लकडाउनले ओडारमा पुर्यायो

गरिबीले गर्दा तनहुँको एक परिवार ओडारमा बस्न बाध्य भएको छ । ओडारमा बस्ने परिवारमा मनवीर गुरुङ, निजको श्रीमती उदाशिया, छोरो २० वर्षीय गणेश र १३ वर्षीया छोरी पूजा रहेका छन् । लामो समय लकडाउन हुँदा ज्याला मजदूरी गर्न नपाएको र कोठा भाडा तिर्न नसकेपछि कोठा छाडेर ओढारमा बास बस्नुपरेको उनीहरु बताउँछन् । मनवीरको परिवार व्यास नगरपालिका–२ अमरापुरीस्थित बुल्दीखोला किनारमा रहेको ओडारमा गत बिहीबारदेखि बस्दै आएका छ । कोभिड–१९ को सङ्क्रमणले भएको पटक÷पटकको बन्दले काम गर्न नपाएपछि समस्या परेको मनवीरले बताए ।
“दैनिक ज्यालादारीमा भारी बोक्नेलगायत काम गरेर जीवनयापन गरेका थियौँ तर हाल भनेको बेला काम नपाइएकाले ओडारमा बस्नुपरेको छ”, मनवीरकी श्रीमती उदाशियाले भनिन् । उनीहरु स्थानीय मोतीकुमार जोशीको घरमा डेरा गरी बसेका थिए । आम्दानी नभएकाले लामो समयदेखि भाडा तिर्न नसक्दा कोठा छाड्न बाध्य भएको उनले आफ्नो पीडा व्यक्त गरिन । चार जनाको परिवारमध्ये एक जना शारीरिक अपाङ्गतासमेत रहेकाले उनीहरुलाई बिहान बेलुकाको छाँक टार्न थप समस्या परेको पुल्चोक टोल विकास संस्थाका अध्यक्ष कर्णबहादुर खड्काले जानकारी दिए । उनका अनुसार आर्थिक विपन्नताले उदाशिया गुरुङका परिवार गुफामा आएर बस्न बाध्य भएका हुन् ।
स्थानीयवासीले दिएको अन्नको भरमा उनीहरुको जीवन चलिरहेको उदाशिया बताउँछिन् । ओडारमा बसेका परिवारलाई उद्धार गर्नुपर्ने स्थानीयवासीको भनाइ छ । “जङ्गली जीवन बिताउँदै आएका कुसुण्डा, राउटेले जङ्गल छाडिसके तर उनीहरु ओडारमा बसेपछि हामीलाई नरमाइलो लागिरहेको छ”, पुल्चोक निवासी डा एचबी क्षेत्रीले भने, “उद्धारको लागि सरकारको विशेष ध्यान जान जरुरी छ ।”
गरिबीले गर्दा छोरीको पढाइ पनि अवरुद्ध भएको सोही ठाउँ निवासी राधा बस्न्यातले जानकारी दिइन् । उनले भनिन्, “पूजा कक्षा ६ मा पढ्थिन्, उनीमा पढ्ने रहर थियो तर कापी र कलम किन्ने पैसा नभएकाले पढाइ अधुरो भएको छ ।” शारीरिकरुपमा अशक्त भएकाले काम गर्न नसक्ने अवस्थामा छन् । गणेशको नागरिकता बनाएर अपाङ्गता परिचयपत्र दिलाउने प्रयास भइरहेको टोल विकास संस्थाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिलामीका सामानहरुको समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण
-
स्वास्थ्यमन्त्रीले स्वास्थ्य बीमा कार्यक्रम अलपत्र पारेको आरोप
-
विदेशी दातृ निकायले दिने सहयोगको श्वेतपत्र जारी गर्न माग
-
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
-
शिवरात्रिमा पशुपतिको दर्शन व्यवस्थापन चुस्त बनाउन १० उपसमिति गठन
-
पेस्तोल तथा गोलीसहित दुई जना पक्राउ