शुक्रबार, १९ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘जाडोमा कोरोना सङ्क्रमण झन् बढ्न सक्छ, दशैँमा फोनबाटै मान्यजनको आशीर्वाद लिऔँ’

अमेरिकामा २७ वर्ष काम गरेका प्रा.डा. जनक कोइरालासँगको अन्तरवार्ता
आइतबार, १८ असोज २०७७, १४ : ५१
आइतबार, १८ असोज २०७७

अमेरिकामा झन्डै २७ वर्ष सङ्क्रामक रोगबारे प्राध्यापन, अनुसन्धान र उपचारमा खटिएका डा. जनक कोइराला कोरोना सङ्क्रमण सुरु हुनुभन्दा २ साताअघि नेपाल आएका थिए । नेपालका अस्पतालमा काम नगरे पनि हाल उनी नेपाल स्वास्थ्य परिषदमा परामर्शदाताका रूपमा काम गरिरहेका छन् ।

त्रिवि शिक्षण अस्पतालबाट एमबीबीएस गरेर २७ वर्षअघि अमेरिका गएका कोइरालाले अमेरिका पुगेर फिजिसियन र सङ्क्रामक रोगमा विशेषज्ञता हासिल गरेका छन् । यस्तै जनस्वास्थ्य विषयमा स्नातकोत्तर पनि गरेका छन् । प्रस्तुत छ सङ्क्रामक रोगबारे निकै लामो समय प्राध्यापन, अनुसान्धान र उपचारमा संलग्न रहेका प्रा.डा. जनक कोइरालासँग रातोपाटी संवाददाता शम्भु दङ्गालले कोरोना भाइरससँग जोडिएका विभिन्न पक्षमा केन्द्रित रहेर गरेको कुराकानी :

तपार्इंले बुझ्नुभएको कोरोनाभाइरस कस्तो भाइरस हो ?

कोरोना भाइरस सामान्यतः रुघाखोकी लगाउने भाइरस हो । ६ प्रकारका भाइरस पहिलेदेखि नै थिए । सन् २००० तिर सार्स भन्ने भाइरस युरोप, क्यानडा र एसियामा पनि फैलिएको थियो । त्यो पछि हराएर गयो । मर्स भन्ने भाइरस मध्यपूर्वका देशहरूमा छ । यो चाहिँ ऊँटबाट मानिसमा सर्छ । सार्स कोभ टु भन्ने चाहिँ यो कोभिड–१९ भाइरस हो ।

विभिन्न कालखण्डमा नयाँ भाइरसको कसरी उत्पत्ति हुन्छ ? नयाँ भाइरस उत्पन्न हुनुको खास कारण के हो ? 

विभिन्न किसिमका भाइरस पशुपंक्षीबाट आउँछन् । मर्स ऊँटबाट मान्छेमा लाग्दोरहेछ । सुरुमा कोरोना भाइरस बिरालोबाट आउँथ्यो । यसपालिको कारोनाभाइरस चमेरोबाट अर्को जन्तुमा सरेर त्यो जन्तुको मासु मान्छेका लागि चिनियाँ बजारमा ल्याउँदा त्यसबाट सरेको भन्ने अहिसम्मको अनुमान छ ।

तपाईंले पुरानो कोरोना भाइरस भन्नुभयो । पहिला पनि यो भाइरस थियो ?

पहिलादेखि नै ६ किसिमको कोरोना भाइरस रुघाखोकी मात्रै गराउने भाइरस थियो । त्यसलाई मान्छेलाई लाग्ने भाइरस भनिन्छ । त्यसले सामान्य किसिमको मात्रै रुघाखोकी लाग्थ्यो । कडा खालको भाइरस चमेरोबाट मान्छेमा आयो । बढी असर गर्नेखालको यसलाई सार्स कोभ थ्री भनिन्छ । यो कोरोना भाइरसको एउटा प्रकार हो ।

तपाईंले कोरोना भाइरस रुघाखोकी लगाउने भाइरस जस्तै हो भन्नुभयो ? रुघाखोकीमा प्रयोग हुने औषधिले यसका लागि किन काम गर्न सकेन ?

रुघाखोकीको औषधि भनेको सामान्यतया लक्षणहरूलाई मात्र सामान्य थामथुम पार्ने प्रकारको हुन्छ । हाम्रो शरीरले नै आफै रोग प्रतिकारात्मक शक्ति एन्टिबडीले भाइरससँग सम्मिलित हुन्छ र सेतो रक्तकोषिकाले मारेर जिउबाट हटाउँछ । फ्लु भए पनि अरू रुघाखोकीको भाइरस भए पनि त्यसरी हटाउँछ । कोरोनाले चाहि एन्टिबडीहरूलाई नै आक्रमण गरेर मान्छेलाई झन् कमजोर बनाउँदो रहेछ । साइटोक्राइनस्टोम आएर मान्छेलाई झन् साह्रो पारेर कतिपय मानिस मर्ने नै हुन्छ । यसले फोक्सोलाई नै क्षति पु¥याउने, कसै कसैलाई मुटुमा नै असर पार्ने, कसैलाई रगतमा नै असर गरेर अरू जटिलताहरू निम्त्याउँदो रहेछ । भाइरसले मान्छे मार्नेभन्दा पनि भाइरसले आक्रमण गरेपछि शरीरको प्रणालीलाई बिगारिदिँदो रहेछ र त्यसैबाट मान्छे रोगी हुँदै मर्ने हुँदोरहेछ ।

कोरोना भाइरस लक्षणसहित र लक्षणरहित गरेर दुई प्रकारले सङ्क्रमण हुने रहेछ । यस्तो किन हुन्छ ?

कोरोना सङ्क्रमणको कसैलाई लक्षण नै हुँदैन कसैलाई सामान्य लक्षण र कसैलाई एकदमै गंभीर पार्नपनि सक्छ । युवाहरूमा रोग प्रतिरोधी क्षमता धेरै हुने भएर उनीहरूमा सामान्य लक्षण मात्र देखिन्छ । जो ५० वर्षबाट माथि जति बुढो हुँदै गयो त्यति नै रोगसँग लड्ने शक्ति कम भएर गएको हुन्छ । अरू रोगहरू लागेको मान्छे जस्तै मधुमेह, दम, श्वासप्रश्वास, मुटुका रोगी, क्यान्सरका रोगी लगायतको रोग प्रतिरोधी क्षमता घटेको हुन्छ । मुटुरोगीहरूलाई फोक्सोमा असर ग¥यो भने यसै पनि कमजोर भएको मान्छलाई अक्सिजनको कमी हुन्छ । उहाँहरूलाई झन् बढी असर गर्ने हुन्छ । त्यो प्रकारका मान्छेहरूको मृत्यु धेरै हुन्छ । अर्थात् पहिलेदेखि नै रोगी भएको र रोगप्रतिरोधी क्षमता कम भएको मानिसलाई विशेषगरी वृद्ध वृद्धाहरूको बढी मृत्यु हुने सम्भावना रहेको हुन्छ ।

कोरोना सङ्क्रमण भएर निको भएको व्यक्तिमा अन्य स्वास्थ्य समस्या निम्तिने जोखिम कतिको हुन्छ ?

अहिलेसम्म लक्षण नभएको र सामान्य लक्षण नभएकोलाई केही पनि नभएको पाइएको छ । कसैलाई २ हप्तामै निको हुन्छ । कसैलाई साह्रो पारेको छ भने एक महिना पनि लाग्ने हुन्छ । जस्तै १ सय जनामा एक दुई जनालाई साह्रै नै गाह्रो बनाउँछ । दीर्घरोगीहरू वा अन्य रोग लागेकाहरूलाई  लामो समयसम्म पनि असर गर्न सक्छ । मुटुरोग बढाउने, फोक्सोमा पनि क्षति पु-याउने, लामो समय अक्सिजन चाहिने त्यस्तो पनि हुन सक्छ ।

चीनको उहानमा कोरोना सङ्क्रमण रोकथाम भएपछि गरिएको अध्ययन अनुसार सङ्क्रमण निको भएका व्यक्तिको फोक्सोमा असर देखिएको औँल्याइएको थियो । के सङ्क्रमण भएर निको भएको व्यक्तिमा पछि अन्य स्वास्थ्य जटिलता निम्तिन्छ ?

यो सङ्क्रमण झन्डै ९ महिना पहिलेबाट फैलिएको हो । यसको पछि कस्तो असर पर्छ भनेर अध्ययन गर्न अझै एक दुई वर्ष भएपछि थाहा हुन्छ । अहिलेसम्मको लक्षण हेर्दा फोक्सोमा अलिअलि असर पारेको छ । सामान्य लक्षण त निको हुन्छ तर जसलाई साह्रै गाह्रो भएर भेन्टिलेटरमै राख्नुप¥यो तिनीहरूलाई लामो समयसम्म फोक्सोमा असर गर्न सक्छ । उनीहरूलाई दमको रोग वा मुटुको रोग जस्तो स्वास्थ्य समस्या हुन सक्छ ।

कोरोना सङ्क्रमणको औषधि पत्ता नलागेका बेला अहिले जुन उपचार विधि प्रयोग गरिएको छ ती कतिको प्रभावकारी देखिएका छन् ?

अहिले हामीले उपचार गरिरहेको एउटा कोभिड प्लाज्मा हो भने अर्को रेम्डेसिभिर हो । त्यसको असर अहिले हेरिरहेका छौँ । डाक्टरहरूको अनुभवमा यी दुवै पाएकोहरूको स्वास्थ्य धेरै राम्रो भएको छ । यसको पूरै विश्लेषण गर्न अझै दुई हप्ता जति लाग्छ ।

नेपालमा कोरोना भाइरस सङ्क्रमणको अवस्थालाई तपाईंले कसरी विश्लेषण गर्नुहुन्छ ? अहिले काठमाडौँ उपत्यकामा मात्रै दैनिक ६० प्रतिशतभन्दा बढी सङ्क्रमित हुन थालेका छन् ।

अहिले लकडाउन खोलेपछि पक्कै पनि पहिलाभन्दा धेरै सङ्क्रमण बढ्छ । अहिले ९० प्रतिशतभन्दा बढीले मास्क लगाएको त देखिन्छ । अब मास्क लगाईकन पनि हुल भीड धेरै भयो । सँगसँगै होटल रेस्टुरेन्टहरूमा बसे भने, मान्छेले आफ्नो सुरक्षा सावधानी अपनाएन भने गाह्रो हुन्छ । फेरि दशैँतिहार आउँदैछ । त्यो बेला पनि भीडभाड गर्ने, बूढाबूढीकहाँ गएर टीका लगाउने ग-यो भने मान्छेलाई सर्छ । युवा उमेरका बाहिर निस्कनेलाई त धेरै गाह्रो पार्दैन । तर रोगी बूढाबूढीको घरमा गएर सारे भने त त्यसले धेरै सिरियस पार्ने हुनाले यसबारेमा सबैजनाले विचार गर्नुपर्ने हुन्छ ।

अब जाडो महिना सुरु हुँदैछ । चिसोका कारण भाइरस सङ्क्रमण बढ्ने सम्भावना कतिको रहन्छ ?

चिसोमा सङ्क्रामक भाइरस बढ्छ । अरू अरू भाइरसहरू जस्तै इन्फ्लुएन्जा पनि आउँछ । अरू भाइरस पनि आएको बेला यो कोरोना भाइरस हो वा अरू इन्फ्लुएन्जा भाइरस हो झुक्किने सम्भावना धेरै हुन्छ । रुगाखोकी लागेको बेला झुकिन्छ । यस्तो बेला चाँडो सर्ने पनि हुन्छ । बिरामी समयमा उपचार गर्न गएन भने पनि गाह्रो हुन्छ । त्यसकारण सकभर जाडोयाममा अझ बढी सुरक्षा सावधानी अपनाउनुपर्ने हुन्छ । सरकारले सबैलाई विचार गरेर साध्य पनि भएन् । सबैले आफ्नो आफ्नो विचार गर्नुपर्ने हुन्छ । सबैले मास्क लगायो, पञ्जा लगाउने, हात धुने काम गरेभने एक अर्कामा सर्ने सम्भावना कम हुन्छ । सबैले रोगी, वयोवृद्धहरूलाई आफ्नो आफ्नो घरमा बचाउने काम गर्नुप¥यो ।

जाडोयाममा रुघाखोकी लाग्दा यो सामान्य इन्फ्लुएन्जा हो, यो कोरोना भाइरस हो भनेर कसरी पत्ता लगाउने होला ?

कोरोनाले साह्रै नै बिरामी पार्छ । जिउ दुख्ने, टाउको दुखाउने, खोकी धेरै लाग्ने हुन्छ । तर सबै छुट्याउन सकिँदैन, परीक्षण नै गर्नुपर्ने हुन्छ । इन्फ्लुएन्जाको लक्षण पनि त्यस्तै हुन्छ । यसका लागि परीक्षण नै गर्नुपर्ने हुन्छ ।

अहिले सरकारले लक्षण नदेखिएकाहरूलाई पीसीआर परीक्षण नगर्ने नीति लिँदैछ । तपार्इंको विचारमा यो कत्तिको उपयुक्त हो ?

सरकारले पीसीआर परीक्षण गर्ने ल्याब धेरै बढाउन सकेको छैन । यसको खर्च पनि धेरै छ । सरकारको बजेट सकिँदै गएकाले होला । बजेट पाएसम्म वा अरू कतैबाट डोनेसन पाएसम्म यसलाई अझै बढाउँदै लैजानुपर्ने हो । मेडिकल काउन्सिलहरू, स्वास्थ्यसंस्थाहरू हामी चिकित्सकहरूले चाहिँ पीसीआर परीक्षणको दायरा बढाउँदै लैजानुपर्छ भनेका छौँ । यो चाहिँ सरकारले आर्थिक हिसाबले मात्रै दायरा बढाउन नसकेको जस्तो लाग्छ । अर्को कुरा पीसीआरले मात्र भ्याएन भने अरू अरू सस्ता प्रविधि, एन्टिजेन प्रविधि सबै गरेर भए पनि परीक्षणको दायरा बढाउनैपर्छ । लक्षण छैन भनेर मान्छेहरू बाहिर हिँडिरहेका हुन्छन् तर सङ्क्रमण बोकेर अरूलाई सारिरहेका हुन्छन् । परीक्षण घटाउनु ठीक हैन भनेर हामीले भनिरहेका छौँ ।

पहिले आरडीटी विधिबाट परीक्षण गरिन्थ्यो, त्यसको व्यापक विरोध भयो अहिले पीसीआरपछि एन्टिजेन किटबाट पनि परीक्षण गर्न सकिन्छ भन्ने कुरा आएको छ । पीसीआरको तुलनामा एन्टिजेन किट कतिको भरपर्दो हुन्छ ?

एन्टिजेन किट आरडीटीभन्दा धेरै नै फरक हो । आरडीटी भनेको शरीरमा भाइरस पसेपछि बडीमा एन्टिबडी प्रोडक्सन हुन्छ । त्यो दुई हप्तादेखि ४ हप्तासम्म बढेर जान्छ । चीनबाट ल्याएको त्यो प्रविधि कमजोर खालको रहेछ । तर एन्टिजेन किट भने भरपर्दो हुन्छ । अमेरिका, युरोप लगायतका धेरै देशमा यसको सुरुवात गरिसकेको छ । सबैभन्दा राम्रो परीक्षण गर्ने विधि पीसीआर नै हो तर पीसीआर नभएको ठाउँमा वैकल्पिक रूपमा एन्टिजेन किट प्रयोग गर्न सकिन्छ । विश्व स्वास्थ्य सङ्गठनले पनि दशौँ लाख सङ्ख्यामा किनेर पीसीआर नभएको देशमा पु¥याउने भएको छ । यसको लागत पनि कम हुन्छ । एक हजारभन्दा कम रूपैयाँ भनेर सरकारले मूल्य राखेको छ । मेरो विचारमा ५ सय देखि ८ सयभन्दा बढी लाग्दैन । पीसीआर नभएको ठाउँमा अलिकति कम क्षमता भए पनि एन्टिजेन किट ठीक हुन्छ । पीसीआर शतप्रतिशत नतिजा निकाल्छ भने यसले ९७ प्रतिशतसम्म भरपर्दो हुन्छ ।

यतिबेला विश्वका विभिन्न देशमा कोरोनाको भ्याक्सिन सङ्क्रमितमा परीक्षण गर्न थालिएको छ । नेपालमा पनि भ्याक्सिन ट्रायल गर्नेबारे चर्चा चल्ने गरेको छ । तेस्रो चरणमा पुगेको भ्याक्सिन प्रयोग गर्दा त्यसले कुनै असर गर्ने सम्भावना हुन्छ कि हुन्न ?

यसबारेमा दुईवटा पक्ष छन् । तेस्रो चरणमा परीक्षण गर्नेहरूले नेपालमा पनि परीक्षणको प्रस्ताव राख्नेहरू थुप्रै आएका छन् । त्यो ठीक छ तर कस्तो हुन्छ भने त्यो ट्रायललाई ल्याएकाले बीस तीस हजारलाई देलान्, धेरैलाई दिन सकिँदैन । त्यो पाउने वित्तिकै ल्याउने भनेर हामीले कोसिस गरिरहेका छौँ तर अहिले त लाखौँ लाख नेपालीलाई भ्याक्सिन दिनुपर्ने हो बूढाबूढी रोगीहरूलाई । अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी, फिल्डमा काम गर्ने सुरक्षाकर्मी, एम्बुलेन्स चालक लगायतलाई फ्रन्टलाइनमा गएर काम गर्नेहरूका लागि भ्याक्सिन दिनुपर्छ । त्यसका लागि १० देखि २० लाख डोज चाहिन्छ । त्यसकारण हामीले के भनेका छौँ भने सरकारले विश्वस्वास्थ्य सङ्गठनसँग मिलेर भ्याक्सिन ल्याउने कोसिस गर्नुपर्छ । त्यो ल्याउनका लागि स्वीकृत भएपछि मात्र ल्याउन पाइन्छ । त्यो नपाउन्जेलसम्मका लागि डब्लूएचओ र सरकारले क्लिनिकल ट्रायलमा पाउने भ्याक्सिन ल्याएर पनि नेपालमा टेस्ट गर्दै गर्नुपर्छ भनेर हामीले प्रस्ताव गरेका छौँ ।

सरकारले २५ हजार कोरोना सङ्क्रमणको एक्टिभ केस देखियो भने फेरि लकडाउन गर्नुपर्छ भनेको छ । कोरोना रोकथामका लागि यो शैलीको कत्तिको व्यावहारिक हो ?

त्यसरी देशभरी नै लकडाउन गर्नु ठीक कुरा हैन भनेर हामीले पनि भनेका छौँ । देशभरि लकडाउन तोक्नुको सट्टा जस्तै विराटनगरमा फैलियो, काठमाडौँमा फैलियो भने कुन कुन ठाउँमा फैलिएको छ त्यही ठाउँलाई मात्र बन्द गर्नुप¥यो । निश्चित क्षेत्र, ठाउँ ठाउँमा, जिल्ला जिल्लामा गरेको राम्रो हो । २५ हजार पुगेपछि देशभरि नै किन लकडाउन गर्नु ? जुम्लामा छैन, अन्य नभएको ठाउँमा किन लकडाउन गर्नु ? अहिले त आधाभन्दा बढी सङ्क्रमण त काठमाडौँमा छ, जे गर्ने हो काठमाडौँमा गर्नुप-यो । त्यसकारण क्षेत्र क्षेत्र हेरेर मात्र गर्नुप¥यो देशभरी नै गर्नु ठीक हैन जस्तो मलाई लाग्छ ।

नेपालमा अहिले केही मानिसको समूह कोरोना भाइरस भन्ने नै छैन । यो हावादारी कुरा हो । मेडिकल माफियाहरूले चलाएको भ्रम र आतङ्क हो भनेर सामाजिक सञ्जाल तथा मिडियामार्फत भनिरहेका छन् । उनीहरूले त्यहीअनुसार आफ्ना तर्क पनि पेस गर्ने गरेका छन् । अन्य केही देशमा पनि कोरोना विरोधी प्रदर्शन भएको देखेका छौँ । कोरोनाविरोधीहरूले जुन तर्क दिने गरेका छन् त्यसमा कतिको सत्यता छ ?

यसरी भ्रामात्मक तर्क गर्नेहरू खराब तत्त्व हुन् । जो मान्छेहरूले स्वास्थ्य सुरक्षा अपनाइरहेका छन्, उनीहरूलाई पनि यस्ता कुराले भड्काउने गर्छ । केटाकेटी, किशोर उमेरकाहरू बढी सामाजिक सञ्जाल प्रयोग गर्नेहरू उनीहरूले भनेका कुरा पत्याउँछन् । यस्ता मान्छेलाई हत्तोत्साही गर्नुपर्छ र सामाजिक सञ्जालबाट पनि त्यस्ता कुरा हटाउनुपर्छ । फेसबुकले पनि यस्ता कुरा ब्लक गर्नुपर्ने हो । यसरी भ्रम फैलाउनेमा एकजना सबैभन्दा ठूलो मान्छे अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प नै थिए । अहिले उनी र उनको श्रीमतीलाई नै कोरोना सङ्क्रमण भएको समाचार आएको छ । यसरी भ्रम फैलाउनेहरूलाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउनुपर्छ । उनीहरू नेपाली हुन् भने राज्यले सजाय पनि गर्नुपर्छ ।

नेपालमा सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि हालसम्म गरेका काम कत्तिको प्रभावकारी देख्नुभएको छ । आम सर्वसाधारणले अहिलेको अवस्थामा कसरी सुरक्षित रहनुपर्छ ? 

सरकारले केही गरेकै छैन त भन्न मिल्दैन । यति लामो समयसम्म जुन लकडाउन ग¥यो, त्यसले देशमा अस्पतालहरूलाई तयारी अवस्थामा राख्ने, पीसीआर परीक्षणदर बढाउने काममा लागि मद्दत मिल्यो । तर अहिले पछिल्लो एक महिनामा समुदाय स्तरमै फैलन थालिसकेको हुनाले अब चाहिँ होस् गरेर सबैकुरा मिलाएर परीक्षण गरेर समुदायमा कहाँ धेरै फैलिएको रहेछ भनेर एन्टिबडी टेस्ट गरेर कतिसम्म फैलिइसकेको रहेछ । काठमाडौँमा पनि कुन ठाउँमा फैलिएको रहेछ । त्यसबारे अध्ययन गरेर कदम चाल्नुपर्ने हुन्छ ।

हामीजस्ता सर्वसाधारणले गर्नुपर्ने ठूलो कुरा छैन । मास्क लगाउने, दूरी कायम गर्ने, भीडभाडमा नजाने, दशैँतिहार नजिकै आएकोले सोसल मिडियाबाटै आशीर्वाद माग्ने, बूढाबूढीलाई बचाउने जिम्मेवारी पूरा गर्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप