकास भन्ने कुरा र राजनीतिक परिवर्तनका कुरा विस्तारै हुँदै जान्छ । २०४६ सालको परिवर्तन त्यत्तिकै भएको होइन, राजतन्त्र त्यत्तिकै गएको छैन, गणतन्त्र त्यत्तिकै आएको होइन । त्यसको लागि जनताले लामो, संघर्ष र बलिदान दिनुपर्‍यो ।

अहिलेसम्मको अनुभवले देखाएको कुरा शासन व्यवस्थामा मात्रै परिवर्तन गरेर हुँदो रहेनछ, सामाजिक संरचना मै मूलभूत रुपमा रुपान्तरण हुनुपर्दछ । तर त्यो रुपान्तरण सानोतिनो परिवर्तनले सम्भव हुँदैन, त्यसका लागि एउटा ठूलै प्रयत्न चाहिन्छ भन्ने कुराको अनुभूति तपाईंलाई भयो कि भएन ?

–त्यो पनि एकैचोटी हुन्न, स–सानो परिवर्तनहरुको जम्मा जोडबाटै ठूलो परिवर्तन आउने हो ।  विरुवा पनि एकैपटक ठूलो भएर फल्ने फुल्ने हुँदैन नि ! अहिले उत्पीडित र उपेक्षितहरुलाई गोलबद्ध गर्दै हामीले जनता समाजवादी पार्टी रुपी विरुवा रोप्ने काम गरेका छौं । यो पार्टी अहिले बनिसकेको छैन, बनाउने प्रकृयामा छौं । परिवर्तन भनेको बहुआयामिक कुरा हो र ठूलै प्रयत्न र लामो संघर्षबाट मात्र संभव हुन्छ । त्यसका लागि हामी तयार छौं ।

अहिले उत्पीडित र उपेक्षितहरुलाई गोलबद्ध गर्दै हामीले जनता समाजवादी पार्टी रुपी विरुवा रोप्ने काम गरेका छौं । यो पार्टी अहिले बनिसकेको छैन, बनाउने प्रकृयामा छौं ।

पंचायतकालमा तपाईं ठूलो परिवर्तनका लागि आन्दोलनमा होमिनुभयो । तपाईंको विचारमा अब राजनीतिक परिवर्तनको चरण पूरा भइसकेको छ कि छैन त ?

चरण पूरा भयो भएन भन्दा पनि त्यो समय गइसक्यो । अहिले हामी गणतन्त्रको चरणमा छौं । तर हामीले गणतान्त्रिक अभ्यास गर्न पाएका छैनौं । पार्टीले शासन गर्नुपर्ने गणतन्त्रमा विभिन्न गुटमा विभाजित पार्टीभित्रको एउटा गुटले शासन गरिरहेको छ, जसले जनताको हितमा नभई व्यक्ति वा गुटको स्वार्थमा मात्रै केन्द्रीत भएर काम गरिरहेको छ । जनताको हितलाई ध्यानमा राखेर काम नगरेको कारण उपलब्धि प्राप्त हुन सकेको छैन । सर्वत्र निराशा, असन्तुष्टि, बेथिति र अराजकता फैलिएको स्थिति छ ।

यसको समाधान के हो त?

यसको समाधान भनेको सबै सचेत र संगठित भई एउटै आवाज जनताको पक्षमा उठाउन सक्नु पर्‍यो । पहिले त संविधानलाई विभेद रहित र सन्तुलित हुने गरी सच्याउनु पर्‍यो । सबैले अपनत्व स्वीकार गर्ने अवस्था बन्नु पर्‍यो । त्यसपछि ऐनकानुन समानतालाई स्थापित गर्ने गरी बनाउनु पर्‍यो । यसको कार्यन्वयन सही ढंगले गर्नु प¥यो । इमान्दार र सदाचारी व्यक्तिहरुले सरकार हाँक्नु पर्‍यो । अनि वल्ल ठिक थालनी हुन सक्ला । त्यसपछि मात्र समाधान हुन्छ । त्यो प्रक्रिया तलबाट नै शुरु गर्नुपर्छ । गाउँ तहदेखि नै जरा गाडेर रहेको बेथितिहरुलाई सच्याउन युवाहरु संगठित हुनुपर्छ ।

पंचायतकालमा राजनीतिक आन्दोलनमा होमिएका युवाहरुमा एउटा त्याग समर्पण र परिवर्तनको क्रान्तिकारी चेतसहितको हुटहुटी पाइन्थ्यो । के अहिलेको युवामा त्यो पाउनु हुन्छ ?

–छन् अहिले पनि छन् । युवाहरु विरोधका स्वरहरु लिएर सडकमा आएकै छन् । पंचायतकालमा जस्तै अहिले पनि सत्ताका गलत काम कारवाहीको विरोध गर्दा आतंकवादी, अराजक, देशद्रोही तथा राष्ट्रघातीको आरोप लगाउने प्रचलन यथावत छ । युवाहरुको आवाज दवाउन प्रयास भइरहेकै छ । तर  युवाहरुको सचेत प्रयत्न र संघर्षले परिवर्तन र रुपान्तरण हुन्छ भन्ने विश्वास लाग्छ मलाई ।

अहिलेकै शासन सत्ता र सत्ता संरचनाबाट ढिलो चाँडो परितर्वन हुन्छ भने कुरामा तपाईं विश्वस्त हुनुहुन्छ ?

–यही शासन सत्ताले केही परिवर्तन गर्ला भने कुरामा म विश्वस्त छैन । २०७२ को संविधानलाई “विश्वको उत्कृष्ट संविधान भन्यौं” तर उत्कृष्ट रहेनछ भनेर अहिले उहाँ (काँग्रेस, कम्युनिस्टका नेता)हरुले नै बोल्नु थाल्नु भएको छ । संविधानमा हामीले शिक्षा, स्वास्थ्यलाई मौलिक हकको रुपमा राख्यौं । तर व्यवहारमा त्यो लागु भएको छैन । अहिले बनेको संविधान कार्यान्वयन भएको छैन । संविधानमा धेरै कमजोरीहरु छन् । त्यसलाई पुनर्लेखन गर्नपर्छ भनी हामीले भन्दै आएको छौं ।

समाज परिवर्तनको मेरुदण्ड राजनीति भएकोले राजनीति गर्नेहरुले कसरी साेंच्दछन्, राजनीतिलाई कसरी अगाडि बढाउँछन् भन्ने कुरामा त्यो कुरा भर पर्छ । राजनीति जनताको हितको निम्ति कि आफ्नो नीम्ति गर्ने त्यो कुरा स्पष्ट हुनु आवश्यक छ ।

तपाईंको राजनीतिक जीवन झापा आन्दोलनसँग घनिष्ठ रुपमा जोडिएको छ । यतिखेर झापा आन्दोलनको राजनीतिक पृष्ठभूमि बोक्नु हुने केपी ओली शासनसत्ताको शिखरमा हुनुहुन्छ । पूर्व सहयोद्धाका हिसाबले तपाईं उहाँको सत्तारोहण र शासनसत्ता सञ्चालनलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

–झापा आन्दोलनको पृष्ठभूमिबाट राजनीतिमा उदाउनु भएका केपी ओली अहिले प्रधानमन्त्री हुनुभएको छ । तर हिजो जे कारणले झापा आन्दोलन, किसान आन्दोलन भएको थियो, त्यो अवस्थामा परिवर्तन आएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले केही राम्रा काम पनि गर्नुभएको छ तर सबै काम राम्रो गर्नुभएको छैन । जनतामा भ्रष्टचारले निराशा  व्याप्त छ ।

झापा आन्दोलनको पृष्ठभूमिबाट राजनीतिमा उदाउनु भएका केपी ओली अहिले प्रधानमन्त्री हुनुभएको छ । तर हिजो जे कारणले झापा आन्दोलन, किसान आन्दोलन भएको थियो, त्यो अवस्थामा परिवर्तन आएको छैन ।

तपाईले हिजो देख्नु भएको केपी शर्मा ओली र आज देख्नु भएको केपी शर्मा ओलीमा के फरक देख्नु भएको छ ?

–पहिला उहाँ जेलमा हुनुहुन्थ्यो अहिले शासन सत्ताको कुर्सीमा हुनुहुन्छ । उहाँ परिवर्तनका लागि १४ वर्ष जेल बस्नुभयो । परिवर्तनपछि कुर्सीमा बस्ने अवसर पाउनु भयो । तर जनताका निम्ति केही गर्न सक्नुभएन ।

राजनीतिमा महिलाहरुको उपस्थिति र उनीहरुको जिम्मेवारी तथा पहुँचलाई कसरी बुझ्नु भएको छ ?

–नेपाली महिलाहरुको स्थिति समाजको अवस्थामा भर पर्छ । हाम्रो समाज एकल ब्राम्हणवादी सोचसहितको पितृसत्तात्मक समाज हो । उहाँहरुले महिलाहरुका लागि गर्नुपर्ने केही पनि देख्नुहुन्न । बरु पुरुषलाई अगाडि बढाउन महिलाले सहयोग गरिदिनुपर्ने, उहाँहरुको स्याहारसुसार गरिदिनुपर्ने, उहाँलाई सहयोग गर्नुपर्ने, त्यो भूमिकाका लागि मात्र महिला हो भन्ने बुझाइ रहेको छ ।

सोझो भाषामा भन्दा राजनीतिक दलमा रहेका महिलाको योगदानलाई उचित मूल्यांकन र कदर गरिएको छैन ?

–नेकपामा थुप्रै सक्षम महिलाहरु छन् । तर उहाँहरुले ठाउँ वा अवसर पाउनु भएको छैन । महिला मन्त्रालयमा पुरुष जानुपर्छ, गृहमन्त्री पनि महिला बन्नुपर्छ अनि मात्र समानताको अनुभूति हुन्छ । महिला राष्ट्रपति बन्नसक्छ भने गृहमन्त्री किन बन्न सक्दैन ? प्रधानमन्त्री किन बन्न सक्दैन ? सहाना प्रधानलाई वाममोर्चाको संयोजक बनाएर आन्दोलनमा लग्न सक्यो तर प्रधानमन्त्री किन बनाइएन ? काम गर्ने कुनै जिम्मेवारी दिएन । बरु आन्दोलन सकिएपछि उहाँलाई तल झारियो । त्यही भएर जसले काम गर्छ त्यसलाई अवसर दिनुपर्छ भने हाम्रो मान्यता हो । महिलाले काम गरेको छ तर उसको काम र क्षमताको मूल्यांकन भएको छैन ।

महिला मन्त्रालयमा पुरुष जानुपर्छ, गृहमन्त्री पनि महिला बन्नुपर्छ अनि मात्र समानताको अनुभूति हुन्छ । महिला राष्ट्रपति बन्नसक्छ भने गृहमन्त्री किन बन्न सक्दैन ? प्रधानमन्त्री किन बन्न सक्दैन ? सहाना प्रधानलाई वाममोर्चाको संयोजक बनाएर आन्दोलनमा लग्न सक्यो तर प्रधानमन्त्री किन बनाइएन ?

तपाई एकपटक के भन्नुभएको थियो भने राजनीतिमा म अशोक राई भन्दा सिनियर हुँ तर पनि मेरो पहिचान अशोक राईको श्रीमतीको रुपमा मात्र छ, वास्तविकता के हो ?

–अशोक राई पनि मेरो नामबाट चिनिनु भएको छ, म पनि उहाँको नामबाट चिनिएको छु । तर अहिले पनि म बढीजसो सुशीला श्रेष्ठ भनेर नै चिनिएको छु । मैले आफ्नो पहिचान आफै बनाएको छु जस्तो लाग्छ । हामी श्रीमान श्रीमती हौं भने कुरा धेरैलाई थाहा थिएन र छैन पनि । म आफ्नै परिचयबाट परिचित छु । म अशोक राईको श्रीमतीभन्दा पनि सुशीला श्रेष्ठबाट नै बढी चिनिएको छु । तर कतिपय ठाउँमा मलाई उहाँ अशोक राईको श्रीमती भनेर भनेका हुन्छन् तर म त्यहाँ भन्छु अशोक राईलाई पनि सुशीला श्रेष्ठको श्रीमान हो भनेर पनि चिनाउनुस् न ।

महिला जति अगाडि बढेका छन् ती सबै पुरुषको साथ सहयोगले नै अगाडि बढेका छन् । यसमा के भनाइ छ तपाईको ?

–आडभरोसा सबैलाई सबैको चाहिन्छ । अहिले प्रधानमन्त्रीलाई आडभरोसा कसले दिएको छ ? उहाँको श्रीमतीले दिनुभएको छ । उहाँको श्रीमती पहिला पार्टीका कार्यकर्ता नै हो नि । उहाँले आफूलाई समर्पित गरेर उहाँ (प्रधानमन्त्री) कै लागि काम गरिरहनु भएको छ । आडभरोसा भनेको एक अर्कालाई सहयोग गर्नु हो । जस्तोसुकै सक्षम व्यक्ति पनि निर्णायक ठाउँमा पुग्नका लागि कसै नकसैको आडभरोसा र सहयोग चाहिन्छ नै । तर समस्या के हो भने केही पनि काम नगरेका, केही योगदान नरहेकालाई पनि तानेर ल्याइन्छ ।  त्यस्तालाई एकपटक तानेर ल्याउन त सकिन्छ तर  त्यस्ता व्यक्ति नेता बन्न चाहिं सक्दैनन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.