शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अझै रोकिएन ‘सस्तोमा डलर साट्ने’ बहानामा लुटपाट

दिव्यश्वरीमा ब्यापारी लुटिए
बुधबार, २१ असोज २०७७, १६ : ०४
बुधबार, २१ असोज २०७७

काठमाडौं । बालाजुस्थित बिजी मलमा ब्यापार गर्ने एकजना ब्यापारी क्रेटा गाडी लिएर मंगलबार भक्तपुरस्थित दिव्यश्वरी टाउन प्लानिङमा गए । ‘सस्तो डलर’ साटेर महङ्गोमा बेच्ने सपना साँचेर बा.१५ च ४०५ नम्बरको गाडीको अगाडी पट्टि सिटमा ४ लाख बोकेर गएका उनको सपनाको डोरी छिनभरमै चुँडियो ।  सिन्धुपाल्चोक घर भएका कमल खड्कासहित ४ जनाको समूहले उनलाई ‘डलर हो’ भनेर कागजको बिटो दिए । रुमालमा पोको पारिएको बिटाको तलमाथि डलर थियो, बीचमा कागज । ‘डलर सबै गनेर मात्र पैसा दिन्छु’ भनेर ब्यापारीले अडान लिएपछि उनीहरुले गाडीको सिसा फुटाए, ४ लाख लुटेर भागे । 

लुटपाटको खबर पाएपछि घटनास्थलमा पुगेको प्रहरीले सिन्धुपाल्चोक बाह्रबिसे घर भएका ३१ वर्षीय धनबहादुर भण्डारीलाई पक्रेको छ । महानगरीय प्रहरी वृत्त ठिमी र अपराध महाशाखाको टोलीले लोकन्थली बस्ने भण्डारीलाई पक्राउ गरेको हो ।  लुटपाटमा संलग्न मुख्य योजनाकार कमल खड्काको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त ठिमीका डिएसपी ऋषिराम कँडेलले रातोपाटीलाई बताए । धनबहादुरको साथबाट प्रहरीले मान्छे झुक्याउन प्रयोग गर्ने कागजको बिटो र ४५० अमेरिकी डलर बरामद गरेको छ । 

काभ्रे घर भएका मोबाईल ब्यापारीबाट लुटेको ४ लाख नगदचाहि कमलले बोकेर भागेको धनबहादुरले प्रहरीलाई बताएका छन् । कमलसहित तीनजना फरार छन् । कमल चढ्ने मोटरसाईकल नम्बर खुलेको छ ।   भक्तपुर प्रहरीले असोज ९ मा सिन्धुपाल्चोक बाह्रबिसे–३ का खेलबहादुर तामाङको समूहलाई पक्रेर अनुसन्धान गरिरहेको छ । खेलबहादुरको समूहले साउनपछि भक्तपुरमा मात्रै ५ ठाउँमा ‘लुट आतंक’ मच्चाएका थिए । 

सिन्धुपाल्चोक बाह्रबिसे–३ का विमल भण्डारी र निर्मल भण्डारीको समूह पनि प्रहरी हिरासतमा छन् । बिमल समूहले कमलविनायक बसपार्कबाट असोज १३ मा ५ लाख लुटेर भागेका थिए । लुटेकै दिन उनीहरु ताथलीबाट पक्राउ परेका हुन् ।  जिल्ला प्रहरी कार्यालय काभ्रेले पनि पुख्र्यौली थातथलो सिन्धुपाल्चोक भएका चार जनालाई पक्रेर असोज १९ मा सार्वजनिक गरेको थियो । तर, डलर साट्ने नाममा हुने लुटपाट अझै रोकिएको छैन् । 

मंगलबार साँझ पक्राउ गरिएका धनबहादुर समूह व्यवासायिक लुटेरा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । लोकन्थलीस्थित उनको डेरामा डलरको आकारमा कागज काट्ने प्रयोग हुने कटर र तयारी कागजका बिटा फेला परेको प्रहरी वृत्त ठिमीले जनाएको छ । 

यो पनि पढौं...

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप