शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

खरको छानामुक्त कार्यक्रम : ढुङ्गेघरलाई जस्ता, खरे घरलाई बेवास्ता

आइतबार, १८ असोज २०७७, ११ : ३५
आइतबार, १८ असोज २०७७

गुल्मी । गुल्मीको मालिका गाउँपालिका वडा नम्बर १, नेटा गाउँकी एकल महिला उमाकला विक आफ्ना सासु–ससुरासँग छुट्टिएर बस्न त थालिन् तर घर बनाउने उपाय नभएपछि मूल घरकै पालीमा खरले छाएको साँघुरो कोठामा चार छोराछोरीसहित बसेकी छन् । वर्षामा छानो चुहिएर बेहाल हुन्छ । पानी चुहिने ठाउँमा थाल लगायतका भाँडा कुडा थापेर पानी पन्छाउने गर्छिन् उनी ।

गाउँपालिकाले खरको छानामुक्त कार्यक्रम सञ्चालन गरेपछि उनले गाउँपालिकाबाट जस्तापाता पनि पाइन् । तर बेलैमा घर बनाउन नसकेको भन्दै वडाअध्यक्षले आफू नभएको मौका छोपेर जस्तापातासमेत फिर्ता लगेको उनको गुनासो छ ।

‘टहरो बनाएर भए पनि बसौँला भनेकी थिएँ,’ उनले भनिन्, ‘तर वडाध्यक्षले जस्तापाता फिर्ता लगेपछि यही चुहिने पालीमा बसेकी छु ।’ उनको आर्थिक अवस्था निकै कमजोर रहेको सो वडाका वडाध्यक्ष ईन्द्रबहादुर घर्तीले पनि स्वीकार गरे । उनले भने, ‘हो, विकले घर बनाउन नसकेपछि जस्तापाता फर्काएर अरुलाई दिएको हुँ ।’

सोही गाउँका सुन्तले विकको आर्थिक अवस्था पनि निकै कमजोर छ । उनको परिवार पनि खरको चुहिने छानामुनि बस्दै आएका छन् । उनलाई पनि गाउँपालिकाको विपन्न जनता आवास कार्यक्रममार्फत दिईने जस्तापाताको प्राथामिकतामा पारिएन । उनी भन्छन्, ‘हामी खरको चुहिने छाना भएका र घर छाउने उपाय नभएकाहरुलाई वडाध्यक्षले जस्तापाता दिएनन् । बरु मेरा छिमेकी, जसका कुनै छोरा विदेशका लाहुरे छन्, कुनै छोरा सरकारी जागिरे छन्, उनको परिवारलाई दिए ।’

उनले छिमेकीको घर देखाउँदै भने, ‘ल हेर्नुहोस्, जसको घर ढुङ्गाले छाएको छ, उसैलाई जस्तापाता दिईयो, उनीहरुले गोठ पनि जस्तापाताले छाएका छन् ।’
समाजका चल्तापुर्जा धेरैले ढुङ्गेघर भएर पनि जस्तापाता पाएका छन तर त्यस गाउँका दर्जनौँ खरका झुपडीले जस्तापाता पाउन सकेका छैनन् ।

वडा कार्यालयले त्यस्ता खरका झुपडीहरुलाई जस्तापाताको सिफारिसमा नपारेपछि तीन दिन अघि गाउँका १३ घर परिवारलाई सिधै गाउँपालिकाले बोलाएर जस्तापाता दिएको छ ।  

वडाअध्यक्षबाट पक्षपात
दुजमान पुन सो गाउँमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थानीय स्तरमा प्रभावशाली कार्यकर्ता हुन् । उनको घर ढुङ्गाले छाएको छ । विपक्षी नेताहरुको पनि मन राख्ने उद्देश्यका साथ वडाध्यक्ष घर्तीले पुनलाई पनि जस्तापाता दिए ।
पुनले जस्तापाता लगेर गोठ छाएका छन् । चन्द्रबहादुर पुनको ढुङ्गाले छाएको घर छ । उनलाई पनि वडाध्यक्ष घर्तीले जस्तापाता दिए । सित्तैमा जस्तापाता पाएपछि पुनले भैसी बाँध्ने टहरो बनाएर जस्तापाताको सदुपयोग गरेका छन् ।
रविला विक भारतीय सेनाका पेन्सधारी हुन् । ढुंगाले छाएको घर छ उनको । उनलाई नपुग केही छैन । तर उनलाई पनि वडाध्यक्षले जस्तापाता दिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वडा कमिटी अध्यक्ष महेन्द्र विकले जस्तापाता वितरणमा वडाध्यक्षले पूर्वाग्रही व्यवहार देखाएको आरोप लगाए । ‘खरका छानामुक्त कार्यक्रम’ नारा राख्ने तर खरकै छाना भएकाहरुलाई  जस्तापाता नदिएर ढुङ्गेघर भएकाहरुलाई वितरण गरिएको उनको आरोप छ ।

घर मै नबसेकालाई पनि जस्तापाता
चन्द्रबहादुर पुन वडाध्यक्ष घर्तीका आफ्नै कान्छा मामा हुन् । पुनको ढुङ्गे घर र टिनले छाएको गोठ छ । तर पनि उनले जस्तापाता पाए । जस्तापाता थन्क्याउने ठाउँ नभएर उनले बाँस र काठका खाँबो अड्याएर एउटा टहरो बनाएका छन् । जंगल छेउमा बनाईएको उक्त टहरो प्रयोगविहीन छ ।

वडाध्यक्ष घर्तीले चन्द्रबहादुर पुन आफ्नो कान्छो मामा रहेको स्वीकार गरे । जस्तापाता दिनुको कारण खुलाउँदै उनले अगाडि भने, ‘मेरो माईला मामा हुनुहुन्न, उहाँका छोरा भारततिर भएकोले उनीहरुलाई घर बनाई दिनुस् भनेर दिएको हुँ ।’

खरकै घर भएका थुप्रै दलित परिवार पनि भारतमा छन् । उनीहरुका लागि भने उनले घरमा नभएको भन्दै जस्तापाता वितरण स्थानीयवासीको भनाइ छ । 
निःशुल्क सामग्रीको पनि शुल्क !

गाउँपालिकाले जस्तापाता खरिद गरि वडा कार्यालयसम्म आफैले ढुवानी खर्च ब्यहोरेर पठाईदिन्छ । तर वडाध्यक्ष घर्तीले आफुलाई गाउँपालिकाले ढुवानी खर्च नदिएको भन्दै जस्तापाता प्राप्त गर्ने ब्यक्तिहरुसँग जनही ५ सय रुपैयाँ असुल्ने गरेका छन् ।

उमकला विकले पनि वडा कार्यालयबाटै जस्तापाता ल्याएकी थिइन् । तर उनको घरबाट जस्तापाता फिर्ता लगे पनि उनीसँग ढुवानीबापत लिइएको ५ सय रुपैयाँ भने वडाध्यक्षले फिर्ता गरेका छैनन् ।
गाउँपालिकाले एकल महिलालाई आयआर्जनको माध्यम सिर्जना गर्न कुखरापालन ब्यवसायका लागि प्रति एकल महिलालाई १७ वटाका दरले चल्ला वितरण ग¥यो । चल्ला वितरणमा पनि वडाध्यक्षले ढुवानी खर्च असुल गरेको स्थानीयवासीको भनाइ छ ।

यतिमात्र होइन, गाउँपालिकाले अपाङ्ग, असहाय परिवारलाई ग्याँस चुलो वितरण ग¥यो । तर वडाध्यक्षले लक्षित परिवारलाई नभई लाहुरे परिवारलाई वितरण गरेको स्थानीयवासी बताउँछन् । यसमा पनि उनले ढुवानी रकम असुलेको बताइन्छ ।

वडाध्यक्ष घर्तीले वडा कार्यालयमा फोटोकपी मेशिन नभएको र सेवाग्राहीको नागरिकताको फोटोकफी गर्नुपर्ने लगायत विभिन्न विवरण तयार पार्नुपर्ने भएकाले रकम उठाउनु परेको बताए । तर हरेक वडा कार्यालयले मासिक १५ हजार रुपैयाँका दरले गाउँपालिकाबाट प्रशासनिक खर्च पाउने गरेको प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारी बताउँछन् ।

सो गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का वडाध्यक्ष शोभार गिरी भने हरेक वडामा गाउँपालिकाले नै ढुवानी खर्च ब्यहोरेर जस्तापाता लगायतका सामग्री पठाउने गरेको बताउँछन् । वडाबाट त्यसरी पैसा असुल्ने गरिएको भए त्यो सरासर गलत भएको उनको भनाइ छ ।

कांग्रेसबाट विजयी वडाध्यक्ष घर्तीले मात्र होइन, नेकपाबाट विजयी वडा नम्वर २, दर्लिङ्गका वडाध्यक्ष जुद्धबहादुर घर्तीले पनि त्यहाँका लाभग्राहीबाट पैसा असुल्ने गरेका छन् । उनले पनि ढुङ्गेघर भएकाहरुलाई जस्तापाता वितरण गरेको पाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप