बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

होसियार ! कोरोनाबाट मुक्त भएपछि पनि केहीमा यस्ता स्वास्थ्य समस्या देखिन्छ

सोमबार, १९ असोज २०७७, ०८ : ५३
सोमबार, १९ असोज २०७७

काठमाडौं । नेपालमा कोरोनाभाइरस (कोभिड १९)को संक्रमणबाट बच्नका लागि सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गरेको पाइँदैन । कतिपय मानिसले कोरोना संक्रमणलाई सामान्य तरिकाले हेर्नुका साथै प्रतिरोधात्मक क्षमता भएका व्यक्तिमा कोरोना संक्रमण भए पनि छिट्टै निको हुने भन्दै बेवास्तासमेत गरेको पाइन्छ ।

स्वदेश तथा विदेशका गरिएका विभिन्न अध्ययन तथा अनुसन्धानले कोरोनाभाइरस संक्रमित निको भइसकेपछि पनि लामो समयसम्म स्वास्थ्यमा समस्या आउने गरेको तथ्य प्रकाशमा ल्याएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनमा   कोरोनाभाइरस संक्रमणबाट मुक्त भएका वयस्कमा समेत पछिसम्म स्वास्थ्य समस्या देखिएको पाइएको छ । कोरोना संक्रमणमुक्त भएर घर फर्किएका केही व्यक्तिले धेरै थकान महसुस गर्ने, छाती भारी हुने, शरीर फुर्तिलो नहुने, श्वास फेर्न अप्ठ्यारो हुने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन बताउँछन् ।

परिषद्ले देशभरबाट संक्रमणबाट मुक्त ५ सय ७७ जनामा अध्ययन गर्दा उनीहरुमा संक्रमणमुक्त भएको लामो समयसम्म पनि स्वास्थ्यमा समस्या पाइएको परिषद्का डा. प्रदीप ज्ञवाली बताउँछन् ।

१८ वर्षभन्दा माथि उमेरकालाई समेटेर ५ सय ५२ जनामा संख्यात्मक अध्ययनमा र २५ जनामा गुणात्मक अध्ययन गरिएको परिषद्ले जनाएको छ । ३५ प्रतिशत निको भएका युवालाई २÷३ सातासम्म रुघा लाग्नुका साथै थकानको महसुस हुने गरेको अध्ययनले देखाएको छ ।

कोरोना संक्रमणबाट मुक्त भएका केही व्यक्तिमा धेरै थकान लाग्ने, हल्का खोकी लागिरहने, छाती भारी हुने, श्वास फेर्न अप्ठ्यारो भएको महसुस गर्ने, रुघा लाग्ने  गरेको अन्तर्राष्ट्रियस्तरमा गरिएका अनुसन्धानहरूले देखाएको सरुवा रोग विशेषज्ञ डा. पुन बताउँछन् । इंग्ल्याण्डमा कोरोना संक्रमित निको भएकामध्ये झण्डै १० प्रतिशतमा निरन्तर समस्या देखिएको छ ।

चीनको ऊहान विश्वविद्यालय अन्तर्गतको झोङनान अस्पतालले संक्रमणमुक्त भएका १०० जनामा गरेको अध्ययनमा ९० प्रतिशतमा फोक्सोको समस्या देखिएकोे थियो । सो अस्पतालले एक वर्षे कार्यक्रमअन्तर्गत १ सय जनाको निरन्तर फलोअप गरिरहेको छ । ती बिरामीहरूको औसत आयु ५९ वर्ष छ । पहिलो चरणको फलोअपमा ९० प्रतिशतको फोक्सो क्षतिग्रस्त अवस्थामा रहेको सो अध्ययनले देखाएको छ । यस अतिरिक्त संक्रमणमुक्त भएकाले डिप्रेसन र सामाजिक भेदभावको सामना गर्नु परेकोसमेत पाइएको थियो । निको भएका १ सय जनामध्ये आधाभन्दा कममात्रै काममा फर्केको उल्लेख छ ।

कोरोना संक्रमणबाट मुक्त भएका केही व्यक्तिमा धेरै थकान लाग्ने, हल्का खोकी लागिरहने, छाती भारी हुने, श्वास फेर्न अप्ठ्यारो भएको महसुस गर्ने, रुघा लाग्ने  गरेको अन्तर्राष्ट्रियस्तरमा गरिएका अनुसन्धानहरूले देखाएको सरुवा रोग विशेषज्ञ डा. पुन बताउँछन् । इंग्ल्याण्डमा कोरोना संक्रमित निको भएकामध्ये झण्डै १० प्रतिशतमा निरन्तर समस्या देखिएको छ ।

नेपालमा भने संक्रमणमुक्त भएकाहरूको स्वास्थ्य अवस्था बहसको विषय बनेको छैन । कोरोना संक्रमणबाट मुक्त भएको करिब दुई महिना पछिसम्म पनि चामल केलाउँदा छाती दुखेजस्तो, भारी भएजस्तो महसुस भएको भनेर एक महिलाले आफूलाई सुनाएको र एकजना स्वास्थ्यकर्मीले पनि संक्रमणमुक्त भएपछि छाती भारी हुने गरेको समस्या राखेको डा. पुन बताउँछन् ।

कोरोनाभाइरस निको भएका व्यक्तिमा शरीर भारी हुने, आलस्य हुने, छाती दुख्ने, रुघाखोकी लाग्ने जस्ता समस्यालाई लिएर विदेशमा विज्ञहरु अध्ययन एवं बहस  गरिरहेका छन् । संक्रमणमुक्त भएर पनि यस्ता लक्षण देखिएका बिरामीलाई के–कस्तो उपचार गर्ने भन्ने अझै टुंगो नलागेको डा. पुन बताउँछन् ।

‘विगतमा कोरोना संक्रमणमुक्त भएपछि स्वस्थ भइन्छ भन्ने लाग्थ्यो,’ उनले भने, ‘पछिल्लो समय संक्रमणबाट मुक्त भएपछि पनि गुणस्तरीय स्वस्थ जीवन कतिपय मानिसले आभाष गर्न नपाएपछि विश्वमा यसबारे थप अध्ययन र बहस भइरहेको छ ।’

अमेरिकामा संक्रमितहरुमाथि गरिएको एक अध्ययनअनुसार ३ हप्ताको उपचारपछि ६५ प्रतिशत मानिस काममा फर्किएका थिए । ३५ प्रतिशत भने काममा नफर्किएको रिपोर्ट सार्वजनिक भयो । यसले पनि संक्रमणमुक्त हुँदैमा सबै मानिस पूर्ण रुपमा स्वस्थ हुँदैनन् भन्ने देखाएको छ ।

कोरोनाभाइरस निको भएका व्यक्तिमा शरीर भारी हुने, आलस्य हुने, छाती दुख्ने, रुघाखोकी लाग्ने जस्ता समस्यालाई लिएर विदेशमा विज्ञहरु अध्ययन एवं बहस  गरिरहेका छन् । संक्रमणमुक्त भएर पनि यस्ता लक्षण देखिएका बिरामीलाई के–कस्तो उपचार गर्ने भन्ने अझै टुंगो नलागेको डा. पुन बताउँछन् ।

उनका अनुसार संक्रमित निको भएपछि लामो समयसम्म टाउको दुख्ने, शरीर तात्ने, खोकी लाग्ने आदि लक्षण देखिएमा लक्षणको आधारमा उपचार गर्ने भनिएको छ । अध्ययनहरूले ती बिरामीलाई के औषधि चलाउने भनेर पनि किटान नगरेको उनी बताउँछन् । नियमवद्ध तरिकाले कुनकुन औषधि सेवन गर्नेे भनेर सबैलाई सुहाउने गरी रणनीति–योजना सहितको निर्देशिका नबनेको उनले बताए ।

संक्रमणमुक्त भएपछि त्यस्तो शारीरिक समस्या हुने अवस्थालाई के नाम दिने भनेरसमेत निक्र्योल नभएको उल्लेख गर्दै उनले विभिन्न देशले आ–आफ्नै तरिकाले नाम राखेको बताए ।

अस्पतालबाट डिस्चार्ज हुनु भनेको कोरोनाबाट मुक्त भएर निस्कनु हो । कोरोनाभाइरसबाट मुक्त भएपछि सबैजनामा भने यस्तो खालको समस्या नआउने उनी बताउँछन् ।

नेपालमा लक्षणविहीन संक्रमित निको भए पनि उनीहरूको स्वास्थ्य अवस्था बारेका खोजीनीति हुन सकेको छैन । लक्षणसहितका कोरोना संक्रमित पछिल्लो समय बढ्दै गएकाले निको भइसकेपछि उनीहरुको अवस्थाबारे अध्ययन हुन सक्ने डा. पुन बताउँछन् ।

अस्पतालबाट डिस्चार्ज हुनु भनेको कोरोनाबाट मुक्त भएर निस्कनु हो । कोरोनाभाइरसबाट मुक्त भएपछि सबैजनामा भने यस्तो खालको समस्या नआउने उनी बताउँछन् ।

कोरोनाभाइरस मुक्त भएकामध्ये कस्तालाई थकान लाग्ने, छाती दुख्ने, ज्यान भारी हुने, श्वास फेर्न गाह्रो भएजस्तो हुने भनेर पनि किटान गर्न नसकिने डा. पुनको भनाइ छ । त्यसैले त्यस्ता समस्या देखिएमा स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन तथा थप उपचारमा लाग्नु पर्ने उनले बताए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनका क्रममा अधिकांश सहभागीले कोरोना निको भइसकेको लामो समयसम्म काममा मन नलाग्ने, शरीर फुर्तिलो नहुनेजस्ता लक्षणहरू देखिएको बताएका थिए भने ९९ प्रतिशतले यात्रासमेत गरेका थिए । अध्ययनमा सहभागीमध्ये ८९ प्रतिशतलाई सामान्य लक्षण देखिएको थियो भने १० प्रतिशतमा केही बढी समस्या देखिएको थियो । कोरोनाबाट मुक्त भएका वयस्क युवा पनि लामो समयसम्म बिरामी हुन सक्ने अध्ययनले देखाएको छ ।

७० जना दीर्घरोगीसमेत सामेल सो अध्ययनमा १५ प्रतिशतमा संक्रमणमुक्त भएपछि पनि तनाव पाइएको थियो । उनीहरूले कोरोनाभाइरस संक्रमित हुँदा   परिवार र आफन्तबाट सद्भाव, स्नेह नपाएको गुनासो गरेका थिए भने ८४ प्रतिशतले सामाजिक भेदभाव महसुस गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप