बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा २४ घन्टामा कोरोना संक्रमितको संख्या झन्डै दोब्बर

आइतबार, १८ असोज २०७७, ११ : २६
आइतबार, १८ असोज २०७७

लन्डन । बेलायतमा शनिबार सार्वजनिक कोरोना संक्रमितको संख्या अघिल्लो दिनको तुलनामा झन्डै दोब्बर वृद्धि भएको छ । विगत ६ महिना यताकै सबैभन्दा बढी संक्रमित पुष्टि भनिएको बेलायतमा केहि दिन यता ७ हजारको हाराहारीमा कोरोना संक्रमित पुष्टि भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ को तथ्यांकमा उल्लेख छ ।

हिजो शनिबार अबेर गरि सार्वजनिक कोरोना संक्रमितको संख्या ह्वात्तै बढेर १२ हजार ८ सय ७२ पुगेको छ । जुन संख्या अघिल्लो दिनको तुलनमा झन्डै दोब्बर हो । सामान्यतया यहाँको स्वास्थ्य विभागले दैनिक सांझ ४ देखि ५ बजेसम्म कोरोना सम्बन्धि अपडेट सार्वजनिक गर्ने भएपनि शनिबार भने राति पौने नौ बजेपछि मात्र अपडेट गरेको थियो ।

 गत २४ सेप्टेम्बर देखि अक्टुबर १ सम्म  सार्वजनिक तथ्यांकमा प्राविधिक गडबडी भएको भन्दै आगामी दिनमा संक्रमितको संख्या अझ बढ्न सक्ने विभागले बताएको छ । यसैगरी गएको २४ घन्टामा थप ४९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसंगै बेलायतमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ हजार ३ सय १७ पुगेको छ ।

 हालसम्म बेलायतमा ४ लाख ८० हजार १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । हाल बेलायतका अस्पतालमा २ हजार ४ सय २८ जनाको कोरोना सम्बन्धि उपचार भैरहेको छ भने ३ सय ६८ जनाको भेन्टिलेटर बेडमा उपचार भैरहेको छ । बेलायतमा कोरोना संक्रमणको दोस्रो लहर चल्दै गर्दा सन् २०२१ को ‘इस्टर’ अर्थात अप्रिल पहिलो हप्तासम्म प्रत्येक नागरिकलाई कोरोना विरुद्धको भ्याक्सिन दिइने अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेका फर्मास्यूटिकलका वैज्ञानिकहरुले  दावी गरेका छन्  । 

कोरोना खोपको विकासमा तीव्र रुपमा लागि परेको अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेका फर्मास्यूटिकलले भनेका छन्- ‘सन् २०२१ को आरम्भमा कोरोना भ्याक्सिन तयार हुन्छ र यसको वितरणमा सरकारलाई ६ महिना लाग्न सक्ने छ ।’ तर सरकारी स्रोतका आनुसार निर्धारित समयभन्दा अघि पनि सम्भव हुने उनीहरुको धारणा छ ।अक्सफोर्डका वैज्ञानिकहरुले खोपको विकासमा काम गरिरहेको र आगामी वर्षको शुरुमा यस खोपलाई अनुमोदन गरिने अपेक्षा गरेका छन् । 

विशेषगरी ठूलो समूहमा स्वास्थ्यकर्मीबीच भ्याक्सिन सम्बन्धि नियम तयार भैरहेको र हप्ता दिनभित्र तालिम शुरु हुने बताइएको छ ।लाखौं मानिसलाई खोप दिन ठूलो चुनौती सामना गर्नुपर्ने भएकाले ‘ड्राइभथ्रु भ्याक्सिन’ केन्द्रको योजना भैरहेको र सेनाको पनि सहयोग लिइने बताइएको छ  । तर बेलायतका सम्पूर्ण नागरिकसमक्ष खोप पुर्याउन कम्तिमा एक वर्ष लाग्न सक्ने केहि वैज्ञानिकहरुको धारणा छ । खोपलाई प्राथामिकताका आधारमा वितरण गरिने भएकाले यसको कार्यान्वयनमा भरपर्ने पनि उनीहरुले बताए । 

हाल अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेका फर्मास्यूटिकलको संयुक्त प्रयासमा खोप विकास भैरहेको छ ।चीन, रसिया, अमेरिकालगायत देशका करिब दर्जन कम्पनीहरुले कोरोना विरुद्धको भ्याक्सिन अन्तिम चरणमा ‘ट्रायल’ गरिरहेका छन् ।गत अप्रिलदेखि उक्त खोप मानव परीक्षण शुरु गरिएको हो ।  बेलायतमा ५३ मिलियन जनतालाई भ्याक्सिन दिनुपर्नेछ । सरकारले अक्सफोर्डसँग १ सय मिलियन डोज भ्याक्सिन अर्डर गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप