शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

५० स्रष्टाका बाछिटा सृजना : एक समीक्षा

शनिबार, २४ असोज २०७७, ०९ : २५
शनिबार, २४ असोज २०७७

- भरत सिग्देल

साहित्यकार अमर त्यागीद्वारा खगेन्द्र बस्यालको सहयोगमा २०७७ साल जेठ २ गते प्रवर्तित `बाछिटा´हालसम्मको लघुत्तम तथा कान्छो विधाको रुपमा स्थापित हुँदैछ। साहित्य क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरूदेखि लिएर नवप्रतिभाहरूसम्मको विशाल साहित्यानुरागी पंक्तिलाई यो विधाले आकर्षण गरिरहेको छ। 

तीन पंक्तिपुञ्जका ३-५-३ अक्षर संरचनामा लेखिने एउटै बाछिटाका ११ अक्षरमा महाकाव्यका विशाल ठेलीहरूले जत्तिकै खँदिलो भाव व्यक्त गर्न सक्ने सामर्थ्य रहेको हुन्छ। तैपनि कतिपय सिकारु सर्जकहरूमा ३-५-३ संरचनामा जे लेखेपनि बाछिटा बन्ने हो कि भन्ने जिज्ञासा रहेको पनि पाइन्छ। विधा प्रवर्तनको प्रारम्भिक चरणमा यो किसिमको जिज्ञासा उठ्नु अस्वभाविक मान्न सकिन्न।

यस सम्बन्धमा अमर त्यागी लेख्छन्, ``बाछिटा तीन पाँच तीन पंक्तिपुञ्जमा प्रकृतिपरकता र प्रतीकात्मकता अन्तर्गर्भित लक्षणात्मक र व्यञ्जनात्मक शब्दशक्तिद्वारा भावलाई झङ्कृत पार्ने सशक्त,गहन र लघुत्तम काव्यरुप हो।´´

बाछिटालाई राष्ट्रिय बाछिटा प्रतिष्ठान, नेपालका अध्यक्ष खगेन्द्र बस्याल यसरी परिभाषित गर्छन्, `` जीवन ,जगत र भोगाइका अनन्त चेतना, चिन्तन र संवेगहरूलाई प्रकृतीकरण गर्दै च्वास्स छुने र तरङ्गित पार्ने किसिमले सिर्जना गरिने क्रमशः तीन,पाँच ,तीन अक्षर संरचनामा लेखिएको मोती झैँ टल्कने लघुत्तम काव्य हो, बाछिटा´´।

प्रतिष्ठानका महासचिव विष्णु भट्टराई `विभु´ बाछिटालाई प्राकृतिक बिम्बले भरिपूर्ण , छोटो,मीठो र सुन्दर भावले सजिएको तीन पंक्तियुक्त तीन+ पाँच + तीन अक्षर संरचनामा बाँधिएको,छिटामा सागर अटाउने,प्रतीकात्मक ,लाक्षणिक र आलङ्कारिक कविताको लघुत्तम रुप हो भनी परिभाषित गर्छन् ।

बाछिटाको शाब्दिक अर्थ बाङ्गो + छिटा भएकोले यसमा बाङ्गो भनाइ वा प्रतीकात्मक अभिव्यक्ति रहने अर्थात् यसको प्रस्तुति अभिधात्मक नभएर लक्षणात्मक र व्यञ्जनात्मक हुने कुरा यसको विधागत मान्यतामा उल्लेख गरिएको छ। साथै, बाछिटा प्रकृतिपरक शब्द भएकोले यसमा प्रकृतिको बिम्ब वा झलकको उपस्थिति हुनुपर्ने तर भावनाको तीब्रता एवं अनुभूतिको तीक्ष्णता प्रतीकात्मक र मार्मिक रुपमा आएमा प्रकृतिको बिम्ब वा झलक नआए पनि बाछिटा बन्ने कुरालाई विधागत मान्यताले स्वीकार गरेको छ।

लक्षणात्मक तथा व्यञ्जनात्मक शब्दशक्तिको सहारामा विषयवस्तुको व्यवस्थित प्रस्तुतीकरण नै सशक्त बाछिटाको पहिचान हो । कुनै पनि बाछिटाको पहिलो पंक्तिका तीन अक्षरले विषयवस्तुलाई सुक्ष्म रुपमा उठान गर्नुपर्छ भने दोस्रो पंक्तिका तीन अक्षरले विषयवस्तुलाई सहज रुपमा उत्कर्षमा पुर्याउने सामर्थ्य राख्नु जरुरी छ। 

त्यस्तै, अन्तिम पंक्तिका तीन अक्षरले पहिलो र दोस्रो पंक्तिमा उठान र बिस्तार गरिएको विषयवस्तुलाई प्रभावकारी र अर्थपूर्ण रुपमा पुष्टि गर्न सक्नुपर्छ । तुकबन्दी मिलाउन तथा अक्षर संरचना मिलान गर्नकै निम्ति जबरजस्ती शब्दहरूको व्याकरणिक संरचना बिगारी भाषिक बिचलन ल्याउन नहुने कुरामा बाछिटाको विधागत मान्यताले विशेष जोड दिएको छ।

यसै सन्दर्भमा बाछिटा सृजनाका पाँच आधारभूत मान्यताको व्याख्या गर्दै यस विधाका प्रवर्तक त्यागी अगाडि लेख्छन्, `` बाछिटामा सकभर निपात, संयोजक जस्ता शब्दको प्रयोग नगरी समस्त , द्वित्त्व वा पूर्ण,संयुक्त, सरल र प्रचलित ठेट नेपाली शब्दहरू प्रयोग गर्नु उपयुुक्त हुन्छ। साथै बाछिटामा शुरु र अन्त्यमा अनुप्रास मिल्नैपर्छ भन्ने छैन,नमिले पनि हुन्छ तर प्रतीकात्मक रुपमा भावको गहनता भने हुनुपर्छ । अर्थपूर्ण रुपमा अनुप्रास मिले सौन्दर्यपूर्ण वा माधुर्यमय बन्छ।´´

यसै पृष्ठभूमिमा आधारित भई यो संक्षिप्त आलेखमा केही प्रतिनिधिमुलक बाछिटाहरूका बारेमा समीक्षात्मक टिप्पणी गरिएको छ।

१. बिहानी
शीतको थोपा
जवानी
- अमर त्यागी

यहाँ, बिहानी समयमा पातका थोपामा टल्पलाउने शीतका थोपालाई मानव वृद्धि र विकासको क्रममा बाल्यावस्थापछि आउने यौवनावस्थासङ्ग तुलना गर्दै सुन्दर प्रकृतिपरक बिम्बको रुपमा प्रयोग गरिएको छ। दिन छिप्पिँदै जाँदा बिहानी शीतको थोपा सुकेर गए जस्तै यौवन अवस्था पनि मानव वृद्धि र विकासको एउटा चरणबाट अर्कोमा प्रवेश गर्ने क्रममा हराएर जान्छ। त्यसैले जवानीको जोश, सुन्दरता र शारीरिक शक्ति जस्ता अस्थायी कुरामा कसैले पनि अहङ्कार गर्न नहुने गहन सन्देश प्रस्तुत बाछिटाले दिन खोजेको देखिन्छ ।

२. थकित
पसिना फुल्दा
चकित
- डा. नारायण गैरे

यस बाछिटामा श्रमजीवी वर्गले चुहाउने पसिनाको प्रतिफललाई बगैंचामा फुल्ने सुन्दर फूलको रुपमा प्रस्तुत गर्दै प्रकृतिको अप्रत्यक्ष झलक दिइएको छ।आफ्ना खेतबारीमा दस नङ्ग्रा खियाएर लखतरान भएको किसान अन्नबालीका सुनौला बाला झुलेको देख्दा मन्त्रमुग्ध हुने कुराको सङ्केत गर्दै परिश्रमको फल मीठो हुन्छ भन्ने शिक्षा दिनुमा प्रस्तुत बाछिटाको मुल मर्म लुकेको देखिन्छ ।

३. भरङ्ग
धर्ती हल्लिँदा
तरङ्ग
- चेतनाथ धमला

प्रस्तुत बाछिटाको सोझो अर्थात् अभिधात्मक अर्थ भुकम्पले ल्याउने तरङ्गसङ्गै हुने क्षतिको त्रासमा मानव मन समेत भरङ्ग हुन्छ भन्ने देखिन्छ। तर, धर्तीलाई मानिसले आश्रय लिएको आर्थिक , राजनीतिक, सामाजिक धरातलको बिम्बको रुपमा हेर्दा पुरानो सामाजिक ,आर्थिक संरचना भत्काउनेगरी भएका क्रान्ति र आन्दोलनले ल्याएको तरङ्गलाई सहजै आत्मसात गर्न नसक्नेहरू बिलखबन्दमा पर्दै गएको तथ्यलाई प्रतीकात्मक रुपमा प्रस्तुत गर्न गर्न खोजेको भान हुन्छ।

४. करुवा
पाएन पानी
जरुवा
- खगेन्द्र बस्याल

यहाँ ,जरुवा अर्थात् मुलको स्वच्छ पानीलाई प्रकृतिको प्रत्यक्ष झलकको रुपमा प्रयोग गर्दै जरुवाको खोजीमा करुवा बोकेर चाहार्दा स्वच्छ पिउने पानी नभेटेर प्रदुषित पानी पिउन बाध्य व्यक्ति जस्तै न्याय,समानता र समृद्धिको सपना बोकेर सङ्घीय गणतान्त्रिक नेपाल निर्माणको निम्ति त्याग र बलिदान गरेका जनता अन्याय ,असमानता र गरिबीको जाँतोमुनि पिसिनु परेको नमीठो यथार्थलाई प्रतीकात्मक रुपमा प्रस्तुत गरिएको छ।

५. अजर
साहित्य सुधा
अमर
- लता पौड्याल निरौला

यहाँ ,मरणशील जीवन पाएको मान्छेले रचना गर्ने साहित्यिक कृतिलाई अमृतसङ्ग तुलना गर्दै यस्तो कृतिले सर्जकलाई अजर र अमर तुल्याइदिनुका साथै अमृतमय साहित्यिक सुधापानबाट पाठकहरू समेत तृप्त हुने कुरालाई प्रतीकत्मक रुपमा प्रस्तुत गरिएको छ।

६. फुलेको
यौवन फूल
खुलेको
- शिव खनाल

यहाँ मानव जीवनको यौवन अवस्थालाई उद्यानमा फक्रेको सुन्दर फूलको रुपमा चित्रण गर्दै जवानीको फूल नमुर्झाउँदै प्रेमको पवित्र सुधापान गर्न सुझाइएको भान हुन्छ।

७. आँखामा
फूलको शोभा
काँडामा
- विष्णु भट्टराई विभु

यस बाछिटामा फूललाई सुन्दरता र काँडालाई असुन्दरताको प्रतीक मान्दै काँडारुपी विकृति र विसङ्गतिको गर्भबाट जन्मने फूलरुपी सुन्दर संस्कृतिको अभ्यास गर्ने व्यक्ति, समुदाय वा संस्था नै सम्बन्धित सरोकारवालाहरूको आँखाको नानी बन्न सक्छ भन्ने भावलाई व्यक्त गर्न खोजिएको छ।

८. रातमा
बिक्छ इज्जत
मातमा
- नीरु गौतम

यहाँ शब्दहरू अर्थको विविधतामा खेलिरहेका छन् । अभिधात्मक रुपमा यो बाछिटाले रातको समयमा सराबीहरूबाट हुने अपराध कर्मबाट पीडितको र अपराधी स्वयंको समेत अस्मिता लुटिने सामाजिक विकृतिको पर्दाफास गर्न खोजेको छ भने, प्रतीकात्मक रुपमा नीति ,नियम र कानुनलाई हातमा लिएर सत्ताधारी वर्गले मुलुकलाई दिउँसै अन्धकार पारी सत्ताको मातमा मत्त भएर देशको ढुकुटीमा ब्रह्मलुट मच्चाउनको निम्ति गर्ने अदूरदर्शी तथा अपारदर्शी गतिविधिबाट सिङ्गो राष्ट्रको अस्मिता लुटिएको वा बेचिएको नकारात्मक यथार्थलाई उद्घाटित गर्ने सामर्थ्य बोकेको देखिन्छ ।

९. आकाश
माल्चरी उड्यो
प्रवास
- आर्त अकुलीन

यहाँ आकाशमा वेगिएर बसाइँ सर्ने मालचरीको बथानलाई काम र मामको खोजीमा विदेशिन विवश युवाहरूको रुपमा प्रस्तुत गर्दै नेपालको रगत, पसिना विदेशी मुलुकमा कौडीको मोलमा बेचिन बाध्य भएको तिक्ततापूर्ण परिवेशको सजीव चित्रण गरिएको छ।

१०. मातृत्व
प्रेम सागर
गहिरो
- अम्बिका धिताल

यहाँ , सागरको गहिराइलाई मातृवात्सल्यको गहिराइसङ्ग तुलना गर्दै प्रकृतिको प्रत्यक्ष झलक सुन्दर ढङ्गबाट प्रस्तुत गरिएको छ।

११. मौलाए
न्यायका मूर्ति
बौलाए
- भवानी पाण्डे

प्रस्तुत बाछिटाले न्याय सम्पादनका क्रममा न्ययालयबाट हुने अप्रत्याशित फैसलाप्रति कटाक्ष गरेको छ। यहाँ अस्वभाविक निजी आर्थिक स्तरोन्नति गर्नकै निम्ति न्यायधर्मितालाई बन्धकी राखी गलत निर्णय दिने न्यायमूर्तिहरूको मानसिक सन्तुलन नभएको भन्दै रोष प्रकट गरिएको आभास हुन्छ।

१२. कलिमा
सोझा बिरुवा
बलिमा
- परन्तप नगेन्द्र

प्रस्तुत बाछिटाले ``साधुलाई सुली र चोरलाई चौतारो´´ भन्ने नेपाली उखान चरितार्थ गर्ने विद्यमान न्यायप्रणालीप्रति व्यङ्ग्य गरेको छ। यहाँ `सोझा बिरुवा´ लाई शक्ति र पहुँच नभएका निमुखा पीडित जनताको प्रतीकको रुपमा उभ्याउँदै प्रकृतिको प्रत्यक्ष झलक दिइएको छ।

१३. किनार
भोग्छ नदीको
प्रहार
- सावित्रा पाण्डे काफ्ले

यहाँ `नदी´ र `किनार´ को प्रयोग गरेर प्रकृतिको प्रत्यक्ष झलक दिँदै नदीलाई सत्ताको केन्द्रीय भागमा रहेर हालिमुहाली जमाउने वर्गको रुपमा र किनारलाई सीमान्तकृत वर्ग वा सत्ताधारीहरूको भोट बैंकको रुपमा प्रयोग हुने जनताको रुपमा प्रस्तुत गर्दै सीमान्तकृत वर्ग सधैं सत्ताधारीहरूको शोषण र दमनको शिकार बन्दै आएको तथ्यलाई उजागर गर्न खोजिएको छ।

१४. बाँधले
चुर्लुम बस्ती
साँधले
- डा. रामपुकार शाह

यहाँ नेपाल भारत सीमालाई साँधको अर्थमा लिएर सीमा नदीमा बाँधिएको बाँधका कारण वर्षायाममा मानव बस्ती सहितको नेपाली भुभाग जलमग्न भै ठूलो जनधनको क्षति हुने कारुणिक दृश्यको चित्रण गर्न खोजिएको छ।

१५. धरणी
मातृत्व दिने
जननी
- भारती न्यौपाने दाहाल

प्रस्तुत बाछिटाले धरणीलाई प्रकृतिपरक बिम्बको रुपमा प्रयोग गर्दै मातृभूमिले दिने आश्रय र आमाले दिने मातृत्वबीच समानता रहेको हुँदा यी दुवै स्वर्गभन्दा पनि प्रीय हुने भएकोले मातृप्रेम र देशभक्तिको गौरव गान गाइरहेको अनुभूत हुन्छ।
१६. सुरम्य
देशको माटो
प्रणम्य
- उपमा शर्मा

प्रस्तुत बाछिटाले सुमधुर कर्णप्रीय स्वरमा देशभक्तिको गाना गाइरहेको भान हुन्छ।यहाँ माटोलाई प्रकृतिपरक बिम्बको रुपमा प्रस्तुत गर्दै आफ्नो सुन्दर मातृभूमिको माटोमा पसिना चुहाएर गरिने देशको सम्मान मान्यजन र भगवानप्रतिको प्रणाम सरह हुने सङ्केत गर्न खोजिएको छ।

१७. धर्तीमा
काँडाको सङ्ख्या
भर्तीमा
- पूर्ण चाम्लिङ

यो बाछिटामा काँडालाई अयोग्य,असक्षम र भ्रष्टहरूलाई प्रतिबिम्बित गर्ने प्रकृतिपरक बिम्बको रुपमा प्रस्तुत गर्न खोजिएको छ। यहाँ , राज्यका विभिन्न निकायहरूमा गरिने राजनैतिक नियुक्तिमा मौलाइरहेको नातावाद, कृपावाद र भागबन्डाका कारण सक्षम र योग्य व्यक्तिहरू किनारा लाग्दै गएकोमा तीब्र रोष प्रकट गरिएको छ।

१८. माटोमा
बैरीका आँखा
आँठोमा
- शङ्कर अधिकारी

प्रस्तुत बाछिटाले बैरीका आँखालाई भारतको विस्तारवादी नीति र आँठोलाई दुई देशबीचको सिमानासङ्ग तुलना गर्दै सीमा अतिक्रमणका विरुद्ध आगो ओकलेको छ।

१९. चुहियो
रगत ढिक्का
कुहियो
- गङ्गार्जुन रिमाल

यहाँ मुलुकको राजनैतिक , सामाजिक ,आर्थिक रुपान्तरणका निम्ति भएका युद्ध र आन्दोलनमा बगेको सहिदको रगतको अपमान गर्दै गणतन्त्र प्राप्तिपछि सत्ताको वरिपरि रहेका दलहरूले जनताको परिवर्तनको सपनालाई तुहाइदिएको नमीठो दृष्टान्त प्रतीकात्मक रुपमा प्रस्तुत गरिएको छ।


२०. पुर्खाको
रक्त पसिना
गर्वको
- श्याम मकाजु

प्रस्तुत बाछिटाले नेपालको एकीकरण तथा विदेशी साम्राज्यवादीहरूसङ्गको लडाइँमा हाम्रा पुर्खाले लडेको गौरवमयी इतिहासको स्मरण गर्दै वीरताको गौरवगाथा गाइरहेको सुमधुर धुन पस्किरहेको छ।

२१. पहिरो,
प्रकृति : अन्धो
बहिरो
- शेष पौडेल

यहाँ प्रकृतिको मानवीकरण गरेर अन्धो र बहिरो भन्दै बाढीपहिरोबाट भैरहेको मानवीय क्षतिप्रति आक्रोश प्रकट गरिएको छ।

२२. बिहान
अँध्यारो रात
चिहान
- नारायण खनाल

यहाँ अँध्यारो रातको चिहानबाट सुन्दर बिहानीको उदय हुने भन्दै अनगिन्ती असफलता र संघर्षका शृङ्खला पार गरेपछि सफलताको शिखर चुम्न सकिने आशावादको ज्योति छरिएको छ।

२३. उमेर
गुलाबी बित्यो
घुमेर
- आचार्य नारद सुदामा

यहाँ यौवन अवस्थाको उमेरलाई सुन्दर गुलाबसङ्ग दाँज्दै शक्ति,सुन्दरता र सम्पत्ति अस्थायी वा क्षणिक हुने शाश्वत सत्यलाई सुन्दर ढंगले उजागर गरिएको छ।

२४. सिउँडी
काँडाबीचको
जिन्दगी
- दीक्षा सापकोटा

यहाँ जीवनलाई सिउँडीको काँडासङ्ग तुलना गर्दै प्राकृतिक, अप्राकृतिक प्राहारका भयानक अड्चनहरूसङ्गको साहसिक संघर्ष नै जीवनको पर्याय भएको भाव अन्तर्गर्भित देखिन्छ ।

२५. तासमा
वनको यात्रा
लासमा
- कर्णबहादुर रोकाया

प्रस्तुत बाछिटाले जुवातास जस्ता सामाजिक विकृतिले घरजग्गा उठिबास गराई वनबास पठाउने र ज्यानै समेत लिनसक्ने भन्दै सामाजिक चेतनाको ज्योति छरिरहेको छ।

२६. जलन
यमलोकको
गमन
- बाबुकाजी सुवाल

यहाँ माया,मोह, लोभ, क्रोध, डाह, ईर्ष्या आदिको अग्निमा जल्नेहरू जिउँदै यमलोकको यात्रा तय गर्ने भएकोले त्यसतर्फ सचेत गराउँदै मानसिक शान्ति र सामाजिक सद्भावको निम्ति आग्रह गरिएको देखिन्छ ।

२७. बतास
पर्ख,नबन
हतास
- सविता खत्री

यहाँ जीवनको आरोह अवरोहलाई बताससङ्ग तुलना गर्दै आँधिमय जीवनका भुमरीमा नहड्बडाई जिउन अपील गरिएको छ।

२८. भमरा
फूलमा देखेँ
असङ्ख्य
- सिर्जन अविरल

यहाँ प्रकृतिका सुन्दर उपहार फूल र भमरालाई बिम्बको रुपमा प्रयोग गर्दै बगैंचामा फूलको रस चुस्न भमरा आकर्षित भए झैँ पाखुरीमा बल र मुहारमा चमक रहुन्जेल साथीभाइ , इष्टमित्र, प्रेमीप्रेमिका सबैको प्रीय बनिने मनोसामाजिक यथार्थलाई सजीव ढङ्गबाट प्रस्तुत गरिएको छ।

२९. उकालो
टुप्पोमा पुगे
ओरालो
- आनन्द श्रेष्ठ

यहाँ जीवन भोगाइका उतारचढावलाई प्राकृतिक धरातलका उकाली ओरालीसङ्ग दाँजेर हेरिएको छ। एकपटक सफलताको शिखर चुम्दैमा त्यो उचाइमा सधैं रहन सकिन्छ भन्ने छैन । जीवनका बाङ्गाटिङ्गा मोडहरूमा तलमाथि ,तलमाथि गर्दै शान्तिको अन्तिम सास फेर्न सकिन्छ भन्ने शाश्वत सत्यलाई यो बाछिटाले सुन्दर ढंगबाट प्रस्तुत गरेको छ।

३०. ओडार
सधैंको रित्तो
भँडार
- कृष्ण बाउसे

यहाँ प्राकृतिक खोक्रो आकृति `ओडार´ लाई भरिपूर्ण भण्डारसङ्ग दाँजिएको छ। प्रस्तुत बाछिटाले अनमोल प्राकृतिक सम्पदाको खानीमा ओडार भए झैँ वैभव र सम्पन्नताको अद्भूत सम्भावना बोकेको हाम्रो राष्ट्रिय ढुकुटी सधैं भ्रष्टाचारको माखेसाङ्लोमा फसेर रित्तो हुनपुगेको सच्चाइलाई छर्लङ्ग पार्ने सामर्थ्य राख्दछ।

३१. अजङ्ग
वृक्ष खातिर
औसानी
- ईन्दिरा प्रसाईं

यहाँ खाना खानु अघि भुइँमा राखिने थोरै भातको सीता अर्थात् औसानीको सन्दर्भलाई प्रस्तुत गरेर अजङ्ग वृक्षरुपी ठूलो सफलताका निम्ति सानो त्याग अपरिहार्य हुन्छ भन्ने सन्देश दिन खोजिएको छ।

३२. हँसायौ
बोलीले तारा
खसायौ
- भोजराज भट्टराई

यहाँ कामभन्दा गफ ठूला गरेर जगत हँसाउने नेतृत्वलाई ``तिम्रो निम्ति आकाशको तारा खसाल्दिन्छु´´ भन्ने ढोङ्गी,धोखेबाज प्रेमीसङ्ग तुलना गर्दै चोटिलो व्यङ्ग्यवाण प्रहार गरिएको छ।

३३. पहाड
ठक्कर खान्छ
लहड
- पुरुषोत्तम लम्साल

यहाँ पहाडलाई निष्ठा, अडान, गाम्भीर्य र परिपक्वताको झलक दिने प्राकृतिक दृश्य बिम्बको रुपमा प्रस्तुत गर्दै अपरिपक्व लहडबाजीका भरमा गरिने निर्णय र अराजक गतिविधि सुझबुझपूर्ण कुशल नेतृत्वको अटल पहाडमा ठक्कर खाएर असफलताको भिरबाट गुल्टिने खतराप्रति सजग गराइएको छ।

३४. सुवास
पुष्पबाटिका
पवन
- सीता पौडेल

यहाँ पुष्पबाटिकामा फुलेका फूलहरूले सुवास छर्न हावाको सहायता लिने प्राकृतिक सच्चाइलाई बिम्ब बनाएर आपसी सद्भाव,सहिष्णुता र सहकार्यको आधारमा गरिने पुण्यकर्म नै समाजमा पुज्य हुने सङ्केत गरिएको छ।

३५. स्वादिलो
श्रमको निद्रा
खँदिलो
- हरिकृष्ण श्रेष्ठ

यहाँ परिश्रमको फल मीठो हुने र मानसिक सन्तुष्टि समेत उच्च स्तरको हुने कुरा अदृश्य बिम्बको सहायताले प्रस्तुत गरिएको छ।

३६. उषामा
मन्द छ स्पर्श
सूर्यको
- रोशन पराजुली

यहाँ झिसमिसे बिहानीपछि सूर्यको मधुर स्पर्शले दिने न्यानोपनको मुग्धकण्ठले प्रसंशा गर्दै दु:ख र सुख प्रकृतिका स्वभाविक चक्र भएकोले धैर्यता र लक्षप्रतिको निरन्तरतामा जोड दिन खोजिएको आभास हुन्छ।

३७. कमिला
लगनशील
एकता
- दिवाकर बराल मगर

यहाँ कमिलाको ताँतीलाई लगनशीलता र एकताको सुन्दर बिम्बका रुपमा प्रस्तुत गर्दै मानवजातीलाई पनि लक्ष प्राप्तिको निम्ति कमिलाबाट सिक्न प्रेरित गरिएको छ।

३८. रातको
जूनै छ राम्रो
मनको
- सुरेश काफ्ले `विदारक´

यहाँ जूनलाई आफ्नो मनको मन्दिरमा सजिएकी देवीको प्रतीक बनाएर रात अथवा कठिन परिस्थितिमा पनि सकारात्मक दृष्टिकोण राखेर नियाल्दा सुन्दर दृश्य देख्न, सन्तुष्टि लिन र सफलता हात पार्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको छ।

३९. कर्णाली
छोड पुरानो
प्रणाली
- रणबहादुर बि.क.

यहाँ कर्णालीलाई भौगोलिक विकटता र शिक्षाको कमीका कारण पिछडिएको चेतना स्तरको प्रतीक बनाएर रुढिवादी सामाजिक रितिरिवाज रअन्यायपूर्ण उत्पादन सम्बन्धका कारण सधैं विकासका दृष्टिले पछि परेको सङ्केत गर्दै पुरानो आर्थिक ,सामाजिक ,सांस्कृतिक धरातल भत्काएर अघि बढ्न यहाँका जनतालाई आह्वान गरिएको छ।

४०. बाछिटा
जमेर बन्यो
सागर
- सुभाष जमरकट्टेल

यहाँ एकातिर बाछिटाका थोपाहरू जम्मा भएर एउटा सुन्दर साहित्यिक सागर निर्माण हुँदै गरेको अर्थ प्रतिध्वनित हुन्छ भने अर्कातिर ``एकले थुकी सुकी सबले थुकी नदी´´ भनेझैं सबैको सामुहिक प्रयासमा नै कठिन कार्य सफलताको रहस्य लुकेको हुन्छ भन्ने अमृत वचन अन्तर्गर्भित देखिन्छ ।

४१. जननी
मायाको खानी
समुद्र
- सरस पाण्डे

हाँ मातारुपी समुद्रबाट जतिसुकै मातृत्वको जल निकाले पनि कहिल्यै नरित्तिने दृष्टान्त प्रस्तुत गर्दै आमालाई मायाको खानीको रुपमा पुकारिएको छ।

४२. पहरो
जीवन खोज्दै
लहरो
- कृष्ण सुदामा

यहाँ पहरो र लहरो दुवै प्रकृतिपरक शब्दहरू बहुअर्थी भेषभुषामा नाचिरहेका छन् । एकातिर पहरो जस्तो निर्जीव चट्टानयुक्त भिर पनि हरिया लहरा पाएमा जीवन्त देखिन्छ भने अर्कातिर अत्यन्तै कमजोर लहरो पनि पहरो जस्तो बलियो धरातलको सहायता पाएमा झाङ्गिन सक्छ भन्ने सजीव उदाहरणको माध्यमबाट प्रस्तुत बाछिटाले आपसी सद्भाव र सहकार्यका निम्ति मानव जातीलाई अपील गरिरहेको अनुभूत हुन्छ।

४३. बारीमा
रोपेको बीउ
कुखुरा
- रमेश प्रभात

यहाँ बारीमा रोपिएको बीउलाई श्रमिकको श्रमको र कुखुरालाई श्रमचोर परजीवी वर्गको प्रतीक बनाएर अर्काको श्रम र पसिनामा रजाइँ गर्ने प्रवृत्ति अझै कायम रहेको तर्फ सङ्केत गर्न खोजेको देखिन्छ ।

४४. व्याकुल
मन बोकेर
मंजिल
- पुरुषोत्तम अधिकारी

यहाँ मानव मनका अतृप्त चाहना,दैवी वा प्राकृतिक विपत्ति र सामाजिक शत्रुताका कारण उत्पन्न हुने नकारात्मक संवेगको चपेटामा आधुनिक मानव नराम्रोसङ्ग जकडिएर आफ्नो घर नै कारागार महसुस गर्ने अवस्थामा पुगेको कुरालाई बाछिटा मार्फत अभिव्यक्त गर्न खोजिएको आभास हुन्छ।

४५. शिरमा
दुखको नाम्लो
भिरमा
- केशव नेपाल

यहाँ श्रमिकहरू बिहान बेलुकीको छाक टार्न जोखिमयुक्त शारीरिक परिश्रममा सहभागी हुनुपर्ने बाध्यताको सजीव चित्रण गरिएको छ।

४६. खेतमा
बग्दछ सधैँ
पसिना
- केशव न्यौपाने

यहाँ खोलामा पानी बगे जस्तै खेतमा बग्ने किसानहरूको पसिनालाई शब्दको चित्र मार्फत कृषकहरूले गर्ने अथक परिश्रमको महिमागान गरिएको छ।

४७. सिरेटो
छिचोल्दै हिँडे
गोरेटो
- केशव बैरागी माइलो

यहाँ सिरेटोलाई कठिनाइ र गोरेटोलाई लक्ष प्राप्तिका निम्ति उपयोगी साधनको प्रतीक बनाएर बाधा अड्चनसँग पौँठेजोरी खेल्दै निरन्तर अगि बढ्न सकेमा सुखद परिणाम हात पार्न सकिन्छ भन्ने सुन्दर सन्देश दिन खोजिएको छ।

४८. बिहान
सपनाहरू
चिहान
- महेन्द्रमान बलामी

यहाँ `बिहान´लाई निरंकुशता विरुद्धको क्रान्ति र आन्दोलनपछिको राजनैतिक परिवर्तनको, `सपना´लाई जनताले सोचेको सामाजिक न्यायसहितको समृद्ध नेपालको र `चिहान´लाई क्रान्तिपछि बनेका सरकारहरूबाट जन चाहनामाथि भएका कुठाराघातको प्रतीक बनाएर आफ्नो असन्तुष्टि पोख्न खोजेको भान हुन्छ।

४९. फुलेको
काँडाबीचमा
झुलेको
- सरस्वती शार्मा `जिज्ञासु´

यहाँ जीवनलाई काँडाबीचमा फुल्ने सुन्दर फूलसँग दाँजेर
विकृति र विसङ्गतिका बीचमा स्वच्छ, पारदर्शी छवि बनाई जटिलताका पर्खाल तोडेर सहज जीवन जिउन प्रेरित गर्दै सकारात्मक भावको सम्प्रेषण गरिएको छ।

५०. ढाडिए
पिएर खुन
टाढिए
- नारायण नेपाल

यहाँ जनताले रगत बगाएर ल्याएको गणतन्त्रमा हात्तीछाप चप्पल लगाएर हिंड्ने नेताहरू जुकाले रगत चुसे झैँ देशको ढुकुटी चुसेर ढाडिएको र जनताको नजरबाट निकै टाढा भएको भन्दै व्यनञ्जनात्मक शब्दशक्तिको प्रयोग गर्दै कटाक्ष गरिएको छ।

कतिपय नवप्रतिभाहरूमा बाछिटाको विधागत मान्यतालाई बुझ्ने सवालमा रहेकोे अन्यौलका कारण देखिएका कमिकमजोरीका बाबजुद बाछिटा चौतारीमा पोस्ट गरिएका सृजनाका रुपको सुन्दरता र भावको गम्भीरता हेर्दा यो विधाको सुन्दर भविष्यको सहजै आँकलन गर्न सकिन्छ।

अन्तमा,यो संक्षिप्त समीक्षामूलक आलेखमा असङ्ख्य सशक्त सर्जकहरूका सृजनालाई स्थान दिन नसकिएको आत्मबोध सहित प्रवर्तक तथा अग्रजहरूले दिएका परिभाषा र सर्जकहरूका सृजनामा पोखिएका भावना समेतको संश्लेषण गर्दै पाँच थोपा बाछिटा विज्ञ पाठकवर्गको दैलो अघिल्तिर राखी बिट मार्न चाहन्छु।

''लक्षणा वा व्यञ्जना शब्दशक्तिको सहायतामा मूलतः दृश्य वा अदृश्य प्रकृतिपरक बिम्ब मार्फत पहिलो, दोस्रो र तेस्रो पंक्तिका तीन,पाँच र तीन अक्षरहरूले क्रमशः विषयवस्तुको उठान,बिस्तार र गहन ढंगबाट पुष्टि गर्ने तथा पाठक ज्ञानेन्द्रीयमा चमत्कारपूर्ण रसास्वादन गराउने सामर्थ्य बोकेको लघुत्तम काव्यरुप नै बाछिटा हो।'' 

१. निशाको
गर्भमा भ्रुण
उषाको

२. शिलाका
मूर्तिमा भाव
लीलाका

३. सभ्यता
पूर्वीय चुम्छ
भव्यता

४. चैत्यको
सुरक्षा जिम्मा
दैत्यको

५. श्रीखण्ड
पावनभूमि
अखण्ड

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप