केन्द्रीय संस्करण

यसरी गर्न सकिन्छ सयपत्री फूलको हेरचाह र रोगहरुको व्यवस्थापन

person explore access_timeअसोज २३, २०७७ chat_bubble_outline0

 

 

तिहार आउँदैछ । तिहार भन्नेबित्तिकै फूलप्रेमीहरुको आँखामा सयपत्रीको तस्बिर आइहाल्छ । हिन्दू धर्म मान्नेहरुका लागि त तिहारमा सयपत्री नभई नहुने फूल हुँदै हो । त्यसबाहेक, एशियामा सबैभन्दा प्रचलित मौसमी फूलहरुमध्येका एक सयपत्री (Marigolds) पनि हो । रोप्न, हुर्काउन र स्याहारसुसार गर्न सजिलो फूलहरुमध्येका एक फूल हो सयपत्री ।

सयपत्री फूललाई चार किसिमका वर्गीकरण गर्ने गरिन्छ :

फ्रेन्च (French – Tagetes patula) :यो प्रजातिको सयपत्री होचो र घना झाडीदार हुन्छ । यो एक वा बहुरंग पनि पाइन्छ । यो लामो समयसम्म फुल्ने गर्छ ।

अफ्रिकन (African – Tagetes erecta) : यो प्रजातिको सयपत्री अलि अग्लो खालको हुन्छ । प्रायः डबल फुल्ने यो प्रजातिको सयपत्री पहेलो र सुन्तला रंगका हुन्छन् । यस प्रजातिको सयपत्रीलाई अमेरिकन मेरिगोल्ड पनि भन्ने गरिन्छ ।

ट्रिप्लोइड (Triploid) :  फ्रेन्च र अफ्रिकन मेरिगोल्डको क्रस गरेर निर्माण गरिएको प्रजातिको सयपत्री फूलाई ट्रिप्लोइड भनिन्छ ।

सिग्नेट (Signet – Tagetes tenuifolia) : घना झाडीदार हुने यो प्रजातिको सयपत्रीमा सिंगल फूल फुल्ने हुन्छ । यो प्रजातिको सयपत्री खान पनि मिल्छ ।

जातअनुसार सयपत्री फूलको बोट ६ इन्च (फ्रेन्च प्रजाति) देखि ३ फिटभन्दा अग्लो (अफ्रिकन प्रजाति) हुने गर्छ । त्यसैगरी, यसका फूलको पत्र पनि २ इन्चदेखि ५ इन्चसम्म लामो हुन पनि सक्छ ।

मुख्य गरेर सयपत्री वार्षिक रुपमा फुल्ने (Annual flowering plants) पोथ्रा (Shrub)  समूहमा पर्ने विरुवा हो । यो सूर्यमुखी र डाइजी समूहअन्तर्गतको एस्टरासिए (Asteraceae)  परिवारमा पर्ने विरुवा हो । तर वर्णशंकर प्रजाति (Hybridized varieties) का सयपत्रीहरु वाह्रै महिना फुल्ने खालका पनि हुन्छन् ।

उमार्ने र नयाँ विरुवा बनाउने तरिका

सयपत्रीलाई बीउबाट सजिलै उमार्न सकिन्छ । त्यसबाहेक, सयपत्रीको मुन्टा रोपेर पनि नयाँ विरुवा तयार गर्न सकिन्छ ।

सयपत्रीको हेरचाह

प्रकाशः सयपत्रीले सूर्यको प्रकाश मन पराउँछ । यसलाई दिनको ६ घण्टा घाम लाग्ने ठाउँमा राख्दा विरुवा राम्रो सप्रन्छ । सयपत्रीले गर्मीलाई मज्जाले खप्न सक्छ ।

माटो : सयपत्रीका लागि यस्तै माटो चाहिन्छ भन्ने खासै छैन । तर हरेक विरुवाहरुलाई जस्तै सयपत्रीलाई पनि पानी नजम्ने, जैविक पदार्थहरु पर्याप्त भएका माटो राम्रो हुन्छ ।

विरुवाबीचको दूरी : विरुवाहरु स्वस्थ रहन र राम्रोसँग हुर्कनको लागि सबैभन्दा मुख्य कुराहरुमध्येका एक हावाको राम्रो आवातजावात हुनु पनि हो । यस अर्थमा सयपत्रीका विरुवाहरुलाई पनि एक आपसमा निक्कै नजिक वा जोडाएर राख्नु हुँदैन । बोटमा हावाको राम्रो प्रवाह होस् भन्नाको लागि दुईटा बोटका बीचमा ८–१० इन्चको दूरी राखिदिँदा विरुवा राम्ररी सप्रिएर आउँछ । अझ ठूलो र झाडीदार हुने अफ्रिकन प्रजातिको सयपत्रीका बीचमा त १०–१२ इन्चको खाली भाग राख्न सके झनै राम्रो ।

पानी : सयपत्रीले पानीलाई राम्ररी सहन सक्छ । तर यसको अर्थ अन्य विरुवाहरुलाई जस्तै सयपत्रीको बोटमा पानी जम्न दिनु हुँदैन । त्यसैले सयपत्रीमा पानी हाल्दा माटोको माथिल्लो भाग सुख्खा भएपछि मात्रै पानी हाल्दा राम्रो । जमीनमा रोपिएको भन्दा गमला वा भाँडोमा रोपिएका सयपत्रीलाई तुलनात्मक रुपमा छिटोछिटो पानी हाल्नुपर्छ । सयपत्रीलाई पहिलो पटक गमला वा जमीनमा सार्दा पर्याप्त मात्रामा पानी हाल्नुपर्छ ।

मल : सयपत्रीमा मल हाल्दा ध्यान दिनुपर्ने कुरा के हो भने यसलाई नाइट्रोजन कम, फस्फोरस बढी जरुरत पर्छ । बढी नाइट्रोजन भयो भने पातहरु चाहिँ मज्जाले हराभर भएर त आउँछ तर फूल कम लाग्छ । त्यसैले सयपत्रीमा फूल बढी फुलाउनको लागि नाइट्रोजनको मात्रा कम, फस्फोरस बढी भएको मल हाल्दा राम्रो । सयपत्रीमा रासायनिक मल वा जैविक मल हाल्दै हुनुहुन्छ भने पनि नाइट्रोजन–फस्फोरस–पोटासियम (NPK)  को अनुपात ५–१०–५ भएको हाल्दा राम्रो ।

फूल टिप्ने र लामो समयसम्म ताजा राख्ने तरिका

सयपत्री फूल सजावटका लागि ‘कट फ्लावर’ को रुपमा पनि प्रयोग हुने गर्छ । त्यसैगरी, हिन्दू धर्म मान्ने समुदायमा त यो फूल तिहारको बेलामा माला उन्नको लागि पनि प्रयोग हुने गर्छ ।

सयपत्री फूल टिपेर लामो समयसम्म ताजै राख्न सकिन्छ । यसको लागि सबैभन्दा उत्तम कुरा भनेको सयपत्री फूल बिहानको समयमा टिप्दा राम्रो हुन्छ ।

सयपत्री फूल टिपेपछि त्यसका पातहरु चुँडेर फूललाई एउटा भाँडोमा मनतातोपानीमा डुबाएर राख्नुपर्छ । यसरी राखिएको फूल कम्तिमा एक हप्तासम्म ताजा रहन्छ । फूललाई यसरी लामो समयसम्म ताजा राख्नका लागि बेलाबेलामा पानी फेरिदिनुपर्छ ।

धेरै फूल फुलाउनप्रुनिङ

सिजनमा सयपत्रीको बोटमा फूलहरु फुलिबस्छन् । त्यसमा अझ बढी र लगातार फूल फुलाउनका लागि फुलेर छिप्पिएका वा ओइलाएका फूललाई टिपिदिनुपर्छ । ‘डेड हेडिङ’ भनिने यस प्रक्रियाले विरुवाका उर्जाहरु नयाँ फूल पैदा गर्नमा केन्द्रीत हुन पाउँछ र धेरै फूल फुलिबस्छ ।

त्यसो त पर्याप्त मात्रामा पोषण भएन, सूर्यको प्रकाश पाएन, पानी पाएन भने पनि सयपत्रीमा राम्रो फूल लाग्न सक्दैन ।

औषधीय गुण

सयपत्री सजावटका लागि सबैका प्रिय फूल त हुँदै हो, त्यसका साथसाथै, यसमा औषधीय गुणहरु पनि हुन्छन् । यसको पात र फूलका पत्रहरु पनि औषधीका रुपमा प्रयोग हुने गर्छ । छाला र आँखासम्बन्धी रोगहरु, घाउ सुन्निने, घाँटी दुख्ने, टाउको दुख्ने लगायत विविध समस्याहरुको उपचारमा यसको पात र फूलका पत्ताहरुबाट औषधी बनाइन्छ ।

सयपत्रीको फूलको खेतीले वालीनालीमा लाग्ने रुट नट निमाटोड्स (Root Knot Nematodes) समस्यालाई पनि रोकथाम गर्ने गर्छ । माटोमुनि हुने निमाटोड्स किराले जरा चुसेर जरामा गिर्खा वा गाँठोहरु पैदा गरिदिन्छ, जसले गर्दा विरुवा चाँडै बिग्रिएर मर्छ । त्यस्तो समस्या देखिएको जमीनमा सयपत्री फूलको खेती गर्ने र त्यसपछि अरु बालीनाली लगाउने हो भने यो समस्या देखापर्ने सम्भावना कम हुन्छ । यहीकारण नै, नेपाल, भारत, बंगलादेश, थाइल्याण्ड लगायत कतिपय देशहरुमा उक्त कीराले दुःख दिने बालीनाली लगाउनुपूर्व सयपत्रीको खेती गर्ने चलन पनि छ । सयपत्रीको जराले माटो खुकुलो र मलिलो बनाउने मात्रै हैन, उक्त निमाटोड्स कीरालाई नियन्त्रण गर्ने काम पनि गरिदिन्छ ।

त्यसबाहेक, सयपत्रीमा लामखुट्टे भगाउने क्षमता पनि हुन्छ । सयपत्रीको गन्धले लामखुट्टे भाग्ने गरेको विभिन्न अध्ययनहरुले देखाएको छ ।

सयपत्रीमा लाग्ने समस्याहरु

धेरै जनाले भोगेका र महसूस गरेका कुरा के हो भने सयपत्रीको बोट सुकेर मर्ने गर्छन् । यसरी सयपत्रीको बोट मर्ने मुख्य कारणहरुमा पानी बढी हुनु वा पानी कम हुनु, पर्याप्त मात्रामा घाम नपाउनु, पोषणको अभाव र रोग एवं कीराहरुको प्रकोप हुन् ।

पछिल्लो चरणमा आएर सयपत्री आफैंमा चाहिँ विभिन्न रोगहरु तथा कीराहरुको समस्या बढेर गएको देखिन्छ । तीमध्ये पनि सयपत्रीमा सबैभन्दा बढी देखापर्ने रोगमध्येमा डढुवा रोग (Septoria leaf spot) हो । यो रोग ढुसी (Fungus)  का कारण लाग्ने गर्दछ । गर्मी र वर्षात्को मौसममा यो रोगको प्रकोप बढी हुने गर्छ ।

तस्विर : कुमारी गार्डेन

यो रोग लागेपछि सयपत्रीको बाहिरी पातमा पहेंलो प्वालसहितको हल्का खैरो दागहरु देखापर्न थाल्छ । विस्तारै त्यो दागको बीचमा गहिरो खराने रंगमा परिणत हुन थाल्छ र विस्तारै कालो धूलो जस्तो देखापर्न थाल्छ । यो समस्या रोगी पातबाट सरेर अन्य स्वस्थ पात तथा हाँगाविगाहरुमा पनि देखापर्न थाल्छ । यो समस्या बढ्दै जाँदा पात मर्न थाल्छ र विरुवा आगोले डढेको जस्तो नांगो बनेर जान्छ ।

यो समस्या रोगी बीउको कारण वा माटोमा रहेका ढुसीले गर्दा पनि हुन सक्छ । ढुसीले बढीजसो ओसिलो मन पराउने भएकोले यो रोगको प्रकोप कम गर्ने एउटा प्रमुख उपाय भनेकै सयपत्रीको विरुवामा पानी हाल्दा सकेसम्म पातलाई भिज्न नदिनु वा सुख्खा राख्नु हो । अझ उत्तम उपाय त थोपा सिंचाई प्रणालीलाई अपनाउनु हो । तर सबैतिर यो गर्न सम्भव हुँदैन । त्यसैले सयपत्रीको फूलमा पानी हाल्दा बेलुकीभन्दा बिहान पानी हाल्नु उत्तम हुन्छ । त्यसो गर्दा भिजेका बोट र पातहरु दिउँसोको घामले सुकेर ढुसी पर्ने वा रोगले आक्रमण गर्ने सम्भावना कम हुन्छ ।

त्यसैगरी, विरुवाहरुको माझमा पर्याप्त हावा खेल्ने ठाउँ भएन भने पनि ढुसीले आक्रमण गर्ने सम्भावना बढी हुन्छ । त्यसैले सयपत्रीको बोटहरुलाई सकेसम्म हावा खेल्ने ठाउँ पाउने गरी अलि फरक दूरीमा रोप्नु पर्छ । हावा राम्ररी आवातजावात हुन दिनका लागि अनावश्यक पातहरु छाँटकाँट गरिदिनु राम्रो हुन्छ । सयपत्री फूलको व्यवसायिक खेती गर्नेहरुले चाहिँ यस्तो समस्याबाट बच्नको लागि एउटै स्थानमा ३ वर्षभन्दा बढी सयपत्री नरोप्दा राम्रो हुन्छ ।

डढुवा रोग लाग्दा बोटको तलबाट दाग देखिन्छ, डाँठ, पातहरु सुक्दै जान्छ । माथिल्लो भाग स्वस्थ देखिन्छ तर तलबाट मर्दै आएर पुरै विरुवा मरेर जान्छ ।

डढुवा जस्तै सयपत्रीलाई सताउने अर्को समस्या अल्टेरिया पनि हो । यो पनि ढुसीजन्य रोग नै हो । अल्टरनारिया अल्टरनाटा (alternaria alternata) नामक ढुसीका कारण हुने यो समस्या चाहिँ बोटमा जताततै देखिन र फैलिएर जान सक्छ । 

वर्षात‍्मा पानीको र मौसमको कारण यो रोग देखापर्छ ।

अल्टेनेरियामा बोटको तलपट्टि समस्या कम देखिन्छ । मूलतः पातहरुमा कालो कलेजीरंगका दागहरु देखिन्छ । त्यो फैलिँदै जाँदा पातहरु सुकेर जान्छ । एक ठाउँबाट शुरु भएको यो रोग चाहिँ पातहरुबाट फैलिँदै जान्छ ।

सेप्टोरिया र अल्टेरिया दुवै समस्यामा हजारीबाट पानी दिँदा रोग झनै फैलिएर जान्छ । त्यसैले विरुवामा पानी हाल्दा सकेसम्म पात भिजाउनु हुँदैन, जरामा सोझै पानी दिनुपर्छ ।

सयपत्रीमा पातमा सेतो टिकटिक देखिने थ्रिप्स ९त्जचष्उक० कीरा लाग्न सक्छ । यो रोगको कारण विरुवा स्वस्थ देखिए पनि पछि गएर  विरुवा सप्रिँदैन, झाँगिन पाउँदैन । फूलको रंग नै पनि सेतोसेतो धर्का जस्तो बनाइदिन्छ । फूलको रंग बिगारिदिन्छ । हाँगाहरु राम्रो आउँदैन, कोपिला कम लाग्छ । त्यसैगरी, स्पाइडर माइट्स, एफिड्स जस्ता कीराहरुले पनि कहिलेकाहीँ सताउन सक्छ ।

रोकथाम र उपचार

विरुवा १ महिनाको भएपछि नियमित रुपमा हप्ताको एकचोटी ढुसीनाशक  र २ हप्तामा १ चोटी कीटनाशकको प्रयोग गर्नुपर्छ । यसले रोग र कीराबाट बचाउँछ । अल्टनेरिया र सेप्टरिया लागिसकेको छ भने सुकेको पातहरु निकालिदिने, फंगिसाइट छर्किदिने गर्नुपर्छ । फंगिसाइटमा Carbendazim +mancozeb भएको प्रयोग गर्नुपर्छ । बजारमा पाइने साफ फंगिसाइटमा यो रसायन पाइन्छ । तर समस्या अलि बढी नै छ भने चाहिँ सामान्य फंगिसाइटले मात्रै काम नगर्न पनि सक्छ, त्यस अवस्थामा कडा खालको ढुसीनाशक औषधीको प्रयोग गर्नुपर्ने हुन सक्छ । विशेषतः Hexaconazole भएको फंगिसाइट यस मामिलामा बढी उपयोगी हुन सक्छ । यो पाउडर र झोल दुवै रुपमा पाइन्छ । झोल बढी प्रभावकारी हुने देखिन्छ ।

सामान्यतः यस्ता औषधी विषादी प्रयोग गर्दा प्रति १ लिटर पानीमा २.५ देखि ५ मिलिलिटर घोलेर स्प्रे गर्नुपर्छ । औषधीका साथमा त्यसको प्रयोगविधि उल्लेख भएका हुन्छन्, त्यस आधारमा पनि औषधीको प्रयोग गर्न सकिन्छ  ।  

Carbendazim +mancozeb भएको फंगिसाइटले थुप्रै किसिमका जरा कुहाउने रोगहरुबाट पनि बचाउँछ । त्यसैले विरुवामा रोग लागे पनि नलागे पनि हप्ताको १ पटक विरुवामा ती रसायन भएका फंगिसाइट छर्ने र हाल्ने गरियो भने विरुवामा हत्तपत्त रोग लाग्नै दिँदैन, लागिहाले पनि त्यति समस्या पैदा गर्दैन ।

थ्रिप्स, माइट्स लगायतका कीराहरुका लागि कीटनाशक औषधीको प्रयोग गर्नुपर्छ । थ्रिप्स लगायत कतिपय किराहरु सामान्य कीटनाशकले पनि जान्छ । तर माइट्स, ह्वाइट फ्लाइ, लिपमाइनरहरु चाहिँ अलि कडाखालका विषादीले मात्रै जान्छ । यो अवस्थामा क्लोरिफाइलोफस र स्यापलमिथिन मिसिएका कीटनाशकहरु प्रयोग गर्नुपर्ने हुन्छ ।

स्रोतः कुमारी गार्डन युट्युब च्यानल, स्मार्टगार्डनर, गार्डेनिङफरज्वाय

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.