शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘भारु नोट चार वर्षदेखि अलपत्र, न साट्न सकिन्छ न फाल्न’

भुटानको साट्यो तर नेपालको साटेन
सोमबार, १९ असोज २०७७, १३ : ५६
सोमबार, १९ असोज २०७७

नेपाल राष्ट्र बैङ्क र आम नेपालीसँग भएको भारतीय ५ सय र हजार दरका नोट विगत ४ वर्षदेखि अलपत्र अबस्थामा छ । भारतले ठुलादरका नोटमा प्रतिबन्ध लगाएपछि नेपालमा त्यस्ता नोट बेबारिसे अवस्थामा छन् । राष्ट्र बैङ्कका प्रवक्ता गुणाकर भट्टले प्रतिबन्धित भरु नोट साट्ने सम्बन्धमा कुनै प्रगति नभएको बताएका छन् । अहिलेको परिस्थिती नै फरक भएपछि भारु सटहीको सम्बन्धमा कुनै ठोस काम गर्न सकिएको छैन, उनले भने ।

नोट सटहीका लागि सरकार र राष्ट्र बैङ्कमार्फत पटक—पटक प्रयास भए पनि भारतीय पक्षले वास्ता नगर्दा नोट अलपत्र बनेको हो । नेपालमा करिब ५ करोड रुपैयाँ बराबर प्रतिबन्धित भारु नोट रहेका छन् ।

भारत सरकारले कालोधनलाई निरुत्साहीत गर्न सन २०१६ नोभेम्बरदेखि ५ सय र हजार दरका पुराना नोट विस्थापित गरी २ सय, ५ सय र २ हजारका नयाँ नोट प्रचलनमा ल्याएको थियो । सोही बेलादेखि नेपालमा रहेका पुराना नोट साटिएका छैनन । राष्ट्र बैङ्कका अनुसार नेपालको वित्तीय प्रणालीमा करिब ५ करोड भारु पाँच सय र हजार दरका नोट छन । यसबाहेक सर्वसाधारणसँग प्रतिबन्धित भारु कति छ त्यसको तथ्यांक छैन ।

नोट सटहीका लागि नेपाली टोली एकपटक भारत पनि गयो र  भारतीय टोली दुई पटक नेपाल आएर वस्तुस्थिति बुझेर गएको थियो । नेपाल आएको भारतीय टोलीले बैंकिङ प्रणालीमा रहेको सबै र प्रतिव्यक्ति साढे ४ हजारका दरले सर्वसाधारणसँग रहेको भारु साट्न सकिने प्रस्ताव गरेको थियो  । तर नेपाली पक्षले एकव्यक्ति २५ हजार साट्नुपर्ने अडान राखेपछि त्यही चारहजार पनि साटिएन । भारतले आफ्नो अडानलाई नमानेपछि राष्ट्र बैङ्कले प्रतिव्यक्ति साढे ४ हजारका दरले नोट सटहीको अनुमति माग्दै सरकारलाई पत्र पठायो  । सरकारको अनुमति पाउँदा भारतलाई जवाफ पठाउने समय सकिसकेको थियो ।

नेपाल राष्ट्र बैङ्क विदेशी विनिमय व्यवस्थापन विभागका तत्कालिन प्रमुख भीष्मराज ढुंगानाले २०७५ पुस २० गते भारतलाई पत्र पठाएको जनाएका थिए । तर भारतले भारु साट्ने ÷नसाट्ने कूनै पनि प्रतिक्रिया नेपाललाई हालसम्म पनि  पठाएको छैन ।  राष्ट्र बैङ्कका प्रवक्ता भट्टका अनुसार भारतले कुनै जवाफ अहिलेसम्म पनि फर्काएको छैन ।

भारतले पाँच सय र हजार दरका नोटमा प्रतिबन्ध लगाएको भोलिपल्टै राष्ट्र बैङ्कले ती दरका नोट चलनचल्तीमा नल्याउन निर्देशन दिएको थियो । त्यसपछि प्रतिबन्धित भारु नोट साट्न भारतसँग निरन्तर प्रयास गरिएपनि ती सबै प्रयास सफल हुन सकेन  ।

भुटानको साट्यो तर नेपालको साटेन

नोटबन्दीको घोषणापछि भारतले छिमेकी देश भुटानमा रहेको करिब ४ अर्ब भारतीय रूपैयाँ सटही गर्दै आफूले फिर्ता लिएको थियो ।

भारत आफैले जारी गरेको नोटिफिकेसनअन्तर्गत उक्त रकम भारतले भुटानबाट फिर्ता लिई नयाँ नोट वा डलर भुटानलाई दिएको थियो । तर नेपालमा रहेको ५ करोड रुपैयाँ साट्न भारत मानिरहेको छैन । भारतमा नोटबन्दी लागू हुनुअघिसम्म नेपालमा प्रतिव्यक्ति २५ हजारसम्म भारु बोक्न र कारोबार गर्न पाइन्थ्यो । यसका लागि भारतले ‘फरेन एक्चेञ्ज म्यानेजमेन्ट एक्ट’ अन्तरगत ‘फेमा नोटिफिकेशन’ जारी गरेको थियो । भारतको नेपालप्रतिको हेपाहा प्रवृत्तिको कारण नेपालमा भएको उसको करोडौँको मुद्रा फाल्नु न राख्नु भएको विज्ञहरु बताउँछन् ।

नेपालमा अन्य बैङ्कसहित विभिन्न व्यापारी र व्यक्तिसँग मोटो भारु नोट थन्किएको अनुमान छ । सो नोट अब नसाटिने निश्चितजस्तै छ ।

एकातर्फ नेपालीलाई सक्कली भारतीय नोट पहिचान गर्न नै समस्या परिरहने समस्या छ भने अर्कोतिर भारतीय ठूला नोटको सटहीले पिरोल्ने समस्या छ । विज्ञहरु यदि भारतले नोट सटही गरिदिएपनि उसको नोट प्रयोग गर्दा अब निकै सोचेर गर्नुपर्ने बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप