बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बढ्दो बलात्कार शृङ्खला : कता जाँदैछ समाज ?

बिहीबार, २२ असोज २०७७, १४ : २९
बिहीबार, २२ असोज २०७७

-बाबुराम गौतम

नेपाली समाज आधुनिक ज्ञान, सीप, प्रविधि र वैज्ञानिक चमत्कारहरुको अलवा पनि रूपान्तरित हुन सकेको छैन । शिक्षामा अग्रगामी छलाङ मारी विकास गरे पनि संस्कारयुक्त शिक्षामा नेपाली समाज पछिपरेको देखिन्छ । समाजमा घरलुहिंसा, बाल हिंसा, छुवाछुत, दलित हिंसा, बलात्कार, एसिड आक्रमण जस्ता सामाजिक घटनाले पराकाष्टा नै नाघेको देखिन्छ । पछिल्लो दशकलाई फर्केर हेर्दा समाजमा बलात्कारका घटना एकदमै बढेका छन् ।

बालिका, युवती, एकल महिला, वृद्धा सबै बलात्कारको शिकार भएको घटना प्रत्येक दिन पत्रपत्रिकाको हेडलाइनमा देख्न पाइन्छ । नेपालमा आजको ताजा तथ्याङ्क अनुसार दैनिक रूपमा ६ जना बलात्कार पीडितको केस प्रहरीमा दर्ता भएका देखिन्छ । अझ यसै क्षेत्रमा कलम चलाउने विज्ञका अनुसार मात्र १० प्रतिशत बलात्कारका घटना प्रहरीमा दर्ता हुन्छन् । बाँकी सबै डर, त्रास, धम्की र प्रभावका कारण गुपचुप पारिन्छन् ।

पछिल्ला दिनमा बलात्कारका घटना साँच्चिकै किन बढिरहेका छन् त ? अझ अहिलेको ताजा तथ्याङ्क हेर्ने हो भने यो वर्ष (२०१९÷२०) मा मात्रै २१४४ बलात्कारका घटना नेपाल प्रहरीमा दर्ता भएको देखिन्छ । विश्वका अति उच्च बलात्कारको दर भएका देशमा पर्ने सम्भावना बढेको छ । यो हाम्रो दुर्दशा हो ।
यी केही प्रतिनिधि घटना हुन् जसले हाम्रो समाज कता जाँदै छ भन्ने देखाउँछ ।

-    २०६८ साल चैतमा बैतडीकी १४ वर्षीया पूजा बोहरा एसएलसी दिन सदरमुकाम बसेको बेला पुस्तक पसलमा समान खरिद गर्न गएको समयमा पानीमा केही अखाद्य वस्तु खुवाएर बेहोस बनाएर बलात्कार भएको घटना ताजै छ । अभियुक्तलाई २०६९ मा अदालत लगेपछि ठूलो आर्थिक चलखेल गरी छुटकरा दिइएको भन्ने आरोप लागेको थियो । उनले तत्कालीन कानुन मन्त्रीलाई लेखेको हृदयविदारक पत्र सबैको सामु ताजा नै छ । 

-    २०७४ माघ २२ गते रूपन्देही कोटिहामाईमा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी, सुदीप कुमार धोवी पक्राउ परे ।

-    २०७५ साउनमा कञ्चनपुर महेन्द्रनगरमा तेह्र वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भयो । उक्त केसको दोषी अझै पत्ता लाग्न सकेको छैन । मानसिक विक्षिप्तता एवं पारिवारिक विचलन अहिले पनि हेर्न लायक छैन । उक्त घटनामा राजनीति गर्नेहरु अहिलेसम्म कहाँ कहाँ पुगिसके, केस जहाँको त्यहीँ छ ।

-    २०७६ असार २० गते काभ्रेको तेमालमा तेह्र वर्षीया बालिका एलिसा तामाङको बलात्कारपछि हत्या भयो ।

-     धनुषा जनकपुरधामकी कञ्चनकुमारीको पुर्वियाको बलात्कारपछि हत्या भयो ।

-     दुई हप्ता पहिला मात्र चन्द्रागिरी तीनथानामा काठमाडौँ लगिदिन्छु भनी सर्लाहिकी १७ वर्षीया किशोरीमाथि मालवाहक ट्रकमा नै सामूहिक बलात्कार भयो ।

-    गत बुधबार मास्टा गाउँपालिका–२ बझाङकी कक्षा–६ मा अध्ययनरत १२ वर्षीया बालिका सम्झना विकको गाईगोठमा जाँदा नजिकैको मन्दिरमा लगि बलात्कार गरी त्रिशूलले रोपी हत्या भयो ।

-    २०७७ असोज १७ गते शनिबार रत्नपार्कबाट भक्तपुर जाने बसमा १७ वर्षीया किशोरीको बसभित्रै सामूहिक बलात्कार भयो ।
-    २०७७ असोज २० गते तीन तीनवटा पत्रिकाको कभर हेडमा सामूहिक बलात्कारको घटना प्रकाशित भयो । ती समाचार कस्ता थिए भने बाबुबाट छोरी बलात्कृत, शिक्षक बाट ५ वर्षीया बालिका बलात्कृत ।

यी त केही प्रतिनिधि घटना मात्र हुन् । तपार्इं हाम्रो जानकारीमा नआएका र नल्याइएका कति यस्ता घटना अहिले दिनप्रतिदिन भइराखेका छन् । किन त ?
गृहमन्त्री रामबहादुर थापाले केही दिनअघि नेपालमा बलात्कारको अवस्था त्यति चिन्ताजनक छैन भन्नुभएको हामी सबैलाई ताजै छ । पूजा बोहराको त्यो बलिन्द्रधारा आँसु निर्मला पन्त हुँदै सम्झना विकसम्म आइपुग्दा पनि अपराधी उन्मुक्ति पाइराख्नु गणतान्त्रिक राज्यको उपहास भने पक्कै हो । बलात्कार हिजो पनि हुन्थ्यो, आज पनि हुन्छन् भन्ने आशक्तिको भाव सुन्नमा पनि पाइन्छ । मिडियाले गर्दा मात्रै यसको प्रभाव बढेजस्तो देखिएको हो भन्ने कुतर्क गर्ने जमात पनि ठूलै छ । तर सन् २०१८ भन्दा २०२० मा आइपुग्दा २५औँ स्थान माथि आइसकेको छ नेपाल । अब छिटै नै १०औँ स्थानमा आउने निश्चित देखिन्छ । निर्मूल त हुन सक्दैन, परिकल्पना नगरौँ तर किन न्यूनीकरण हुन सकेनन् बलात्कारका घटना ।

बलात्कार घटनाले प्रस्रय पाइराख्नुमा कतै हाम्रो उदण्ड समाजको पितृसत्तात्मक सोच त होइन ? यो समाजले छोरा र छोरीप्रति हेर्ने दृष्टिकोण फरक छ । छोरी वर्गलाई हेरिने हेयभावले कतै बलात्कारलाई मलजल गरेको त छैन ? जतिसुकै शैक्षिक अवस्थामा सुधार भयो भने पनि हामीले दिन चुकेको संस्कारयुक्त शिक्षाले त बलात्कारलाई बढावा दिइराखेको छैन ? बलात्कृतको फोटो खिची बलात्कारीलाई पक्षपोषण गर्न उद्यत छ समाज । आफ्नो परिवारको कमीकमजोरीमाथि बहादुरी सम्झने अभिभावकको घृणित सोचको कारण हाम्रा चेलीहरु बाबु, मामा, काका, गुरु, आफन्त, दाइ, भाइ, घर, छिमेक, समाज कहीँबाट पनि सुरक्षित छैनन् । आखिर के चाहन्छ त नेपाली समाज ? के कस्तो शिक्षा र संस्कार दिन्छ त नेपाली समाज ?

बलात्कार भयो । घटना त सकियो, घटनामै मत्र कहाँ सीमित रहन्छ र यसको प्रभाव ? पितृसत्तात्मक समाजमा यो यातना बाचुन्जेल पटक पटक मरेर बाँच्नु पर्दछ पीडितले । हत्या नभएर बाँचेका नारीलाई पनि हेर्ने छुटै ऐना छ नेपाली समाजमा । जहाँ बलात्कारीको नाम निशाना केही देखिँदैन, मात्र बलात्कृतको । उनीहरुको पुनस्र्थापना गर्न समाज, दोषी पक्ष, राज्य कसैले पनि दायित्व बहन नगर्नु अर्को अभिशाप हो । अझ बलात्कारपछि जन्मने अज्ञात सन्तान र त्यो नारीले जिन्दगीभर सहनुपर्ने पीडा त कहाली लाग्दो छ ।

नेपालको नयाँ संविधान २०७२ को घोषणापछि मुलुकी ऐन २०७४ घोषणा भयो । २०७५ भदौ १ पछि कार्यान्वयन भएको ऐनमा परिच्छेद १८ को उपदफा २२४ देखि २२८ सम्म बलात्कार र बलात्कारका कसुरको सजाय सम्बन्धमा लेखिएको छ । दफा २२४ मा यौन करणी, यौन दुव्र्यवहार के हो र ? त्यसतालाई कसुर के रहने भन्ने व्याख्या गरिएको छ । दफा २२५ मा बालयौन दुराचार, २२६ मा पशुकरणी बारेमा मुलुकी ऐनमा व्याख्या गरिएको मेरो देशको कानुन बलात्कार एवं बालयौन दुराचार जस्ता जघन्य अपराधको बारेमा मौन बसेको भने छइन । दफा २२७ मा कसुर र दण्ड सजायको व्यवस्था पनि गरेको छ । तर राज्यले दण्ड र सजायको व्यवस्था र व्याख्या गर्दागर्दै पनि किन न्यूनीकरण हुनसकेन बलात्कार घटना ?

रक्षा नेपाल, माइती नेपाल, मानव अधिकार तथा शान्ति समाज जस्ता विविध सङ्घ सङ्गठनले आवाज नउठाएका पनि होइनन् । अधिकारकर्मीहरु बलात्कारीलाई लिङ्गछेदन तथा आजीवन जेल सजायका दण्ड हुनुपर्छ भनेर माग नगरेका पनि होइनन् । बौद्धिक व्यक्तित्वहरु प्राध्यापक डा. सञ्जीव उप्रेती बलात्कार विरुद्धको अभियानमा डटेर लाग्नुभएको छ । कृष्ण पहाडीले बलात्कार मानवता विरोधी अपराध भनेर मानवअधिकार तथा शान्ति समाजमार्फत कार्यक्रमहरु ल्याउनुभएको छ । दैनिक रूपमा छोरी बचाउ, बेटी बचाउ अभियानहरु सञ्चालन भएका छन् । अधिवक्ता स्वागत नेपाल अवला र बलात्कृत छोरी चेलीको पक्षबाट निःशुल्क वकालत गर्दै आउनुभएको छ । दैनिक रूपमा माइतिघर मण्डलामा बलात्कार विरोधी नाराका व्यानरहरु सडकै ढाक्नेगरी देखिन्छन् । तर बलात्कार शृङ्खला यत्रो अभियान चल्दा, कानुनले दण्डित गर्दै गर्दा पनि यस्ता अपराध घट्न सकेनन् । झन् किन मौलाइरहेछन् । हाम्रो कमजोर कानुनी दायराले हो या समाजले देखाएको उदण्डताले या पैसा र शक्तिको दुरुपयोग हो । खोजी गरी यस्ता घृणित कार्यलाई हतोत्साही गर्नु जरुरी छ । कतै यो हाम्रो पितृसत्तात्मक समाज वा संस्कारहीन शिक्षा प्रणाली यसको कारण होइन ? अब व्यक्ति होइन पद्धति र संस्कार परिवर्तन गर्ने समय आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा