शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

सहुलियत पसलमा  बिक्री भएन चामल

शुक्रबार, २३ असोज २०७७, १२ : ००
शुक्रबार, २३ असोज २०७७

दशैँ तिहारलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको एक साता भए पनि अहिलेसम्म एउटा ग्राहक आएका छैनन् । सहुलियतमा चामल बिक्री गर्ने कार्य शुरु गरे पनि हालसम्म बोहनीसमेत हुन नसकेको सो कार्यालयले जनाएको छ । 

शाखा प्रमुख विकास कटुवालका अनुसार स्टिम जिरा मसिनो चामल प्रतिकिलो रु ६५ मा पाउने चामलमा रु पाँच सहुलियत दिइएको छ । पसलबाट एक उपभोक्तालाई बढीमा ५० किलोसम्म चामल उपलब्ध गराइने छ । 

मङ्सिर ६ गतेसम्म सञ्चालनमा रहने उक्त सहुलियत पसलबाट २०० क्विन्टल चामल बिक्री गर्ने लक्ष्य लिइएको सूचना अधिकारी मुनिलाल कुशवाहले बताए । सो सहुलियत पसलमा २५ किलोको र १० किलोको गरी दुईथरीका चामलका प्याकेट बिक्रीको लागि राखिएको छ ।

उपभोक्ताको माग भएअनुसार पछिपछि अन्य खाद्यान्न तथा तेलसमेत राखिने बताइएको छ । सो चामल बिक्रीको बजार दर तथा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बेच्न राखेको चामलको भाऊ उस्तै उस्तै भएकाले उपभोक्ता आकर्षित हुन सकेका छैनन् । 

गत वर्ष सो कार्यालयले यही समयमा तीन क्विन्टल ४० केजी मात्र चामल बिक्री गर्न सकेको थियो । उपभोक्ताले मास्क लगाएर आउनुपर्ने, साबुनपानीले हात धुनु पर्ने र ह्याण्ड सेनिटाइजरको प्रयोग गर्न अनिवार्य गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप