शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरबाटो नपुगेका प्रदेशका दुई पालिकामध्ये एकमा पुग्यो मोटरबाटो

बुधबार, २१ असोज २०७७, १४ : १९
बुधबार, २१ असोज २०७७

वाग्मती । वाग्मती प्रदेशमा रहेका मोटरबाटो नपुगेका दुई गाउँपालिकामध्ये एकमा मोटरबाटो पुगेको छ । सडक सञ्जालले नछोएको प्रदेशको अतिविकट काभ्रेको महाभारत गाउँपालिकाको केन्द्रसम्म जोड्ने मोटरबाटो पुगेको हो । मुख्यमन्त्री ग्रामीण सडक कार्यक्रमअन्तर्गत सडक निर्माण भएको जनाइएको छ । 

हरेक गाउँपालिकाको केन्द्रलाई नजिकको राजमार्गसँग कालोपत्र सडकले जोड्ने कार्यक्रमअन्तर्गत सडक सञ्जालले नछोएका क्षेत्रलाई सडकले जोड्ने सडक पुगेका ठाउँका सडक स्तरोन्नति गर्ने र गाउँपालिकाको केन्द्रबाट नजिकको राजमार्गसम्म पक्की सडक बनाउने प्रदेश सरकारको योजना रहेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले बताए ।

प्रदेशको विकट गाउँपालिकामध्ये धादिङको रुविभ्याली र काभ्रेको महाभारत गाउँपालिकाको केन्द्रसँग अहिलेसम्म सडक सञ्जालले जोडिएको थिएन । “अब महाभारत गाउँपालिकाको केन्द्र जोड्ने तीनखुट्टे–देविटार सडक ट्रयाक मङ्गलबारबाट खुलेको छ”, मन्त्री फुयाँलले भने ।

यसैगरी रुविभ्याली गाउँपालिकाको केन्द्रबाट नजिकैको कालोपत्र सडकसम्म जोड्नका लागि निर्माण कार्य अगाडि बढिसकेको उनले जानकारी दिए । मन्त्री फुयाँलले अन्य विभिन्न १४ वटा पालिकाको केन्द्रसम्म वर्षको बाह्रै महिना निर्वाधरुपमा सवारीसाधन सञ्चालन गर्नका लागि कालोपत्र गर्ने कार्य अगाडि बढाइएको बताए । 

उनले प्रदेशका कुनै पनि क्षेत्रलाई विकट क्षेत्रका रुपमा नछोडिने बताए । अब ती क्षेत्रलाई सडक सञ्जालका मध्यमबाट जोडेर सिँचाइ, पर्यटन, कृषिलगायत विकासका अन्य पूर्वाधारसमेत तयार पार्न सरकारले पूर्णरुपमा सहयोग गर्ने उनको भनाइ थियो । जनताले प्राप्त गर्ने सेवासुविधाका हिसाबले गाउँ र शहरबीच भिन्नता हुनु नहुने उनले बताए । मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा रहेको प्रदेश सरकार त्यसकै लागि लागिपरेको उनको भनाइ थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप