बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पाँच वर्षदेखि मनाङमा एउटै ठेकेदारको राजः ठेक्का लिने, काम नगर्ने

आइतबार, १८ असोज २०७७, ०९ : ३२
आइतबार, १८ असोज २०७७

मनाङमा एउटै ठेकेदार कम्पनीले राज गर्दै आएको झण्डै पाँच वर्ष भएको छ । पाँच वर्षअघि असारमा द क्याराभान कम्पनीले मनाङको दूधखोलामा पुल बनाउने ठेक्का पायो । एक वर्षभित्रै सक्ने गरी मृत सञ्जीवनी, खड्का कृष्ण र क्याराभानले संयुक्तरूपमा पाएको योजना अहिलेसम्म अलपत्र छ । मनाङको पुरानो सदरमुकाम थोँचेबाट पल्लोगाउँ तिल्चे हुँदै उत्तरी छिमेकी देश चीन जोड्ने सडकमा पर्ने यो पुल विसं २०७३ असारमा ठेक्का लगाइएको थियो ।

विसं २०७४ साउन २३ मा सक्नुपर्ने शुरुको सम्झौता भए पनि हालसम्म तीनपटकसम्म म्याद थप भयो तर कामको प्रगति छैन । भ्याटबाहेक रु तीन करोड ५५ लाखमा दिइएको ठेक्काको काम अलपत्र पारे पनि ठेकेदारले करिब रु एक करोड ३२ लाख निकासा गरिसकेका छन् । पूर्वाधार कार्यालय मनाङका अनुसार हालसम्म दूधखोला पुलको काम ४० प्रतिशत सकिएको छ । 

“फिल्डमा त्यति काम देखिँदैन । दुईतिर पर्खाल उठाएर मात्रै छाडिएको छ । पुल बन्ला भनेर वारिपारि सडक खनिसक्यौँ । वर्षौँ बितिसक्दा पुल बनेन”, नासो गाउँपालिका अध्यक्ष चन्द्र घले भन्छन्, “ठेकेदारलाई कारवाही गर्नुको सट्टा म्याद थपेर झन् समस्या भयो ।” यो पुल नबन्दा मनास्लु पदमार्गमा जाने पर्यटकलाई हिँड्न समस्या भएको छ भने चर्को ढुवानी तिरेर सामान ओसार्न बाध्य छन् स्थानीयवासी ।

मस्र्याङदी नदीमाथि हुम्डेमा पुल बनाउनका लागि जिल्ला विकास समितिले विसं २०७३ कै असारमा अर्को बोलपत्र निकाल्यो । श्री गाल्वा र क्याराभान कम्पनीले नै यसको ठेक्का पायो । भ्याटसहित रु चार करोड ५७ लाखमा ठेक्का दिइएको यो पुल विसं २०७४ माघमा सक्नुपर्ने हो । समयमा काम नसकिएपछि २०७७ असारसम्म सक्ने गरी म्याद थपिएको थियो । पछिल्लो म्यादसम्म ४० प्रतिशतभन्दा काम हुन सकेन । तत्कालीन जिल्ला विकास समितिले विभिन्न मितिमा छवटा पुलको ठेक्का दिइएको थियो । यी दुईवटा मात्रै होइन, मनाङका छवटै पुल निर्माणको जिम्मा क्याराभानले लिएको थियो ।

त्यसमध्ये लमजुङ र मनाङ जोड्ने म्यार्दी खोलाको पुल ढिलो गरी सकिएर गाडी गुड्न थालेको छ भने अरु सबैजसो पुल अलपत्र अवस्थामा छन् । तिमाङखोलाको पुल अन्तिम चरणमा पुगेको बेँसीशहर–चामे सडक आयोजनाका प्रमुख सुमन अधिकारीले बताए । “म्यार्दीमा केही सोलिङ बाँकी छ, तिमाङको सकिन लाग्यो”, उनले भने, “तिमाङमा त डिजाइन नै फेर्नुपर्ने भयो । त्यसैले केही ढिलो हुन गएको हो ।” विसं २०७४ असार ८ मा रु दुई करोड २६ लाख लागतमा तिमाङखोला पुलको सम्झौता भएको थियो । विसं २०७५ पुस ८ मा सक्नुपर्ने म्याद भए पनि हालसम्म यसको म्यादसमेत थपिएको छैन । म्यार्दीको पुल निर्माण करिब सकिएपछि बाढीले बगाएको थियो ।

सडक डिभिजन कार्यालय दमौलीले मनाङमा दुईवटा पुल निर्माण गर्दै छ । पिसाङ र मुङ्जीमा निर्माणाधीन पुल अहिलेसम्म सकिएको छैन । रु तीन करोड ६९ लाख लागत अनुमानसहित डेढ वर्षमा सक्नुपर्ने पिसाङ पुल विसं २०७४ जेठमा सम्झौता भएको थियो । “दुईपटकसम्म यसको म्याद थप भइसकेको छ । यद्यपि काम अझै बाँकी छ । पुस १४ सम्म म्याद छ, यसपालि सकिन्छ होला”, डिभिजन सडक दमौलीका इञ्जीनियर नारायण पौडेलले भने, “मुङ्जीको म्याद पुस १० सम्म छ । यही म्यादभित्र सक्न दबाब दिएका छौँ ।” मुङ्जी पुल निर्माणका लागि विसं २०७४ पुस २६ मा सम्झौता भएको हो । यसको दुई वर्ष म्याद थियो । पुल निर्माणका लागि रु नौ करोड लागत अनुमान गरिएको छ ।

जिल्लाका सबै योजनाको अनुगमन गर्ने अधिकार पाएको जिल्ला समन्वय समितिका प्रमुख यज्ञप्रसाद घलेले कम्पनीले ठेक्का मात्रै ओगटेर काम नगरेको बताए । “धेरैपटक भनिसक्यौंँ, अनुगमनमा जाँदा कम्पनीका मान्छे भेटिँदैनन् । कहिलेकाहीँ सामान ल्याएजस्तो मात्रै गर्छन्”, उनले भने, “बाढीपहिरो झर्ने बेला काम गरेजस्तो देखाउने अनि बगाएर लैजान्छ । काम नगर्नेलाई सरकारले कारवाही गर्नुपर्छ ।”

“ठेकेदारले समयमा काम नगरीदिँदा मुख्य सडकमा कतै काठेपुल तर्नुपरेको छ भने कतै खोलामै गाडी छिराउनुपरेको छ । ठेकेदार अटेरी छ । धेरैपटक ताकेता गर्दा पनि सुन्दैन”, मनाङकै एक उच्च कर्मचारी भन्छन्, “कारवाही गर्न सम्बन्धित निकाय डराउँछ । साह्रै शक्तिशाली रहेछ ।” पुरानै ठेक्का अल्झाइराखेको क्याराभान कम्पनीलाई नै अहिले घोप्टेखोलाको बेलिब्रिज निर्माणको जिम्मा दिइएको छ ।

बेँसीशहर–चामे सडक आयोजनाले रु ३२ लाख लागतमा पुल बनाउने ठेक्का क्याराभानलाई सुम्पेको हो । अहिले थपिएको समयमा पनि काम नसके नियमानुसार कारवाही अघि बढाउने पूर्वाधार कार्यालय मनाङका प्रमुख नवीनचन्द्र अधिकारीले बताए । “धेरैपटक म्याद थप भइसक्यो, यो सिजनमा जसरी पनि सक्नुपर्छ”, उनले भने, “सकिएन भने नियमानुसार कारवाही अघि बढाउने हो । अब म्याद थप्ने ठाउँ छैन ।”

ठेकेदार कम्पनीले समयमा काम नगरेपछि मनाङवासीले पटक–पटक अख्तियारका प्रतिनिधिलाई खबरसमेत गरे तर कुनै सुनुवाइ नभएको उनीहरु बताउँछन् । निर्माण कम्पनी क्याराभानका फिल्ड इञ्जीनियर नारायण लामाले मौसम र बाटोका कारण समयमा काम गर्न नसकेको बताए । “हिउँद लागेपछि हिउँ पर्छ, बर्खामा बाढीपहिरो छ । भनेको बेला सामान ल्याउन सकिँदैन”, उनले भने, “कति पुल बनाउँदाबनाउँदै बगाएको छ । मौसमकै कारण तोकिएको समयमा काम गर्न नसकिएको हो ।” निर्माण सामग्रीको ढुवानीमा समस्या भएको उनले बताए ।

गण्डकी प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले ठेक्का ओगट्ने र काम नगर्ने ठेकेदारलाई आँखा चिम्लेर कारवाही गर्ने बताए । “अहिलेसम्मका योजना सङ्घ सरकारको थियो । केही योजना हाम्रो मातहत आएको छ”, उनले भने, “अहिले थपिएको म्यादभित्र काम नभए कारबाही हुन्छ । कुनै पनि बहानामा उम्किन मिल्दैन ।” मनाङका अधिकांश ठेक्का क्याराभानले नै पाएको छ । अहिले यही कम्पनीले रु १० करोड लागतको जिल्ला कारागारको भवन निर्माण गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप