केन्द्रीय संस्करण

महिला तथा बालिका कहिलेसम्म त्रासमा बाँच्ने ?

person explore access_timeअसोज २२, २०७७ chat_bubble_outline0

-विभूषि तिमिल्सिना 

जीवनका प्रत्येक क्षणमा नैसर्गिक रूपमा आफ्ना त्याग, समर्पण, स्नेह र पवित्र भाव देखाउने नारी युगौँ युगकी श्रद्धा हुन् । नारीले जीवनमा छोरी, दिदी, बहिनी, पत्नी, बुहारी र आमाको भूमिका निभाएर परिवार चलाइरहेकी हुन्छिन् । सृष्टि बचाइरहेकी हुन्छिन् र संसार सजाइरहेकी हुन्छिन् । तर हिजोआज सामाजिक सञ्जालमा दिनहुँ हिंसा र बलात्कार जस्ता घटना मन छिया छिया पार्छ । यस्ता समाचारले पटक पटक मेरो समाज र सामाजिक संरचनाप्रति घोत्लिन विवश बनाएको  छ ।  

मलाई लाग्छ, हामीले त केवल सञ्चार माध्यममा आएका हिंसा र बलात्कारका घटना मात्र थाहा पाएका छौं । यस्ता महिला हिंसाका कैयौँ घटना समाजमा भइरहेका छन् । कति लुकाइएको छ, कति लुकाउन खोजिएको छ । बीभत्स हत्या भएकी निर्मला पन्तले अहिलेसम्म न्याय पाएकी छैनन् । निर्मला प्रकरण त एउटा प्रतिनिधि घटना मात्र हो । निर्मलाजस्ता सयौँ चेली यस्ता हिंसाका सिकार भइरहेका छन् । हत्या, हिंसा, बलात्कार, अपहरणजस्ता दर्जनौँ आपराधिक घटना दैनिक बढिरहेका छन् । गत आर्थिक वर्षमा १२ सय ४४ महिलाको बलात्कारसम्बन्धी उजुरी परेको सरकारी तथ्याङ्क छ । 

हिंसाबाट पीडित महिलाको न्यायका लागि आम नागरिकले सडक आन्दोलनदेखि चरणबद्ध सङ्घर्षका कार्यक्रम गरे छन् । रिले अनसनदेखि हरेक क्षेत्रबाट सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । म त एउटा सामान्य विद्यार्थी, केवल सचेतना जगाउने प्रयत्नबाहेक अरू केही गर्न त सक्दिन तर मैले पढे र बुझेअनुसार नेपालको मुलुकी अपराध (संहिता) ऐन २०७४ परिच्छेद १८ मा जबरजस्ती करणीसम्बन्धी कानुनको व्यवस्था गरिएको छ । जसमा कुनै पनि प्रकारको करकाप, प्रलोभन, धम्की, करणी गरेमा घटनाको प्रकृतिअनुसार सजायको व्यवस्था गरिएको छ । दस वर्षभन्दा कम उमेरका बालिकालाई  जबरजस्ती करणी गरेको पाइएमा १६–२० वर्ष, १०–१४ वर्ष उमेर समूहको बालिकाको हकमा १४–१६ वर्ष, १४–१६ वर्ष उमेर समूहको बालिकाको हकमा १२–१४ वर्ष, १६ देखि १८ वर्षसम्मको बालिकाको हकमा १०–१२ वर्ष र १८ वर्षदेखि माथि उमेरको महिलाको हकमा १० वर्ष सजाय तोकिएको छ । तर बिडम्बना, कानुनमा जेजस्तो लेखिए पनि यसको कार्यान्वयनको पक्ष भने केही अपवादबाहेक निरिहझै रहेको छ । 

यस्ता किसिमका अमानवीय खालका जघन्य अपराधले मेरो समाजलाई नै भयभित, त्रासदीपूर्ण र तरङ्गित बनाएको छ । आज बालिका तथा किशाेरीहरू कतै आफू पनि बलात्कारको सिकार त हुनुपर्ने होइन भन्ने डर र त्रासमा आफ्ना दिन काटिरहेका छन् । यस्ता अपराध न्यूनीकरण गर्न सबैले पहल गर्नुपर्छ । हाम्रो कमजोर सामाजिक चेतना र फितलो सुरक्षा व्यवस्थालाई परिवर्तन गरेर कानुन कार्यान्वयन गर्न सरकारले ठोस कदम चाल्नै पर्छ ।

आजको समाजमा एक अबोध बालिकामाथि बलात्कार हुनु लज्जाको विषय हो । यस्ता पीडकलाई कानुनको दायरामा ल्याएर पीडितलाई न्याय दिलाउन नसक्नु देशकै लज्जाको विषय हो । के हामी नेपाली सधैँ एक चेली बलात्कृत भएको घटना सुन्दै अनि पीडितले न्याय नपाएको हेर्दै बस्नुपर्ने हो ? आखिर यो देशका  महिला र बालिकाहरू कहिलेसम्म त्रासमा बाँच्ने त  ? 

कक्षा : एघार 
मदरल्यान्ड माध्यमिक विद्यालय, पोखरा 

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.