बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गायक सञ्जय श्रेष्ठ भन्छन्, ‘म जस्तो अत्यन्त सावधानी अपनाएर कतै नगएर बसेकोलाई कसरी कोरोनाले छोयो ?’

सोमबार, १९ असोज २०७७, १३ : १०
सोमबार, १९ असोज २०७७

गायक सञ्जय श्रेष्ठ कोरोनाद्वारा संक्रमित भएर निको भइसकेका छन् । सञ्जयको असोज ६ गते कोरोनाद्वारा संक्रमित भएको रिपोर्ट आएको थियो । १६ दिनसम्म घरमा नै आइसोलेशन बसेका उनको हिजो अर्थात् असोज १८ गते कोरोनाको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको सञ्जयले बताएका छन् । उनी आफूजस्तो व्यक्तिलाई कोरोना लागेकोमा निकै अचम्मित भएका छन् । 

उनले आफ्नो १६ दिनको अनुभव फेसबुक पेजमा सेयर गरेका छन् ।

उनले सोमबार आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘विगत १८–१९ दिन अघिदेखि मलाई हल्का रुघाखोकी लागिरहेको थियो । त्यसलाई मौसम परिवर्तनको असर सम्झेर हल्का रुपमा लिँदै आएको थियो । अकस्मात् असोज ३ गते शनिबारको दिनमा मलाई आफ्नो स्वाद र बास्नाको क्षमता पूर्ण रुपमा हराएको अनुभव भयो । त्यसपछि तत्काल मैले आफूलाई आफ्नो परिवारसँग अलग गरिहालेँ । त्यसको दुई दिनपछि ९९.५ सम्म ज्वरो पुग्यो । मंगलबार असोज ६ गते परीक्षण गर्दा कोभिड–१९ पोजेटिभ अर्थात् कोरोनाद्वारा संक्रमित भएको रिपोर्ट आयो । ’

कोरोनाको संक्रमण भएको थाहा पाएपछि उनले के–कस्ता तरिका अपनाए भनेर पनि सञ्जयले जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘त्यसपछिका दिनहरु पूर्ण सावधानीका साथ बिताइयो । तातो–तातो सुप, काढा र अन्य स्वस्थकर खानपिनका साथ दिनहरु बिते । सधैं बिहान उठी आफ्नो नित्यकार्य सकिएपछि केहिबेर कसरत र योग मेरो रुटिन बन्यो । कसरत र योग अत्यन्तै जरुरी रहेछ यो बेला ।’

सबै परिवार घरभरी भएपछि आफू एक्लै १६ दिनसम्म नितान्त एक्लो भएर कोठामा बिताउनुपर्दा उनलाई असाध्यै पिडा भएको पनि बताए । यतिबेला उनको साथी गितार, कम्प्युटर र टिभी बने । कोरोना संक्रमित हुँदाको मानसिक तनाव अनि एक्लोपन, उनलाई यो समय निकै पीडादायी भएको बताए ।

बितेका १६ दिन ..मेरो अनुभव ________________________ बिगत १८-१९ दिन अघिदेखी मलाइ हल्का रुघाखोकी लागिरहेको थियो ।...

Posted by Sanjaya Shrestha on Sunday, 4 October 2020

सञ्जयका अनुसार उनलाई ७ गतेपछि ज्वरो निको भइसकेको थियो र उनलाई रुघाले पनि पूर्ण रुपमा छोडिसकेको थियो तर आइसोलेशनको मापदण्ड पुर्याउन उनी थप १०–११ दिन एक्लो बसे । १६ दिनपछि आइतबार कोरोनाको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि मात्र उनी ढुक्क भए ।

आफूजस्तो कतै नगई घरमा नै बसेका व्यक्तिलाई कसरी कोरोना लाग्यो होला भनेर सञ्जय चकित छन् । उनी लेख्छन्, ‘म जस्तो अत्यन्तै सावधानी अपनाएर कुनै कतै समारोह र भेटघाटमा नगएर बसेको मान्छेलाई कसरी कोरोनाले छोयो भनेर म आफैं अचम्मित छु । ’

‘सायद कुनै बेला पसल गएको बेला पो यो सरेको हो कि ? अथवा कुनै पसल गएर आउँदा मैले हात पो धुन बिर्सेँ कि ?’ उनी आफैंलाई प्रश्न सोध्छन् ।

सञ्जयले कोरोनालाई मजाकमा नलिन आग्रह गरेका छन् । उनी भन्छन्, ‘कोरोना लागिहालेको खण्डमा सबैबाट अलगथलग भएर बिताउनुपर्ने १५–१६ दिन अत्यन्त पीडादायी र मानसिक तनावले भरिएको हुन्छ । एकजनाले गरेर सम्पूर्ण परिवारमा तनाव हुन्छ । त्यसैले सचेत रहौं, सुरक्षित रहौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप