शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

होलसेलमा चहलपहल बढ्न थाल्यो, खुद्रा बजार अझै सुस्त

शनिबार, १७ असोज २०७७, १५ : २६
शनिबार, १७ असोज २०७७

काठमाडौँ । नेपालमा मनाइने ठूला चाडपर्व सुरु हुन अब २ सातामात्रै बाँकी छ । दशैं पर्व अन्तर्गत कात्तिक १ गते नवरात्र प्रारम्भ हुन्छ । सोही दिन हिन्दु धर्मालम्बीहरुले औपचारिक रुपमा घटस्थापना गरेर दशैंको आरम्भ भएको संकेत गरिन्छ । घटस्थापनासँगै सुरु हुने ‘फेस्टिभ सिजन’ यो वर्ष छठपर्व अन्तर्गत मंसिर ६ गतेको उदाउँदो सूर्यलाई अर्घ दिएपछि मात्रै सकिन्छ ।

विगतमा चाडपर्व सुरु हुनुभन्दा एक महिनाभन्दा अघिदेखि नै दशैंको चहलपहल हुन्थ्यो । तीज सकिएर सोह्रश्राद्ध सुरु हुनेबित्तिकै बजारमा भीड सुरु हुने गथ्र्यो । तर, यसपटक यो अवस्थामा निकै परिवर्तन भएको छ । दशैं सुरु हुन १५ दिनमात्रै बाँकी हुँदा अहिलेसम्म पनि बजारमा खासै चहलपहल देखिएको छैन । 

राष्ट्रिय व्यापार महासंघका अध्यक्ष नरेश कुटवाल भन्छन्, ‘बजारमा नियालेर हेर्नुभयो भने थाहा हुन्छ, अहिले बाटोमा जाने मान्छेको भीड छ, तर पसलमा अहिले पनि कोही छिर्दैनन् । अघिल्लो वर्षको तुलनामा यो वर्ष २० प्रतिशत पनि व्यापार भएको छैन ।’ 

उनका अनुसार न्यूरोड, असन, इन्द्रचोकलगायतका क्षेत्रदेखि बानेश्वर, कोटेश्वर, कलंकी, बसपार्कलगायतका क्षेत्रमा अघिल्लो वर्ष दशैं आउनुभन्दा एक महिना अघिदेखि नै निकै चहलपहल हुन्थ्यो । व्यापारीलाई बार्गेनिङ गरेर सामान बेच्ने फुर्सदै हुँदैनथ्यो । 

उनीहरुले आफ्नो मार्जिन राखेर सामानको मूल्य फिक्स गर्थे, ग्राहकले सामान रोजेर लैजान सक्थे । सामान मन पर्यो भने ग्राहक पनि धेरै बार्गेनिङमा उत्रिदैनथे । तर, योपटक सामान किन्न जाने ग्राहकको संख्या अझै पातलो छ, सामान्य अवस्थामा जस्तै एउटै सामानका लागि घन्टौं बार्गेनिङ गर्ने अवस्था यो पटक हटेको छैन । त्यसैले व्यापारीले दशैं आएको अनुभव गर्नै सकेका छैनन् ।

बजारमा चहलपहल किन बढेन ? 
खुद्रा बजार अझै पनि सुस्त हुनुको पछाडि विभिन्न कारण भएको व्यवसायीहरु बताउँछन् । यसको पछाडि कोभिड–१९ को कारणले सिर्जना गरेको परिस्थिति बढी जिम्मेवार छन् । त्यसमा आर्थिक, सामाजिक मनोवैज्ञानिक कारण समेत जोडिएर आएका छन् । केही सामाजिक र साँस्कृतिक कारणले पनि अहिलेको व्यापार व्यवसायलाई प्रभाव पारिरहेको उनीहरुको ठम्याइ छ । 

अहिले जो जागिर गर्छन्, व्यापार गर्छन् वा दैनिक ज्यालादारीमा काम गर्छन्, उनीहरु कोभिडको जोखिमको प्रवाह नै नगरी बजारमा खटिइरहेका छन् । उनीहरुको उद्देश्य भनेको काम गर्नु, पैसा कमाउनु हो । तर, जो पैसा आउने काम गर्दैनन्, गृहिणी छन् वा घरमा मात्रै बस्छन्, उनीहरुलाई अझै पनि कोरोनाको डर छ । दिनदिनै बढ्दै गएको संख्याका कारण उनीहरु बजार गर्न जान अहिले पनि हिच्किचाइरहेका छन् । त्यही भएर उल्लेख्य रुपमा व्यापार बढ्न सकेको छैन ।  

त्यसो त, कमाई नभएकाहरु अहिले उपत्यकाभित्र निकै कममात्रै छन् । कोभिड–१९ का कारण यो वर्ष धेरै मानिसहरु पहिले नै उपत्यका बाहिर गइसकेका छन् । त्यही भएर अहिले उपत्यका छाड्नेको संख्या अघिल्ला वर्षको तुलनामा निकै कम छ । चाडबाड आउन १५ दिनमात्रै बाँकी रहँदा पनि उपत्यका छाड्नेको संख्याभन्दा उपत्यका भित्रिनेकै संख्या बढी रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्क छ । गाउँ फर्किनेको संख्या नबढेकै कारण अहिलेसम्म खुद्रा बजारको चहलपहल बढ्न नसकेको हो । 

बजारमा चहलपहल नबढ्नुको अर्को कारण हो, फेरि लकडाउन हुने डर । असोज ११ गते स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो भने फेरि लकडाउन गर्न सरकारलाई सिफारिस गरिएको बताएका थिए । 

उनले यसो भन्दैगर्दा देशमा १९ हजारमा सीमित रहेको सक्रिय संक्रमितको संख्या बिहीबारसम्म २१ हजार ८ सय ३० पुगेको थियो । शुक्रबार भने एकैदिन ३ हजार ४ सय जना डिस्चार्ज हुँदा सक्रिय संक्रमितको संख्या ६ सय हाराहारीमा घटेको छ । संख्या घटे पनि पछिल्लो नतिजा आशलाग्दो भने होइन । शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी २ हजार ७ सय २२ जना नयाँ संक्रमित समेत फेला परेका छन् । 

यसरी दिनदिनै सक्रिय संक्रमितको संख्या बढ्दै जाँदा फेरि लकडाउन हुने हो कि भन्ने चिन्ताले समेत ग्राहकले बजारमा सामान किन्न हिच्किचाइरहेको अवस्था रहेका थिए । अधिकांश व्यक्तिहरु अन्तिम समयमै भए पनि गाउँ फर्किने भएकोले फेरि लकडाउन भएर गाउँ जानै नपाउने हो कि भन्ने त्रास उनीहरुमा थियो ।


त्यही भएर उनीहरुले सामान किन्न सकिरहेका थिएनन् । तर, शुक्रबारमात्रै स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले सरकारको फेरि लकडाउन गर्ने सोच नभएको स्पष्टिकरण दिएका छन् । यसले बजारमा सकारात्मक प्रभाव पार्नसक्ने अनुमान व्यवसायीको छ । 

मलमासको समय भएकोले पनि यो महिना बजारको मागमा प्रभाव पारिरहेको छ । हिन्दु धर्मालम्बीहरुले मलमासलाई अपवित्र महिनाको रुपमा मान्छन् । नयाँ कपडा, भाँडाकुँडा, सवारीसाधन वा दीर्घकालीन प्रयोगका सामानहरु यो समयमा किन्न उनीहरु हिचिकचाउँछन् । सामाजिक मूल्य र मान्यताको कारणले पनि यो समयमा बजारमा माग नबढेको हुनसक्ने कतिपयको बुझाइ छ । त्यसैले नयाँ महिना सुरु भएपछि धेरै माग हुनसक्ने अनुमान समेत व्यापारीहरुको छ । 

कतिपय ग्राहकहरु भने अन्तिम समय आएपछि मात्रै सामान किन्न बजार पस्ने प्रकृतिका हुन्छन् । विभिन्न पेशा व्यवसायमा आवद्ध भएका र कम फुर्सद भएका व्यक्तिहरुमा यस्तो प्रवृत्ति अत्यधिक हुन्छ । त्यही भएर अघिल्ला वर्षमा समेत घटस्थापना सुरु भएपछि नै बजारमा अत्यधिक ठूलो भीड लाग्थ्यो । त्यसैले अहिले माग कम भए पनि घटस्थापनापछिको व्यापार भने अघिल्लो वर्ष हाराहारीमै हुने अनुमान व्यवसायीहरुको छ । 

‘रिस्क’ लिँदै खुद्रा व्यापारी
खुद्रा बजारमा चहलपहल सुरु नभए पनि यतिबेला खुद्रा व्यापारीहरु होलसेलबाट धमाधम सामान उठाइरहेका छन् । सोही कारणले पछिल्लो समय होलसेल व्यापारमा निकै चहलपहल सुरु भएको छ । मलमास सकिएपछि मात्रै सामान किन्ने सोच रहेका वा अन्तिम समयमा बजार जाने ग्राहकहरुलाई नै लक्षित गर्दै होलसेलबाट उनीहरुले सामान उठाएर पसल भर्न थालेका हुन् । त्यहिकारण अहिले होलसेल बजारमा चहलपहल देखिएको र यसले खुद्रा बजारमा समेत आशा जगाएको महासंघका अध्यक्ष कटुवालको भनाइ छ । 

तर, अहिले खुद्रा व्यापारीहरुले होलसेलबाट अघिल्लो वर्षको भन्दा करिब ५० प्रतिशत सामान मात्रै उठाएका छन् । आम्दानीमा आएको ह्रास, बजारमा अहिलेको चहलपहल र धेरै मानिसहरु उपत्यका बाहिर नै भएका कारणले पनि अहिले धेरै माग गर्नसक्ने अवस्था भने नरहेको व्यापारीहरुको भनाइ छ । 

पहिलोपटक करिब ४ महिनाको देशव्यापी लकडाउन र त्यसपछिको १ महिनाको स्थानीय प्रशासनको निषेधाज्ञाका कारण यो वर्ष धेरैको आम्दानीमा निकै ठूलो ह्रास आएको छ । आम्दानी घटेकै कारण यो वर्ष अघिल्लो वषको तुलनामा भाँडावर्तनदेखि सवारीसाधनलगायतको माग घट्ने सम्भावना छ । 

लत्ताकपडा पनि महँगो र फेसनेबल कपडाको माग घटेर सस्तो र टिकाउको माग बढी हुने सम्भावना छ । त्यही कुरालाई मनन् गरेर अहिले होलसेल र खुद्रा व्यापारीहरुले समेत सोही अनुसारको माग गरेका छन् । त्यसो त, यो वर्ष नयाँ फेसन र डिजाइनमा बजारमा कपडाहरु आएका समेत छैनन् ।  

चिनियाँ नाका खुल्दा आशा जाग्यो
उत्तरी चिनियाँ नाका केरुङ र तातोपानीमा लामो समयदेखि अड्किएका सामानहरु आइतबारदेखि नेपाल भित्रिने भएका छन् । नेपालीको लामो कुटनीतिक पहलपछि नाका खोल्न चिनियाँ पक्ष तयार देखिएको हो । 

भोलिदेखि नाका खुल्ने खबरपछि यतिबेला व्यवसायीहरु निकै उत्साहित भएका छन् । अहिले तातोपानी र केरुङ समेत गरेर सीमापारि २ हजार भन्दा बढी कन्टेनर रोकिएर बसेको व्यापारीहरुको भनाइ छ । यो सामान आउँदा बजारमा मागको सहज व्यवस्थापन गर्न सहज हुने र ऋण गरेर ल्याएका सामान बेचेर ऋण चुक्ता गर्ने बाटो खुल्ने भन्दै व्यापारीहरु उत्साहित देखिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप