बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भानु नगरपालिकाको केन्द्र अन्यत्र नसार्न सर्वोच्चको अन्तरिम आदेश

बुधबार, २१ असोज २०७७, १७ : १६
बुधबार, २१ असोज २०७७

काठमाडौं । तनहुँ जिल्लाको भानु नगरपालिकाको केन्द्र अहिले कायम रहेको स्थानबाट तत्काल अन्यत्र नसार्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।  अहिले कायम रहेको नगरपालिकाको वडा नम्बर २ बाट अन्यत्र सार्ने चलखेल भएको भन्दै परेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले तत्काल नसार्न भनेको हो ।

नगरपालिकाको निर्णयविरुद्ध वडा नं. २ का अध्यक्ष अर्जुनबहादुर केसीले रिट निवेदन दर्ता गराएका थिए । न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले असोज १६ गते तत्काल अन्यत्र नसार्न अन्तरिम आदेश दिँदै छलफलका लागि दुवै पक्षलाई २९ गते बोलाएको छ । 

नगरपालिकाको केन्द्र सार्ने विषयलाई लिएर स्थानीयले विरोध गर्दै आएका छन् । वडा नम्बर २ फुस्रेटारमा नगरपालिकाको कार्यालय रहँदा सबैलाई पायक पर्ने, सम्पूर्ण भौतिक पूर्वाधार निर्माण भइसकेको, जग्गाको कुनै कमी नभएको, सबै नगरवासीहरुलाई सहज बाटोको व्यवस्था भएकोले पनि सो कार्यालय फुस्रेटारबाट अन्यत्र सार्न नहुने स्थानीयको भनाई छ ।

अहिले कायम रहेको वडा नम्बर २ स्थित फुस्रेटारमा रहेको नगरपालिकाको कार्यालय, गत असोज १ गतेबाट वडा नं. १ स्थित भन्सारमा रहेको शहरी विकास आयोजनाको भवनबाट ३ वर्षको लागि भाडामा लिएर काम कार्वाही सुरु भएपछि स्थानीयले विरोध जनाउँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप