बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली काँग्रेसद्वारा दाङको विपक्षमा मतदान गर्न सांसदलाई ह्विप जारी, उल्लङ्घन हुने सम्भावना

मङ्गलबार, २० असोज २०७७, ०९ : ३०
मङ्गलबार, २० असोज २०७७

बुटवल । नेपाली काँग्रेसले प्रदेश ५ को स्थायी राजधानी दाङ बनाउने विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ । आज बस्ने प्रदेशसभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निर्णय हुन सक्ने भएकोले दाङ देउखुरीको विपक्षमा मतदान गर्न काँग्रेस संसदीय दलले ह्विप लगाएको  नेपाली काँग्रेसकी सचेतक निमला क्षेत्रीले रातोापाटीलाई बताइन् । उनले सरकारको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय भएको तर नामका बारेमा भने काँग्रेसको असहमति नरहेको खुलाइन् ।

काँग्रेसले निर्णय गरेपनि काँग्रेसका केही सांसदहरुले ह्विप उल्लंघन गरेर मतदान गर्ने सम्भावना रहेको नेपाली काँग्रेस दाङका एक सांसदले रातोपाटीलाई बताए । प्रदेशमा नेपाली काँग्रेसका १९ जना सांसद रहेका छन् ।  यसमध्ये राप्ती र भेरी अञ्चलका ६ जना रहेका छन् । उनीहरु दाङकै पक्षमा मतदान गर्ने तयारी गरेको ती सांसदले बताए ।

प्रदेश सरकारको निर्णयपछि आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानी दाङको देउखुरी र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेशसभामा पेश गरेका छन् ।

उक्त प्रस्तावमाथि सोमबार छलफल भएको थियो । मन्त्री केसीले सांसदले उठाएका प्रश्नको जवाफसमेत दिइसकेका छन् । प्रदेशसभामा ८७ जना सांसद छन् । प्रदेशको नाम र राजधानी तोक्न दुई तिहाइ मत चाहिन्छ । त्यो मत सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपासँग छ ।

नेकपाका ६१ सांसद छन् । ५८ सांसदले पक्षमा मतदान गरे भने नाम र राजधानी तोकिनेछ । दाङ राजधानी सार्न नेकपाका १४ सांसदले विरोध गरे पनि नेकपाले दाङकै पक्षमा मतदान गर्न सोमबार ह्वीप जारी गरिसकेको छ । प्रदेशसभाको बैठक दिउँसो १२ बजे बस्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप