शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

बाछिटाको विधागत मान्यता: विवेचनात्मक टिप्पणी

आइतबार, १८ असोज २०७७, ०८ : ५०
आइतबार, १८ असोज २०७७

नेपाली साहित्यमा नवीनतम काव्यविधाको रुपमा हुर्कँदै गरेको `बाछिटा´ लेखनमा हजारौं नयाँ, पुराना स्रष्टाहरूले कलम चलाइरहेका छन् । विभिन्न अनलाइन पत्रिका, समाचारपत्र, अखबार, साहित्यिक पत्रिका तथा सामाजिक संजालहरू मार्फत सर्जकहरूका रचनाहरूको बाढी नै आइरहेको छ।  फेसबुक ग्रुप बाछिटानुरागी सर्जक तथा पाठकहरूको साझा चौतारीको रुपमा स्थापित भैसकेको छ । साहित्यकार अमर त्यागीद्वारा खगेन्द्र बस्यालको सहयोगमा २०७७ साल जेठ २ गते प्रवर्तन गरिएको बाछिटा छोटो अवधिमै लोकप्रीयताको शिखर चढ्न सफल भैसकेको छ। बाछिटाले ग्रहण गरेको यो चामत्कारिक उचाइका बाबजुद यसको विधागत मान्यतालाई बुझ्ने,आत्मसात गर्ने र सिर्जना गर्ने सवालमा देखिएका केही अन्यौललाई यो टिप्पणीमूलक आलेख मार्फत चिर्ने कोसिस गरिएको छ।

१. बाछिटा तीन, पाँच , तीन अक्षरसंरचनामा रचना गरिने तीन पंक्तिको काव्यविधा हो :

एउटा बाछिटामा पहिलो पंक्तिमा ३, दोस्रोमा ५ र तेस्रोमा ३ गरी जम्मा ११ अक्षर हुन्छन् । अक्षर गणनाका दुई पद्धति छन् :(अ) कथ्य रुपको गणना र (आ) लेख्य रुपको गणना । जस्तैः

अजर
प्रीतिको दुबो
अमर

यहाँ भाषाको कथ्य रुप गणना गर्दा पहिलो पंक्तिको `अजर´ र तेस्रो पंक्तिको `अमर´ मा दुई / दुई अक्षर मात्रै छन् ।तर,लेख्य रुप गणना गर्दा तीन / तीन अक्षर छन् । दोस्रो पंक्तिमा कथ्य र लेख्य दुवै रुपमा पाँच अक्षर नै छन् । बाछिटा लेखनमा भाषाको लेख्य रुप बमोजिम अक्षर संख्या गणना गरिने भएकोले यो एउटा पूर्ण बाछिटा हो।

२. शब्दको व्याकरणिक संरचना वा हिज्जे बिगार्न नपाइने :

अक्षर संरचना मिलान गरेर बाछिटा रचना गर्ने क्रममा कतिपय सर्जकहरूले शब्दको स्थापित सर्वमान्य हिज्जे बिगारेर लेख्न कोसिस गरेको पाइन्छ। जस्तैः

नेपाल्को
चिनारी हाम्रो
हिमाल्को

यहाँ पहिलो र तेस्रो पंक्तिका `नेपालको´ र `हिमालको´ चार / चार अक्षरका शब्दहरूका हिज्जे बिगारेर जबर्जस्ति तीन / तीन अक्षर कायम गराइएको छ। नेपाली लेख्य भाषामा सर्वमान्य रुपमा स्थापित हिज्जेलाई बिगारेर लेखिने यस किसिमको रचनालाई स्तरीय बाछिटा मान्न सकिन्न ।

हिज्जेसङ्ग सम्बन्धित अर्को एउटा उदाहरण हेरौं ।

हिमाल
स्वरग जस्तो
नेपाल

यहाँ, दोस्रो पंक्तिमा नेपाली भाषाको लेख्य रुपमा `स्वर्ग´ लेखिने शब्दलाई अक्षर संख्या मिलान गर्नकै निम्ति जबर्जस्ति बिगारिएकोले यसलाई पनि स्तरीय बाछिटा मान्न नसकिने प्रष्ट छ।

शब्दको आदि, मध्य र अन्त्य जुनसुकै स्थानमा भएपनि सर्वमान्य रुपमा स्थापित हिज्जे बिगारेर लेख्न बाछिटाको विधागत मान्यताले अनुमति दिँदैन।

३. सकभर निपात र संयोजकको प्रयोग नगर्ने :

`नि´,`र´,`त´,`पो´ जस्ता अलग्गै अर्थ नभएका तर वाक्यको उचित स्थानमा प्रयोग हुँदा थप मिठास ल्याउने एक अक्षरका निपातहरू र `र´' `अनि´ `तर´ जस्ता संयोजक शब्दहरूको प्रयोग सकभर नगर्ने भन्ने बाछिटाको मान्यता रहेको छ। यहाँ `सकभर प्रयोग नगर्ने´ भन्नुको अर्थ रचनाको विषयवस्तु अत्यन्त गहन छ, अन्य विधागत मान्यताको पनि पूर्ण पालना गरिएको छ , निपात वा संयोजक प्रयोग गर्दा बाछिटाको वाचन वा श्रवणमा थप मिठास पनि आउँछ र तिनीहरू हटाएर पुनर्लेखन गर्न खोज्दा विषयवस्तुको गहनता र विशिष्ट भाव कायम गर्नै सकिन्न भने मात्रै यसको प्रयोग गर्ने भन्न खोजिएको हो। जस्तैः

सुवास
मरुद्यान पो
उल्लास

यहाँ दोस्रो पंक्तिमा `पो´ निपात शब्द राखेर पाँच अक्षर कायम गर्नुको सट्टा `मा´ विभक्ति थपेर निपात विस्थापित गरी रुप र भाव दुवैलाई गहन र सुन्दर बनाउन सकिन्छ । जस्तैः

सुवास
मरुद्यानमा
उल्लास

अर्को उदाहरण हेरौं ।

फलेको
रुख र हाँगा
ढलेको

यहाँ दोस्रो पंक्तिमा `र´ संयोजक राखिएको छ। सकभर निपात र संयोजक नराख्ने भन्ने बाछिटाको मर्मलाई राम्रोसँग आत्मसात गर्ने हो भने यसको पुनर्लेखन गरी संयोजक हटाउन सकिन्छ।जस्तैः

फकेको
लचक्क हाँगा
ढलेको

यहाँ `रुख र हाँगा´ लाई `लचक्क हाँगा´ ले विस्थापन गर्दा संयोजक हट्नुका साथसाथै विषयवस्तुको ओज बढ्नुका अतिरिक्त प्रस्तुतिमा समेत निखार आएको छ।

४. बाछिटाका तीनै पंक्तिबीच अर्थगत सामन्जस्यता हुनुपर्ने :

एउटा सशक्त बाछिटाको पहिलो पंक्तिले विषयवस्तुको उठान गर्नुपर्ने , दोस्रो पंक्तिले पहिलो पंक्तिमा उठान गरिएको विषयवस्तुको विस्तार गरी उत्कर्षमा पुर्याउनुपर्ने र तेस्रो पंक्तिले सोही विषयवस्तुलाई सार्थक ढङ्गबाट पुष्टि गर्दै सकारात्मक भाव सम्प्रेषण गर्नुपर्ने कुरा यसको विधागत मान्यतामा उल्लेखित छ। कतिपय सृजनामा बाछिटाको यो मान्यताको पालना गरिएको पाइन्न। जस्तैः

सगर
खोलाको छेउ
बगर

यहाँ पहिलो र तेस्रो पंक्तिको अन्त्यानुप्रास मिलेको छ। प्रकृतिपरक शब्दहरू पनि टन्नै छन् । हिज्जेमा कुनै समस्या छैन। सुन्दा वा पढ्दा सतही मिठास पनि छ। दोस्रो र तेस्रो पंक्तिबीच अर्थगत तालमेल पनि छ किनभने, खोलाको छेउमा प्रायः बगर हुन्छ नै । तर, पहिलो पंक्तिमा उल्लेखित `सगर´ शब्दले उठान गरेको विषयवस्तुको दोस्रो पंक्तिमा बिस्तार भएको देखिन्न। `सगर´ र `खोलाको छेउ´ बीच लाक्षणिक वा व्यञ्जनात्मक ( बाङ्गो वा घुमाउरो )अर्थको कुरा त परै जाओस् , अभिधात्मक वा सोझो अर्थमा समेत कुनै तालमेल देखिन्न। जब पहिलो र दोस्रो पंक्तिबीचमै अर्थगत तालमेल मिलेन भने दोस्रो र तेस्रोबीच तालमेल मिल्नु र नमिल्नुको कुनै माने रहन्न। यस सन्दर्भमा एउटा उदाहरण हेरौं ।

पलाँस
निर्गन्धी पुष्प
बित्यास

यहाँ पहिलो पंक्तिमा उल्लेख गरिएको `पलाँस´ र दोस्रो पंक्तिको `निर्गन्धी पुष्प´को बीचमा अत्यन्तै निकटको अर्थगत सामन्जस्यता छ। पलाँसको फूलले कुनैपनि किसिमको बास्ना दिँदैन। त्यसैले यसलाई दोस्रो पंक्तिमा `निर्गन्धी पुष्प´ भनेर विषय बिस्तार गरिएको छ। यहाँ `बास्ना नआउने पलाँसको फूल´लाई `बाह्य रुपमा अत्यन्तै सुन्दर तर विद्या नभएको अशिक्षित वा मुर्ख व्यक्ति´सङ्ग तुलना गर्न प्रतीकात्मक रुपमा प्रयोग गरिएको छ। त्यसैले तेस्रो पंक्तिमा आएर `त्यस्तो मूर्ख व्यक्तिबाट बित्यास हुन्छ अर्थात् अपेक्षित फल प्राप्त हुन्न´ भन्ने गहन भाव सहित पहिलो पंक्तिमा उठान गरिएको र दोस्रो पंक्तिमा बिस्तार गरिएको विषयवस्तुको पुष्टि गरिएको छ।

५. अभिव्यक्ति प्रतीकात्मक हुनुपर्ने :

बाछिटाको शाब्दिक अर्थ नै `बाङ्गो + छिटा´ हो। अर्थात् , बलेसीमा झर्नुपर्ने वर्षाको पानीको बाङ्गो छिटा पिँढीमा आयो भने त्यसलाई बाछिटा भनिन्छ। पानी बाङ्गिएर बाछिटा बने जस्तै शब्दका अर्थ बाङ्गिएर प्रतीकात्मक (लाक्षणिक वा व्यञ्जनात्मक) अर्थ अर्थात् बाङ्गो वा घुमाउरो अर्थ प्रदान गर्ने भएकोले नै यस किसिमको काव्यरुपलाई `बाछिटा´ भनिएको हो।

जस्तैः

जननी
सुधासागर
मोहिनी

यहाँ मातालाई सुधासागरसङ्ग तुलना गरिएको छ। अभिधात्मक अर्थ मात्रै लगाउन खोजियो भने यो रचना बाछिटाका दृष्टिले निरर्थक बन्छ किनभने, आमा भनेको मानव हो। सुधासागर वा अमृतको सागर भनेको मानव होइन। अनि, एउटा मानव कसरी गैर मानव बन्छ त? यसरी शब्दको अभिधात्मक अर्थ मात्रै खोज्दा बाछिटाको भाव मर्छ। जब हामी `सुधासागर´ को बाङ्गो अर्थ खोजेर `जननी´ सङ्ग तुलना गर्छौं , अनि बल्ल यसको वास्तविक अर्थ पाइन्छ। त्यसैले, बाछिटा सर्जकहरूले आफ्ना सृजनामा शब्द चयन गर्दा अभिधात्मक शब्दशक्तिको साटो लक्षणात्मक र व्यञ्जनात्मक शब्दशक्तिको प्रयोगमा विशेष ध्यान दिनु जरुरी छ भने पाठकहरूले पनि प्रतीकात्मक अर्थको सागरमा डुबुल्की मारेर मात्रै बाछिटाको वास्तविक रसास्वादन गर्न सक्छन् ।

६. प्रकृतिपरक बिम्ब वा झलक आउनुपर्ने :

`बाछिटा ´ आफैंमा प्रकृतिपरक शब्द भएकोले यसमा प्रकृतिको बिम्ब वा झलक आउनुपर्ने मान्यता रहेको छ। प्रकृतिको बिम्ब वा झलकको बारेमा छलफल गर्नुभन्दा पहिला बिम्ब के हो भन्ने बुझ्नु जरुरी छ।

सामान्यतया श्रव्य,दृश्य,स्पर्श,स्वाद र घ्राणका माध्यमबाट ईन्द्रीयहरूले गर्ने अनुभूतिलाई शब्द मार्फत अभिव्यक्त गर्दा मानसपटलमा तयार हुने अमूर्त आकृति वा छवि नै बिम्ब हो। त्यसोभए बाछिटामा प्रकृतिको बिम्ब वा झलक आउनुपर्छ भन्नुको तात्पर्य के हो त ? कुरा प्रष्ट छ: बाछिटा पढ्दा वा सुन्दा पाठक वा श्रोताको मानसपटलमा प्रकृतिको आकृति तयार हुनुपर्छ । प्रकृतिको आकृति नै तयार हुन नसकेमा त्यसको सामान्य झलक भने पनि आउनैपर्छ भन्ने बाछिटाको विधागत मान्यता रहेको छ। जस्तैः

तालमा
ससाना माछा
जालमा

प्रस्तुत बाछिटा पढ्दै गर्दा पाठकको मानसपटलमा ताल र तालमा पौडिरहेका साना माछाहरूको अमूर्त आकृति तयार हुन्छ। साथै, माझीले जाल हानेर माछा मार्न खोज्दै गर्दा ठूल्ठूला माछा फुत्केर उम्किएको तर ससाना माछा जालभित्र परेको आकृति समेत पाठकको दिमागमा बनिहाल्छ। यहाँ `ताल´ र `माछा´ प्रकृतिपरक शब्द भएको पनि प्रष्ट छ। पाठक मस्तिष्कमा जब यस किसिमको प्रकृतिको बिम्ब तयार हुन्छ, तब पाठकको चेतनास्तर,दृष्टिकोण र समय सन्दर्भसङ्ग जोडेर उसले ताल,माछा र जालका प्रतीकात्मक अर्थहरूको खोजी गर्न थाल्छ अनि शब्दको अभिधात्मक अर्थलाई लाक्षणिक वा व्यञ्जनात्मक अर्थले विस्थापित गरिदिन्छ।

यो त भयो प्रकृतिको बिम्बको कुरा। त्यसोभए प्रकृतिको सामान्य झलक भनेको के हो नि? त्यसको निम्ति एउटा उदाहरण हेरौं ।

गर्वित
फक्रँदा श्रम
हर्षित

यहाँ दोस्रो पंक्तिको `फक्रँदा´ ले पाठकको मानसपटलमा कोपिला फक्रेर फूल फुलेको झलक दिन्छ। प्रत्यक्ष रुपमा वन, बगैंचा , कोपिला, फूल जस्ता प्रकृतिपरक शब्दको प्रयोग नगरेपनि श्रमलाई कोपिलासङ्ग तुलना गरेर अदृश्य प्रकृति बिम्बको सुन्दर प्रयोग गरिएको कुरा बुझ्न सचेत पाठकलाई कत्ति बेर लाग्दैन।

यहाँनेर माथि उल्लेख गरिए झैँ भुल्न नहुने महत्त्वपूर्ण कुरा के भने तीन पंक्तिबीचको अर्थगत सामन्जस्यता र प्रतीकात्मक अर्थको अभावमा प्रकृतिको बिम्ब वा झलक आउँदैमा त्यस्तो शब्द सङ्ग्रह बाछिटा बन्न सक्दैन। निरर्थक शब्दहरूको थुप्रो मात्रै बन्छ।

७. भावनाको तीब्रता एवं अनुभूतिको तीक्ष्णता प्रतीकात्मक र मार्मिक रुपमा आएमा प्रकृतिको बिम्ब वा झलक नआएपनि बाछिटा बन्ने :

यदि जीवन भोगाइका अनुभूति एवं मानव मनमा उत्पन्न हुने संवेगहरू अत्यन्तै तीब्र र तीक्ष्ण अर्थात् गहन ढङ्गबाट प्रतीकात्मक र मार्मिक रुपमा प्रस्तुत गर्न खोजिएको छ तर तिनलाई तुलना गर्ने उपयुक्त प्रकृतिपरक शब्द वा झलक बाछिटा सिर्जनाका बखत सर्जकको दिमागमा फुरेन भने त्यस्तो विशेष परिस्थितिमा अन्य गहन भावयुक्त शब्दबाटै पनि सुन्दर वा मर्मस्पर्शी बाछिटा बन्न सक्छ। जस्तैः

नाङ्गियो
न्यायको तुलो
बाङ्गियो

यहाँ न्यायालयमा हुने अपारदर्शी चलखेलका कारण वास्तविक पीडितले न्याय पाउन नसक्दा कथित न्यायमूर्तिहरूको वास्तविक चेहरा उदाङ्गो भएको भन्दै न्यायव्यवस्थालाई बाङ्गिएको तुलोसङ्ग दाँजेर व्यङ्ग्य प्रहार गरिएको छ। प्रकृतिपरक शब्दको बिम्ब वा झलक नभएपनि अभिव्यक्तिको प्रतीकात्मकता र भावको गहनताका कारण यसलाई सशक्त बाछिटाको रुपमा स्वीकार्न कन्जुस्याइँ गर्नु पर्दैन ।

८. जीवनलाई प्रकृतिकरण वा प्रकृतिलाई मानवीकरण गर्दा बाछिटा प्रकृतिपरक र प्रतीकात्मक बन्ने :

जीवनलाई प्रकृतिकरण गर्नु भन्नुको अर्थ मानव जीवन र जीवन भोगाइका अनुभूतिहरूलाई प्रकृतिको दृश्य,परिदृश्यसङ्ग दाँज्नु हो । त्यस्तै, प्रकृतिको मानवीकरण गर्नु भन्नुको अर्थ प्राकृतिक घटना,परिघटना,दृश्य,परिदृश्य आदिलाई मानव जीवन , व्यवहार र संवेगसङ्ग दाँज्नु हो। जस्तैः

बह छ
दिलमा अश्रु
दह छ


यहाँ मानव जीवनका पीडादायी अनुभूतिको प्रतिक्रिया स्वरुप आँखामा टिल्पिलाउने आँसुलाई प्राकृतिक दृश्यको दहसङ्ग दाँजेर जीवनको प्रकृतिकरण गरिएको छ। अर्को एउटा उदाहरण हेरौं ।

प्रभात
मुसुक्क रवि
उल्लास

यहाँ अन्धकार रात्री चिरेर उदाएको प्रभाती सूर्यको सुन्दर उल्लासमय दृश्यलाई मुसुक्क मुस्कुराइरहेको मानवसङ्ग दाँजेर प्रकृतिको मानवीकरण गरिएको छ।

अन्तमा, बाछिटाका प्रवर्तक,विज्ञ तथा अग्रज सर्जकहरूले दिएको परिभाषा र लेखिएका नमूना बाछिटाका रुप र भाव समेतलाई संश्लेषण गर्दै बिट मार्न चाहन्छु ।

``लक्षणा वा व्यञ्जना शब्दशक्तिको सहायतामा मूलतः दृश्य वा अदृश्य प्रकृतिपरक बिम्ब मार्फत पहिलो, दोस्रो र तेस्रो पंक्तिका तीन,पाँच र तीन अक्षरहरूले क्रमशः विषयवस्तुको उठान,बिस्तार र गहन ढंगबाट पुष्टि गर्ने तथा पाठक ज्ञानेन्द्रीयमा चमत्कारपूर्ण रसास्वादन गराउने सामर्थ्य बोकेको लघुत्तम काव्यरुप नै बाछिटा हो।´´


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप