शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अपि पावरको हकप्रद योजना ३२ महिनापछि पूरा हुँदै, २००% प्रस्ताव, ४७% स्वीकृत

शुक्रबार, २३ असोज २०७७, १२ : ४१
शुक्रबार, २३ असोज २०७७

काठमाडौँ । ३२ महिनापछि अपि पावर कम्पनीको हकप्रद शेयर जारी गर्ने योजना पूरा हुने भएको छ । ४० मेगावाटको माथिल्लो चमेलियामा लगानी जुटाउन अपि पावर कम्पनीले हकप्रद शेयर आह्वान गरेको हो । सो कम्पनीले धितोपत्र बोर्डबाट फागुनमै स्वीकृति पाएको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । अपि पावरसँग अहिले १ अर्ब १९ करोड ७ लाख रुपैयाँ बराबरको चुक्ता पुँजी छ । सो पुँजीमा १ बराबर ०.४७ का दरले हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

अपिको यो हकप्रद शेयर कात्तिक १४ देखि निष्कासन बिक्री खुला भइ मंसिर ४ गते बन्द हुनेछ । २०७६ फागुन ३० गतेसम्म कायम रहेका शेयरधनीहरु सो हकप्रदका लागि योग्य हुने कम्पनीले जनाएको छ ।

कस्तो छ कम्पनीको वित्तीय अवस्था ?

अपि पावर कम्पनी  २०६० सालमा दर्ता भई सञ्चालनमा आएको कम्पनी हो । दर्ता भएको १० वर्षपछि सो कम्पनी पब्लिक लिमिटेडमा रुपान्तरण भएको थियो । हाल सो कम्पनीको अधिकृत पुँजी ५ अर्ब जारी पुँजी ४ अर्ब र चुक्तापुँजी रु. १ अर्ब १९ करोड रुपैयाँ छ । २०७६/७७ लेखापरीक्षण नगरिएको वित्तीय विवरणमा कम्पनीको नेटवर्थ १ अर्ब ३६ करोड रहेको देखिएको छ, यो करिब प्रतिशेयर करिब १ सय १४ रुपैयाँ हो । सो कम्पनीको जगेडा कोष १७ करोड रहेको र प्रतिशेयर आम्दानी ८.०४ रुपैयाँ रहेको छ ।

सो कम्पनीले हाल ८.५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत् आयोजना र ८ मेगावाटको अपर नौगड गाढ जलविद्युत् आयोजना निर्माण सम्पन्न गरि व्यवसायिक उत्पादन गरिरहेको छ । नौगड गाढ आयोजना २०७२ भदौदेखि तथा अपर नौगड गाढ आयोजना २०७६ कार्तिक १३ गतेबाट राष्ट्रिय ग्रिड जोडिएको हो । यो अपि पावर कम्पनीको तेस्रो आयोजना हो । यो आयोजनाको लागत ७ अर्ब ४० करोड अनुमान गरिएको छ । यो आयोजनाले वार्षिक २६ करोड ४१ लख युनिट विद्युत उत्पादन हुनेछ । यो आयोजनाको विद्युत बिक्रीबाट पहिलो वर्ष १ अर्ब ६२ करोड आम्दानी हुने र ८ वर्षसम्म वार्षिक ३ प्रतिशतका दरले आम्दानी वृद्धि हुँदै जाने प्रक्षेपण गरिएको छ ।

हकप्रद शेयरसहित २ अर्ब २२ करोड स्वपुँजी र ५ अर्ब १८ करोड रुपैयाँ ऋणबाट आयोजना निर्माण गर्न लागिएको हो । यो आयोजनामा हिमालयन बैंकको अगुवाईमा कर्मचारी संचय कोष, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नेपाल बङ्गलादेश बैंक र सेञ्चुरी कमर्सियल बैंकको सह–वित्तीयकरणसहित ऋण प्रवाह गर्ने सम्झौता भएको छ ।

२००% को प्रस्ताव, ४७ प्रतिशत स्वीकृत

अपि पावर कम्पनीले धितोपत्र बोर्डमा २०० प्रतिशत हकप्रद शेयरका लागि प्रस्ताव गरेको थियो । सो प्रस्तावमा माथिल्लो चमेलियाका साथै नुवाकोटको सिद्धकाली हाइड्रोपावरमा लगानी गर्ने प्रस्ताव गरिएको थियो । तर सिद्धकाली हाइड्रोपावरमा अपि पावरको स्वामित्वका सम्बन्धमा पेश भएको डकुमेन्टमा धितोपत्र बोर्ड सन्तुष्ट नभएपछि करिब ४७ प्रतिशत हकप्रद मात्रै स्वीकृत भएको हो । फागुनमै स्वीकृत भए पनि कोभिड–१९ का कारण यो हकप्रद जारी भएको थिएन । हाइड्रोपावरको साधारण शेयर नै नबिक्ने अवस्था रहेको अवस्थामा प्रस्ताव गरिएको यो हकप्रद बिक्री गर्ने बेलामा भने हाइड्रो क्षेत्रमा निकै सुधार आएको छ ।

बिहीबार अपि शेयर २ सय २४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । यो मूल्य कायमै रहे अपिको हकप्रदमा आवेदन गर्नेको संख्या समेत बढ्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप