बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तपाईं ठगिनुभयो ? सूचना दिनुस् होइन भने वर्षैभरी ठगिनुपर्ला  !

बुधबार, २१ असोज २०७७, १५ : ३८
बुधबार, २१ असोज २०७७

चाडवाड नजिकिएसँगै कालोबजारी गर्नेहरु मौलाउँछन् । तपाईं हाम्रै लापरबाहीले वर्षैभरी ठगिनुपर्ने अवस्था आउन सक्छ । यदि कुनै सामान किन्दै हुनुहुन्छ र त्यसमा केही त्रुटि भेटिए सरोकारवालालाई  खबर गर्नु्स् । 
आम उपभोक्तालाई विभिन्न नामका व्यवसाय र व्यापारीले कसरी अखाद्य वस्तु प्रयोग गराइरहेका छन् र कसरी मूल्यमा ठगिरहेका छन् भन्ने पछिल्लो बजार अनुगमनले देखाउँछ ।

केही दिनअघि (असोज १५ मा) विशाल ग्रुपको अमेजन र आयान डिस्ट्रिब्युटर्सको गोदाममा छापा मार्दा ओरियो बिस्कुट, स्निकर्स र मार्स चक्लेट, ट्याङ जुस, बर्नभिटा लगायतका म्याद सकिएका सामग्रीमा नयाँ लेबल लगाएर बजारमा पठाउँदै गरेको फेला परेको थियो ।

त्यस्तै सोमबार अनुगमन टोली आउने थाहा पाएपछि कालिमाटी फलफूल तथा तरकारी बजारमा सञ्चालित माछा पसलका व्यापारी खरिदबिक्री बिल अनुगमन टोलीलाई देखाउन नसक्ने भएपछि पसलै छोडेर भागे । अनुगमनका क्रममा हेरिएका पसलमध्ये धेरैमा दर्ता, नवीकरण र खरिदबिक्री बिलमा समस्या देखिएको भनिएको छ ।

यी त पछिल्ला प्रतिनीधि घटना मात्र हुन् ।  चाडवाडका समयमा उपभोक्ता हतारमा हुने भएकाले उनीहरुले यस्ता विषयमा ध्यान नदिएको देखेपछि कालाबजारीहरु सलबलाउँने गरेको उपभोक्ताकर्मीहरु बताउँछन् । 
सरकारी अधिकारीहरूले बजार अनुगमनका क्रममा खाद्यवस्तुको गुणस्तर परीक्षण ठाउँको ठाउँमै गर्ने व्यवस्था गरिएको दाबी गरिरहेका बेला त्यस्तो कुरा प्रचारमा मात्र सीमित भएको आरोप छ। 

जब दशैँ तिहारजस्ता ठुला चाडवाड आउँछन् तब बजार अनुगमनलाई सरकारले सक्रिय बनाउँछ र अखाद्य वस्तुको पहिचान हुन्छ । केही कालोबजारीहरु पक्राउ पनि पर्छन् भने केही त्यतिकै छाडिन्छन् । सरकारले सिजनल अनुगमन गर्ने  र अरुबेला सुस्ताउँने गरेको आरोप लाग्दै आएको छ । 


सरकारले गर्ने सिजनल अनुगमनले बर्षौदेखि कुन ब्राण्डको खाद्य वस्तुले उपभोक्ता लुटिरहेको थाहा हुन्छ ।
 आफू ठगिएको, आफ्ना स्वास्थ्यमाथि व्यापारीले खेलबाड गरिरहेको प्रष्ट हुन्छ । वर्षैभरी अखाद्य, सडेका, म्याद गुज्रेका वस्तु प्रयोग गर्दा जनस्वास्थ्यमा गम्भीर खेलवाड गर्नेलाई गम्भीर प्रकृतिको सजायको व्यवस्था गर्नुपर्ने उपभोक्ताकर्मीले उठाउने  आवाज हो ।

तर, बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र प्रसाद सुवेदीले चाडवाडमा कारोबार बढी हुने हुनाले म्याद गुज्रिएका, मूल्य नतोकिएका सामान व्यापारीले उपभोक्तालाई पठाउने सम्भावना बढ्ने भएकाले यही बेला अनुगमन बढ्नु स्वभाविक भएको बताए ।  

अहिले भेटिएको केसमा उनीहरुले बर्षैभरी ठगिरहेको भन्ने आधार नभएको उनको तर्क छ । दुइसाता यता विभागले दैनिक बजार अनुगमनमा ४ वटा टोली खटाइरहेको छ । अझै अनुगमनमा जनशक्ति थप्ने तयारी सरकारले  गरेको छ । 

मानवता विरुद्धको अपराधमा संलग्न व्यापारीलाई छोड्नु हुन्नः उपभोक्ताकर्मी

जबसम्म उपभोक्ता आफै सचेत हुदैनन तबसम्म कालाबजारी रोकिँदैनन् । उपभोक्ताले आफूले खरिद गरेको वस्तुमा कुनै प्रकारको त्रुटि देखिएमा नियमनकारी निकायमा उजुरी गर्ने हो भने ठगी कम हुने उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाको भनाइ छ । उपभोक्ता अधिकार मञ्चका अध्यक्ष समेत रहेका तिमल्सिनाअझै पनि शहरी उपभोक्तालाई उजुरी कहाँ गर्ने थाहा नभएको बताउँछन् । गाउँका उपभोक्ता त यस विषयको सूचनामा निकै पर छन् । संविधानको अनुसूची ८ मा स्थानीय बजार व्यवस्थापन तरकारी फलफुल, माछामासु, खाद्यान्नको  अनुगमन गर्ने अधिकार स्थानीय तहलाई छ भन्ने पनि थाहा छैन ।

संघीय सरकार उपभोक्ता संरक्षण  ऐन २०७५ कार्यान्वयन गर्ने बाणिज्य आपूर्ति तथा  उपभोक्ता संरक्षण विभागले  उपभोक्तालाई सचेत गराउन कुनै पनि पहल नगरेकोे तिमल्सिनाको आरोप छ । 
 बजारमा तह बनाउँन, नीति बनाउँन, मापदण्ड बनाउँन, कालोबजारी, जम्माखोरीलाई नियन्त्रण गर्नुपर्नेमा संघीय सरकारले  भुमिका निर्वाह नगर्दा बजारमा विकृति मौलाएको उनको तर्क छ ।
यता राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष पे्रमलाल महर्जन उपभोक्ताले आफू ठगिएको सूचनानै कम दिँदा अनुगमन कम भएको बताउँछन् । 

लामो समयको बन्दाबन्दीले कतिपय ब्यापारीले राखेकै ठाउँमा खाद्य वस्तुको म्याद गुज्रिएकाले ती समान सरकारले फिर्ता लैजाने व्यवस्था नगर्दा व्यापारीले उपभोक्तालाई झुक्याएर बेच्ने गरेको उनको भनाइ छ । 
राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र नराम्रो गर्नेलाई दण्डित गर्ने हो भने यस्ता विकृति अन्त्य हुदै जाने विज्ञहरुको सुझाव छ । मानवता विरुद्धको अपराधमा संलग्न व्यक्तिलाई गम्भीर कारबाही गर्नुृपर्ने माग आम उपभोक्ताको छ । विभाग पनि त्यस्ता व्यक्तिलाई कारबाहीको दायरामा ल्याइछाड्ने बताउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप